विकासन्युज

त्रिशुली बजारसम्म सडक सञ्चालनमा

काठमाडौं । बाढी तथा पहिरोका कारण अवरुद्ध भएको नुवाकोटको सडकखण्ड सञ्चालनमा आएको छ । गल्छी–त्रिशुली राजमार्गअन्तर्गत त्रिशुली पुल पारिबाट त्रिशुली नदीको दायाँ किनार हुँदै त्रिशुली बजारसम्मको सडक सञ्चालनमा आएको हो । पूर्वाधार विकास मन्त्रालयका अनुसार कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेसी हुँदै त्रिशुली बजारसम्म सडक सञ्चालनमा ल्याइएको हो ।

बाढीपीडितका लागि कृषि विकास बैंकको १० लाख बराबरको खाद्य सामग्री सहयोग

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ । बैंकले करिब २०० बाढीपीडित परिवारलाई पुग्ने गरी चामल, दाल, तेल, नुन, चिउरा, बिस्कुट, चाउचाउ, दालमोठ, मस्यौरा, चना, भुजा, पिउने पानीलगायत अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको जनाएको छ । सरकारको आधिकारिक राहत सङ्कलन केन्द्रमा आयोजित कार्यक्रममा बैंकका मार्केटिङ एन्ड सेल्स विभाग प्रमुख बीना शर्माले राहत सामग्री हस्तान्तरण गरिन् । कार्यक्रममा बैंकका वरिष्ठ शाखा प्रमुख महेश्वर मरहठ्ठा, वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्मा, व्यवसाय अधिकृत मणिराज ढुंगाना र कार्यालय सहायक बबिता अर्याललगायतको उपस्थिति थियो । कृषि विकास बैंकले देशका विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएको र हजारौं नागरिक प्रभावित भएको अवस्थामा राहत र उद्धारमा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ । बैंकले यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ आर्थिक सहयोग गरिसकेको उल्लेख गर्दै विपद्पीडित नागरिकको राहत र पुनर्स्थापनामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यसैबीच, बैंकले देश तथा विदेशमा रहेका संघसंस्था र व्यक्तिलाई पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढीपीडितलाई सहयोग गर्न अपिल गरेको छ । साथै, राहत कोषमा सहयोग गर्न बैंक खाता र क्यूआर कोडसमेत सार्वजनिक गरिएको जनाएको छ ।

बाढीपीडितका लागि शिवम् सिमेन्टले ११ हजार बोरा सिमेन्ट र २१ लाख रुपैयाँ दिने

काठमाडौं । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्निर्माणमा सहयोग पु‍र्याउन शिवम् सिमेन्ट लिमिटेड र शिवम् होल्डिङ्स लिमिटेडले आर्थिक तथा निर्माण सामग्री सहयोगको घोषणा गरेका छन् । कम्पनीले नेपाल सरकारसँगको समन्वयमा ११० बाढी पीडित घरधुरीलाई प्रतिपरिवार १०० बोराका दरले कुल ११ हजार बोरा शिवम् ओपीसी सिमेन्ट निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै, शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।  उक्त रकम बाढी प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा विपद्पछिको पुनर्निर्माणमा उपयोग हुने कम्पनीले जनाएको छ । विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग गर्न सरकार, स्थानीय तह तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै जाने प्रतिबद्धता पनि शिवम् सिमेन्टले व्यक्त गरेको छ । कम्पनीले प्रभावित नागरिकको जीवन पुनःस्थापना र पुनर्निर्माणका लागि आफ्नो सहयोग आगामी दिनमा पनि निरन्तर रहने जनाएको छ ।

बाढीपछि बालबालिकामा रोगको जोखिम बढ्यो, स्वच्छ पानीको अभाव

काठमाडौं । भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीपछि विस्थापित बालबालिकामा पानीजन्य तथा अन्य संक्रामक रोगको जोखिम बढेको सेभ द चिल्ड्रेनले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खानेपानीका स्रोतहरू फोहोर तथा भग्नावशेषका कारण दूषित हुनुका साथै सार्वजनिक आश्रयस्थलमा अत्यधिक भीडभाड भएपछि बालबालिकाको स्वास्थ्यमा थप जोखिम देखिएको संस्थाले जनाएको हो । सेभ द चिल्ड्रेनका अनुसार कुहिएका मानव तथा पशुका शव, अव्यवस्थित फोहोर र जमेको पानीका कारण झाडापखाला तथा छालासम्बन्धी संक्रमण फैलिने जोखिम बढेको छ । केही बालबालिकामा खोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी संक्रमण देखिएको संस्थाले जनाएको छ । बाढी प्रभावित रासुवा तथा नुवाकोटका विभिन्न क्षेत्रमा परिवारहरू सुरक्षित स्थानमा पुगे पनि स्वच्छ खानेपानी र सरसफाइको पर्याप्त व्यवस्था हुन सकेको छैन ।  वर्षा जारी रहँदा थप बाढी तथा पहिरोको जोखिमसमेत कायम रहेको छ । जमेको पानीका कारण डेंगु फैलाउने लामखुट्टेको प्रजननस्थल बढ्न सक्ने भन्दै बालबालिकामा लामखुट्टेबाट सर्ने रोगको जोखिमसमेत रहेको विज्ञले बताएका छन । सेभ द चिल्ड्रेन नेपालकी कन्ट्री डाइरेक्टर तारा छेत्रीले बाढीको तत्कालीन खतरा कम हुँदै गए पनि अर्को स्वास्थ्य संकटको जोखिम बढिरहेको बताइन् । ‘भीडभाड भएका स्थान, दूषित पानी, कमजोर सरसफाइ र स्वास्थ्य सेवामा सीमित पहुँचले रोगको प्रकोप फैलिन सक्ने अवस्था सिर्जना गरेको छ,’ उनले भनिन् ।  उनका अनुसार अस्थायी आश्रयस्थल तथा होल्डिङ सेन्टरमा बालबालिकाहरू खोकी र अन्य स्वास्थ्य समस्या लिएर पुगिरहेका छन् ।  कतिपय स्थानमा आवश्यक औषधिसमेत उपलब्ध नहुँदा ग्रामीण तथा सम्पर्कविहीन क्षेत्रमा अवस्था अझ गम्भीर हुन सक्ने उनको भनाइ छ ।

९४ जनाको शव त्रिवि शिक्षण अस्पतालमा, ४८ जनाको पोष्टमार्टम

काठमाडौं । गत बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये ४८ जनाको पोष्टमार्टम भएको छ ।  काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ९४ जनाको शव ल्याइएकोमा हालसम्म ४८ जनाको पोस्टमार्टम भएको र बाँकी ४६ वटा शवको पोस्टमार्टम गर्ने क्रम जारी रहेको अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए ।  उनका अनुसार अस्पतालमा ल्याइएका शवहरूमध्ये हालसम्म नौ जनाको मात्र पहिचान खुलेको छ । पहिचान खुलेका शवहरूको पोस्टमार्टम पश्चात् आफन्त तथा परिवारको जिम्मा लगाइसकिएको डा. चौधरीले बताए । बाढीमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेकाले शिक्षण अस्पतालमा थप शवहरू आउन सक्ने अनुमान गरिएको छ ।  हाल पहिचान हुन बाँकी शवहरूको हुलिया, आफन्तबाट प्राप्त विवरण तथा डीएनए परीक्षण लगायतका आवश्यक प्रक्रियामार्फत पहिचानको काम भइरहेको अस्पतालले जनाएको छ ।

बाढीपीडितका लागि माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका अध्यक्ष रोशन केसीले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । भदौ १० गते आएको बाढी र पहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेको अवस्थामा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ । बैंकले विपत्तिपछि प्रभावित क्षेत्रमा खाद्यान्न, ओढ्ने–ओछ्याउने तथा दैनिक उपभोगका अन्य राहत सामग्री पनि उपलब्ध गराइसकेको जनाएको छ । माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको सहयोगले बाढीपीडित नागरिकको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद् र सामाजिक संकटका समयमा राहत तथा मानवीय सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि विपद्प्रभावित समुदायको साथमा रहने प्रतिबद्धता जनाएको छ ।

बाढीपीडितका लागि एके राठी र सारडा ग्रुपको १ करोड १ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि एके राठी ग्रुप र सारडा ग्रुपले संयुक्त रूपमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् । दुवै औद्योगिक समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एके राठी ग्रुपका निर्देशक तथा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणका क्रममा दुवै समूहले प्राकृतिक विपत्ति र राष्ट्रिय संकटका बेला निजी क्षेत्र सरकारसँग सहकार्य गर्दै प्रभावित नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी दिनमा पनि राहत, पुनर्स्थापना र पुनर्निर्माणका काममा सरकारसँग सहकार्यलाई निरन्तरता दिने उनीहरूको भनाइ छ । सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाले विगतका प्राकृतिक विपत्तिमा पनि आफ्नो समूहले प्रभावित नागरिक र सरकारलाई सहयोग गर्दै आएको बताए । विपद्बाट उत्पन्न मानवीय संकट समाधानमा निजी क्षेत्र र सामाजिक संघसंस्थाको भूमिका पनि महत्वपूर्ण हुने उनले उल्लेख गरे । एके राठी ग्रुपका निर्देशक अनुपम राठीले प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । संकटको समयमा सरकारको प्रयासलाई साथ दिनु निजी क्षेत्रको सामाजिक दायित्वसमेत भएको उनले बताए । सारडा ग्रुपले बाढीपीडितको सहयोगका लागि अन्य मानवीय कार्यक्रम पनि सञ्चालन गरेको जनाएको छ । समूहको वार्षिकोत्सवका अवसरमा आइतबार विराटनगर र काठमाडौंमा बाढीपीडित तथा घाइतेको उपचारका लागि १५० पिन्ट रगत संकलन गरिएको थियो । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्निर्माणका काम जारी रहेका बेला निजी क्षेत्रबाट प्राप्त सहयोगले राहत व्यवस्थापनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

१८ थान मोबाइल र ल्यापटपसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । ठमेलबाट भन्सार छलेर ल्याएको मोबाइल तथा ल्यापटपसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको पञ्जाब प्रदेश, जलन्धरका  ४१ वर्षीय सन्दीप अहुजालाई प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार आइतबार साँझ काठमाडौं महानगरपालिका–२६, ठमेलस्थित सडकखण्डमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका अवस्थामा ड्युटीमा खटिएका प्रहरीले टोलीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा अहुजाको साथबाट बिल–बिजक नभएका १८ थान मोबाइल फोन र एक थान ल्यापटप बरामद गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका दानबहादुर थापाले जानकारी दिए । उनका अनुसार बरामद सामग्रीसहित नियन्त्रणमा लिइएका अहुजालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको जनाएको छ।