केनेल क्लबको आयोजनामा तेस्रो ‘बाइरो ब्रिड च्याम्पियनसिप डग शो’ माघ ५ मा हुने
काठमाडौं । नेपालमा तेस्रो पटक कुकुर नस्ल सुधार र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम गुणस्तरीय कुकुर उत्पादन गर्ने उद्देश्यले केनेल क्लब अफ नेपालले बाइरो च्याम्पियनसीप डग शो’आयोजना गर्ने भएको छ। क्लबका सचिव विवेश श्रेष्ठले आउँदो माघ ५ गते ललितपुरको जाउलाखेल फुटबल ग्राउन्डमा उक्त शोको आयोजना हुने बताएका छन् । यो पहलले उच्च गुणस्तरका कुकुरहरूको उत्पादन, नस्ल सुधार, र कुकुर पालकहरूको प्रोत्साहनमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन् । श्रेष्ठका अनुसार यस पटकको च्याम्पियनसिप शोमा पहिलो र दोस्रो शोको तुलनामा सहभागी कुकुरहरूको संख्या बढ्ने अनुमान गरिएको छ। अघिल्लो दुई शोमा ३५ जातका कुकुरहरूले प्रतिस्पर्धा गरेका थिए, जसमा १५३ उच्च गुणस्तरका कुकुरहरूले भाग लिएका थिए। यस पटकको प्रतियोगितामा हस्की, जर्मन शेफर्ड, गोल्डेन रिट्रिबर, पग, ल्याब्रोडर, डालमेशियन, सेन्ट बनोर्ड, इंग्लिश ककर स्पानियल, नियपोलिटन मास्टिफ, डोबर्मन, बिगल, पोमेरिनियन जस्ता थुप्रै प्रजातिका कुकुरले सहभागी हुने आयोजकले जनाएको छ भने कुकुरका लागि अनिवार्य रूपमा भ्याक्सिन लगाइएको हुनुपर्नेछ। साथै, कुकुरको स्वास्थ्य अवस्था दक्ष पशु चिकित्सकद्वारा परीक्षण गरिनेछ, र केवल तीन महिनाभन्दा माथिका उमेरका कुकुरहरूलाई मात्र शोमा सहभागी गराइने आयोजकले जनाएको छ । यसमा एक मात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त जज सञ्जय गुरुङ रहेका छन् । सहभागी कुकुरहरूले पहिले आफ्नो जातभित्र प्रतिस्पर्धा गर्ने र जसमा उत्कृष्ट ठहरिएका कुकुरहरूले अर्को चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् र त्यसपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त जजहरूको टोलीले उत्कृष्ट कुकुरको छनोट गर्ने क्लबका सचिव श्रेष्ठले जानकारी दिए । कुकुरको नस्ल सुधार गर्ने र उन्नत जातको कुकुर उत्पादन गर्न सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सचिव श्रेष्ठले बताए । ‘डग शो’ बाट कुकुर च्याम्पियन भएपछि वर्ल्ड केनल युनियनमा आबद्ध भएका सबै देशमा उक्त कुकुरले प्रतिस्पर्धा गर्न पाउँछ र साथै उसको बच्चासमेत च्याम्पियनको उपाधिले चिनिन्छ । त्यस्तो च्याम्पियनको बच्चा अन्य कुकुर भन्दा महँगोमा बिक्री हुन्छ । उक्त शोले कुकुरहरूको पुर्खा, रोग प्रतिरोध क्षमता, र उत्पादन क्षमताको रेकर्ड राख्ने उद्देश्यले ब्रिड क्लबको स्थापना गरेको छ। यसले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि कुकुर नस्ल सुधार र पशु व्यवस्थापनको क्षेत्रमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ। विश्वव्यापी रूपमा कुकुर च्याम्पियनसिप शोको परम्परा सन् १७७३ बाट सुरु भएको मानिन्छ। नेपालमा यस प्रकारका शोहरूको निरन्तर आयोजना हुनु देशको कुकुर नस्ल सुधारमा मात्र नभई पशुपालन व्यवसायलाई प्रोत्साहित गर्न पनि महत्त्वपूर्ण मानिएको छ । यो च्याम्पियनसिप शोले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न र भविष्यमा गुणस्तरीय नस्लका कुकुरहरूको उत्पादनमा मार्गप्रशस्त गर्ने विश्वास गरिएको छ।
पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात, तीर्थयात्रीको सङ्ख्या घट्यो
काठमाडौं । सामान्य वर्षासँगै ताप्लेजुङ जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ । ३ हजार ७९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिनुभयो । हिमपात भए पनि जनजीवनमा सामान्य रहेको उनले बताए । यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो । हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो । समान्य वर्षा र हिमपात हुन सुरु भएपछि भने यसले केही राहत पुग्ने किसानले बताएका छन् । केही दिनयता चिसो बढेसँगै पाथीभरामा तीर्थयात्रीको आगमनको सङ्ख्या घटेकोे पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । बर्सेनि हिउँ परेपछि भने पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको छ ।
चिसो बढेसँगै विद्यालय तीन दिन बन्द
काठमाडौं । वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो । महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरेर तिन दिन सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय भएको जानकारी दिए । ‘बढ्दो जाडोका कारणबाट विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै तीन दिन वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालयको प्रशासनिक कार्य सञ्चालन गर्नेगरी विद्यार्थीलाई गृहकार्य दिई घरमा अध्ययन गर्ने वातावरण मिलाई विद्यालयमा पठनपाठनसम्बन्धी कार्य स्थगन गर्न/गराउनुहुन सम्बन्धित सबै विद्यालयलाई जानकारीका लागि आदेशानुसार अनुरोध छ,’ उनले भने । त्यसैगरी पर्सागढी नगरपालिकाले पनि गत पुस २१ गते सार्वजनिक सूचना जारी गरेर पुस २२ गतेदेखि माघ १ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख देवकुमार गिरीले जानकारी दिए ।
नारायणी डेभलपमेन्ट बैंक, सपोर्ट लघुवित्त र महुली लघुवित्तको सेयर बिक्रीमा
काठमाडौं । विभिन्न तीन संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । नारायणी डेभलपमेन्ट बैंक, सपोर्ट लघुवित्त र महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको हो । यी तीनै संस्थाका संस्थापक समूहका सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । नारायणी डेभलपमेन्ट बैंकका संस्थापक सेयरधनीले ९४ हजार ४३५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ । यस्तै, सपोर्ट लघुवित्तको सस्थापक समूहको ६ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको उक्त सेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ रहेको छ । इच्छुक लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य तोकि आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयरमा माघ २८ गतेसम्म आवेदन दिन सकिनेछ । यस्तै, महुली लघुवित्तको संस्थापक समूहको ४ हजार ६४१ कित्ता सेयर बिक्रीमा राखिएको छ । लघुवित्तका संस्थापक सेयरधनी लक्ष्मी प्रसाद चौधरीको नाममा रहेको सेयर बिक्रीमा राखिएको हो । लघुवित्तको सेयरमा ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।
खुम्बु क्षेत्रमा उडान गर्न पाइने
काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा सेवा उपलब्ध गराइरहेका निजी हेलिकप्टर कम्पनीलाई निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको बाधा तथा असर नपुग्ने गरी उडान गर्न अनुमति दिएको छ । पारिस्थितिकीय प्रणाली, वन, वन्यजन्तु, जैविक विविधता तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि निकुञ्ज स्थापना गरिएकाले उडान/अवतरण/होभरिङ गर्न/गराउनका लागि तोकिएको राजस्व बुझाइ प्रचलित कानुनअनुसार गर्न वरिष्ठ संरक्षण अधिकृत सुषमा रानाले जारी गरेको सूचनामा उल्लेख छ । निकुञ्जको जैविक विविधता तथा सांस्कृतिक सम्पदा विश्वका लागि अनुपम भएकाले संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सन् १९७९ मा प्राकृतिक विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको छ । विश्वभरबाट बर्सेनि हजारौँ पर्यटक निकुञ्जको भ्रमणमा आउने गरेका छन् । जसका कारण आर्थिकरूपमा राष्ट्रिय तथा स्थानीय अर्थतन्त्र एवं रोजगारीमा टेवा पुगेको छ । निकुञ्जभित्र रहेका विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमाल, तालतलैया तथा प्राकृतिक सुन्दरताको अवलोकन गर्न आउने पर्यटकलाई सो स्थानको दृश्यावलोकन गर्न, पर्यटक तथा स्थानीय बिरामीको उद्धार गर्न विकास निर्माणका सामग्री, खाद्यसामग्री तथा अन्य सामग्री ढुवानी गर्नेलगायतका कामका लागि निकुञ्ज क्षेत्रमा सेवा दिइरहेका निजी कम्पनीका हेलिकप्टरलाई अनुमति लिएर कानुनअनुसार उडानरअवतरणरहोभरिङ गर्नरगराउन अनुमति दिइएको उनले बताए ।
सूर्यदर्शन सहकारी बचत अपचलन: थुनछेक बहस जारी, कहिले आउँछ आदेश ?
काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको हो । मङ्गलबार लामिछाने तर्फका कानुन व्यवसायीको बहस सकिएपछि अन्य प्रतिवादीहरूको बहस सुरु भएको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । सोमबार र मङ्गलबार लामिछाने पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमणकुमार श्रेष्ठ, सुरेन्द्र थापालगायतले बहस गरेका थिए । यसअघि प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले बहस गरेका थिए । सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेपछि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस चलिरहेको हो । प्रतिवादीहरूको बयान सकिएलगत्तै यही पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो । प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः सरकारी वकिलका तर्फबाट जवाफी बहस सुरु हुने जनाइएको छ । थुनचेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
निरन्तर उकालो लागेको डलरको भाउ आज घट्यो, चिनियाँ युआनको मूल्य १८.७६ रुपैयाँ
काठमाडौं । निरन्तर उकालो लाग्दै आएको डलरको भाउ आज घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३६.८५ रुपैयाँ र बिक्रीदर १३७.४५ रुपैयाँ तोकेको छ । यसअघि हिजो खरिदर १३७.०३ रुपैयाँ र बिक्रीदर १३७.६३ रुपैयाँ थियो । आज युरोपियन यूरोको एकको खरिदर १४२.४५ रुपैयाँ र बिक्रीदर १४३.०८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.६० रुपैयाँ र बिक्रीदर १७२.३६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५०.९८ रुपैयाँ र बिक्रीदर १५१.६४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८५.९१ रुपैयाँ र बिक्रीदर ८६.२९ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.६१ रुपैयाँ र बिक्रीदर ९६.०३ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.५३ रुपैयाँ र बिक्रीदर १००.९७ रुपैयाँ, जापानी येन १० को खरिददर ८.६७ रुपैयाँ र बिक्रीदर ८.७१ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६८ रुपैयाँ र बिक्रीदर १८.७६ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.४५ रुपैयाँ र बिक्रीदर ३६.६१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.५४ रुपैयाँ र बिक्रीदर ३७.७० रुपैयाँ, थाई भाट एकको खरिददर ३.९७ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.२६ रुपैयाँ र बिक्रीदर ३७.४२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५० रुपैयाँ र बिक्रीदर ३०.६३ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.४२ रुपैयाँ र बिक्रीदर १२.४७ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१८ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.६० रुपैयाँ र बिक्रीदर १७.६८ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४३.९३ रुपैयाँ र बिक्रीदर ४४५.८८ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६३.०३ रुपैयाँ र बिक्रीदर ३६४.६२ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५५.४६ रुपैयाँ र बिक्रीदर ३५७.०२ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
कर्जा दिँदा र असुली गर्दा यी मार्गदर्शन लागू गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई ४ बुँदे मार्गदर्शन जारी गरेको छ । लघुवित्त संस्थाहरूमा देखिएको समस्यालाई मध्यनजर गर्दै यस क्षेत्रलाई थप व्यवस्थित एवम् सुदृढ बनाउन ४ बुँदे संचालन मार्गदर्शन जारी गरेको हो । राष्ट्र बैंकका अनुसार आर्थिक विकास एवम् गरिबी निवारणको उद्देश्य परिपूर्ति गर्ने सिलसिलामा वित्तीय पहुँचको विस्तार तथा स्थानीय स्तरमा वित्तीय साधनको प्रवर्धन गर्न लघुवित्त संस्थाको महत्वपूर्ण भुमिका छ । तर, पछिल्लो समय विभिन्न समस्या देखिएकाले समाधानका उपायको विषयमा अध्ययन गर्न गठित उच्चस्तरीय अध्ययन समितिहरुले लघुवित्तमा देखिएका समस्याहरूको पहिचान गर्दै सोको समाधानका लागि कर्जा व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, कर्मचारी प्रशासन, व्यवसाय संचालन एवम् ग्राहक संरक्षण लगायतका विषयहरुमा सिफारिश गरेका सुझावहरू समेटी लघुवित्तलाई सामाजिक बैंकिङको अवधारणा समेतका आधारमा संचालन गर्न यो मार्गदर्शन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ । कर्जा सम्बन्धी मार्गदर्शन कर्जा विश्लेषण, कर्जा सदुपयोगिताको अनुगमन एवम् कर्जा असुली लगायतका विषयसहित तर्जुमा गरिएको कर्जा नीति प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने, व्यवसाय वा परियोजनाबाट अपेक्षित आय, व्यावसायिक योजना, ऋणीको साख सूचना, यथार्थपरक पारिवारिक आय लगायतका विषयहरु समेटी कर्जाको विश्लेषण विधिको विकास गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार ऋणीको आम्दानी तथा व्यवसायको नगद प्रवाहको आधारमा कर्जा भुक्तानी तालिका तयार गरी सम्बन्धित ग्राहकलाई उपलब्ध गराउनुपर्ने, कर्जा प्रवाह वा नवीकरण गर्दा हाल भईरहेको कर्जा सूचना लिने/दिने व्यवस्थालाई व्यवस्थित एवं थप प्रभावकारी बनाउनुपर्ने, लघु उद्यम सञ्चालनको लागि परियोजनानै धितोमा रहने गरी प्रवाह भएको कर्जाको हकमा परियोजनाको बीमा अनिवार्य रुपमा गर्ने अभ्यासलाई प्रवद्र्धन गर्नुपर्दछ । यसरी परियोजना नै धितो रहने गरी प्रवाह गरिएको कर्जालाई स्थानीय आवश्यकता र सम्भाव्यताका आधारमा व्यावसायिक उत्पादनमा आधारित उद्यम/परियोजनामा परिचालन गर्न ऋणीहरुलाई अभिप्रेरित गर्नुपर्दछ । संस्थाबाट जुन प्रयोजनको लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनका लागि प्रयोग गरे नगरेको एवम् समूह सदस्य स्वयम्ले ऋण वापत रकम प्राप्त गरे नगरेको सम्बन्धमा नियमित रुपमा अनुगमन गर्नुपर्दछ । यस सम्बन्धमा कर्मचारीलाई अभिमुखीकरण समेत गर्नुपर्दछ । यस्तै, कर्जा सदुपयोगिताको अनुगमनका लागि स्पष्ट जिम्मेवारी तोकिएको ऋण अधिकृत/कर्मचारी नियुक्त गरी ऋणीसँग निरन्तर सम्पर्कमा रही कर्जालाई सही प्रयोजनमा उपयोग गर्नका लागि ऋणीलाई अभिप्रेरित गर्नुपर्दछ । ऋणीले कर्जाको किस्ता र ब्याज भुक्तानीका लागि प्रयोग गरेको नगदको स्रोतको अनुगमन गर्नुपर्दछ । कर्जा सदुपयोगिताको अनुगमन कम्तीमा अर्धवार्षिक रुपमा गरी आवधिक प्रतिवेदन तयार गरी कार्यान्वयनमा ल्याउनुपर्दछ । कर्जा असुलीका लागि कुनै पनि किसिमको कठोर विधि अपनाउन हुँदैन । कर्जा असुली गर्दा ऋणीलाई धम्कीपूर्ण वा अपमानजनक भाषा प्रयोग नगर्न, अनावश्यक रुपमा फोन नगर्न, ऋणीको परिवार, साथी एवम् सहकर्मीलाई अपमान नगर्ने, ऋणी वा परिवारको सम्पत्ति वा मान प्रतिष्ठामा हानि नोक्सानी पुग्ने गरी हिंसाको धम्की नदिन, ऋण नतिर्दा आउन सक्ने परिणामका बारेमा गलत सूचना नदिन राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तै, ऋणी र संस्थाको पारस्परिक समझदारीमा तोकिएको स्थानमा जस्तैः समूह वैठक, कार्यालयमा मात्र कर्जा असुली गर्ने र लगातार तीन पटक भन्दा बढी सम्बन्धित ठाँउमा अनुपस्थित भएमा मात्र ऋणीको घर वा कार्यस्थलमा जाने अभ्यासलाई अवलम्बन गर्नुपर्नेछ ।