विकासन्युज

दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । एक सय ७५ जना यात्री र चालक दलका ६ जना सदस्य रहेको जेजु एयरको बोइङ–७३७ विमान आइतबार बिहान अवतरणका क्रममा दुर्घटना भएको हो । योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो । दुर्घटनाको अनुसन्धान थालिएको यातायात मन्त्रालयले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०४  पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ २९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२  पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९५ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०२ पैसा र बिक्रीदर चार रुपैयाँ ०४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा निर्धारण भएको छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३०  पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२ रुपैयाँ ४८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ १३ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६१ रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ४८ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ २४ पैसा तोकिएको छ । त्यसैगरी  भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

यस्तो छ तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आइतबार गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी अधिकतम ९० रुपैयाँ, गोलभेडा सानो (लोकल) प्रतिकेजी ४० रुपैयाँ, गोलभेडा सानो (भारतीय) प्रतिकेजी ६० रुपैयाँ, गोलभेडा सानो (तराई) प्रतिकेजी ६० रुपैयाँ, आलु रातो प्रतिकेजी ५७ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ४६ रुपैयाँ, आलु सेतो प्रतिकेजी ४२ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ६८ रुपैयाँ, गाजर (लोकल) प्रतिकेजी १५० रुपैयाँ, बन्दा (लोकल) प्रतिकेजी ४० रुपैयाँ कायम भएको छ । यसैगरी बन्दा (तराई) प्रतिकेजी ३० रुपैयाँ, बन्दा (नरिवल) प्रतिकेजी ४० रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ५० रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकेजी ६० रुपैयाँ, काउली तराई प्रतिकेजी ३० रुपैयाँ, मूला रातो प्रतिकेजी ४० रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकेजी ३५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) प्रतिकेजी ४५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकेजी ६० रुपैयाँ, भन्टा डल्लो प्रतिकेजी ७० रुपैयाँ, मकै बोडी प्रतिकेजी ७० रुपैयाँ, मटरकोसा प्रतिकेजी १४० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकेजी ८० रुपैयाँ घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ८० रुपैयाँ निर्धारण गरिएको छ । समितिले तिते करेला प्रतिकेजी ११० रुपैयाँ, लौका प्रतिकेजी ७० रुपैयाँ, स्कुस प्रतिकेजी ३५ रुपैयाँ, रायो साग प्रतिकेजी ३० रुपैयाँ, पालुङो प्रतिकेजी १०० रुपैयाँ, चमसुर प्रतिकेजी १०० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, मेथी साग प्रतिकेजी १०० रुपैयाँ, तरुल प्रतिकेजी ८० रुपैयाँ, च्याउ कन्य प्रतिकेजी १२० रुपैयाँ, च्याउ डल्ले प्रतिकेजी ३०० रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ६० रुपैयाँ, गान्टेमुला प्रतिकेजी ८० रुपैयाँ, तामा प्रतिकेजी १०० रुपैयाँ, तोफु प्रतिकेजी १२० रुपैयाँ, कागती प्रतिकेजी १३० रुपैयाँ, लोकल काँक्रो प्रतिकेजी १३० रुपैयाँ र एक केजी गुन्द्रुकको मूल्य ३०० रुपैयाँ तोकेको छ । यसैगरी, झोले स्याउ प्रतिकेजी २६० रुपैयाँ, फुजी स्याउ प्रतिकेजी ३०० रुपैयाँ, केरा प्रतिदर्जन १७० रुपैयाँ निर्धारण गरिएको छ ।

कालिकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । कालिकोटमा ओडानाकु केन्द्रबिन्दु भएर आइतबार पनि भूकम्प गएको छ । बिहान ५ बजेर ९ मिनेट जाँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि शुक्रबार राति पनि कालीकोट केन्द्रबिन्दु भएर ३.७ म्याग्नीच्युडको भूकम्प गएको थियो । पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा ६ जिल्लामा आठ वटा भूकम्प गइसकेका छन् ।

चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन्

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थालेको २७ वर्ष पूरा भयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर २०५४ सालदेखि चिया बेच्न थालेकी उनले अहिले खर्च कटाएर मासिक रु ५० हजारभन्दा बढी बचत गर्दै आएकी छन् । समुद्री सतहबाट एक हजार आठ सय २३ मिटर उचाइमा पर्ने नुनथलाको चिसो सिरेटोमा अगेना नजिकै बसेर चियाको चुस्की तान्नेहरूको भीड हरेक दिन बिहानदेखि बेलुका अबेरसम्म लाग्छ । विरसको आफ्नै नामबाट सञ्चालन गरिएको ‘विरस होटल एण्ड लज’मा चिसासँगै खाजाको रुपमा दूधको छाली र चिउरा खानेको उत्तिकै घुइँचो लाग्छ । विरसको होटलमा चिया तथा छालीका लागि दैनिक २५ करुवा दूध खपत हुने गरेको छ । चिया तथा छालीका लागि नुनथलाकै विभिन्न टोलका किसानको घरबाट प्रतिकुरुवा रु ४० मा दूध खरिद गर्ने गरिएको विरसले बताइन् । उनले भनिन्, ‘काठमाडौं तथा तराईका विभिन्न जिल्ला जाने यात्रु यहाँ चिया खान पस्नुहुन्छ ।’ मध्यपहाडी लोकमार्गमा पर्ने नुनथला पर्यटकीय क्षेत्र हो । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल तथा चिया पसल सञ्चालन गरिएको हो । तीन सन्तानकी आमा विरसलाई उनका श्रीमान् मानसिं तामाङले सहयोग गर्दै आएका छन् । सुरुमा खाना तथा खाजा बिक्री गर्दै आएकी विरसले पछिल्लो समय चिया र छाली चिउरामात्र बिक्री गर्दै आएकी छन् । छाली र चिउरा प्रति बटुका रु एक सयमा बिक्री गर्ने गरिएको छ । विरसले एक छोरा र दुई छोरीको शिक्षादीक्षा तथा पालनपोषण चिया बिक्री गरेर आएको रकमले धानेकी छन् । एउटा छोरीले स्नातकोत्तर उत्तीर्ण गरेकी छन् छ भने अर्की छोरीले स्नातक तथा छोराले कक्षा १२ उत्तीर्ण गरेकी छन् । तीनैजना अहिले अध्ययनकै सिलसिलमा जापानमा छन् । तीनै छोराछोरीको पढाइको खर्च बेहोर्न विरसले चिया बिक्री गर्दैआएकी छन् ।रासस

कैलाश हेलिकप्टरको २० प्रतिशत लाभांश घोषणा, प्रिमियममा आईपीओ जारी गर्ने

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेसले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि चुक्ता पुँजीको करसहित २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यस्तै, कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणलाई सेयर निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । लाभांश र आईपीओ प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते दोस्रो वार्षिक साधारण सभा साढे ३ बजे बोलाएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लागी बाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण र संचालक समितिले गरेको निर्णयहरु अनुमोदन गर्नेछ । यस्तै, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’, २० टोली सहभागी हुने

काठमाडौं । नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी हुँदैछन् । प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा २० टोली सहभागी हुनेछन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी १२९ खेलाडी यही पुस ११ गते पोखरा आएका थिए । सहभागी टोलीले फेवातालमा दैनिक अभ्यास गरिरहेका छन् । प्रतियोगितामा चीनको ८, सिङ्गापुरको १ तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने भएका छन् । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, डा«गन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्याफ्टिङ एजेन्सिज एशोसिएशन (नारा) सहित नेपालका ११ टोलीको सहभागिता रहने छ । प्रतियोगितामा ५ सय र २ सय मिटर दौडका विजेता टोलीलाई ५ हजार अमेरिकी डलर, उपविजेतालाई २ हजार डलर र तृर्तीय हुने टोलीलाई १ हजार २ सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।

यी ४ प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, यस्तो छ आज देशभरको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा तथा सुदूरपश्चिम र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान तथा सुदूरपश्चिम र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । साथै सोमबार बिहान तराई तथा काठमाडौं उपत्यका र खोचमा हुस्सु लाग्ने सम्भावना छ ।