विकासन्युज

बाढीका पीडितलाई तत्काल बीमा भुक्तानी दिन अर्थमन्त्रीको निर्देशन

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बीमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिएका छन् । भदौ १० गते गएको रसुवा बाढीका कारण भएको क्षतिपछिको बीमा दाबीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रियाको सन्दर्भमा सोमबार बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।  ‘बाढीका कारण देश शोकमा छ । यो कठिन अवस्थामा सबैजना हातेमालो गरौं । पीडितको क्षतिमा बीमा कम्पनीहरूले मल्हम लगाऔं । दाबी भुक्तानीलाई सहज र सरल बनाऔं,’ अर्थमन्त्री वाग्ले भने, ‘बरु बीमा कम्पनीहरूलाई कुनै समस्या भयो र सरकारले केही गर्नुपर्ने अवस्था आयो भने भन्नुहोला। हामी सहयोग गर्न तयार छौं । ’ मुलुकको कठिन परिस्थितिमा सबै मिलेर जानुको विकल्प नभएको पनि उनले बताए । भोटेकोसी नदीमा आएको अकल्पनीय र दुःखद् बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै जलविद्युत् आयोजना, सार्वजनिक पूर्वाधार र निजी सम्पत्तिमा ठूलो असर परेको पनि उनले उल्लेख गरे ।  नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार बाढीका कारण कुल ५८३ वटा बीमा दाबी परेका छन् । यी प्रारम्भिक दाबीहरूको कुल अनुमानित रकम २५ अर्ब ८७ करोड रूपैयाँ रहेको छ । आजको बैठकले यी ठूला तथा प्रारम्भिक क्षतिको दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न सहजतातर्फ कदम चाल्ने निर्णय पनि गरेको छ । साथै, द्रुत दाबी भुक्तानीका लागि कागजी प्रक्रियामा अल्झिएर भुक्तानीमा ढिलाइ हुन नदिन कार्यविधिमा व्यापक सहजीकरण गर्दै साना दाबीहरूका लागि द्रुत भुक्तानी प्रणाली अपनाइने निर्णय पनि भएको छ । बैठकले जलविद्युत् आयोजना र ठूला पूर्वाधारजस्ता ठूला क्षतिको पूर्ण मूल्याङ्कन गर्न समय लाग्ने भएकाले बीमितको नगद प्रवाह सहज बनाउन तत्काल उचित रकम पेस्कीस्वरूप भुक्तानी दिइने पनि निर्णय गरेको छ । सर्भेयर परिचालनलाई थप चुस्त र पारदर्शी बनाउन नेपाल बीमा प्राधिकरणले ब्ल्यांकेट सहमति दिँदै प्रणालीमार्फत स्वचालित रूपमा सर्भेयर खटाउने व्यवस्था मिलाउने भएको छ । यस्तै, दाबी भुक्तानी प्रक्रियाको नियमित रूपमा दैनिक अनुगमन र सहजीकरण गर्नका लागि नेपाल बीमा प्राधिकरणमा एक डेडिकेटेड टास्क फोर्स गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बाढी प्रभावित पालिकालाई राहत र पुनःस्थापनाका लागि सरकारले पठायो एक अर्ब रुपैयाँ

काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको मध्येबाट उक्त रकम निकासा गरिएको हो ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भने, ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा रहेको एभरेष्ट बैंक सिंहदरबार शाखामा मौज्दात रहेको रकममध्ये रु एक अर्ब विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम विपद् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरिएको छ’, उनले भने ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालन नियमावली, २०६३ बमोजिम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष स्थापना भएको हो । कार्यकारी प्रमुख उप्रेतीका अनुसार सरकारले निकासका गरेको उक्त रकममध्ये रसुवाको उत्तरगया गाउँपालिका लागि ७५ लाख रुपैयाँ, गोसाइँकुण्ड गाउँपालिकाका लागि एक करोड रुपैयाँ, कालिका गाउँपालिकाका लागि ३० लाख रुपैयाँ र आमछोदिङ्गो गाउँपालिकाका लागि २० लाख रुपैयाँ निकासा गरिएको छ ।  त्यसैगरी नुवाकोटको बिदुर नगरपालिकाका लागि एक करोड ५० लाख रुपैयाँ, बेलकोटगढी नगरपालिकाका लागि ७५ लाख रुपैयाँ किस्पाङ गाउँपालिकाका लागि २५ लाख रुपैयाँ र तारकेश्वर गाउँपालिकाका लागि ५० लाख रुपैयाँ निकासा गरिएको छ ।  धादिङको गल्छी गाउँपालिकाका लागि ३० लाख रुपैयाँ, सिद्धलेक गाउँपालिकाका लागि २० लाख रुपैयाँ, गजुरी गाउँपालिकाका लागि २० लाख रुपैयाँ, बेनिघाट रोराङ गाउँपालिकाका लागि २० लाख रुपैयाँ तथा गोरखाको गण्डकी गाउँपालिकाका लागि २० लाख रुपैयाँ र तनहुँको देवघाट गाउँपालिकाका लागि २० लाख रुपैयाँ निकासा गरिएको छ ।  उनका अनुसार प्रभावित पालिाकाका लागि सोही रकम बराबरको रकम पठाइएको थियो । ‘बाढी प्रभावित १५ पालिकामा ६ करोड ५० रुपैयाँ लाख निकासा गरिएको थियो, अहिले पनि सोही रकम बराबर निकासा गरिएको छ, हालसम्म १५ पालिकामा १३ करोड ५० लाख रुपैयाँ निकासा भइसकेको छ’, उनले भने ।  सरकारले बाढी आएको दिन सरकारले तत्कालै रसुवाका लागि एक करोड, नुवाकोटका लागि एक करोड र धादिङका लागि ५० लाख रुपैयाँ पठाइएको थियो । उक्त रकम विपद् पश्चात स्थानीय तहको सेवा तत्काल सञ्चालन गर्न, अवरुद्ध सडक, खानेपानी, सञ्चार, विद्युत्लगायतका आवश्यक सेवाहरू सामान्य मर्मत सम्भार गरी तत्काल सञ्चाल गर्न, स्वास्थ्य चौकी र विद्यालय सञ्चालानार्थ तत्काल गर्नुपर्ने सामान्य मर्मत सम्भार तथा अस्थायी प्रकृतिका संरचना तयार गरी सेवा सञ्चार गर्न, विपद् पीडित परिवारलाई तत्काल बस्नका लागि आवश्यक सामग्री उपलब्ध गराउन र विपद् प्रभावित स्थानसम्म राहत सामग्री ढुवानीका लागि स्थानीय तहले खर्च गर्नुपर्नेछ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंगलबार मात्रै २५ करोडभन्दा बढी रकम संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरूबाट २५ करोड ६७ लाख रुपैयाँभन्दा बढीको आर्थिक सहायता प्राप्त भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्राप्त जानकारी अनुसार कोषमा राहत प्रदान गर्ने कुल ८० जना व्यक्ति तथा संस्थाहरूबाट चेक मार्फत सो रकम संकलन भएको हो ।  सङ्कलनका लागि प्राप्त चेकहरूमा उल्लेख भएको कुल रकम २५ करोड ६७ लाख ८४ हजार छ सय ७० रुपैयाँ रहेको छ । प्राकृतिक विपद्बाट प्रभावितहरूका लागि उपलब्ध गराइएको यो सहयोग रकमले उद्धार, राहत तथा पुनर्नर्माणको कार्यमा ठूलो योगदान पुग्ने विश्वास लिइएको छ ।

कृष्णभीरमा सडक सञ्चालन र दीर्घकालीन समाधानका लागि पूर्वाधार मन्त्रालयको पाँचबुँदे निर्णय

काठमाडौं । पृथ्वी राजमार्गको सहज सञ्चालन तथा कृष्णभीर क्षेत्रको तत्कालीन र दीर्घकालीन समाधानका लागि पूर्वाधार विकास मन्त्रालयले विभिन्न निर्णय गरेको छ ।  मंगलबार मन्त्रालयमा बसेको बैठकले विपद् प्रभावित क्षेत्र र राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापना गर्नका लागि तत्काल र दीर्घकालीन योजना बनाएर काम अघि बढाउने निर्णय गरेको हो ।  बैठकले तत्काल विपद्को सामना गर्न कृष्णभीरको हिलसाइडमा ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य तुरुन्त अघि बढाउने निर्णय गरेको छ ।  यसका साथै, नयाँ ट्र्याक खोल्ने कार्यसँगसँगै सेक्रिफिसियल ग्याबियन बक्स तथा बोल्डरहरू हिलसाइडबाट तल खसाल्ने कार्यलाई पनि निरन्तरता दिइनेछ । कृष्णभीरको पहिरो समस्याको दीर्घकालीन समाधानका लागि सडक विभागले टनेल (सुरङमार्ग), सोइल नेलिङ, तथा सिट पाइललगायतका प्राविधिक विकल्पहरूबारे आवश्यक अध्ययन अघि बढाउने भएको छ ।  मन्त्रालयले कृष्णभीरको स्थायी विकल्पका रूपमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्ममा वैकल्पिक सडकको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ । यी उल्लिखित विकल्पहरूको अध्ययन तथा प्राविधिक परामर्शका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने भएको छ ।  सो कार्यका लागि आवश्यकताअनुसार सडक विभाग र सोसाइटीबीच चाँडै समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

आश्मा केसी र नीति शाहले गरे बाढीपीडितलाई १५ लाखको राहत सहयोग

काठमाडौं । पूर्वमिस नेपाल आश्मा केसी र अभिनेत्री नीति शाहले रसुवाका बाढीपीडितका लागि करिब १५ लाख रुपैयाँ बराबरको राहत सहयोग गरेका छन् । उनीहरूले करिब १० लाख रुपैयाँ संकलन गरी बाढी प्रभावित परिवारका लागि ५१ वटा टेन्ट उपलब्ध गराएका हुन् । त्यससँगै २०० कार्टुन चाउचाउ तथा अन्य राहत सामग्रीसमेत वितरण गरिएको छ । एउटा टेन्टमा करिब १० देखि १५ जनासम्म बस्न सक्ने भएकाले ५१ वटा टेन्टबाट मात्रै करिब ५०० देखि ६०० जनासम्मलाई अस्थायी आश्रय उपलब्ध गराउन सकिनेछ । विपद्का कारण घरबाहिर बस्न बाध्य भएका र तत्काल आश्रयको आवश्यकता रहेका परिवारलाई लक्षित गरी राहत सहयोग गरिएको हो । 

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि आइआइएमएस समूहको ११ लाख ११ हजार सहयोग

काठमाडौं । बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले आइआइएमएस समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । आइआइएमएस कलेज, अरन्या बुटिक होटल र टेलर्स क्याफे सम्मिलित समूहको संयुक्त संस्थागत पहलअन्तर्गत उक्त रकम सहयोग गरिएको हो ।  कुल सहयोगमध्ये टेलर्स क्याफेले ५५ हजार ५५५ रुपैयाँ, अरन्या बुटिक होटलले २ लाख २२ हजार २२२ रुपैयाँ र आइआइएमएस कलेजले ८ लाख ३३ हजार ३३४ रुपैयाँ योगदान गरेका छन् । शिक्षा, आतिथ्य तथा सेवा क्षेत्रमा क्रियाशील आइआइएमएस समूहले व्यावसायिक तथा शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि संस्थागत दायित्वको महत्वपूर्ण हिस्साका रूपमा लिँदै आएको जनाएको छ । संस्थागत सहयोगसँगै आइआइएमएस कलेजका कर्मचारीहरूले व्यक्तिगत रूपमा रकम संकलन गरी बाढी प्रभावित परिवारका लागि ५५ हजार ५५५ रुपैयाँ बराबरको छुट्टै सहयोग गरेका छन् । कर्मचारीहरूको स्वेच्छिक सहभागितामा संकलन गरिएको उक्त रकमले विपद्को समयमा संस्थागत तहसँगै व्यक्तिगत तहबाट समेत सामाजिक उत्तरदायित्व र मानवीय सहकार्यमा सहभागी हुनुपर्ने सन्देश दिएको आइआइएमएसले जनाएको छ । यसैगरी, आइआइएमएसका विद्यार्थीहरूले आइआइएमएस सामाजिक उत्तरदायित्व तथा नेतृत्व क्लब (सोल क्लब) मार्फत छुट्टै राहत अभियान सञ्चालन गरेका छन् । क्लबको नेतृत्वमा विद्यार्थीहरूले स्वस्फूर्त रूपमा सहयोग संकलन गरी ५४ हजार रुपैयाँ बराबरको राहत सामग्री जुटाएका छन् । उक्त राहत सामग्री बाढीबाट प्रत्यक्ष प्रभावित परिवार तथा समुदायसम्म पुर्‍याउने उद्देश्यले इको साथी संस्थालाई हस्तान्तरण गरिएको छ । विद्यार्थीहरूले आफैं योजना बनाएर सहयोग संकलन तथा राहत सामग्री व्यवस्थापनमा सहभागी हुनु यस अभियानको महत्वपूर्ण पक्ष रहेको कलेजले जनाएको छ ।  यसले विद्यार्थीमा सामाजिक उत्तरदायित्व, स्वयंसेवा, नेतृत्व, सहकार्य र समुदायप्रतिको संवेदनशीलता विकास गर्न सहयोग पुग्ने विश्वास कलेजको छ । यसरी बाढी प्रभावितका लागि सञ्चालन गरिएको सहयोग अभियानमा आइआइएमएस समूहका संस्थाहरू, कर्मचारी तथा विद्यार्थी गरी तीनै तहबाट छुट्टाछुट्टै सहभागिता जनाइएको छ । आइआइएमएस समूहका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सबिन्द्र महर्जनले विपद्का बेला संस्थाको जिम्मेवारी शैक्षिक तथा व्यावसायिक गतिविधिमा मात्र सीमित नहुने बताए । महर्जनले संस्थागत योगदानसँगै कर्मचारी तथा विद्यार्थीहरूले आ–आफ्नो तहबाट छुट्टै पहल गर्नु अझ अर्थपूर्ण भएको बताए । उनका अनुसार समाजप्रति संवेदनशील, जिम्मेवार र आवश्यक परेको समयमा योगदान गर्न सक्ने नागरिक निर्माण गर्नु पनि शिक्षाको महत्वपूर्ण उद्देश्य हो । महर्जनले विपत्तिको व्यापकताको तुलनामा संस्थाको योगदान सानो प्रयास भए पनि धेरै व्यक्ति तथा संस्थाका यस्ता प्रयास एक ठाउँमा जोडिँदा प्रभावित समुदायमा महत्वपूर्ण प्रभाव पार्न सक्ने बताए । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत गरिएको ११ लाख ११ हजार १११ रुपैयाँको संस्थागत सहयोग बाढी प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सञ्चालन भइरहेका राष्ट्रिय प्रयासमा उपयोग हुने अपेक्षा गरिएको छ ।  

भोटेकोशी बाढीपीडितका लागि ज्योति विकास बैंकको १ करोड सहयोग

काठमाडौं । ज्योति विकास बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कुल १ करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ प्रदान गरेको छ । साथै बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङ जिल्लामा सामाजिक, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि समुदायस्तरमा सञ्चालन हुने विभिन्न कार्यक्रममार्फत थप ५० लाख रुपैयाँसम्म चरणबद्ध सहयोग उपलब्ध गराउने जनाएको छ । बैंकले विनाशकारी बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै विपत्तिबाट प्रभावित परिवार तथा समुदायप्रति साथ, सहानुभूति र ऐक्यबद्धता रहेको जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा सुरक्षा कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति बैंकले सम्मान व्यक्त गरेको छ । हाल बैंकले उपत्यका तथा उपत्यकाबाहिर ११७ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

रास्वपा सभापति र चिनियाँ राजदूत मिङबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच भेटवार्ता भएको छ । सभापतिको बुढानीलण्ठस्थित निवासमा मंगलबार दिउँसो भेटवार्ता भएको हो ।  भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दु:ख व्यक्त गरेका थिए । खोज, उद्दारदेखि पुनर्निर्माणसम्म नै चीन नेपालको साथमा रहेको बताउँदै उनले  नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए । विपद्लगत्तै उद्दारकर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने पनि उनले बताए । भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे ।