तीन प्रकारका औषधि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन
काठमाडौं । औषधि व्यवस्था विभागले मापदण्ड पूरा नगरेका विभिन्न तीन प्रकारका औषधि तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । बजार अनुगमनका क्रममा राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा तोकिएको मापदण्डअनुसार नपाइएका औषधि फिर्ता गर्न सम्बन्धित उद्योग तथा प्रतिनिधिलाई निर्देशन दिइएको विभागले जनाएको छ । विभागले फिर्ता गर्न निर्देशन दिएका औषधिमा ओमिट्रोन सिरप, भोमिसेट सिरप र अल्कल–डी ५०० ट्याब्लेट रहेका छन् । नेसनल हेल्थकेयर प्रालि।, छत्रपाटी, काठमाडौं द्वारा उत्पादित ओमिट्रोन सिरप को ब्याच नम्बर ओएमएल २५०२२ रहेको छ । उक्त औषधि मुखबाट सेवन गर्ने घोलको परीक्षण तथा प्याकेजिङसम्बन्धी तोकिएको आवश्यकतासँग मेल नखाने पाइएको विभागले जनाएको छ । त्यस्तै टाइम फार्मास्युटिकल्स प्रालि।, गैँडाकोट–१०, नवलपरासी द्वारा उत्पादित भोमिसेट सिरप को ब्याच नम्बर भीएमएस–०१९ रहेको छ। उक्त औषधि पनि प्याकेजिङसम्बन्धी तोकिएको मापदण्ड पूरा नगरेको पाइएको छ । भारतको अल्केम हेल्थ साइन्स द्वारा उत्पादित अल्कल–डी ५०० ट्याब्लेट का ब्याच नम्बर २५४४२३५९ र २५४४२३५८ रहेका छन् । उक्त औषधिमा रहेको भिटामिन डीको मात्रा परीक्षण तोकिएको मापदण्डअनुसार नपाइएको विभागले जनाएको छ । यसको आयातकर्ता बालाजी मेडिसिन्स डिस्ट्रीब्युटर्स, पर्सा रहेको छ । विभागले यी औषधिको बिक्री, वितरण तथा प्रयोग नगर्न–नगराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ । साथै बजारमा रहेका औषधि तत्काल फिर्ता गरी त्यसको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा प्रतिनिधिलाई निर्देशन दिएको छ ।
कन्टिनेन्टल ट्रेडिङद्वारा रसुवा बाढीपीडितका लागि २५ लाख सहयोग
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापना कार्यमा सहयोग गर्न कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले २५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका अध्यक्ष सुहृद् घिमिरे, कार्यकारी उपाध्यक्ष रेखा घिमिरे र निर्देशक अदिती घिमिरे सहितको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । हालै भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायत आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । विपद्ले घर, सम्पत्ति तथा भौतिक पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ भने प्रभावित परिवारलाई तत्काल राहत, उद्धार र पुनर्स्थापनाको आवश्यकता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विपद्को कठिन घडीमा पीडित नागरिकको साथमा उभिने र सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो । चेक हस्तान्तरणका क्रममा कम्पनीका प्रतिनिधिहरूले बाढी र पहिरोमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । कम्पनीले प्राकृतिक विपद्को समयमा पीडित परिवारको दुःखमा साथ दिनु निजी क्षेत्रको सामाजिक उत्तरदायित्व भएको उल्लेख गरेको छ । कम्पनीका प्रतिनिधिले भने, 'विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु हाम्रो मानवीय र सामाजिक दायित्व हो । राज्य र समाजलाई आवश्यक परेको बेला निजी क्षेत्रले आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्छ भन्ने हाम्रो विश्वास छ ।' कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले आगामी दिनमा पनि आवश्यकता र आफ्नो सामर्थ्यअनुसार मानवीय सहायता तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
बाढीपीडित भोकभोकै छन्, सरकार प्रचारबाजीमा व्यस्त छ : सांसद शर्मा
काठमाडौं । नेपाली कांग्रेसका सांसद युवराज शर्माले बाढी प्रभावित क्षेत्रका नागरिकलाई राहत वितरण र बेपत्ता व्यक्तिको खोजी कार्य प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद शर्माले सरकारले सबै पक्षसँग प्रभावकारी समन्वय गर्न नसक्दा देश–विदेशबाट प्राप्त राहत सामग्री प्रभावित नागरिकसम्म पुग्न नसकेको गुनासो आएको बताए । उनले बाढी प्रभावित नागरिक आफ्नै पैसाले समेत आवश्यक सामग्री किन्न नसक्ने अवस्थामा पुगेको भन्दै धेरै ठाउँमा मानिसहरू भोकभोकै बस्नुपरेको दाबी गरे । विपद्को यस्तो अवस्थामा एकअर्कालाई दोषारोपण गर्नुभन्दा खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन सरकार केन्द्रित हुनुपर्ने उनको भनाइ छ । सांसद शर्माले सरकारले घोषणा गरेको एकद्वार राहत प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको पनि बताए । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच आवश्यक समन्वय नहुँदा राहत वितरणमा समस्या देखिएको उनको आरोप छ । ‘देश–विदेशबाट सक्दो सहयोग आइरहेको छ। तर सही ठाउँमा राहत नपुग्दा प्रभावित नागरिकले हामी भोकभोकै छौं, आफन्त हराएका छन् र राहत पाएका छैनौं भन्ने गुनासो गरिरहेका छन्,’ उनले भने । उनले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर राहत वितरणलाई व्यवस्थित गर्नुपर्नेमा सरकार चुकेको टिप्पणी गरे । सांसद शर्माले सरकारले परिणाममुखी काम गर्नुपर्ने भन्दै मन्त्रीहरू उद्धार र राहतमा भन्दा प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाए । ‘प्रचारबाजीमा सरकार लाग्नु भएन, मन्त्रीहरू पनि त्यसमा केन्द्रित हुनु भएन,’ उनले भने ।
शर्मा एण्ड कम्पनी र सञ्जीवनी ग्रुपले संयुक्त रुपमा बाढीपीडितलाई दिए १ करोड ५१ लाख
काठमाडौं । बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि शर्मा एण्ड कम्पनी र सञ्जीवनी ग्रुपले १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेका छन् । मंगलबार शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा, सञ्चालक सौरभ शर्मा तथा सञ्जीवनी ग्रुपका सञ्चालक राजु बस्नेत क्षेत्रीले सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीहरूले जनाएका छन् । शर्मा एण्ड कम्पनी र सञ्जीवनी ग्रुपले बाढीबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्बाट प्रभावित व्यक्ति तथा समुदायप्रति सहानुभूति प्रकट गरेका छन् । साथै प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक सहयोग तथा प्रभावकारी व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन् ।
त्रिशूली नदीमा भेटियो टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव
काठमाडौं । रसुवास्थित टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखास्थित त्रिशूली नदी किनारमा भेटिएको छ । गत बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका शर्माको शव मंगलबार गोरखास्थित त्रिशूली नदी किनारमा भेटिएको हो । बाढीमा परेर बेपत्ता भएका भन्सार कर्मचारीको खोजी तथा पहिचानका लागि परिचालित टोलीले शर्माको शव पहिचान गरेको भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिए । उनका अनुसार गोरखामा त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टि भएपछि परिवारलाई जानकारी गराइएको थियो । भन्सार विभागबाट परिचालित अधिकृत रमेश कुँवर नेतृत्वको खोजतलास तथा पहिचान टोलीले आवश्यक प्रक्रिया पूरा गरी शवको पहिचान गरेको बर्ताैलाले बताए । गत बुधबार बिहान भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण बाढीले टिमुरे आसपासको क्षेत्रमा ठूलो क्षति पु‍र्‍याएको थियो । बाढीका कारण टिमुरे भन्सार कार्यालयका १५ कर्मचारीहरू सम्पर्कविहीन भएका थिए । बाढीपछि भन्सार विभागले बेपत्ता कर्मचारीहरूको खोजी, उद्धार तथा पहिचानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै आएको प्रवक्ता बर्तौलाले जानकारी दिए । बाढीको बहावसँगै शवहरू नदीको तल्लो तटीय क्षेत्रमा पुग्न सक्ने भएकाले रसुवासहित नुवाकोट, धादिङ र गोरखातर्फ समेत खोजी अभियानकालागी विभागले कर्मचारीहरू खटाएको थियो । यसै क्रममा गोरखास्थित त्रिशूली नदी किनारमा भेटिएको शवको पहिचान गर्दा अधिकृत शर्माको भएको पुष्टि भएको हो । शर्माको निधनसँगै टिमुरे भन्सार कार्यालयले एक अनुभवी अधिकृत गुमाएको बर्तौलाले जानकारी दिए ।
पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन सुरु
काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी निधन भइ पोखरा लगिएका १०२ जनाको पोस्टमार्टम प्रक्रियासम्पन्न भएको छ । पोस्टमार्टम गरिएकामध्ये पहिचान हुन नसकेका ७८ वटा शवलाई जिल्ला विपद् व्यवस्थापन समिति र पोखरा महानगरपालिकाको समन्वयमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य सुरु गरिएको हो । पोखरामा राखिएका १०२ वटा शवहरूमध्ये पूर्वी नवलपरासीका ४१, धादिङका २७, तनहुँका २४ र गोरखाका ११ वटा रहेका थिए । तीमध्ये २४ वटा शवको पहिचान भई आफन्तलाई हस्तान्तरण गरिसकिएको छ भने बाँकी ७८ वटा शव पहिचान हुन बाँकी रहेका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी नविन कार्कीका अनुसार पहिचान हुन नसकेका शवहरूको पोस्टमार्टमका क्रममा नै डीएनएन नमूना संकलन गरिसकिएको छ । संकलित नमूनाहरूलाई विधि विज्ञान प्रयोगशालामा पठाइने र भविष्यमा आफन्तको सम्पर्क आएमा डीएनए म्याचिङ गराई शव पहिचान गरिने व्यवस्था मिलाइएको छ । बेपत्ता भएका व्यक्तिका आफन्तले नजिकको प्रहरी कार्यालयमा समन्वय गरी रगतको नमूना उपलब्ध गराउन सक्ने र डीएनए मिलेको खण्डमा शव हस्तान्तरण गरिने प्रहरीले जनाएको छ । पहिचान नभएका शवहरूलाई पोखरा महानगरपालिका र विपद् व्यवस्थापन समितिले तोकेको सुरक्षित स्थानमा व्यवस्थापन गर्न लागिएको हो । उक्त स्थानलाई तारजालीले घेराबारा गरी सुरक्षित राखिने र अनधिकृत व्यक्तिहरूको प्रवेशमा पूर्ण रोक लगाइने एसपी कार्कीले जानकारी दिए । प्रत्येक शवमा ‘युनिक आइडेन्टिफिकेसन ट्याग’ लगाइएको छ, जसले गर्दा भविष्यमा पहिचान भएमा उत्खनन गर्न सहज हुनेछ । भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण मृत्यु भएका र अंगभंग भएका कारण पहिचान हुन नसकेका शवहरूलाई कास्की ल्याइएको थियो । शवहरूको अन्त्येष्टि नगरी सुरक्षित तवरले व्यवस्थापन मात्र गरिएको स्पष्ट पार्दै प्रहरीले यस प्रक्रियालाई वैज्ञानिक र कानूनी विधिअनुसार अगाडि बढाइएको जनाएको छ । –न्युज एजेन्सी नेपाल
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरुद्ध बनाएको सडक खुलाउन अझै कम्तीमा १५ दिन लाग्ने भएको छ । भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ । सडक विभागले अवरुद्ध सडक १५ दिनभित्रमा सञ्चालन ल्याउनेगरी तयारी गरेको जनाएको छ । विभागले प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली कृष्णभीरमा परिचालन गरी तत्काल सडक सञ्चालनमा ल्याउने तयारी थालेको हो । पहिरोले कटान गरेको सडकको स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले बाढीका ठूलो बहावका कारण सडकको तल्लो भाग कटान भएको र माथिल्लो भूभागमा समेत चिरा परेकोले पहिरो खसेको बताए । उनले राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल सुचारु गर्नेगरी काम अघि बढाइने जानकारी दिए । विज्ञहरूको टोलीबाट प्राविधिक राय लिएर सम्भव भएसम्म १० देखि १५ दिनमा राजमार्ग खुलाउने प्रयत्न गर्ने उनको भनाइ छ । उनले हाल वैकल्पिक रुट र स्थानीय सडक प्रयोग गरेर यातायात सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । सडक विभागले आगामी दिनमा नदी करिडोरमा निर्माण हुने राजमार्गलाई थप दिगो र विपद्–प्रतिरोधी बनाउने नीति आवश्यक रहेको जनाएको छ । विभागका सहसचिव ढकालले नदीको उच्च बहावको स्तरलाई ध्यानमा राखेर सडकको उचाइ बढाउने, वैकल्पिक लिंक तथा रुट विकास गर्ने, अग्ला पुल र आवश्यक ठाउँमा साना सुरुङ निर्माण गर्ने तथा प्राविधिक रूपमा सुरक्षित संरचना विकास गर्नुपर्ने बताए । उनका अनुसार सुरुआती लागत केही बढेपनि दीर्घकालीन रूपमा टिकाउ हुने प्रविधिमा आधारित राजमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ । उनले पहिरो पन्छाएर हाललाई सिंगल लेनको बाटो बनाउन सकिने बताए । सडकको भित्तो कटिङ गरेर केही माथिबाट सडक खुलाउन सकिने उनको भनाइ छ । –न्युज एजेन्सी नेपाल
रसुवा बाढी : बीमा कम्पनीहरूमा २५ अर्बभन्दा बढीको दाबी
काठमाडौं । गत बुधबार (भदौ १०) गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण क्षतिपूर्ति बापत बीमा कम्पनीहरूमा ठूलो रकमको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार सोमबारसम्ममा बाढीका कारण क्षतिपूर्ति बापत १५ वटा निर्जीवन बीमा कम्पनीहरूमा २५ अर्ब ८७ करोड ३५ लाखभन्दा बढीको प्रारम्भिक बीमा दाबी परेको छ । प्राधिकरणले भदौ १५ गतेसम्म सङ्कलन गरेको विवरण अनुसार कुल ५८३ वटा बीमालेखमार्फत क्षतिपूर्तिको दाबी परेको हो । इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा सबैभन्दा बढी दाबी परेको छ । यसअन्तर्गत २० अर्ब ५० करोड ७७ लाख रुपैयाँको दाबी परेको छ । जुन कुल दाबी रकमको ७९.२६ प्रतिशत हो । त्यसैगरी, दोस्रोमा सम्पति बीमाअन्र्तगत ११३ बीमितको २ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ दाबी परेको छ । मोटर बीमाअन्तर्गत ३१३ बीमालेखको १ अर्ब ५५ करोड ९ लाख रुपैयाँ, परिवहन बीमाअन्तर्गत ४७ वटा बीमालेखको ८९ करोड ७७ लाख रुपैयाँ, अन्य बीमाअन्तर्गत ५४ वटा बीमालेखको ५२ करोड ९२ लाख रुपैयाँ र स्वास्थ्य बीमाअन्तर्गत ४ वटा बीमालेखको ४ करोड १६ लाख रुपैयाँ दाबी परेका छन् । ओरियन्टलमा सबैभन्दा बढी दाबी प्राधिकरणअनुसार दि ओरियन्टल इन्स्योरेन्समा सबैभन्दा ठूलो रकमको बीमा दाबी परेको छ । उक्त कम्पनीमा ८ वटा बीमालेखमार्फत १३ अर्ब ४ करोड २१ लाख रुपैयाँको दाबी परेको छ । दाबी संख्याको हिसाबले भने शिखर इन्स्योरेन्स कम्पनीमा सबैभन्दा बढी दाबी परेको छ । शिखरमा १२७ वटा बीमालेखबापत् १ अर्ब ८७ करोड ५४ लाख रुपैयाँको दाबी परेको छ । सानिमा जीआईसी इन्स्योरेन्समा १०२ वटा दाबीमार्फत २ अर्ब १० करोड २८ लाख रुपैयाँको दाबी परेकाे छ । युनाइटेड अजोड इन्स्योरेन्समा ३८ वटा दाबीमार्फत ४ अर्ब ९७ करोड ४८ लाख रुपैयाँको बीमा दाबी परेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ६७ वटा बीमालेखमार्फत १ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ, हिमालयन एभरेष्टमा ४५ वटा बीमालेखमार्फत ६४ करोड ७८ लाख रुपैयाँ, नेको इन्स्योरेन्समा ६६ वटा बीमालेखमार्फत ५१ करोड ७० लाख रुपैयाँँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२ वटा बीमालेखको २४ करोड २३ लाख रुपैयाँ बराबरको बीमा दाबी परेका छन् । त्यसैगरी नेपाल इन्स्योरेन्समा ३२ वटा बीमाालेखमार्फत २३ करोड ८६ लाख रुपैयाँ, आइजिआई प्रुडुन्सियलमा २६ वटा बीमालेखमार्फत १८ करोड ७३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा २१ बीमालेखमार्फत ११ करोड ३१ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा १४ वटा बीमालेखको ३ करोड १२ लाख रुपैयाँको बीमाा दाबी परेका छन् । त्यस्तै राष्ट्रिय बीमा कम्पनीमा २ वटा बीमालेखको ७६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्समा २ वटा बीमालेखमार्फत ५३ लाख रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्समा ५ लाख रुपैयाँको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।