काठमाडौं । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्निर्माणमा सहयोग पुर्याउन शिवम् सिमेन्ट लिमिटेड र शिवम् होल्डिङ्स लिमिटेडले आर्थिक तथा निर्माण सामग्री सहयोगको घोषणा गरेका छन् ।
कम्पनीले नेपाल सरकारसँगको समन्वयमा ११० बाढीपीडित घरधुरीलाई प्रतिपरिवार १०० बोराका दरले कुल ११ हजार बोरा शिवम् ओपीसी सिमेन्ट निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै, शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
उक्त रकम बाढी प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा विपद्पछिको पुनर्निर्माणमा उपयोग हुने कम्पनीले जनाएको छ ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग गर्न सरकार, स्थानीय तह तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै जाने प्रतिबद्धता पनि शिवम् सिमेन्टले व्यक्त गरेको छ ।
कम्पनीले प्रभावित नागरिकको जीवन पुनःस्थापना र पुनर्निर्माणका लागि आफ्नो सहयोग आगामी दिनमा पनि निरन्तर रहने जनाएको छ ।