नाफा गिरावटले बैंकका लगानीकर्ता पलायन
अहिले बैंकिङ क्षेत्र इतिहासकै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । अर्थतन्त्रको बाह्य अवस्था सुध्रिएको हामी गर्व गरिरहेका छौं तथापि आन्तरिक अर्थतन्त्र कमजोर नै देखिएको छ । आम लगानीकर्ता, उद्यमी तथा व्यवसायीहरूमा निराशा छाएको कारण न्यूनतम ब्याजदरमा पर्याप्त तरलता उपलब्ध हुँदासमेत लगानी तथा कर्जा बिस्तार हुन नसक्दा आर्थिक एवं बैंकिङ गतिविधिहरू सुस्ताएको अवस्था छ । बैंक तथा वित्तीय संस्थाहरूको मुनाफामा अनपेक्षित रूपमा गिरावट आइरहँदा बैंकिङ क्षेत्रका लगानीकर्ताहरू सुरक्षित लगानीका क्षेत्र खोज्दै क्रमशः बाहिरिने कोसिस भइरहेको अनुभूत भइहेको छ । लागत खर्चमा भएको वृद्धि, मुनाफामा आएको सङ्कुचन, खराब तथा निष्कृय कर्जामा वृद्धि, गैरबैंकिङ सम्पत्तिको बेचबिखनमा सुस्तता, दक्ष जनशक्तिको पलायनलगायतका कारणले समस्या थपिँदै गएको छ । यसरी एकपछि अर्को समस्या एवं चुनौतीबाट बैंकिङ क्षेत्र गुज्रिँदै गएको पछिल्लो परिवेशबाट मुलुकको अर्थतन्त्रले कतै बाटो बिराउने हो कि भन्ने गम्भीर प्रश्न खडा गरेको विषयलाई अर्थतन्त्रका सरोकारवालाहरूले पनि गम्भीरताका साथ चिन्तन मनन गर्न जरुरी छ । बैंकिङ क्षेत्रलाई सबल र सक्षम बनाउनका लागि नेपाल राष्ट्र बैंकले लिएको पुँजी वृद्धिको नीतिले बैंक तथा वित्तीय संस्थाहरूमा व्यापक पुँजी वृद्धि भएको र लगानीकर्ताहरूले बैंकको पुँजी वृद्धि गरिसकेको अवस्थामा हाल संसद्मा प्रस्तुत बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकले बैंकिङ क्षेत्र मात्र नभई समग्र निजी क्षेत्रमा थप अन्योलता बढाएको छ । बैंकर्स र व्यवसायीबीचको भेद छुट्टयाउने उद्देश्य राखी ल्याइएको उक्त व्यवस्थापकहरूले गहिरो मन्दीको मार खेपिरहेको अर्थतन्त्रमा थप गतिरोध देखिने स्पष्ट संकेत देखिएको छ । हिजो राज्यले बनाएको नीतिकै आधारमा गरिएको लगानीलाई आज लगानी फिर्ता लानु पर्ने अवस्था सिर्जना भएको छ तर निस्कने बाटो भने स्पष्ट छैन । त्यति मात्र होइन, उल्लेख्य स्वामित्व भएका लगानीकर्तालाई बैंकिङ क्षेत्रबाट नै कर्जा लिन निषेध गरिएको छ । यस्ता प्रावधानले समग्र उद्यम/व्यवसाय क्षेत्र नै धराशायी मात्र बन्दैन, लगानीकर्ता र लगानीलाई पलायन बनाउन थप बल पुग्ने देखिन्छ । यस्ता विषयहरूलाई हृदयंगम गर्दै नेपाल सरकार, मातहतका नियामक निकाय र सरोकारवालाबीच गम्भीर छलफल हुन आवश्यक छ । समग्र आर्थिक एवं बैंकिङ क्षेत्रको वर्तमान अवस्थाको चिरफारसहित सुस्ताएका गतिविधि र अर्थतन्त्रलाई चलायमान बनाउने र दिगो आर्थिक एवं बैंकिङ विकासको यात्रामा अगाडि बढ्न विभिन्न विषय सम्बोधन हुन आवश्यक छ । पुँजीगत खर्च प्रणालीमा व्यापक सुधार योजना, नीति तथा कार्यक्रमको कार्यान्वयनको प्रभावकारिता, राजस्वको दर भन्दा दायरा अभिवृद्धि, निर्माण व्यवसायीहरुको बक्यौता र ब्याजलगायत अन्य सरकारी अनुदान अविलम्ब भुक्तानी, बैंक तथा वित्तीय संस्थामा वैदेशिक लगानी भित्र्याउनका लागि ल्याउनका लागि आवश्यक नीति तथा वातावरणमा सहजीकरण गरिनुपर्छ । लगानीको समुचित प्रतिफल पाउने वातावरण सृजना भए मात्र लगानीकर्ताको मनोबल उच्च भइ लगानी विस्तारमा सहयोग पुग्ने मौजुदा बाफिया विधयेकलाई आम लगानी र व्यवसायमैत्री बनाउनुपर्ने हुन्छ । खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुताको सुनिश्चिताका लागि कृषि क्षेत्रको आधुनिकरण र व्यवसायीकरण गरिनुपर्ने, आन्तरिक उत्पादनको उपयोग र निर्यातमा विशेष जोड, बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जा व्यवस्थालाई थप सहजीकरण हुनुपर्छ । विदेशोन्मूख र विदेशबाट फर्किएको जनशक्तिको सीप र दक्षताबमोजिम रोजगारी पाउने र उद्यमशिलता गर्न पाउने नीति र वातावरण बनाउनुपर्ने, नवप्रवर्तन, युवा तथा महिला उद्यमशीलताको विकास, साना, लघु, घरेलु तथा मझौला उद्योगहरुको स्तरोन्नति जस्ता विषयहरूलाई प्राथमिकता दिनुपर्ने, राज्यले अवलम्बन गर्ने नीति र कार्यक्रमहरुमा हरित अर्थात पर्यावरणीय विकास, खाद्य सुरक्षालगायतका विषयहरूलाई प्राथमिकता दिने नीति अवलम्बन गर्नुपर्छ । पुँजी निर्माण तथा परिचालनमा सहयोग पुग्ने गरी संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण हुने व्यवस्थामा सहजीकरण हुनुपर्ने, बैंक तथा वित्तीय संस्था तथा जग्गा व्यवसायीहरुको हकमा जग्गा हदबन्दी नलाग्ने व्यवस्था गर्नुपर्ने, रेमिट्यान्समा भएको निर्भरता घटाउँदै उत्पादन, रोजगारी र नवप्रवर्तनको विकास एवं विस्तार तथा निर्यात प्रवद्र्धनमा विशेष योजना लागू हुनुपर्छ । सीपलाई सिधै श्रमसँग जोड्ने र श्रमलाई उत्पादनसँग जोड्ने शिक्षाको प्रारुप तयार गरिनुपर्ने । शिक्षा र रोजगारीका लागि विदेशिन खोजेका जनशक्तिहरुको वीचमा देशभित्र नै केही गर्न सकिन्छ भन्ने भावना र संभावनालाई उजागर गर्दै नवप्रवर्तनमा जोड्ने र विदेशिएको जनशक्ति वा विदेशबाट फर्किएको जनशक्तिले आर्जन गरेको सीप र दक्षता बमोजिम कार्य गर्न पाउने अवसर र वातावरण सृजना गरिनुपर्नेछ । दुर्गम, सीमान्तकृत र कमजोर वर्गका वासिन्दाहरुलाई समावेशी र सहभागितामूलक बनाउँदै मूलप्रवाहीकरण गर्ने, राज्यद्वारा प्रदत्त सेवा, सुविधा तथा लाभहरु निजहरुले महशुस गर्ने गरी उपलब्ध गराउनुपर्छ । मुलुकलाई दुई ठूला अर्थतन्त्र भएका मुलुक चीन र भारत वीचको गतिशील साँघु बनाई बाह्य लगानी विस्तार, दिगो बैंकिङ विकासमार्फत सर्वसुलभ बैंकिङ सेवा, औद्योगिकरण, कृषि तथा पर्यटनको व्यवसायीकरण, निर्यात प्रबद्र्धनसहित तीव्र आर्थिक विकास गर्न अति उच्चस्तरीय कार्यदल गठन गर्नुपर्छ । बैंक/वित्तीय संस्थाहरूलाई बाह्य जगतबाट सहुलियत दरमा ऋण ल्याउन, पुनर्बिमा कम्पनीले अन्य देशमा व्यवसाय विस्तार गर्न, धितोपत्र बजारलाई अन्तर्राष्ट्रियकरण गर्न, विदेशी बजारमा ऋण लिन, हरित ऋणपत्र, क्यअष्बरिन्चभभल द्ययलम लगायत बिक्री गरी वित्तीय साधन जुटाउनका लागि आवश्यक पहल गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रदान गर्दा धितोकोरुपमा लिएका सबै किसिमका जमानतहरुको व्यवस्थापनको लागि सम्पत्ति व्यवस्थापन संस्था स्थापना गर्न आबश्यक कानून बनाई कार्यान्वायन गरिनुपर्छ । कानून बन्न समय लाग्न सक्ने भएकोले नियामकिय व्यवस्थामार्फत अविलम्ब आवश्यक कानून बनाई अगाडि बढ्नुपर्छ । दुर्गम तथा पिछडिएका स्थानमा शाखा खोल्दा भोग्नुपर्ने विभिन्न कठिनाइका बावजुद बैंकिङ पहुँच अभिवृद्धिका लागि योगदान दिने बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंकद्वारा परिभाषित क्षेत्रमा शाखा खोल्ने बैंक तथा वित्तीय संस्थाको लागत बढी हुने हुँदा प्रोत्साहनस्वरुप मुनाफामा लाग्ने करको दरमा छुट दिने व्यवस्था गरिनुपर्छ । मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरू बलियो स्थितिमा रहेको, पर्याप्त तरलतासहित न्यून ब्याजदर कायम रहेको, आन्तरिक तथा बाह्य लगानीकर्ताहरुलाई हौसाउने गरी सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) प्राप्त भएको छ । नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई विकासशील राष्ट्रमा दर्ज हुँदै गर्दा मौजुदा नीति तथा वातावरणलाई अझ सहज एवं अनुकूल बनाउँदै समग्र निजी क्षेत्रलाई साथमा लिएर मुलुकलाई लगानी हबको रूपमा स्थापित गर्नुपर्छ । दीगो एवं फराकिलो आर्थिक एवं बैंकिङ विकाससहित आर्थिक समृद्धिको नविन यात्रा प्रारम्भ गर्ने कार्यमा नेपाल सरकार र सरोकारावाला सबैको हातेमालो जरुरी छ । (पौडेल बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)का अध्यक्ष हुन् ।)
सम्पदा क्षेत्रलाइ स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रलाई एआर (अग्मेन्टेड रियालिटी), भिआर (भर्चुअल रियालिटी), क्युआर (क्विक रेस्पोन्स) मा आधारित स्मार्ट सांस्कृतिक पर्यटनमा विकास गर्ने उद्देश्यले सामग्री उत्पादन गर्न थालेको छ । महानगरको सम्पदा तथा पर्यटन विभागले ‘बाखं न्यने वा’सँगको सहकार्यमा सामग्री उत्पादन थालेको हो । वसन्तपुर, स्वयम्भू, पशुपतिनाथ, बौद्ध र नरः दे (हाँडीगाउँ)का सम्पदाका सांस्कृतिक ऐतिहासिक र पुरातात्विक महत्व तथा यस क्षेत्रसँग सम्बन्धित सांस्कृतिक र सामाजिक चालचलनसम्बन्धी सामग्री उत्पादन भइरहेका छन् । सामग्रीको आधिकारिकताका पुष्टि गर्न इतिहास र लिपिको अध्ययन, पुराना व्यक्तित्वहरुसँग अन्तर्वार्ता लिइसकेको कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले जानकारी दिए । महानगरले चालु आर्थिक वर्षका नीतिमा हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको सम्पदा मार्गलाई प्रवद्र्धन गर्ने, वसन्तपुर, स्वयम्भू, बौद्ध, पशुपतिनाथ र वसन्तपुरलाई सम्पदा मार्गका रुपमा विकास गर्ने, यी स्थानहरुको प्रवद्र्धनका लागि रणनीतिक, व्यावसायिक र पर्यटकीय मार्ग पहिचान र नक्साङ्कन गर्ने उल्लेख छ । यही नीति कार्यान्वयन गर्ने क्रममा थालिएको कार्यक्रममा पर्यटकलाई प्रदर्शन गरिने अडियो, भिडियो तथा दृश्यात्मक सामग्री उत्पादन गर्ने क्रममा स्वयम्भू क्षेत्रमा एक सय ८८ वटा, हनुमान ढोका दरबार क्षेत्रमा ४१ वटा, वौद्ध क्षेत्रमा सातवटा, हाँडीगाउँ क्षेत्रमा २० वटा पशुपति क्षेत्रका ५६ वटा स्मारकको अध्ययन गरिसकेको महानगरले जनाएको छ । सङ्गतले भने, ‘तर गलत सूचना भयो भने यो सुधार गर्न पनि सकिँदैन र छुट दिन पनि सकिँदैन ।’ उनले सामग्रीको आधिकारिता र पुष्ट्याइँका विषयमा कुरा गर्दै काठमाडौंको प्राचीनता, मौलिकतासँग जोडिएका सामाजिक र सांस्कृतिक परम्परा सामग्रीको मर्म रहेको बताए । ‘यसरी उत्पादित सामग्रीहरु दिगो उपयोगका लागि हुन् । यसका लागि अध्ययन गर्ने, प्रारम्भिक सूचना तथा प्रशोधित सूचनामा काम गर्ने, प्राप्त सूचनालाई आधिकारिकता प्रदान गर्ने संयन्त्र निर्माण गरौँ’, समितिका सदस्य एवं वडा नं १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भने, ‘यो हतारमा सक्ने काम होइन । सहभागिता र सहकार्यलाई निरन्तरता दिएर काम गरौँ ।’ स्मार्ट पर्यटनका लागि महानगर स्वर्णिम योजना ‘पर्यटकीय सहर’ कार्यक्रमअन्तर्गत प्रयोगकर्ता (पर्यटक) को आवश्यकता पहिचान र बजार सर्वेक्षण अध्ययन गरिएको थियो । ठमेल, वसन्तपुर, पशुपतिनाथ, बौद्ध र स्वयम्भूमा भेटिएका २९ देशका एक सय २५ पर्यटकले सर्वेक्षणमा भाग लिएका थिए ।
स्वास्थ्य बीमा बोर्ड : ४ महिनादेखि अध्यक्ष र २ महिनादेखि कार्यकारी निर्देशक विहीन
काठमाडाैं । लामो समयदेखि स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन भएको छ । बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक पद रिक्त भएको लामो समय भइसकेको छ । गत भदौ १८ गते तत्कालीन अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिएर बोर्डबाट बाहिरिएका थिए । त्यसैगरी, गत कार्तिक २५ गतेदेखि तत्कालीन कार्यकारी निर्देशक डा. दामोदर बसौलाको ४ वर्षे कार्यकाल सकिएर बोर्डबाट बाहिरिएका थिए । यसर्थ बोर्डमा अध्यक्ष पद रिक्त भएको ४ महिना र कार्यकारी निर्देशकको पद रिक्त भएको २ महिना भएको छ । महिनौंसम्म अध्यक्ष र कार्यकारी निर्देशक पद रिक्त हुँदा पनि सकारले नयाँ नियुक्तिका लागि केही पहलसमेत गरेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कार्यकारी निर्देशकको आवेदन खुलाउने प्रक्रिया भइरहेको जनाएको छ । स्वास्थ्य बीमा ऐन, २०७४ का केही बुँदाहरू संशोधन गर्नु परेकाले कार्यकारी निर्देशकको आवेदन खुलाउन ढिला भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकिले जानकारी दिए । उनका अनुसार संसोधनका लागि ड्राफ्ट मन्त्रिपरिषदमा पुगिसकेको छ । मन्त्रिपरिषदको बैठकले संसोधन गरेपछि कार्यकारी निर्देशकको आवेदन आह्वान हुने उनले बताए । बोर्डको कार्यकारी निर्देशकका लागि आवेदन दिएका मध्येबाट सर्टलिष्टमा पर्नेमध्ये एक जनालाई मन्त्रिपरिषदको बैठकले कार्यकारी निर्देशकमा नियुक्ति गर्ने व्यवस्था रहेको छ । यसैगरी, अध्यक्षको नियुक्ति पनि मन्त्रिपरिषद बैठकले नै गर्ने गर्दछ ।
स्वास्थ्यमन्त्री पौडेलले गरे विष्णुमति करिडोर ट्रयाक खन्ने कार्यको शिलान्याश
काठमाडौं । काठमाडौं ५ को बुढानिलकण्ठ र टोखा नगरपालिका जोड्ने विष्णुमति करिडोरको ट्रयाक खोल्ने कार्य शुरु भएको छ । कार्यको काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शिलान्यास गरे । हाल संघीय सरकारबाट एक करोड विनियोजन गरी शुरु भएको करिडोरको कामका लागि बजेट वृद्धिमा समेत सघाउने मन्त्री पौडेलले प्रतिबद्धता जनाए । करिडोर खुल्न नसक्दा विकासको काम पछि परेको भन्दै मन्त्री पौडेलले आफूले नागरिकको दुःख पीडा देखेरै त्यसलाई कम गर्न पहल गरेको बताए । ‘यस करिडोरले दुवै तहको विकास र समृद्धिमा योगदान पुग्नेछ,’ मन्त्री पौडेलले भने, ‘नागरिकको विकास आवश्यकता पूरा गर्न हाम्रो सदैव साथ रहनेछ । ’ बुढानिलकण्ठ क्षेत्रमा सडक डिभिजन विभागबाट सडक विस्तार हुनेछ । यसैगरी टोखा नगर क्षेत्रको करिडोरमा काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत सडक विस्तारको काम शुरु भएको छ । हाल बुढानिलकण्ठको धनेश्वर धन्ने ढिकुरो क्षेत्रबाट शुरु करिडोरको ट्रयाक स्कोन मन्दिरसम्म पुर्याउने लक्ष्य छ । क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारले हातेमालो गरेर सफल पार्नेसमेत मन्त्री पौडेलले प्रतिबद्धता जनाए । प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा मन्त्री पौडेलले सांसदका रुपमा आफू निर्वाचित भएमा करिडोरको काम अघि बढाउने घोषणा गरेका थिए । शिलान्यास कार्यक्रममा बाग्मती प्रदेशका खानेपानी तथा सिञ्चाई मन्त्री श्यामबहादुर खड्का, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी तथा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीसमेत सहभागी थिए । उनीहरुले विकास निर्माणका लागि तीन वटै तहबीच समन्वय र सहभागीता रहने भन्दै मन्त्री पौडेलसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए । बुढानिलकण्ठ ४ का वडाध्यक्ष श्रीराम केसीले बुढानिलकण्ठ र टोखा दुवैतर्फ बाटो खुलाउन सांसद एवं स्वास्थ्य मन्त्री पौडेलले सहयोग गरेको बताए । ‘बुढानिलकण्ठमा काम शुरु हुने योजना थियो,’ उनले भने, ‘मन्त्रीज्यूको पहलमा टोखामा पनि एकैसाथ काम शुरु भएको छ । यसमा बजेट थप गर्न सघाउने प्रतिबद्धता जनाउनुभएको छ ।’ करिडोर खन्ने चर्चा लामो समयदेखि भए पनि शुरु हुन सकेको थिएन । करिडोरको काम सम्पन्न भएमा दुवै तहको विकास र यातायातमा निकै सहजता पुग्ने वडाध्यक्ष केसीले बताए ।
स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन
काठमाडौं । स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ । मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले प्रतिवेदनले सुझाव दिएका बुँदाहरु कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘बिमा क्षेत्रमा सुधार गर्ने हुटहुटी छ । यो प्रतिवेदनले स्वास्थ्य बिमा सुधार गर्नुपर्ने योजना र विषयवस्तु समेटेको छ । प्रतिवेदन अध्ययन गरेर यसलाई लागू गर्नेछौँ ।’ उनले विद्यमान स्वास्थ्य बिमा कार्यक्रम व्यवस्थित हुन नसकेको र लक्षित समूहले पूर्ण रुपमा लाभ पुग्ने गरी सेवा लिन नसकेको भन्दै प्रतिवेदनले सुधार गर्न सहयोग गर्ने बताए । उनले प्रतिवेदन मन्त्रिपरिषद्मा पनि बुझाइने र केही समयपछि सार्वजनिक गरिने जनाए । मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्य बिमा सुधारका निम्ति पेस गरिएको प्रतिवेदन राम्रो कामको सुरुआत भएको बताए । उनले भने, ‘विभिन्न चरणमा विज्ञसँग छलफल गरेर तयार पारिएको प्रतिवेदन हो । स्वास्थ्य बिमासम्बन्धी रणनीति प्रतिवेदनमा आएको छ । अध्ययन गरेर यसको कार्ययोजना बनाउनेछौँ ।’ असोज ९ गते वरिष्ठ जनस्वास्थ्यविज्ञ डा शम्भुप्रसाद आचार्यको संयोजकत्वमा मन्त्री पौडेलले स्वास्थ्य बिमा सुधार गर्न नौ सदस्यीय समिति गठन गरेका थिए । प्रतिवेदनका संयोजक आचार्यले प्रतिवेदनले स्वास्थ्य बिमा देखिएका अवसर र चुनौती केलाइएको प्रतिक्रिया दिए । उनले भने, ‘स्वास्थ्य बिमा ठूलो कार्यक्रम हो । यसको प्रभावकारी सञ्चालनका लागि प्रतिवेदनमा तत्काल तथा भविष्यमा गर्नुपर्ने सुधारका प्रयास समेटिएको छ ।’ उनले स्वास्थ्य बीमा लागू भएका छिमेकी देश र अन्तर्राष्ट्रिय स्वास्थ्य बिमा प्रणालीका अभ्यास अध्ययन गरेर सुझावसहितको प्रतिवेदन तयार पारिएको जानकारी गराए । समितिमा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा रघुराज काफ्ले, वरिष्ठ मुटु शल्यचिकित्सक प्रा डा भगवान् कोइरालासहित अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव सदस्य रहेका छन् । त्यसैगरी स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख तथा निजी क्षेत्रका प्रतिनिधिलाई समिति सदस्य तोकिएको थियो ।
नेपाल लाइफले सार्वजनिक गर्यो नेपाल लाइफ रक्षा कवच म्यादी जीवन बीमा योजना
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ पौष १८ गते काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले उक्त बीमा योजना सार्वजनिक गरेका हुन् । एक निश्चित अवधिको लागि सुरक्षा प्रदान गरी दूर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारको लागि आर्थिक सुरक्षा, सुनिश्चिता प्रदान गर्ने नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बीमा हो । यसको न्यूनतम बीमांक रकम पाँच लाख र अधिकतम बीमांक रकम एक करोड रहेको छ । यस योजनामा सरिक हुन बीमितको उमेर न्यूनतम १८ वर्ष र अधिकतम ५९ वर्ष हुनुपर्ने कम्पनीले जनाएकाे छ । बीमा अवधि न्यूनतम १ वर्षदेखि अधिकतम ३५ वर्षसम्म हुनेछ भने बीमा समाप्तिमा बीमितको अधिकतम उमेर ६० वर्ष रहेको छ । यस योजनामा ऐच्छिक सुविधा पनि न्यूनतम ५ वर्षदेखि अधिकतम ३५ वर्ष अवधिसम्म लिन सकिने पनि कम्पनीले जनाएकाे छ । यस योजनाअन्तर्गत बीमा अवधिभित्र जुनसुकै समयमा बीमितको मृत्यु भएमा बीमांक रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ । कार्यक्रममा बोल्दै यस कम्पनीका सीईओ पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुसीको आभास भएको बताए । सामान्य सिद्धान्तअनुसार आम्दानीको १५ गुणासम्मको बीमा लिनु नितान्त आवश्यक रहेको उनकाे भनाइ छ । सीईओ पराजुलीले जोखिम बहनलाई मुख्य प्राथमिकतामा राख्दै यो म्यादी जीवन बीमा योजना सार्वजनिक गरिएको बताए । यो पोलिसीलाई मुल पोलिसीमा गाभेर बीमितलाई दिन सकिए सानो रकममा ठूलो जोखिम बहन हुने बताए । सम्पूर्ण अभिकर्तालाई सहजताका साथ यसलाई बजारीकरण गर्न उनले आग्रह गरे । कोर प्रडक्टसँगै गाभेर बजारमा पस्किइएको यो योजना एकदमै प्रभावकारी र उत्तम रहेको र नेपाली बीमा उद्योगमा यो योजना कोशेढुङ्गा साबित हुनेमा आफू विश्वस्त रहेको बताए ।
पौष २५ देखि चितवन महोत्सव हुने, ३० करोड काराेबार गर्ने लक्ष्य
काठमाडाैं । चितवन महोत्सवको १५औं संस्करण २०८१ पौष २५ देखि माघ १० गतेसम्म हुने भएको छ । आयोजक उद्योग वाणिज्य संघ चितवनले शुक्रबार पत्रकार सम्मेलन गरेर चितवन महोत्सव २०८१ बारे जानकारी दिएको हो । चितवन जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, औद्योगिक विकासलगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवर्द्धनमा टेवा पुर्याउँदै चितवनको गरिमा र पहिचानलाई राष्ट्रिय तथा अर्न्तराष्ट्रिय स्तरसम्म पुऱ्याउने उद्देश्यले प्रत्येक २-२ वर्षको अन्तरालमा विसं २०५३ सालदेखि चितवन महोत्सव हुँदै आएको छ । चितवन महोत्सवको १५ औं संस्करणको रूपमा चितवन महोत्सव २०८१ प्रदर्शनी मैदान, नारायणी नदी किनार, नारायणगढ चितवनमा हुन लागेको हो । उद्योग वाणिज्य संघ चितवनको आयोजना एवम् भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति, चितवनको मुख्य प्रवर्द्धनका साथै ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजनमा महोत्सव हुन लागेको हो । राज्यस्तरबाट आर्थिक गतिविधि चलायमान गराउने कुनै ठोस कार्यक्रम सञ्चालन नभएको अवस्थामा निजी क्षेत्रको भूमिकालाई आत्मसात गर्दै आर्थिक गतिविधि र व्यापार प्रोत्साहन गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने सामाजिक सम्बन्ध मजबुत गराउने, बजार विस्तार र रोजगार सिर्जनामा भूमिका निर्वाह गर्ने, सामाजिक आर्थिक गतिविधिका लागि उत्प्रेरणा दिने, क्षेत्रीय असन्तुलन घटाउने र सांस्कृतिक प्रवर्द्धन गर्ने उद्देश्यले चितवन महोत्सव २०८१ आयोजना गर्न लागिएको महोत्सवका मूल संयोजक सुमनकुमार श्रेष्ठले जानकारी दिए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष समेत रहेका श्रेष्ठका अनुसार राष्ट्रिय तथा अर्न्तराष्ट्रिय स्तरमा समेत ख्याति प्राप्त गर्न सफल चितवन महोत्सवका विगतका संस्करणहरुमा संघले कुनै एक वस्तु तथा क्षेत्रलाई प्रवर्द्धन गर्दै आइरहेको छ । संघले विगतका महोत्सवहरूमा पोल्ट्री, माछा, डेरी, तोरी, मौरी र मह, केरा लगायतका उत्पादनहरूलाई केन्द्रविन्दुमा राखी कार्यक्रम सम्पन्न गरेको थियो । जसकारण उपर्युक्त विषयमा चितवन हाल आत्मनिर्भर मात्र होइन, पकेट क्षेत्रसमेत बन्न सफल भएको उनले बताए । यसै सन्दर्भमा यस वर्ष पर्यटनलाई प्रवर्द्धन गर्ने हेतुले पर्यटनलाई केन्द्रबिन्दुमा राखी महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ । संयोजक श्रेष्ठका अनुसार आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा केन्द्रित रहने महोत्सवमा पर्यटनसँग सम्बन्धित गतिविधि सञ्चालन गरिने छ । चितवन जिल्लाको पहिचान, यसको बहुआयामिक विविधता, यहाँको पर्यापर्यटन र चितवन आन्तरिक तथा बाह्य दुवै पर्यटनका लागि सबै सिजनका लागि उत्कृष्ट गन्तव्य हो भन्ने स्थापित गर्न महोत्सव केन्द्रित रहने छ । यसका साथसाथै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पोल्ट्री तथा उद्योग प्रवर्द्धनमा महोत्सवका गतिविधि सञ्चालन हुनेछन् । यस वर्षको चितवन महोत्सवमा अन्तर्राष्ट्रिय व्यावसायिक प्रतिष्ठानको उल्लेख्य सहभागिता रहने छ । चीनका उद्योग वाणिज्य संघहरूको समन्वयमा चीनका विभिन्न प्रतिष्ठानहरूको उत्पादनको प्रर्दशनीसहित रहेनछ । ७ वटा विशेष स्टल, डोम, कृषि परिसर,अटो परिसर साथसाथै निर्माण सामाग्री ब्यवसायीको सहकार्यमा निर्माण एक्सपो घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघसंस्थाका स्टल, रेष्टुरेन्ट परिसर सहित ४३० वटा स्टलहरु रहनेछन् भने प्रत्येक स्टलको विमा गरिएको छ । विगतका महोत्सवहरुमा सञ्चालन हुँदै आएको फुड फेस्टिभल यस वर्ष पनि परम्परागत खानाको प्रवर्द्धन गर्ने उद्देश्यले २०८१ पौष २८ देखि माघ ७ गते सम्म क्याम्पाचौर नारायणगढमा सञ्चालन गरिनेछ भने २०८१ पौष २८ गतेदेखि माघ ४ गतेसम्म चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, साहित्य लगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही विज्ञहरूको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरू सञ्चालन गरिनेछन् । यस वर्ष चितवनको पहिचान गराउन सफल रहेको केराको उत्पादनलाई विविधिकरण गर्दै न्यवसायिकता तर्फ उन्मुख गर्न अभिप्रेरित गर्ने उद्देश्यले केराको थामबाट रेसा उत्पादन गर्ने कार्यलाई परिसरमा प्रत्यक्ष प्रदर्शनी गर्न लागिएको उनले बताए । संघका अनुसार १५ दिन सम्म सञ्चालन हुने महोत्सवमा विगतका महोत्सवहरूमा झैं विविध खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिहरूको भेषभूषा, कला संस्कृति झल्कने विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारहरूको प्रस्तुति प्रतियोगितात्मक कृषि उपजको प्रर्दशनीले निरन्तरता पाउने छन् । यसैगरी, थप मनोरञ्जनका लागि बाल उद्यान सञ्चालन गरिने छ । यसैगरी यसपटक पनि मौरी र चितवनको पहिचान गराउन सफल तोरीलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव परिसरमा मौरीको प्रतिमासहित तोरीबारीको निर्माण गरिएको संघले जनाएको छ । संघका अनुसार चितवन महोत्सव २०८१ मा कलात्मक प्रवेशद्वार राखिनुका साथसाथै महोत्सव परिसरमा कलात्मक आकृतिहरू निर्माण गरिनेछन् । बाह्य सुरक्षाका लागि स्थानिय प्रशासनसँग समन्वय गर्दै आन्तरिक सुरक्षाका लागि सुरक्षागार्डको उचित व्यवस्था गरिएको छ भने महोत्सव परिसर २४ सै घण्टा सिसिटिभिको निगरानीमा रहनेछ । महोत्सव परिसरमा खानेपानी तथा शौचालयको उचित प्रबन्ध गरिएको छ । यसैगरी, प्रदर्शक तथा अवलोकनकर्ताको सुविधाको लागि महोत्सव परिसरमा फ्री वाईफाईको व्यवस्था गरिएको समेत जानकारी संयोजक श्रेष्ठले जानकारी दिए । संयोजक श्रेष्ठका अनुसार यस वर्षको महोत्सवको प्रवेश शुल्क सर्वसाधारणतर्फ १०० रुपैयाँ र विद्यार्थी सहुलियत ५० रुपैयाँ राखिएको छ भने अपांग, वृद्धवृद्धा तथा फरक क्षमता भएकाहरूको लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । टिकट भौतिक रूपमा र अनलाइनबाट समेत पनि खरिद गर्ने व्यवस्था गरिएको छ । सञ्चारकर्मीलाई प्रवेश सुविधाको निम्ति आ-आफ्नो परिचय पत्र प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको संघले जनाएको छ । आन्तरिक तथा बाहृय पर्यटकसहित करिब ५ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयोजक समितिको रहेको छ भने १५ दिनको अवधिमा करिब ३० करोड भन्दा माथिको कारोवार हुने अनुमान गरिएको छ । मन्दीका कारण विक्षिप्त बनेको आर्थिक क्षेत्रलाई यस वर्षको महोत्सवले थप उर्जा दिने अपेक्षा गरिएको संघले जनाएको छ। प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्षको चितवन महोत्सवको समुद्घाटन रोबोटको सहयोगमा गर्न लागिएको मूल संयोजक श्रेष्ठले जानकारी दिए । चितवनको र समग्रमा नेपालकै गौरव, गरिमा र प्रतिष्ठाको यो साझा अभियानमा सक्रिय रुपमा सहभागी भई महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्नमा सम्पूर्णको महत्त्वपूर्ण भूमिकाको अपेक्षासहित सहभागिताको लागि संघले अपिल गरेको छ। चितवन महोत्सव प्रत्येक २/२ वर्षको अन्तरालमा हुँदै आएको छ ।
ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा ७५७ जनाले गरे रक्तदान
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते बिहीबारदेखि स्थापनाको १८ वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमका साथसाथै नि:शुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको हो । यस कार्यक्रमअन्तर्गत, कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको जनकपुर शाखा, बाग्मती प्रदेशको कान्तिपथ शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको मिलनचोक बुटवल शाखा र नेपालगंज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा ७५७ रक्तदाताहरुले रक्तदान गरेका छन् । यसैगरी, ११९ जनाको आँखा जाँच गरिनुका साथै २०० जनाको रक्तचाप तथा मधुमेहको परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको छ । ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।