विकासन्युज

ग्लोबल आइएमई बैंकका सेयरधनीले १० प्रतिशत लाभांश पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको बुधबार बिहान बसेको सञ्चालक समितिको ४७३औं बैठकले चुक्ता पुँजीको १० प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । प्रस्तावअनुसार सेयरधनीले ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर (करसहित) पाउनेछन् । बैंकले यो लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि आगामी २०औं वार्षिक साधारणसभामा प्रस्ताव पेश गर्ने जनाएको छ। लाभांश सम्बन्धी निर्णयबारे बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराएको छ ।

प्रधानमन्त्री उद्धार कोषमा देव ग्रुप, युनाइटेड मेवा र युनाइटेड मोदीको ५० लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि देव ग्रुप, युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड र युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ५० लाख रुपैयाँ सहयोग गरेका छन् । देव ग्रुपका अध्यक्ष नरेन्द्र बल्लभ पन्त र प्रबन्ध निर्देशक अजय बल्लभ पन्तले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । युनाइटेड मोदी हाइड्रोपावरका अध्यक्ष नवीन सिलवालले बाढीपीडित नागरिकलाई राहत उपलब्ध गराउन र पुनर्स्थापनामा सहयोग पुग्ने विश्वासका साथ रकम प्रदान गरिएको बताए । यस्तै, युनाइटेड मेवा खोला हाइड्रोपावरका अध्यक्ष आशिष थापाले विपद्को कठिन समयमा मानवीय सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । देव ग्रुपले आगामी दिनमा पनि विपद् प्रभावित नागरिक र समुदायको हितमा आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । 

त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जवाङ खोला क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिन थालेको छ ।  नदीले सडकको तल्लो भागबाट तिब्र रूपमा कटान गरेसँगै बुधबार बिहानैदेखि सो स्थानमा सडकको सतह दबिन शुरु भएको हो । नदीको बहाव बढेर सडकको जगमै क्षति पुर्याउन थालेपछि राजमार्गको उक्त खण्ड उच्च जोखिममा परेको छ । गत भदौ १० गते आएको बाढीपछि त्रिशूली नदीले यस क्षेत्रमा निरन्तर कटान गरिरहेको थियो । आज बिहानदेखि सडकको केही भाग धस्सिएपछि सो क्षेत्र भएर गुड्ने सवारी साधन र यात्रुहरूको सुरक्षालाई लिएर चिन्ता बढेको छ । सडक भासिने क्रम शुरु भएसँगै उक्त खण्डमा यातायात सञ्चालन गर्दा उच्च सावधानी अपनाउनुपर्ने देखिएको छ । प्राविधिक रूपमा सडकको आधारभूत संरचनामै असर परेकाले थप क्षति हुन नदिन र सम्भावित दुर्घटना टार्न शतर्कता अपनाउन आवश्यक रहेको छ ।  

नास्पाती किलोको १०० रुपैयाँ, यस्तो छ कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज ठूलो नेपाली र भारतीय गोलभेँडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेँडा ३० रुपैयाँ, टनेल गोलभेँडा ४५ रुपैयाँ र भारतीय सानो गोलभेँडा ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आलुमा रातो आलु ५१ देखि ५३ रुपैयाँ र भारतीय तथा सेतो आलु ४० रुपैयाँ प्रतिकिलो तोकिएको छ । भारतीय प्याजको मूल्य प्रतिकिलो ९८ रुपैयाँ कायम गरिएको छ। गाजर ८० देखि १०० रुपैयाँ, बन्दा ३० रुपैयाँ, काउली १०० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, लौका ५० रुपैयाँ, भिन्डी ४० रुपैयाँ र स्कुस ३० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ । हरियो तरकारीतर्फ रायोको साग ६० रुपैयाँ, पालुङ्गो १५० रुपैयाँ, तोरीको साग १०० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ । च्याउतर्फ कन्य च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३३० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । फलफूलमा फुजी स्याउ प्रतिकिलो ४०० रुपैयाँ, नेपाली केरा दर्जनको ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती ४०० रुपैयाँ, जुनार २०० रुपैयाँ, नेपाली नास्पाती १०० रुपैयाँ, नेपाली मेवा ८० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ५०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ । मसलातर्फ अदुवा प्रतिकिलो २५० रुपैयाँ, हरियो खुर्सानी ५० देखि ७० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, हरियो धनियाँ १०० रुपैयाँ, नेपाली लसुन २०० रुपैयाँ र चाइनिज लसुन २२० रुपैयाँ प्रतिकिलो तोकिएको समितिले जनाएको छ ।

ठाकुर बराल र भेञ्चर ट्रेडिङले बिक्रीमा राखे लुम्बिनी विकास बैंकको सेयर

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १ लाख ५१ हजार ५८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनी ठाकुरप्रसाद बरालले आफ्नो नाममा रहेको ८ हजार कित्ता र भेञ्चर ट्रेडिङ एन्ड इन्भेस्टमेन्ट प्रालिले आफ्नो नाममा रहेको १ लाख ४३ हजार ५८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै उक्त सेयर खरिद गर्न इच्छुक भए ३५ दिनभित्र लिखित जानकारी गराउन आग्रह गरेको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा संस्थागत लगानीकर्तालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको बिक्रीदर १५२ रुपैयाँ २३ पैसा र खरिददर १५१ रुपैयाँ ६३ पैसा कायम गरिएको छ । युरो एकको बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा र बेलायती पाउन्ड स्टर्लिङको बिक्रीदर २०६ रुपैयाँ ११ पैसा तोकिएको छ । स्विस फ्र्याङ्क एकको बिक्रीदर १८७ रुपैयाँ ९७ पैसा रहेको छ । त्यस्तै, अष्ट्रेलियन डलरको बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर १०९ रुपैयाँ ७५ पैसा र सिङ्गापुर डलर ११९ रुपैयाँ ५६ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ६४ पैसा, साउदी रियाल ४० रुपैयाँ ५५ पैसा, कतारी रियाल ४१ रुपैयाँ ७६ पैसा र यूएई दिराम ४१ रुपैयाँ ४५ पैसा तोकिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आवश्यक परे विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने केही फरक हुन सक्ने राष्ट्र बैंकको भनाइ छ ।

प्रभु इन्स्योरेन्सले जम्मा गर्यो सेयरधनीको खातामा बोनस सेयर

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले सेयरधनीको हितग्राही खातामा ८.७० प्रतिशत बोनस सेयर जम्मा गरेको छ । गत वैशाख ९ गते सम्पन्न ३०औँ वार्षिक साधारणसभाबाट पारित ८.७० प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २०८२ चैत २६ गतेसम्म कारोबार भई अभिलेखमा कायम रहेका सेयरधनीको बोनस सेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको हो । उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था भइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार चैत २५ गतेसम्म सेयर धितोबन्धक राखी कर्जा लिएका सेयरधनीको बोनस सेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको छ । कर्जा भुक्तानी भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी बोनस सेयर फुकुवा गराउन कम्पनीले सेयरधनीलाई आग्रह गरेको छ । चैत २५ गतेपछि सेयर धितोबन्धक राखी कर्जा लिएका सेयरधनीको बोनस सेयर भने रोक्का नजनाई हितग्राही खातामा जम्मा हुने कम्पनीले जनाएको छ । सम्बन्धित बैंक तथा वित्तीय संस्थाले बोनस सेयर रोक्का भए वा नभएको यकिन गरी आवश्यक प्रक्रिया अघि बढाउन कम्पनीले अनुरोध गरेको छ । भौतिक स्वरूपमा सेयर रहेका र हालसम्म सेयर अभौतिकीकरण नगरेका सेयरधनीले प्रभु क्यापिटल लिमिटेड, कमलादी वा आफूलाई पायक पर्ने प्रभु बैंकका शाखा कार्यालय तथा अन्य निक्षेप सदस्यमार्फत हितग्राही खाता खोली सेयर अभौतिकीकरण गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसपछि बोनस सेयर सम्बन्धित हितग्राही खातामा प्राप्त गर्न सकिनेछ ।

सानिमा क्यापिटलले १० प्रतिशत नगद लाभांश बाँड्ने

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीको सञ्चालक समितिको भदौ १६ गते बसेको बैठकले चुक्ता पुँजीको करसहित १० प्रतिशतका दरले २ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण प्रस्ताव पारित गर्न कम्पनीले असोज ८ गते ११औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिस्टर्ड कार्यालय नक्साल-१, काठमाडौंको सभाकक्षमा अपरान्ह ४ बजे बस्नेछ । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछ ।