विकासन्युज

भोटेकोशी बाढीपीडित बीमितलाई बीमा कम्पनीले अग्रिम दाबी भुक्तानी दिने

काठमाडाैं  । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बीमितलाई बीमा कम्पनीहरूले अग्रिम दाबी भुक्तानी गर्ने भएका छन् । बाढीबाट प्रभावित बीमितलाइ राहत पुर्‍याउन क्षतिको पूर्ण मूल्याङ्कनअघि नै अग्रिम दाबी भुक्तानी दिने निर्णय गरेका हुन् । जलविद्युत् आयोजना तथा ठूला भौतिक पूर्वाधारमा भएको क्षतिको पूर्ण मूल्याङ्कन गर्न लामो समय लाग्ने भएकाले प्रभावितको नगद प्रवाह सहज बनाउन र पुनर्निर्माणको काम तत्काल अघि बढाउन अग्रिम भुक्तानी दिने सहमति भएको बीमा कम्पनीहरूले जनाएका छन् । अर्थ मन्त्रालयमा आयोजित उच्चस्तरीय छलफलपछि बीमा दाबी प्रक्रियालाई सरल बनाउँदै अग्रिम भुक्तानी दिने निष्कर्ष निकालिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, सर्भेयरहरूको परिचालनलाई पारदर्शी र निष्पक्ष बनाउन स्वचालित प्रणाली अपनाइने तथा आवश्यकताअनुसार विदेशी विज्ञ सर्भेयरहरूको समेत सेवा लिइनेछ । बीमा दाबीहरूको दैनिक अनुगमन, कम्पनीहरूको तरलता व्यवस्थापन र पुनर्बीमा शोधभर्नालाई तीव्र बनाउन नेपाल बीमा प्राधिकरणभित्रै एक विशेष कार्यदलसमेत गठन गरिएको छ ।

प्रधानमन्त्री राहत कोषमा ग्लोबल आइएमई लघुवित्तको १६ लाख ३५ हजार सहयोग

काठमाडौं । देशका विभिन्न स्थानमा अविरल वर्षासँगै आएको बाढी तथा प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले दुःख व्यक्त गरेको छ । संस्थाले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरू सकुशल सम्पर्कमा आउने कामना गरेको छ । विपद्को कठिन परिस्थितिमा आफ्नो सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता जनाउँदै ग्लोबल आइएमई लघुवित्त र संस्थामा कार्यरत कर्मचारीहरूको तर्फबाट रु १६ लाख ३५ हजार ५ सय ५५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ । उक्त सहयोगले विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा केही सहयोग पुग्ने विश्वास संस्थाले व्यक्त गरेको छ । साथै विपद्बाट प्रभावित सम्पूर्ण नागरिकको जनजीवन यथाशीघ्र सामान्य अवस्थामा फर्कियोस् भन्ने कामना गरेको छ ।

दया फाउन्डेसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग

काठमाडौं । दया फाउन्डेसनले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । फाउन्डेसनका बोर्ड सदस्यहरूले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । फाउन्डेसनले विपद्को कठिन समयमा प्रभावित समुदायको राहत र उद्धारमा सहयोग गर्न पाएकोमा आभार व्यक्त गरेको छ । साथै, प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न सरकारले गरेको पहल र स्रोत परिचालनको प्रशंसा गरेको छ । नेपाल तथा विदेशबाट व्यक्ति र विभिन्न संस्थाले गरेको सहयोगप्रति पनि फाउन्डेसनले धन्यवाद दिएको छ । विपद्को समयमा देखिएको ऐक्यबद्धता र मानवीय भावनाको फाउन्डेसनले प्रशंसा गरेको छ । फाउन्डेसनका अनुसार यो सहयोग संस्थाका दिवंगत संस्थापक तथा संरक्षक दयाराम भक्त माथेमाका मूल्य र जीवनदृष्टिबाट प्रेरित छ । संकटमा परेका समुदायसँग सहयोग बाँड्नु प्रत्येक संवेदनशील नागरिकको जिम्मेवारी भएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले बाढीबाट प्रभावित सबै व्यक्ति तथा परिवारप्रति सहानुभूति व्यक्त गर्दै राहत, पुनःस्थापना र प्रभावित समुदायको पीडा कम गर्न निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

त्रिवि अस्पतालमा शव राख्ने ठाउँ अभाव

काठमाडौं ।  त्रिवि शिक्षण अस्पतालमा शव राख्ने ठाउँमा अभाव भएको छ ।  अस्पतालको शव गृहमा क्षमताभन्दा बढी शव भएकाले राख्ने ठाउँ अभाव भएको हो । शवगृहमा हाल ७७ वटा बढी शव रहेको अस्पताल परिसरमा रहेका एसपी प्रदीप सिंहले जानकारी दिए । उनका अनुसार शव राख्ने ठाउँको अभाव भएको छ । ठाउँ अभाव भएकाले शव गृहको खोजी भइरहेको उनले बताए । दुवाकोटको केएमसी वा सैनिक अस्पतालमा राख्ने ठाउँ खोजी गरिने उनले जानकारी दिए ।  उनका अनुसार नुवाकोटबाट २५ वटा शव आइरहेकाले वैकल्पिक स्थानको खोजी भइरहेको छ । गत बुधबार रसुवामा आएको  बाढीले ठूलो धनजनको क्षति गरेको छ ।

यस्तो छ प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले गरेका कामको जानकारी संसद्लाई गराएका छन्  । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले के कस्ता काम भएको छ भनी ब्रिफिङ गरेका हुन् । सम्बोधनका क्रममा उनले अहिले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताए । ‘मन भक्कादिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन । संकटको यो घडीमा देशको यो नेतृत्वले आशु होइन जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं,’ प्रधानमन्त्री शाहले भने । उनले भोटेकोसी बाढीले निम्त्याएको विपद्सँग लडिरहेको बताए । ‘हामी विपद्सँग लडिरहेका छौं,’ प्रधानमन्त्री शाहले भने । उनले देशको नेतृत्वले आँशु होइन हिम्मत, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई मनन गरिएको बताए ।  प्रधानमन्त्री शाहले यो विपत्ति देशकै छातीमा वज्रपात भएको बताए । उनका अनुसार बाढीमा परेका ११ हजार ९९३ जनाको उद्धार भइसकेको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् । यस्तो छ प्रधानमन्त्रीको सम्बोधन :

सेयर बजारमा २ अर्ब ९४ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार दोस्रो कारोबार दिन पनि बढेर बन्द भएको छ । बुधबार नेप्से १५.४४ अंकले बढेर २५३८.११ विन्दुमा पुगेको हो । बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । मंगलबार २ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो । यस दिन ३५४ कम्पनीका ७२ लाख ६८ हजार कित्ता सेयर ३९ हजार ६७३ पटक कारोबार भएका छन् । बुधबार उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ११.८७ प्रतिशतले बढ्यो । माथिल्लो मैलुङ खोला जलविद्युत र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशतभन्दा बढीले उकालो लाग्यो । यता एनएमबी इनर्जी बन्ड ४ प्रतिशत २०९३/९४ को मूल्य सबैभन्दा धेरै ५.८१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सानिमा मिडिल तमोर हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । कम्पनीको १४ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १२ करोड ५० लाख रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १३ उपसमूहमध्ये ११ उपसमूह हरियो बनेका छन् भने दुई उपसमूह मात्रै घटेका छन् । जलविद्युत उपसमूह सबैभन्दा धेरै ०.९५ प्रतिशतले बढ्दा म्युचुअल फन्ड र निर्जीवन बीमा उपसमूह सामान्य अंकले घटेका छन् ।

विपत्तिको बीचमा मानवीयता: अस्पतालमा निःशुल्क चिया-कफी बाँड्दै युवाहरू

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसर यतिबेला बाढीमा हराएका आफन्तको खोजी गर्ने, शव पहिचान गर्न आउने र घाइतेका परिवारजनको भीडले भरिएको छ । अस्पतालको भित्ताभरि टाँसिएका फोटो हेर्दै आफ्ना मान्छे खोज्नेहरूको अनुहारमा चिन्ता, आँखामा आशा र मनमा अनेकौं प्रश्न देखिन्छन् । यही पीडाबीच केही सहयोगी हात भने मानवीय सेवामा जुटिएका छन् । उनीहरूले अस्पताल परिसरमा बसेका पीडित र आफन्तलाई निःशुल्क पानी, चिया, कफी, पिउने सामग्री र बिस्कुट वितरण गरिरहेका छन् । आफन्तको खोजीमा थाकेर बसेका, आँखा रसाएका र घण्टौं अस्पताल परिसरमा कुरिरहेका मानिसका लागि एक गिलास पानी वा एक कप चिया नै ठूलो सहारा बनेको छ । अस्पताल परिसरमा देखिएको यो दृश्यले विपत्तिको बीचमा मानवीयताको सुन्दर उदाहरण प्रस्तुत गरेको छ । नख्खीपोटस्थित अनफोल्ड कफीका सहयोगी समूह पनि यही अभियानमा खटिएका छन् । उनीहरू आफ्नो दैनिक काम छाडेर बाढीपीडित र आफन्तको साथ दिन त्रिवि शिक्षण अस्पताल पुगेका हुन् । अनफोल्ड कफी समूहकी चाँदनी राईका अनुसार उनीहरू २० जनाको टोली बनाएर अस्पताल पुगेका छन् । बाढीमा आफन्त गुमाएकाहरूको पीडा महसुस गर्दै उनीहरूको साथमा उभिन आएको उनले बताइन् । ‘विपत्तिको समयमा सहयोग सधैं ठूलो हुनुपर्छ भन्ने छैन । कसैलाई पानी दिनु, भोकाएकालाई बिस्कुट दिनु, थाकेकोलाई एक कप चिया वा कफी दिनु र केही समय उसको कुरा सुनिदिनु पनि ठूलो मानवीय सहयोग हो,’ राईले भनिन् । उनले विपत्तिमा पीडितलाई हात मात्रै होइन, साथ र मन पनि दिनुपर्ने भन्दै समाजमा अझै असल हृदय भएका मानिसहरू रहेको सन्देश दिन आफूहरू अस्पताल आएको बताइन् । बाढीपछि आफन्तको खोजीमा अस्पताल पुगेका सयौं मानिसका बीच यस्ता सहयोगी हातले पीडितको दुःखमा केही राहत र आशा थपिरहेका छन् ।

जी मनि ट्रान्सको बाढीपीडितलाई २२ लाख ८० हजार सहयोग

काठमाडौं । कोरियास्थित रेमिट्यान्स कम्पनी जी मनि ट्रान्सले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १५ हजार अमेरिकी डलर (करिब २२ लाख ८० हजार रुपैयाँ) सहयोग गरेको छ । कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्दै बाढी प्रभावित नागरिक र समुदायको राहत तथा पुनर्स्थापनामा योगदान पुर्‍याउने उद्देश्यले सहयोग गरिएको जनाएको छ । जी मनि ट्रान्सले विपद्को कठिन घडीमा कोरियामा रहेका नेपालीले आफ्ना परिवारलाई सहज रूपमा आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले कोरियाबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको पनि जनाएको छ । कम्पनीले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै, उद्धार, राहत र पुनर्स्थापना कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गर्दै विपद्को समयमा प्रभावित नागरिकको साथमा रहने प्रतिबद्धता जनाएको छ ।