विकासन्युज

राजश्व उठाउने सरकारी तरिकाः महोत्सव लगाउँदा पालिकालाई २५ लाख रूपैयाँ कर तिर्नुपर्ने 

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकामा महोत्सव लगाउने संस्थाले रु २५ लाख सामाजिक उत्तरदायित्वका रूपमा तिर्नुपर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । साथै मनोरञ्जन करका रूपमा प्रत्येक टिकेटको पाँच प्रतिशत नगरलाई तिर्नुपर्ने उनले बताए । यसअघि महोत्सव लगाउन नगरले सिफारिस दिने तर, कर जिरो हुने अबस्था थियो थियो”, उनले भने “तर, अहिले रु २५ लाखसहित मनोरञ्जन कर उठाउँदा रु ३० लाख बढी हुने भयो, यसले नगरमा कर बढ्ने भयो ।” यसअघि महोत्सवको अनुमति दिए पनि ठेकेदारहरू आएर बिचौलियाको काम गर्ने र आम्दानीको पाँच प्रतिशत नगरलाई दिनुपर्ने व्यवस्था भए पनि रु एक पनि कर नआउने गरेको भन्दै अबदेखि त्यो समस्या नहुँने उनको भनाइ थियो । अब उपमहानगरपालिकाले आफैँ टिकेट छापेर दिने र त्यसको पाँच प्रतिशत मनोरञ्जन कर दिनुपर्ने उनले भने । यसअघि आयोजकले आफैँ टिकेट काट्ने र आम्दानी नदेखाउने गर्दा करमा पनि छली हुने अवस्था थियो । यस्तै यस वर्ष चेम्बरलाई महोत्सव लगाउने जिम्मा दिने निर्णय गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिकाको शुक्रबारको बैठकले तुलसीपुर चेम्बर अफ कमर्सलाई महोत्सव लगाउने जिम्मा दिने निर्णय गरको हो । यसअघि तुलसीपुर उद्योग वाणिज्य सङ्घले महोत्सव लगाएको भन्दै पालोका आधारमा चेम्बरलाई महोत्सव लगाउने जिम्मा दिइएको प्रमुख खड्काले बताए । “एउटा व्यवसायको संस्थाले एक पटक महोत्सव लगाएमा तीन वर्षसम्म लगाउन नपाउने कार्यविधि छ”, उनले भने, “सोहीबमोजिम हामीले यस वर्ष चेम्बर र साना तथा घरेलु उद्योग महासङ्घलाई दिने भन्ने कुरामा बहस भयो, तर अन्ततः चेम्बरलाई दिने निर्णय भयो, यहीअनुसार अर्को बर्ष घरेलुलाई दिनुपर्ने हुन्छ, यो कार्यविधिले बोलेको कुरा हो ।” उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले बोलपत्रमार्फत महोत्सव लगाउनुपर्ने माग राखेको भए पनि सबैलाई पालो दिएर त्यसपछि बोलपत्र गर्न सकिने नगर प्रमुख खड्काको भनाइ छ । रासस

विद्युत प्राधिकरणले ८ मेगावाट बिजुली नदिँदा हेटौँडा सिमेन्टको उत्पादन ३ महिनादेखि बन्द

काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले करिब ३ महिनादेखि सिमेन्ट उत्पादन गर्न बन्द गरेको थियो । सिमेन्ट उत्पादन कहिलेदेखि नियमित गर्नेसम्बन्धी अझै अन्योलता रहेको उद्योग व्यवस्थापनले जनाएको छ । विभिन्न उपकरणलाई मर्मतसम्भार गर्नुपर्ने र केही नयाँ उपकरण जडान गर्नुपर्ने भएको भन्दै उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौंबाट हेटौँडा सिमेन्टलाई दैनिक ८ मेगावाट विद्युत् नियमित उपलब्ध गराउने जानकारी नआएसम्म उत्पादनलाई निरन्तरता दिन नसकिने बताए । उनले विद्युत् प्राधिकरणका पदाधिकारीसँग उद्योगका पदाधिकारीले पटकपटक वार्ता गरी ऊर्जा उपलब्ध गराउन आग्रह गरिरहेकाले यथाशीघ्र समस्या समाधान हुने जानकारी दिए । केही दिनअघि अपर तामाकोशीबाट थप विद्युत् उत्पादित विद्युतबाट उद्योगलाई नियमित ऊर्जा उपलब्ध गराउने सहमति भएपनि हालसम्म विद्युत् आपूर्ति नियमित हुन नसकेकाले दैनिक सिमेन्ट उत्पादन चुनौतीपूर्ण बन्दै गएको महाप्रबन्धक पाण्डेले बताए । हाल विद्युत् प्राधिकरण हेटौँडाबाट दैनिक २/३ पटक विद्युत् ऊर्जा कटौती हुँदै आएकाले उपकरण मर्मत र जडान गर्ने काममा जटिलता आएको उनले जानकारी दिए । उक्त उद्योगमा जीर्ण अवस्थामा रहेका विभिन्न उपकरणको मर्मतसम्भार गर्ने कार्य विद्युत् ऊर्जाका कारणले अझै केही साता लम्बिने भन्दै नियमित विद्युत् आपूर्ति भएपश्चात् उपकरण मर्मत गरी सिमेन्ट उत्पादन सुरु गर्ने सहमति अनुसार प्राविधिक जनशक्ति राखिएको नायब महाप्रबन्धक नवीनकुमार कर्णले उल्लेख गरे । जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार अग्रवालले पटकपटक विभिन्न उपकरण बिग्रिएर मर्मतसम्भार गर्नुपर्ने अवस्थामा वार्षिक रूपमा ३/४ पटक मात्र उद्योग सञ्चालन भइरहेको बताउँदै नयाँ प्रविधिबाट उद्योग सञ्चालनमा ल्याउन दीर्घकालीन योजनासहित सङ्घीय सरकारले पहल गर्नुपर्नेमा जोड दिए । विसं २०३३ मा हेटौँडाको लामसुरेमा तत्कालीन सरकारद्वारा १ अर्ब ५० करोड रुपैयाँ लागतमा हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरिएको थियो । तत्कालीन श्री ५ महाराजधिराज वीरेन्द्र वीरविक्रम शाहदेवबाट विसं २०४३ मङ्सिर २६ गते हेटौँडा सिमेन्ट उद्योगको उद्घाटन भएको थियो । उद्योगको साविक सिमेन्ट उत्पादन क्षमता दैनिक १८ हजार बोरा भए पनि हाल उपकरण जीर्ण भएकाले १० हजार बोरामात्र उत्पादन भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थ कोइला बोलपत्र आह्वान गरी चार हजार मेट्रिक टन ल्याउने प्रक्रिया सुरु भइसकेको बताउँदै अहिले उद्योगमा १ हजार २ सय मेट्रिक टन कोइला जगेडा राखिएको उद्योगका कार्यकारी अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार मकवानपुरको भैँसे र ओखरेबाट कच्चा पदार्थ चुनढुङ्गा ढुवानी गरी ल्याउने कामलाई निरन्तरता दिइएको छ ।

इटहरीमा यामाहाको क्षेत्रीय रिजनल सेल्स स्किल्स प्रतियोगिता सम्पन्न

काठमाडौं । यामाहा नेपालले इटहरीमा रिजनल सेल्स स्किल्स कन्टेस्ट सफलतापूर्वक आयोजना गरेको छ । बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउनेक्रममा इटहरीमा उक्त आयोजना गरेको हो । प्रतिष्पर्धामा यामाहाका विभिन्न डिलरशिपहरूबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताहरूको सहभागिता थियो । प्रतियोगिताको लागि योग्य हुन सहभागीहरूले अटो बेसिक, प्रोडक्ट, कम्पिटिसन र सलेस प्रोसेस प्रशिक्षण र त्यसपछि यी क्षेत्रहरूमा उनीहरूको दक्षता मूल्याङ्कन गर्ने प्रतिस्पर्धात्मक परीक्षण पूरा गरेका थिए । सबैभन्दा कुशल प्रतिनिधिहरूले मात्र भाग लिने सुनिश्चितताका लागि प्रत्येक डिलरशिपबाट उच्चतम स्कोर गर्ने बिक्री सल्लाहकारले मात्र यस प्रतिष्ठित प्रतियोगितामा स्थान पाएका थिए । शीर्ष तीन प्रदर्शन गर्ने प्रतिष्पर्धीहरूको घोषणासँगै प्रतियोगिता समापन गरिएको थियो । विराटचोकस्थित बि ७ बि अटो ट्रेडर्सका चुडामणि आचार्य बिजते बने भने फत्तेपुरस्थि जेनिशा अटोमोबाइल ट्रेडर्सकी कृतिका घिमिरे पहिलो रनर–अप बनिन् । यस्तै, इलामको पाथीभरा अटो प्यालेसकी मिरा सापकोटा दोस्रो रनर–अप बनिन् । प्रतियोगितामा मेची कोशीका यामाहा डिलरसिपको सहभागिता रहेको थियो । सबै प्रतियोगीहरूले आफ्नो ज्ञान र सीप प्रदर्शन गर्दै शीर्ष उपाधिको लागि प्रयास गरेका थिए । सहभागीहरूमध्ये बिजेता, पहिलो रनर–अप, दोस्रो रनर–अपहरूले अब नेसनल सेल्स स्किल्स कन्टेस्टमा प्रतिस्पर्धा गर्न पाउनेछन् । यामाहा नेपालका क्षेत्रीय बिक्री प्रबन्धक रबिन श्रेष्ठले बिजेता, पहिलो रनर–अपर दोस्रो रनर–अपलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे । सहभागीहरूका कडा परिश्रमको प्रशंसा गर्दै उनले उत्कृष्ट हुन आवश्यक पर्ने सीप र ज्ञानले सशक्त बनाउने बताए । प्रतियोगिताले विशेषज्ञता बढ्ने मात्र नभई निरन्तर सिक्ने र उत्कृष्टताको संस्कृतिलाई बढावा मिल्ने उनको भनाइ छ ।

२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानी, ४० खर्ब स्वदेशमै रहने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले २८ हजार ५ सय मेगावाट उत्पादनका लागि ६५ खर्ब लगानी हुँदा त्यो मध्ये ४० खर्ब रुपैयाँ स्वदेशमै रहने बताएका छन् । शुक्रबार लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्वित ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा हस्ताक्षर समारोहमा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । उनले १० वर्षभित्र स्वदेशी उत्पादन सिमेन्ट, डन्डी लगायतका हाइड्रोपावर बनाउँदा चाहिने कच्चा पदार्थ र रोजगारीमा ४० खर्ब रुपैयाँ खर्च भइ नेपालकै अर्थतन्त्र माथि उठ्ने बताए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पालामा ४ सय मेगावाट भारत निर्यात सम्झौताबाट सुरु भएको नेपालको अन्तरदेशीय विद्युत व्यापारको श्रृङखला पूर्वप्रधानमन्त्री पुष्प कमल दाहनल प्रचण्डको पालामा १० हजार मेगावाट निर्यातको दीर्घकालीन सम्झौता हुँदै बंगलादेशमा ४० मेगावाट निर्यात सुरु र हालसालै १५ हजार मेगावाट निर्यात उदेश्यसहित २८ हजार ५ सय मेगावाटको मार्गचित्र अघि बढाउँदा नेपालको ऊर्जा क्षेत्रको भविष्य सुन्दर देखाएको कार्कीको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्कासहित सिंगो मन्त्रिपरिषद् सकारात्मक भएको बेला ऊर्जा क्षेत्रको विकास नभए कहिल्र्यै यो क्षेत्रको विकास नहुने कार्कीले ठोकुवा गरे । २८ हजार ५ सय मेगावाटको मार्गचित्र पास भएको छ, यसले फरक सन्देश दिएको छ । तर, विद्युत विधेयक यो लक्ष्यको विपरीत भएकोले त्यसलाई संशोधन गरेर मात्रै पास गर्नुपर्ने पनि उनको भनाइ छ । ‘२८ हजार ५ सय मेगावाट का लागि ६६ खर्ब रुपैयाँ चाहिन्छ । सरकारले सहज नीति बनाइदिने हो भने लक्ष्य पूरा गर्न निजी क्षेत्र तयार छ । शक्तिशाली उर्जा मन्त्रालय बनाएर वन तथा वातावरणका मुद्दा पनि त्यहिबाट सल्टाउने गरी सरकार अघि बढ्नुपर्छ,’ कार्कीले भने, ‘विद्युत विधेयक संशोधन नगरी पास नगरौ, होइन भने निजी क्षेत्रले ऊर्जामा स्पेस नै पाउँदैन ।’ १८ महिनादेखि ४१ जलविद्युत आयोजनाको सार्वजनिक निष्कासनको निवेदन धितोपत्र बोर्डमा अड्किएको बताउँदै कार्कीले भने, ‘बैंकले पनि पैसा नदिने, इक्विटी ल्याउने सार्वजनिक निष्कासन पनि रोक्ने हो भने आयोजना बन्न सक्दैनन् । ऊर्जा मन्त्रीले यसमा निर्देशन दिने बेला भइसक्यो ।’ नेपालमा भएका ४÷५ वटा राम्रा जलविद्युत आयोजनामध्ये दानाखोला पनि एक रहेको र यसलाई समयमै सम्पन्न गर्न आग्रह गरे । छोटो अवधिमै २० वटा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको भन्दै कार्कीले बैंक तथा वित्तीय संस्थाहररूको योगदानलाई सम्झिए । पूर्वऊर्जा मन्त्री राजेन्द्र लिङ्देनले १ हजार ५ सय मेगावाटको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) खोल्ने निर्णय गर्दा दाना खोला सोहीभित्र समेटिएको आयोजना हो । प्रवर्द्वक कम्पनी लालुपाते हाइड्रोपावरका अध्यक्ष मोहनकुमार डाँगीले पानीलाई बत्तीमा रुपान्तरण नगरेसम्म हाइड्रोपावरमा गरेको लगानी शून्य नै हुने भएकोले आयोजना बनाउन असफल हुने छुट नभएको बताए । आयोजनाका लागि ९ अर्ब ९६ करोड रुपैयाँ लगानी सुनिश्चित भएको छ । ७४ करोड रुपैयाँ स्थानीयमा सेयर जारी गरेर, १ अर्ब ७४ करोड रुपैयाँ सञ्चालकबाट र बाँकी बैंकबाट ऋण लगानी हुने छ। आयोजना मनाङको नासो गाउँपालिकामा विकास हुनेछ ।

सीबीफीनको अध्यक्षमा उपेन्द्र पौड्याल दोहोरिए, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) को अध्यक्षमा उपेन्द्र पौड्याल दोहोरिएका छन् । नबिल बैंकका अध्यक्षसमेत रहेका पौड्याल सीबीफीनको नेतृत्वमा दोहोरिएका हुन् । सीबीफीनको पाँचौ वार्षिक साधारण सभाले पौड्यालको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति समेत चयन गरेको छ । सीबीफीनको वरिष्ठ उपाध्यक्षमा राजेश उपाध्याय (महालक्ष्मी विकास बैंक), उपाध्यक्षमा कुश प्रसाद मल्ली (रिलायन्स फाइनान्स), महासचिवमा प्रचण्ड बहादुर श्रेष्ठ (हिमालयन बैंक), कोषाध्यक्षमा तुलसीराम अग्रवाल (एनआईसी बैंक), सह–कोषाध्यक्षमा गौरव बुढाथोकी (गोर्खा फाइनान्स) चयन भएका छन् । तर, सीबीफीनको सचिव पदका लागि भने निर्वाचन हुँदा थानेश्वर पौडेल निर्वाचित भएका छन् । उनी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष हुन् । उनले एक्सेल डेभलपमेन्ट बैंकका अध्यक्ष महेन्द्र कुमार गोयललाई पराजित गरेका हुन् । सीबीफीनको कार्यसमिति सदस्यमा राजाराम खड्का (कुमारी बैंक), डा.बाल गोपाल वैद्य (एभरेष्ट बैंक), लिला प्रकाश सिटौला (प्रभु बैंक), मनोज कुमार गोयल (एनएमबी बैंक), डा. चन्द्र बहादुर अधिकारी (नेपाल बैंक), राधेश पन्त (ग्लोबल आइएमई बैंक), रमण नेपाल (लक्ष्मी सनराइज बैंक), सुदीप आचार्य (कामना सेवा विकास बैंक), चिन्तामणि भट्टराई (लुम्बिनी विकास बैंक) र लक्ष्मी प्रसाद मर्हजन (प्रोग्रेसिभ फाइनान्स) चयन भएका छन् ।

बीमा कम्पनीको सीईओ नियुक्तिका लागि प्राधिकरण धाइराख्नु नपर्ने

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गर्‍यो । नागरिकतामा जन्ममिति हेरफेर गरेर विशेष लाभ लिएको भन्दै सिलवालविरुद्ध अख्तियारले गत मसिंर २४ गते मुद्दा दायर गरेको हो । लगत्तै सिलवाल निलम्बनमा परेपछि अर्काे व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्षको रूपमा अर्थ मन्त्रालयका सहसचिव मदन दाहाल नियुक्त भए । वैदेशिक रोजगार विभाग, राजस्व अनुसन्धान विभाग लगायत निकायहरूको नेतृत्व गरिसकेका दाहालले प्राधिकरणमा नीतिगत रूपमा देखापरेका समस्याहरू समाधानतर्फ लागेको बताउँछन् । प्राधिकरणलाई नियामकमा अझ सशक्त बनाउन एउटा इँटा थप्ने अध्यक्ष दाहालले प्रणसमेत गरे । बीमा कम्पनीको सीईओको नियुक्ति गर्दा प्राधिकरणले स्वीकृती दिनु नपर्ने बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्नका लागि प्राधिकरणबाट स्वीकृति लिन नपर्ने व्यवस्था गरेका छौं । बीमासम्बन्धी कुनै पनि ऐनमा प्राधिकरणबाट स्वीकृति लिनुपर्ने भन्ने व्यवस्था नभएकाले सीईओ नियुक्तको जिम्मेवारी कम्पनीको सञ्चालक समितिलाई नै सुम्पिएका हौं । हामीले बीमा कम्पनीहरूलाई भनेका छौं कि फिट एण्ड प्रपोर टेस्ट गरेर आफै नियुक्ति गर्नूस् । प्राधिकरणलाई त्यसको जानकारी दिएमात्र हुन्छ । यसले गर्दा बीमकहरूलाई पनि सजिलो हुने भयो । दाबी भुक्तानी बीमितकै खातामा विशेषगरी जीवन बीमाको हकमा बीमालेख म्याचुरिटी भएपछि वा दाबी परेपछि त्यसको भुक्तानी बीमितको खातामा जम्मा गर्दिन भनेका छौं । जीवन बीमा तथा वैदेशिक रोजगार म्यादी बीमाको हकमा भुक्तानी लिन जाँदा नयाँ बीमा पोलिसी खरिद नगरेसम्म कम्पनीहरूले भुक्तानी नदिने गरेको पाइयो । यसले गर्दा बीमितकै खातामा रकम जम्मा गर्न निर्देशन दिएका हौं । आइभीआर सिस्टम लन्च गर्ने तयारी अन्तरक्रियात्मक आवाज प्रतिक्रिया (आईभीआर) सिस्टम लागू गर्ने भनेर हामीले बीमा कम्पनीहरूसँग छलफल गरिरहेका छौं । बीमा चेतनाका लागि आईभीआरबाट के गर्न सकिन्छ भनेर तयारी थालेका छौं । सकभर छिटोभन्दा छिटो हामी आईभीआर लन्च गर्दैछौं । सुरुमा पाइलोटिङ गर्ने र पछि फुल फेजमा लागू हुनेगरी हामीले तयारी गरेका हौं । नेपाल राष्ट्र बैंकजस्तो नियामक बन्ने लक्ष्य अहिलेको बीमा प्राधिकरणसँग नेपाल राष्ट्र बैंकजस्तो नियामकीय भूमिका खोजेर हुँदैन । प्राधिकरण समितिबाट भर्खरै प्राधिकरण हुँदैछ । नेपाल राष्ट्र बैंकको संगठनात्मक चार्ट हेरौं । त्यसको स्ट्रक्चर, जनशक्ति, क्षमता वृद्धिका प्रोग्रामहरू हेरौं । र, प्राधिकरणको हेरौं । हामी भर्खर बामे सर्दैछौं । कालान्तरमा हामी पुग्ने पनि त्यही नै हो । अहिले हामी प्रदेशमा पुगिसकेका छौं । भोलि विस्तार गर्दै जिल्ला जिल्लामा जानुपर्ने दिन पनि आउन सक्छ । यस्तै, नियामक निकाय छ भनेर पनि देखाउछौं । ऐनभन्दा बाहिर गएर बनेका निर्देशिकाहरू परिमार्जन ऐनभन्दा माथि निर्देशिका हुन सक्दैन । कुन-कुन निर्देशिका ऐनभन्दा बाहिर गएर बनेका छन् त्यसलाई हामी संशोधन गर्दैछौं । यसबारे हाम्रो कानुन शाखाले अध्ययन गरिरहेको छ । सर्भेयर र अभिकर्ताको लाइसेन्स नवीकरणमा नयाँ व्यवस्थाको तयारी सर्भेयर १ हजार १ सयभन्दा धेरै छन् । करिब २ लाख जनाको हाराहारीमा अभिकर्ता छन् । तर, साँच्चै काम गर्ने कति छन् ? सर्भेयरलाई क्षमता वृद्धिको तालिम केही भएको छैन । उनीहरूलाई वर्षमा न्यूनतम तालिम लिएपछि मात्र लाइसेन्स नवीकरण गर्ने व्यवस्था गर्दछौं । त्यसका लागि थप अध्ययन गर्न एउटा समिति गठन पनि भएको छ । अध्ययन रिपोर्टअनुसार हामी अघि बढ्छौं । बीमा सचेतना र दाबी भुक्तानी बीमा सचेतनाका लागि आईभीआर सिस्टमको परिकल्पना गरेका हौं । यसका साथै कल सेन्टर पनि राख्ने तयारीमा छौं । यस्तै, दाबी भुक्तानी र उजुरीको बारेमा पनि हामी चुस्त बन्ने प्रयासमा छौं । त्यसकारण बोर्ड बैठक पनि पहिलाको भन्दा धेरै छिटो छिटो बसिरहेका छौं । २/३ दिनमा हाम्रो एउटा बोर्ड बैठक बस्छ । ८ देखि १० वटा मुद्दा २/३ दिनको ग्यापमा हेरिरहेका छौं। केका लागि भन्दा सकेसम्म बीमितले न्याय चाँडो पाओस् भन्ने हो ।अहिले मेरो ह्वाट्सएप हेर्ने हो भने १०० भन्दा धेरै म्यासेज दाबी पाइनँ भनेर आएका छन् । बीमाबाट हुने सम्पत्ति शुद्धिकरणमा गम्भीर सम्पत्ति शुद्धिकरण निवारणका लागि प्राधिकरणमा छुट्टै शाखा बनाएका छौं । म आएपछि नै त्यो शाखा बनाइएको हो । बीमा कम्पनीहरूमा हामीले गरिने नियमित निरीक्षणमा पनि  यस विषयलाई हेर्ने गर्दछौं । कालो धनको विषयमा हामीलाई विश्वव्यापीरूपमा चुनौती छ । हामी ‘ग्रे लिष्ट’मा जान लागेका छौं । त्यसकारण यसबारे हामी अझै गम्भीर छौं । बीमा कम्पनीहरूलाई पनि सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी छुट्टै शाखा स्थापना गर्न भनेका छौं ।

मुक्तिनाथ विकास बैंक १९ औं वर्षमा प्रवेश

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड अठारौं वर्ष पुरा गरी उन्नाइसौं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले देशभरि विविध कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाण्डौं, क्षेत्रीय कार्यालयहरू जनकपुर, नारायणगढ, धादिङ, पोखरा, बुटवल र कोहलपुरमा आयोजित बृहत रक्तदान कार्यक्रममा कुल ६११ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहहरुलाई हस्तान्तरण गरेको छ । सोही अवसरमा, वातावरण संरक्षण र जलवायु परिवर्तन रोकथाम विषयलाई लक्षित गरी कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूबीच आर्ट फर अर्थ, कम्ब्याटिङ क्लाइमेट चेन्ज शीर्षकमा राष्ट्रव्यापी चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितमा कुल ४७६ विद्यार्थीहरु सहभागी भएका थिए । सर्वोत्कृष्ट चित्रको सिर्जनाकार जुलेन गुरुङलाई ५० हजार रुपैयाँ नगद र प्रमाणपत्र, हरेक क्षेत्रीय कार्यालय अन्तर्गतको उत्कृष्ट चित्रकारलाई जनही १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी, बैंकले कृषि क्षेत्रमा खोज अनुसन्धान गरी प्रेरणादायी लेख रचनाहरू तथा समाचारहरू प्रकाशित गर्ने उत्कृष्ट ३ जना पत्रकारहरूलाई ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार’ले सम्मान गरेको छ । उक्त पुरस्कार प्राप्त गर्ने पत्रकारहरू सागर परियार (जुम्ला), कौशिला कुँवर (काठमाडाैं) र माधवप्रसाद अर्याल (पाल्पा) लाई क्रमशः ३५, २५ र १५ हजार, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । उपरोक्त दुवै प्रतियोगिताहरूमा सम्बन्धित विषयको स्वतन्त्र विशेषज्ञहरूको छनोटको आधारमा पुरस्कार घोषणा गरिएको थियो । साथै, बैंकले सातवटै प्रदेशलाई समेटिने गरी विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति, विभिन्न क्याम्पसहरूमा पुस्तकालय स्थापना तथा भौतिक संरचना निर्माण गर्न सहयोग, विभिन्न विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा स्टेशनरी सामग्रीहरू वितरण, वातावरण संरक्षण तथा सरसफाइसम्बन्धी कार्य, बागमती सफाइ महाअभियानलाई सफाइ सामग्री हस्तान्तरण, गैरनाफामूलक सामाजिक संस्थाहरूलाई आर्थिक सहयोग, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, डिजिटल माध्यमद्वारा बैंकिङ साक्षरता, धार्मिक तथा सांस्कृतिक विकासका लागि आर्थिक सहयोग, स्थानीय निकायहरूसँग सहकार्य गरी सेवाग्राहीको हित हुनेगरी फर्निचर तथा उपकरणहरू हस्तान्तरणजस्ता विभिन्न सामाजिक कार्यहरू सम्पन्न गरेको छ । बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडाैंमा आयोजित कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष तथा कार्यक्रमको अध्यक्ष भरतराज ढकालले गरे । सञ्चालक उमेशकुमार आचार्यले स्वागत मन्तव्य, बैंकको हालको अवस्था, प्रगति तथा विभिन्न क्रियाकलापहरू बारेमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युमन पोखरेल र धन्यवाद मन्तव्य सञ्चालक नारायणकुमार श्रेष्ठले राखेका थिए । उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंकको संस्थागत गीत विमोचन, संस्थामा १० वर्ष सेवा अवधि पुरा गरेका ४१ जना कर्मचारीहरूलाई सम्मान पनि गरिएको थियो । सो कार्यक्रममा बैंकका सञ्चालकहरू, सेयरधनीहरू, सेवाग्राहीहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन बैंकका व्यवस्थापक तेजबहादुर गिरीले गरेका थिए ।

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई क्रिस्टल डायग्नोस्टिकमा ३० प्रतिशतसम्म छुट

  काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकका ग्राहकलाई काठमाडौंको सिनामंगलमा रहेको क्रिस्टल डायग्नोस्टिक प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश कुमार अधिकारी र क्रिस्टल डायग्नोस्टिकका प्रबन्ध निर्देशक रविन्द्र केसीले हस्ताक्षर गरे। सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजी ल्यावको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि ३० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने जनरल प्याथोलोजी टेस्ट, मोलिकुलर टेस्ट, आउटसोर्सिङ टेस्ट, यूएसजी, इको, इसीजी, एक्स-रे, पीएफटी, इन्डोस्कोपी र कोलोनोस्कोपी रहेका छन् ।