विकासन्युज

निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा

इभान एस्पिनोसा । फाइल तस्बिर काठमाडौं । निसानले इभान एस्पिनोसालाई आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ । दुई दशकदेखि कम्पनीसँग आबद्ध रहेका एस्पिनोसालाई विगतका वर्षहरूमा घोटाला, व्यवस्थापकीय अस्थिरता र बिक्रीमा गिरावटका कारण बदनाम भएको कम्पनीलाई पुनर्जीवित गर्ने जिम्मेवारी कम्पनीले दिएको छ । ४६ वर्षीय एस्पिनोसा मेक्सिकोका नागरिक हुन् र निसानका मुख्य योजना अधिकृत हुन् । अब उनले तेस्रो ठूलो जापानी कार निर्माता कम्पनीको नेतृत्व गर्नेछन् । यससँगै निसानले ६ वर्षमा चौथो पटक सीईओ नियुक्त गरेको छ । सन् २००३ मा पहिलो पटक निसानको मेक्सिको शाखामा प्रवेश गरेका एस्पिनोसा दक्षिणपूर्वी एसिया र युरोपमा पनि विभिन्न पदहरूमा काम गरिसकेका छन् । उनी अप्रिल १ देखि सीईओको रूपमा कार्यभार सम्हाल्नेछन् । सूत्रहरूका अनुसार निसानको बिग्रँदो आम्दानी र यो वर्ष होन्डासँगको मर्जर वार्ता असफल भएपछि माकोटो उचिडामाथि राजीनामाको दबाब बढ्दै गएको थियो । एस्पिनोसाको नियुक्तिले मर्जर वार्ता पुनः सुरु हुने वा कुनै नयाँ साझेदारबाट लगानीको सम्भावना खुल्ने वा नखुल्ने स्पष्ट छैन । ब्रोकर फर्म सीएलएसएका जापानी अटोविश्लेषक क्रिस्टोफर रिच्टरले भने, ‘उनी एकदमै जोशिला उत्पादन विशेषज्ञ हुन् । निसानले उत्पादनलाई उच्च प्राथमिकता दिन चाहन्छ भन्ने यो राम्रो संकेत हो, किनकि निसान ब्रान्ड लामो समयदेखि दिशाहीन बन्दै गइरहेको छ । अनुभवी कर्मचारी एस्पिनोसाले उत्पादन योजना तथा विकासमा अनुभव राखेका छन् । साथै उनले निसानको वैश्विक उत्पादन रणनीति र पोर्टफोलियोको व्यवस्थापन गरेका छन् । उनी अप्रिल २०२४ मा कम्पनीको मुख्य योजना अधिकारी (सीपीओ)मा नियुक्त भएका थिए । कम्पनीको घोषणापछि आयोजित अनलाइन पत्रकार सम्मेलनमा एस्पिनोसाले भने, ‘मलाई यो निर्णयको बारेमा भर्खरै जानकारी दिइएको छ, म अझै यसलाई बुझ्ने प्रक्रियामा छु । हामीले धेरै सम्भावनाका ढोकाहरू खुला गर्न सक्छौं । होन्डासँग वार्ता पुनः सुरु हुने सम्भावनाबारे सोध्दा उनले प्रतिक्रिया दिन मानेनन् । २०१८ मा पूर्व अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा टोकियोका अभियोजनकर्ताले हटाएपछि निसान कहिल्यै पूर्ण रूपमा उकासिन सकेको छैन । हालको वित्तीय वर्षमा (मार्च अन्त्यसम्म) निसानले तीन पटकसम्म नाफाको पूर्वानुमान घटाइसकेको छ । (एजेन्सीहरूको सहयोगमा) संकटमा निसान : ६ वर्षमै चौथो सीईओको खोजी

लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ

काठमाडौ । प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट २८ जनलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षद्वारा आज प्रकाशित बुलेटिन अनुसार कैलाली, मकवानपुर, मोरङ, दाङ, उदयपुर, सुर्खेत, झापा, बाँके, सुनसरी र कपिलवस्तु जिल्लाका विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

मुक्तिनाथ विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस फागुण महिनामा सातै प्रदेशहरुको विभिन्न स्थानका जनसमुदाय माझ वृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम विषेश गरि कृषक, उद्यमी, महिला तथा युवा लाई लक्षित गरी आयोजना भएको थियो । यस कार्यक्रम अन्तर्गतव्यवसायिक योजनाको तयारी, बजारिकरणको सम्भवना,बजार व्यवस्थापनका रणनीति, व्यक्तिगत बजेट, पारिवारिक बजेट, आम्दानी खर्चको सन्तुलन, नगद प्रवाह, बचत परिचालन, कर्जा परिचालन, विमा, विप्रेषण, डिजिटल बैंकिङ सेवाहरु, डिजिटल माध्यम बाट हुनसक्ने रकम अपचलन, ग्राहकको अधिकार लगायतका विषय बस्तुहरु समेटिएको थियो । वृहत वित्तीय साक्षरता कार्यक्रममा उपस्थित व्यक्तिहरुले यस्ता किसिमका कार्यक्रमले आफुमा भएका दुबिधाहरु हट्ने र भविष्यमा आईपर्ने जोखिमहरुलाई समयमा नै व्यवस्थापन गर्न सहजिकरण हुने आसय व्यक्त गरेका थिए । बैंकले आर्थिक सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गदैं यस किसिमका कार्यक्रमहरु विगतमा पनि संचालन गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने र यस किसिमको कार्यक्रमले जनमानसको बैंक वित्तीय संस्था प्रतिको नकारात्मक धारण हट्ने र वास्तविक सुचना जनसमुदाय माझ पुग्ने भएकोले यसको सकारात्मक प्रभावकारिता रहेको कुरा बैंकको धारणा छ ।

जलेश्वर भन्सारद्वारा आठ महिनामा २ अर्ब राजस्व संकलन

जनकपुर । जलेश्वर भन्सार कार्यालय भिठ्ठामोडले चालु आर्थिक वर्षको आठ महिनामा दुई अर्ब १५ करोड ५० लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनाको हालसम्ममा ८३.८९ प्रतिशत राजस्व संकलन भएको जलेश्वर भन्सार कार्यालयका सूचना अधिकारी रामकुमार विकले जानकारी दिए ।  चालु आर्थिक वर्षमा वार्षिक चार अर्ब ५३ करोड ६२ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य   थियो । तर कार्यालयले सो लक्ष्यको ४७.४१ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । कार्यालयकाबाट प्राप्त विवरणअनुसार चालु आवको साउनमा ९२.१६, भदौमा ८३.८७, असोजमा ८७.५४, कात्तिकमा ७४.०२, मङ्सिरमा ८३.३६, पुसमा ७५.१४, माघमा ७४.७५ र फागुनको हालसम्ममा ८०.४४ प्रतिशत राजस्व संकलन गरेको सूचना अधिकारी विकले बताए । जलेश्वर  भन्सार कार्यालय भिठ्ठामोड नाकाबाट आयात हुने सामग्रीमा कुल राजस्वमध्ये पेट्रोलियम पदार्थको योगदान ४९.१४ प्रतिशत रहेको छ । भारतको विहार राज्यको मोतिहारी र अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालमनमा आएपछि  जलेश्वर भिठ्ठामोडबाट आयात गरिने पेट्रोलियम पदार्थमा कमी आउँदा राजस्वको लक्ष्यमा कमी आएको उनले बताए । कार्यालयका अनुसार गत वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थ, कोइला, आलु र चुना आयातमा कमी आएको छ । जलेश्वर भन्सार कार्यालयबाट मुख्य आयात हुने सामग्रीमा पेट्रोलियम पदार्थ, कोइला, आलु, चामल, गहुँ, दलहन, तरकारी, फलफूललगायत रहेका सूचना अधिकारी विकले बताए ।

वुमन लिडरसिप समिट २०२५ चैत्र ३ गते काठमाडौंमा हुँदै

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले दोस्रो अन्तराष्ट्रिय स्तरको ‘वुमन लिडरसिप समिट २०२५’ आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघले यही चैत्र ३ गते कार्यक्रम गर्न लागेको जानकारी गराएको हो । औद्योगिक वातावरण निर्माण, नवप्रवतन प्रवर्द्धन, रोजगारी सिर्जना लगायत समग्र आर्थिक विकासका लागि गतिविधि गर्दै आइरहेको परिसंघले महिला नेतृत्वको विषयमा पनि वकालत गर्दै आइरहेको छ । चैत्र ३ गते हुने समिटमा प्रविधि, दिगो कृषि, जलवायु परिवर्तनका विषयमा छलफल गरिने छ ।  कार्यक्रममा बोल्दै सीएनआई महिला नेतृत्व फोरमकी अध्यक्ष छाया शर्माले हरेक तहमा महिलाको नेतृत्व आवश्यक रहेको बताउँदै आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउने र नेतृत्व तहमा पनि महिलाको संख्या बढाउनुपर्ने बताइन् । उनले समिटमा नेपालसहित युके, जापान र भारतबाट समेत वक्ता आउने भएकाले अन्तर्राष्ट्रिय स्तरमा उद्योगमा महिलाले गरिरहेका प्रयास कामका विषयमा समेत जानकारी पाउन सकिने बताइन् ।  कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजकुमार अग्रवालले यस्ता कार्यक्रमले महिला उद्यमशीलताको क्षेत्रमा सघाउ पुर्‍याउने बताए । महिलाले व्यवसाय गर्दा मार्केटिङको समस्या अहिले पनि रहेको बताउँदै यस्ता कार्यक्रमले देशविदेशका नीति नियमबारे जानकारी जानकारी हुनेर नेपालमा पनि बहस गर्न सजिलो हुने बताए ।  परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्ता सम्मेलनले महिलाहरूलाई अगाडि बढाउन सहयोग पुग्ने बताए ।  यस्तै, कार्यक्रममा बोल्दै नबिल बैंकका उपमहाप्रबन्धक आदर्श बजगाईंले नबिलले महिलाको नेतृत्व विकासका विषयमा कार्यक्रम गरिरहेको बताउँदै सीएनआइसँग फेलोसिप मिल्ने भएकाले कार्यक्रममा समन्वय गरेको बताए ।  नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा गरिने सम्मेलनको उद्‌घाटन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । 

ट्रम्पको दाबीपछि भन्सार कटौतीको कुनै प्रतिबद्धता छैन : भारत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँदिल्लीले ‘उनीहरूको भन्सार शुल्क धेरै तल घटाउन’ सहमत भएको घोषणा गरेको केही दिनपछि भारतले अमेरिकी उत्पादनहरूमा आयात कर घटाउन प्रतिबद्ध नभएको बताएको छ । आफ्नो दोस्रो कार्यकालको केही हप्तामै ट्रम्पले मित्र र शत्रुहरूलाई समान रूपमा लक्षित गर्दै विश्वव्यापी व्यापारलाई बढावा दिएको छ । उहाँले सबै व्यापारिक साझेदारहरूलाई ‘अनुचित’ अभ्यासको आरोप लगाउनुभएको छ र आगामी महिनादेखि भारतसहित धेरै देशमा पारस्परिक भन्सार लगाउने घोषणा गरेका छन् । ट्रम्पले गत हप्ता भारतको ‘ठूलो भन्सार’ बारे एक पटक फेरि आलोचना गरेका थिए । ‘तपाईँ भारतमा केही पनि बेच्न सक्नुहुन्न, यो लगभग प्रतिबन्धात्मक छ’, ट्रम्पले भने, ‘जे होस् उनीहरू सहमत भएका छन्, उनीहरू अहिले आफ्नो भन्सार शुल्क कटौती गर्न चाहन्छन् किनभने कसैले अन्ततः उनीहरूले के गरेका छन् भनेर उजागर गरिरहेको छ ।’ तर भारत सरकारले संसदीय समितिलाई ‘यस विषयमा अमेरिकासँग कुनै प्रतिबद्धता गरिएको छैन’ भनी मङ्गलबार टाइम्स अफ इन्डिया अखबारको एक रिपोर्टले जनाएको छ । ‘सरकारले अमेरिकी राष्ट्रपतिद्वारा बारम्बार उठाइएको मुद्दालाई सम्बोधन गर्न सेप्टेम्बरसम्म समय मागेको छ’, अखबारमा भनिएको छ । भारतका वाणिज्य सचिव सुनील बर्थवालले भने, ‘भारत र अमेरिकाले तत्काल भन्सार शुल्क समायोजनको सट्टा दीर्घकालीन व्यापार सहयोगमा ध्यान केन्द्रित गर्दै पारस्परिक रूपमा फाइदाजनक द्विपक्षीय व्यापार सम्झौताको दिशामा काम गरिरहेका छन् ।’ गत महिना ह्वाइट हाउसको भ्रमण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्रम्पसँग स्वीकार्य सम्बन्ध छ । ट्रम्पले भ्रमणका बेला भारतीय नेतासँग ‘विशेष सम्बन्ध’ साझा गरेको बताए । मोदीले विश्वको सबैभन्दा ठूलो र पाँचौँ ठूलो अर्थतन्त्रले ‘आपसी लाभदायक व्यापार सम्झौता’ मा काम गर्ने र त्यसलाई ‘चाँडै नै’ अन्तिम रूप दिइने बताए । संयुक्त राज्य अमेरिका भारतको सूचना प्रविधि र सेवा क्षेत्रका लागि महत्त्वपूर्ण बजार भए पनि वासिङ्टनले हालैका वर्षहरूमा नयाँदिल्लीलाई अर्बौं डलरको नयाँ सैन्य हार्डवेयर बिक्री गरेको छ । अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाको चार–पक्षीय समूह क्वाडका राष्ट्र प्रमुखहरूको शिखर सम्मेलनमा भाग लिन ट्रम्पले यस वर्षको अन्त्यमा भारतको भ्रमण गर्नसक्ने अपेक्षा गरिएको छ ।

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका छन् । कोशी प्रदेशसभामा मंगलबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी  र सङ्घर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने पनि जानकारी गराए । यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको स्पष्ट गर्दै उनले संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताए । ‘हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहन्छौँ । गरिबी हटाएर मात्रै  सन्तोष मान्दैनौँ । समग्र मानवीय जैविक र न्यायोचित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुछ’, प्रधानमन्त्री ओलीले भने, ‘नागरिक सर्वोच्चता भएको यस प्रणालीमा रहेर समृद्धिका लागि छिटो काम गर्न चाहन्छौँ । रोजगारीका अवसरमा सृजना गर्न चाहन्छौँ । त्योभन्दा पहिला हामीले उद्यमशीलतामा जोड दिनुुपरेको छ । त्यसकारण देशलाई पछाडि फर्काउने होइन, अगाडि बडाउने हो । संविधानबमोजिम तीनै तहका सरकारले सहकार्य गरेर देश विकासमा लाग्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले देशको भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई मनन गरेर विविधताबीच एकता कायम गर्दै गौरवपूर्ण इतिहास भएको नेपाललाई विश्व मानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध बनाउन आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।  यसअघि प्रधानमन्त्री ओलीले पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोहलाई सम्बोधन गरेका थिए ।

हिमालयन एभरेष्टको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ। त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि टुङ्गिएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजका आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् ।