बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि आइआइएमएस समूहको ११ लाख ११ हजार सहयोग

काठमाडौं । बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले आइआइएमएस समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।

आइआइएमएस कलेज, अरन्या बुटिक होटल र टेलर्स क्याफे सम्मिलित समूहको संयुक्त संस्थागत पहलअन्तर्गत उक्त रकम सहयोग गरिएको हो । 

कुल सहयोगमध्ये टेलर्स क्याफेले ५५ हजार ५५५ रुपैयाँ, अरन्या बुटिक होटलले २ लाख २२ हजार २२२ रुपैयाँ र आइआइएमएस कलेजले ८ लाख ३३ हजार ३३४ रुपैयाँ योगदान गरेका छन् ।

शिक्षा, आतिथ्य तथा सेवा क्षेत्रमा क्रियाशील आइआइएमएस समूहले व्यावसायिक तथा शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि संस्थागत दायित्वको महत्वपूर्ण हिस्साका रूपमा लिँदै आएको जनाएको छ ।

संस्थागत सहयोगसँगै आइआइएमएस कलेजका कर्मचारीहरूले व्यक्तिगत रूपमा रकम संकलन गरी बाढी प्रभावित परिवारका लागि ५५ हजार ५५५ रुपैयाँ बराबरको छुट्टै सहयोग गरेका छन् ।

कर्मचारीहरूको स्वेच्छिक सहभागितामा संकलन गरिएको उक्त रकमले विपद्को समयमा संस्थागत तहसँगै व्यक्तिगत तहबाट समेत सामाजिक उत्तरदायित्व र मानवीय सहकार्यमा सहभागी हुनुपर्ने सन्देश दिएको आइआइएमएसले जनाएको छ ।

यसैगरी, आइआइएमएसका विद्यार्थीहरूले आइआइएमएस सामाजिक उत्तरदायित्व तथा नेतृत्व क्लब (सोल क्लब) मार्फत छुट्टै राहत अभियान सञ्चालन गरेका छन् ।

क्लबको नेतृत्वमा विद्यार्थीहरूले स्वस्फूर्त रूपमा सहयोग संकलन गरी ५४ हजार रुपैयाँ बराबरको राहत सामग्री जुटाएका छन् । उक्त राहत सामग्री बाढीबाट प्रत्यक्ष प्रभावित परिवार तथा समुदायसम्म पुर्याउने उद्देश्यले इको साथी संस्थालाई हस्तान्तरण गरिएको छ ।

विद्यार्थीहरूले आफैं योजना बनाएर सहयोग संकलन तथा राहत सामग्री व्यवस्थापनमा सहभागी हुनु यस अभियानको महत्वपूर्ण पक्ष रहेको कलेजले जनाएको छ । 

यसले विद्यार्थीमा सामाजिक उत्तरदायित्व, स्वयंसेवा, नेतृत्व, सहकार्य र समुदायप्रतिको संवेदनशीलता विकास गर्न सहयोग पुग्ने विश्वास कलेजको छ ।

यसरी बाढी प्रभावितका लागि सञ्चालन गरिएको सहयोग अभियानमा आइआइएमएस समूहका संस्थाहरू, कर्मचारी तथा विद्यार्थी गरी तीनै तहबाट छुट्टाछुट्टै सहभागिता जनाइएको छ ।

आइआइएमएस समूहका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सबिन्द्र महर्जनले विपद्का बेला संस्थाको जिम्मेवारी शैक्षिक तथा व्यावसायिक गतिविधिमा मात्र सीमित नहुने बताए ।

महर्जनले संस्थागत योगदानसँगै कर्मचारी तथा विद्यार्थीहरूले आ–आफ्नो तहबाट छुट्टै पहल गर्नु अझ अर्थपूर्ण भएको बताए ।


उनका अनुसार समाजप्रति संवेदनशील, जिम्मेवार र आवश्यक परेको समयमा योगदान गर्न सक्ने नागरिक निर्माण गर्नु पनि शिक्षाको महत्वपूर्ण उद्देश्य हो ।

महर्जनले विपत्तिको व्यापकताको तुलनामा संस्थाको योगदान सानो प्रयास भए पनि धेरै व्यक्ति तथा संस्थाका यस्ता प्रयास एक ठाउँमा जोडिँदा प्रभावित समुदायमा महत्वपूर्ण प्रभाव पार्न सक्ने बताए ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत गरिएको ११ लाख ११ हजार १११ रुपैयाँको संस्थागत सहयोग बाढी प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सञ्चालन भइरहेका राष्ट्रिय प्रयासमा उपयोग हुने अपेक्षा गरिएको छ ।
 

Share News