काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसर यतिबेला बाढीमा हराएका आफन्तको खोजी गर्ने, शव पहिचान गर्न आउने र घाइतेका परिवारजनको भीडले भरिएको छ । अस्पतालको भित्ताभरि टाँसिएका फोटो हेर्दै आफ्ना मान्छे खोज्नेहरूको अनुहारमा चिन्ता, आँखामा आशा र मनमा अनेकौं प्रश्न देखिन्छन् ।
यही पीडाबीच केही सहयोगी हात भने मानवीय सेवामा जुटिएका छन् । उनीहरूले अस्पताल परिसरमा बसेका पीडित र आफन्तलाई निःशुल्क पानी, चिया, कफी, पिउने सामग्री र बिस्कुट वितरण गरिरहेका छन् ।
आफन्तको खोजीमा थाकेर बसेका, आँखा रसाएका र घण्टौं अस्पताल परिसरमा कुरिरहेका मानिसका लागि एक गिलास पानी वा एक कप चिया नै ठूलो सहारा बनेको छ । अस्पताल परिसरमा देखिएको यो दृश्यले विपत्तिको बीचमा मानवीयताको सुन्दर उदाहरण प्रस्तुत गरेको छ ।
नख्खीपोटस्थित अनफोल्ड कफीका सहयोगी समूह पनि यही अभियानमा खटिएका छन् । उनीहरू आफ्नो दैनिक काम छाडेर बाढीपीडित र आफन्तको साथ दिन त्रिवि शिक्षण अस्पताल पुगेका हुन् ।
अनफोल्ड कफी समूहकी चाँदनी राईका अनुसार उनीहरू २० जनाको टोली बनाएर अस्पताल पुगेका छन् । बाढीमा आफन्त गुमाएकाहरूको पीडा महसुस गर्दै उनीहरूको साथमा उभिन आएको उनले बताइन् ।
‘विपत्तिको समयमा सहयोग सधैं ठूलो हुनुपर्छ भन्ने छैन । कसैलाई पानी दिनु, भोकाएकालाई बिस्कुट दिनु, थाकेकोलाई एक कप चिया वा कफी दिनु र केही समय उसको कुरा सुनिदिनु पनि ठूलो मानवीय सहयोग हो,’ राईले भनिन् ।
उनले विपत्तिमा पीडितलाई हात मात्रै होइन, साथ र मन पनि दिनुपर्ने भन्दै समाजमा अझै असल हृदय भएका मानिसहरू रहेको सन्देश दिन आफूहरू अस्पताल आएको बताइन् ।
बाढीपछि आफन्तको खोजीमा अस्पताल पुगेका सयौं मानिसका बीच यस्ता सहयोगी हातले पीडितको दुःखमा केही राहत र आशा थपिरहेका छन् ।