इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजतपत्र नवीकरण नगरेका स्वास्थ्य संस्थाहरूलाई अनुमति लिनका लागि सूचना जारी गरेको छ । मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थाहरूका नाममा परिपत्र गर्दै इजाजतपत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो । कतिपय गैरसरकारी तथा सामुदायिकस्तरबाट सञ्चालित संस्थाहरू नवीकरणबीना सञ्चालनमा आएको उजुरी पछि मन्त्रालयले परिपत्र गरेको हो । इजाजत नवीकरण नगरेका केही संस्थाहरू मापदण्डअनुसार समेत नचलेको उजुरी मन्त्रालयले प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थाहरूले मापदण्ड पालना गरेको सुनिश्चित गर्न अधिकारीहरूलाई भनेका थिए । जनस्वास्थ्य सेवा नियमावलीमा इजाजतपत्र नलिई स्वास्थ्य सेवा उपलब्ध गराउन नपाइने व्यवस्था भए पनि कतिपयले नलिएको उजुरी प्राप्त भएकाले नवीकरणका लागि पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । मन्त्रालयले इजाजत पत्र नवीकरण नगरी सञ्चालन भएका स्वास्थ्य संस्थाको अनुगमन गरी नियमानुसार नभएको पाएमा कारबाही गर्ने समेत प्रवक्ता बुढाथोकीले बताए ।
महालक्ष्मी विकास बैंकले गर्यो अटिजम सिकाइ केन्द्रलाई सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले अटिजम भएका विधार्थीहरूको शैक्षिक क्रियाकलापलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग स्वरूप प्रदान गरेको छ । बैंकको दमक शाखाद्वारा सरस्वती माध्यमिक विद्यालय, दमक- ०९, इँटाभट्टा, झापाले सञ्चालन गरेको अटिजम सिकाई केन्द्रलाई सहयोग गरिएको हो । बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यालयको प्रधानाध्यापकलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । हाल विद्यालयमा अध्ययनरत २४ जना अटिजम भएका विधार्थी यस सहयोगबाट प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप बैंकले विभिन्न कार्यक्रम सम्पन्न गर्दै आएको छ । बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।
कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीलाई इशान बालबालिका तथा महिला अस्पतालमा छुट
काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको बसुन्धारास्थित इशान बालबालिका तथा महिला अस्पतालसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले ल्याबले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिसम्म पुर्याउने उद्देश्यले स्थापित उक्त इशान बाल तथा महिला अस्पताल प्रालिमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
जहाजभन्दा बढी विमानस्थल, ५० प्रतिशत घाटामा, यस्तो छ आम्दानी र खर्च
काठमाडौं । देशमा सञ्चालनमा रहेका अधिकांश विमानस्थल घाटामा सञ्चालन भइरहेको देखिएकाे छ। नेपाल नागरिक उड्यन प्राधिकरणले उपलब्ध गराएको आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार देशभर सञ्चालनमा रहेका ३६ विमानस्थलमध्ये १८ विमानस्थल घाटामा सञ्चालन भइरहेको पाइएको हाे । तथ्यांकअनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित १८ विमानस्थल घाटामा सञ्चालित छन् । गौतमबुद्ध विमानस्थलले आर्थिक वर्ष २०८०/८१ मा २१ करोड १३ लाख आम्दानी गरेकोमा २१ करोड २२ लाख खर्च भएको छ । उक्त विमानस्थलको सञ्चालन खर्चमात्रै १६ करोड २ लाख रहेको छ भने पुँजीगत खर्च ५ करोड २० लाख भएको छ । तथ्यांकअनुसार गौतमबुद्धको आव २०७९/८० को तुलनामा २०८०/८१ मा आम्दानीसमेत घटेको देखिन्छ । आव २०७९/८० मा उक्त विमानस्थलले २५ करोड ३० लाख आम्दानी गरेको छ । आव २०७९/८० पनि विमानस्थल घाटामै सञ्चालित थियो । उक्त आवमा विमानस्थलको खर्च २८ करोड २० लाख रुपैयाँ खर्च भएको देखिन्छ । घाटामा रहेको अर्को विमानस्थल हो तुम्लिङटार । उक्त विमानस्थलले आव २०८०/८१ मा ५१ लाख रुपैयाँ बराबरको आम्दानी गर्दा ६१ लाख रुपैयाँको खर्च देखिन्छ । विमानस्थलको सञ्चालन खर्चमात्रै ५५ लाख ६६ हजार छ । जुम्ला विमानस्थलले आव २०८०/८१ मा २६ लाख रुपैयाँ बराबरको आम्दानी गर्दा २९ लाखभन्दा बढी खर्च गरेको छ । घाटामा चलिरहेको अर्को विमानस्थल हो बझाङ । जुन विमानस्थलले २ लाख मात्रै कमाइ गरेको छ । जसको खर्च २६ लाख छ । त्यस्तै, बाजुरा विमानस्थलले २३ लाख रुपैयाँको आम्दानी गर्दा खर्च ९ लाख रुपैयाँभन्दा बढी भएको छ । भोजपुर विमानस्थलले ६ लाख ६३ हजार रुपैयाँको कमाइ गरेको देखिन्छ भने जसको खर्च १४ लाख ४५ हजार बढी छ । २०८०/८१ अनुसार घाटामा सञ्चालित अन्य विमानस्थलहरुमा दाङ, डोल्पा, रारा, रुकुम सल्ले, रुम्जाटार पनि हुन् । दाङले पाँच लाखका कमाइ गर्दा ८ लाखको खर्च भएको छ । डोल्पाको आम्दानी १४ लाख रुपैयाँ छ, जसको खर्च १६ लाख रुपैयाँ छ । राराको कमाइ २५ लाख रुपैयाँ र खर्च २६ लाख रहेको छ । घाटामा सञ्चालित विमानस्थल नाफामा सञ्चालित विमानस्थल नेपालमा सञ्चालित विमानस्थलमध्ये सबैभन्दा बढी आम्दानी गर्ने विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । उक्त विमानस्थलले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ८६ करोड रुपैयाँ कमाएको छ । विमानस्थलको उक्त आवमा एक अर्ब ३५ करोड रुपैयाँ मात्रै खर्च भएको छ । तथ्यांकअनुसार त्रिभुवन विमानस्थलको सञ्चालन खर्च ९९ करोड ३५ लाख र पुँजीगत खर्च ५७ करोड ४१ लाख रुपैयाँ भएको छ । नाफामा सञ्चालन भइरहेको अर्को अन्तर्राष्ट्रिय विमानस्थल हो पोखरा । पोखरा विमानस्थलले ३४ करोड ९३ लाख रुपैयाँको आम्दानी गर्दा १३ करोड ३६ लाखको खर्च भएको छ । नेपालगञ्ज विमानस्थलले १३ लाख ११ करोडको आम्दानी गरेको छ । जुन विमास्थलको ४ करोड ९९ लाख रुपैयाँ खर्च भएको देखिन्छ । त्यस्तै, धनगढी विमानस्थले आव २०८०/८१ मा ६ करोड ३९ लाख आम्दानी गरेको छ । जसको खर्च २ करोड ७८ लाख छ । भरतपुर विमानस्थलले ६ करोड ३९ लाखको आम्दानी गर्दा एक करोड ३५ लाखको खर्च गरेको देखिन्छ । किन घाटामा छन् विमानस्थल ? नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार तीन अन्तर्राष्ट्रिय विमानस्थल र ५२ आन्तरिक विमानस्थल गरी हाल देशभर ५५ विमानस्थल सूचीकृत छन् । ५२ आन्तरिक विमानस्थलमध्ये पनि मझौला जहाज जाने ११ वटा विमानस्थल छन् । बाँकी ४१ विमानस्थल साना धावनमार्ग भएका विमानस्थलहरू हुन् । ४१ मध्यपनि २८ वटा धावनमार्ग कालेपत्र भएका विमानस्थल छन् । बाँकी १३ वटा अनपेभ्ड विमानस्थलमा पर्छन् । जिरी, लाङटाङ, रोल्पा, ढोरपाटन, गोर्खापालुङटार, दार्जुलालगायत यसभित्र पर्छन् । प्राधिकरणका अनुसार १३ विमानस्थलमध्ये ९ वटा विमानस्थल सूचीमा मात्रै सीमित छन् । जुन विमानस्थल उडानयोग्य छैनन् । ती विमानस्थललाई प्राधिरणले सूचीबाट हटाउन सकेको छैन । प्राधिकरणका अनुसार २८ वटा कालेपत्रे भएका विमानस्थलमध्येमा पनि नियमित उडान हुने विमानस्थल १८ वटा मात्रै छन् । बाँकी १० वटा नियमित रूपमा उडान हुने तालिका छैन । यसरी संख्यामा धेरै विमानस्थल देखिएतापनि व्यावसायिक रूपमा सञ्चालन हुने विमानस्थल थोरै देखिन्छ । प्राधिकरणका प्रवक्ता हंशराज पाण्डे नेपालमा विमानस्थलको संख्याअनुसार जहाज कम हुँदा २८ वटै विमानस्थलमा नियमति उडान गर्न सम्भव नभएको बताउँछन् । सञ्चालनमा रहेका ती विमानस्थलहरूमध्ये धेरैजसो दुर्गम, पहाडी भूभागदेखि सडक सडक पूर्वाधार नभएको ठाउँमा छन् । जहाँ यसको महत्त्व धेरै छ । ‘विमानस्थलको महत्त्व हुँदाहुँदै पनि नियमति उडान गर्न सकेको छैन । उडान नहुँदा विमानस्थलहरुले आम्दानी गर्न सकेका छैनन्, आम्दानी नहुँदा कम्पनीले नाफा गर्न सक्ने अवस्था हुँदैन,’ उनले भने । दुर्गम क्षेत्रमा निगमको दायित्व महत्त्व हुँदाहुँदै पनि दुर्गम क्षेत्रमा उडान नहुँदा ती विमानस्थल ओझेलमा परेको उल्लेख गर्दै प्रवक्ता पाण्डेले ती क्षेत्रमा उडान गर्ने सरकारी दायित्व नेपाल वायु सेवा निगमले लिनुपर्ने बताए । घाटामा जाने जाने विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याउन र चलायमन बनाउन सबै निकायको उत्तिकै सहयोग आवश्यक रहेको प्रवक्ता पाण्डेको भनाइ छ । त्यसबाहेक जहाजको संख्या थपेर नियमति उडान गर्न सके घाटा कम गर्न सक्ने प्रवक्ता पाण्डेको विचार छ । घाटामा गएका विमानस्थलहरू सामाजिक उत्तरदायित्वअन्तर्गत पर्ने हुँदा त्यसको महत्त्व पनि धेरै छ । ‘ती विमानस्थलमा आर्थिक हिसाबले घाटा भएपनि अतिआवश्यक छन् । भूकम्प, दैवीप्रकोप हुँदा त्यही विमानस्थलले ठूलो भूमिका खेलेको हुन्छ,’ पाण्डेले भने ।
नेप्सेमा एकल अंकको वृद्धि, ६ अर्ब ४० करोडको कारोबार
काठमाडौं । मंगलबार बढेको सेयर बजारले बुधबार पनि निरन्तरता पाएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.५३ अंकले बढेर २६५३.३८ बिन्दुमा कायम भएको छ । बुधबार नेप्से ६.१६ अंकले बढेको थियो । नेप्सेका अनुसार ३०५ स्टकको ७२ हजार १२० पटक कारोबारमा एक करोड ५५ लाख २ हजार ७५१ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ४० करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज १३ उपसमूहमध्ये सात उपसमूहको सेयरमूल्य घटेको छ भने बाँकी उपसमूह बढेका छन् । बैंकिङ ०.२६, होटल तथा पर्यटन ०.०६, लगानी ०.३८, म्युचल फण्ड ०.१०, निर्जीवन बीमा ०.१३, अन्य ०.२६ र व्यापार १.५६ प्रतिशतले घटेको छ । विकास बैंक ०.५३, वित्त ४.७७, जीवन बीमा ०.४०, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स १.५९ प्रतिशतले बढको छ । आज समृद्धि फाइनान्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । त्यस्तै, सिन्धु विकास बैंकको सेयरमा पनि सकारात्मक सर्किट लागेको छ । उक्त बैंकका लगानीकर्ताकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् । आज सामुदायिक लघुवित्त वित्तिय संस्थाको सेयरमा नकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, बारही हाइड्रोपावर ९.६९, त्रिशुली जलविद्युत ६.१३ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा न्यादी हाइड्रोपावरको सर्वाधिक २२ करोड ५३ लाख रुपैयाँ बराबर कारोबार भएको छ । दोस्रोमा सिन्धु विकास बैंकको १९ करोड ७७ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ । सुपर म्यादी हाइड्रोपावर १८ करोड ५९ हजार, एनआरएन इन्फ्रास्ट्रक्चर १५ करोड ४२ लाख र नेपाल फाइनान्स लिमिटेडको १४ करोड ७४ लाख रुपैयाँको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
लक्ष्मी सनराइज बैंकको २४ औं साधारणसभाले पारित गर्यो ५ प्रतिशत लाभांश
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ५ प्रतिशत बोनस सेयर गर्ने भएको छ । बुधबार बसेको कम्पनीको चौबिसौं वार्षिक साधारणसभाले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आवको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिसमेत गरेको छ । आव २०८०/८१ मा ३३३ अर्ब निक्षेप र २५८ अर्ब रुपैयाँ कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ३९५ अर्ब रुपैयाँ रहेको छ । सो आवमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओका लागि ४ जनाको नाम ‘सर्टलिष्ट’मा, अन्तर्वार्ता कहिले ?
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति गर्नका लागि ४ जनाको नाम सर्टलिष्ट गरेको छ । सीईओ बन्नका लागि आवेदन दिएका ८ जनामध्ये कम्पनीको पदपूर्ति समितिले ४ जनाको नाम सर्टलिष्टमा राखेको हो । कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार सर्टलिष्टमा महेश रिमाल, राजुनाथ खनाल, रामदेव यादव र सुन्दर पन्थी रहेका छन् । जसमध्ये रिमाल हाल सोही कम्पनीको कार्यवाहक सीईओ हुन् । उनले विगत एक वर्षदेखि कम्पनीको कार्यवाहक सीईओको भूमिका निर्वाह गर्दै आएका छन् । उनी चार्टर्ड एकाउन्टेन्टसमेत हुन् । राजनाथ खनाल नेपाल बैंकको उच्च व्यवस्थापन पदबाट रिटायर कर्मचारी हुन् । उनी साविक बीमा संस्थानको सञ्चालक समितिका सदस्य समेत बनेका थिए । धनुषा घर भएका रामदेव यादव विभिन्न विकास बैंकको उच्च व्यवस्थापन पदमा काम गरिसकेका व्यक्ति हुन् । यस्तै, सुन्दर पन्थी नेपाल बैंकको फष्ट क्लास अफिसर हुन् । स्थायी ठेगाना गुल्मी रहेका पन्थीले बैंकको अपरेशन डिपार्ट सम्हालिरहेका छन् । कम्पनीले सर्टलिष्टमा परेका उमेदवारहरूका लागि प्रस्तुतिकरण र अन्तर्वार्ताको मिति पनि तोकेको छ । प्रस्तुतिकरण माघ ४ गते र अन्तर्वार्ता माग ५ गतेका लागि मिति तोकेको कम्पनीले जनाएको छ । प्रस्तुतिकरण र अन्तर्वार्ता कम्पनीको केन्द्रीय कार्यालयमा हुने पनि कम्पनीले स्पष्ट पारेको छ । कम्पनीले मसिंर ६ गते सीईओको दरखास्त माग गर्दै सूचना सार्वजनिक गरेको थियो । २१ दिनको म्याद राखेर सार्वजनिक गरिएको उक्त सूचनाका आधारमा कम्पनीमा ८ जनाले सीईओका लागि आवेदन दिएका थिए ।
नेक्स्ट जेनेरेसन फ्लाइङ कार विकास गर्न ईहांग र चांगान अटोमोबाइलबीच रणनीतिक साझेदारी
काठमाडौं । विश्वको अग्रणी अर्बन एयर मोबिलिटी (यूएएम) टेक्नोलोजी प्लेटफर्म कम्पनी ईहांग होल्डिंग्स लिमिटेडले सरकारी स्वामित्वमा रहेको एवं दोस्रो ठूलो चिनियाँ अटोमेकर चोङकिङ चांगान अटोमोबाइल कम्पनी लिमिटेड (चांगान अटोमोबाइल) सँग रणनीतिक सहयोग सम्झौताको घोषणा गरेको छ । चोङकिङ नगरपालिका सरकार र उद्योगका प्रतिनिधिहरूको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । यो सहकार्य विद्युतीय भर्टिकल टेकअफ र ल्यान्डिङ (इभीटीओएल) विमान र नवीन हवाई कारहरूसहित फ्लाइङ कारका उत्पादनहरूको अनुसन्धान र विकास, निर्माण, बिक्री र सञ्चालनमा केन्द्रित रहने छ । हवाई सवारीसाधन र कम उचाइका उडानहरूको व्यवस्थापनमा ईहांगको विशेषज्ञता र चांगान अटोमोबाइलको बलियो उत्पादन र बजार स्रोतहरूको प्रयोग गरेर दुवै पक्षले भविष्यको मोबिलिटी इकोसिस्टम प्रविधिहरूका लागि संयुक्त उद्यम स्थापना गर्ने लक्ष्य राखेका छन् । यो अन्तर-उद्योग साझेदारीले व्यापक उपभोक्ता आधारलाई लक्षित गर्दै ईहांगको इभीटीओएल उत्पादन लाइन विस्तार गर्नेछ । चीनको दोस्रो ठूलो अटोमेकर चांगान अटोमोबाइलसँग अनुसन्धान र विकास, उत्पादन, सप्लाई चेन, बिक्री च्यानलहरू र बजार प्रभावमा असाधारण क्षमताहरू रहेको छ । ईहांगले इभीटीओएलको विमान डिजाइन, उत्पादन, प्रमाणीकरण र सञ्चालनको नेतृत्व गर्दछ । यस सहकार्यले अत्याधुनिक प्रविधि, भविष्यउन्मुख डिजाइन र बजार प्रतिस्पर्धाको साथमा उड्ने कारहरूको विकासको मार्गप्रशस्त गर्नेछ । सम्झौतामा अनुसन्धान र विकास, उत्पादन, बजार प्रवर्द्धन, प्रयोगकर्ता अनुभव, बिक्रीपछिको सेवार ईहांगको इभीटीओएल उत्पादनहरू र फ्लाइङ कारको व्यावसायीकरणलाई द्रूत बनाउने उल्लेख छ । चांगानको बारेमा दोस्रो ठूलो चिनियाँ अटोमोबाइल निर्माता चांगान अटोमोबाइल १६० वर्षभन्दा बढीको विरासत भएको सबैभन्दा पुरानो कार निर्माता हो । १० विश्वव्यापी उत्पादन आधारहरू र ३५ विश्वव्यापी अनुसन्धान र विकास केन्द्रहरू भएको चांगानले ४ मिलियन एनईभी (नयाँ ऊर्जा वाहन) सहित २२ मिलियनभन्दा बढी सवारीसाधनहरूको उत्पादन गरेको छ । आफ्नो अत्याधुनिक प्रविधि, सुरक्षा आविष्कार र प्रिमियम डिजाइनहरूका लागि प्रख्यातचांगान स्मार्ट र उच्च प्रदर्शन गर्ने सवारीसाधनहरूको साथमा दिगो गतिशीलताको भविष्यलाई चलायमान बनाउन समर्पित छ ।