काठमाडौं । पछिल्लो तथ्याङ्कअनुसार देशको अर्थतन्त्र ठीकठाक रहेको राष्ट्र बैंकले जनाएको छ । विगत लामो समयदेखि दबाब र समस्यामा रहेको अर्थतन्त्र पछिल्लो समय भने लयमा फर्किएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा मूल्यवृद्धि ३.३९ प्रतिशतमा झरेको छ । आयात १२.२ प्रतिशतले र निर्यात ६५.२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १० प्रतिशत र अमेरिकी डलरमा ७.३ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ ।
शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब रुपैयाँले बचतमा रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ६३ करोड पुगेको छ । नेपाल सरकारको खर्च ९ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ र राजस्व परिचालन ८ खर्ब ३१ अर्ब ४० करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
२४.२६ खर्ब रुपैयाँ पुग्यो विदेशी मुद्रा सञ्चिति
चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशत बढेर २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । जबकि गत असारसम्ममा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति चैत मसान्तसम्ममा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ । जबकि २०८१ असार मसान्तसम्ममा १५ अर्ब २७ करोड अमेरिकी डलर थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १५.६ प्रतिशत बढेर २१ खर्ब ३६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थासँग चैतसम्म ५०.८ प्रतिशतले वृद्धि भई २ खर्ब ९० अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ । २०८१ असार मसान्तसम्ममा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ थियो । २०८१ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
चालु आवको ९ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३९.७ प्रतिशत, ११८.७ प्रतिशत र ३२.८ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
९ महिनामा भित्रियो १२ खर्ब रुपैयाँ रेमिट्यान्स
९ महिनामा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ । जुन गत वर्षको तुलनामा १० प्रतिशत बढी रेमिट्यान्स भित्रिएको हो । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ७४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६५२ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख २७ हजार ८४२ र २ लाख ११ हजार २२६ रहेको थियो।
चालु खाता २१० अर्बले बचतमा
गत चैतसम्म देशको चालु खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्ष १ अर्ब ३५ करोड डलरले बचतमा रहेको चालु खाता चालु वर्षको समीक्षा अवधिमा १ अर्ब ५५ करोड डलरले बचतमा पुगेको छ ।
त्यस्तै, समीक्षावधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ७८ करोड रुपैयाँ मात्र थियो । साथै, प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटी मात्र) पनि ८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा २ अर्ब ४७ करोड रुपैयाँले बढी हो ।
शोधनान्तर स्थितिको हिसाबले यो अवधिमा ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचत देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो बचत ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति २ अर्ब ५५ करोडको बचतमा देखिएको छ । जुन अघिल्लो वर्षको २ अर्ब ७५ करोडको तुलनामा केही घटेको हो ।
मूल्यवृद्धि ३.३९ प्रतिशतमा सीमित
राष्ट्र बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशतमा झरेको छ । गत वर्षको सोही अवधिमा ४.६१ प्रतिशत मूल्य वृद्धि थियो । वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति खाद्य तथा पेय पदार्थ समूहमा २.४५ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहमा ३.९० प्रतिशत रहेको छ । अघिल्लो वर्ष यिनै समूहको मुद्रास्फीति क्रमशः ५.२२ र ४.२० प्रतिशत थियो ।
खाद्य समूहभित्र घ्यू-तेलको मूल्य ११.६३ प्रतिशत, फलफूलको ९.०७ प्रतिशत, दाल-गेडागुडीको ६.५८ प्रतिशत, र गैर–मदिराजन्य पेय पदार्थको ५.१६ प्रतिशतले बढेका छन् । तरकारीको मूल्य ५.२४ प्रतिशत, मरमसलाको २.३२ प्रतिशत, र मासु-माछाको ०.८९ प्रतिशतले घटेको देखिएको छ ।
गैर–खाद्य समूहमा विविध वस्तु तथा सेवाको मूल्य ८.६९ प्रतिशतले, कपडा-जुत्ता ७.०१ प्रतिशतले, मदिराजन्य पेय ६.०७ प्रतिशतले, फर्निचर तथा घरेलु उपकरण ५.५९ प्रतिशतले, र सुर्तीजन्य वस्तु ४.८३ प्रतिशतले बढेको छ । क्षेत्रगत रूपमा, ग्रामीण क्षेत्रमा मुद्रास्फीति ३.७८ प्रतिशत र शहरी क्षेत्रमा ३.२५ प्रतिशत रहेको छ । प्रदेशगत रूपमा, सबैभन्दा बढी मुद्रास्फीति कोशी प्रदेशमा ४.९१ प्रतिशत र सबैभन्दा कम बागमती प्रदेशमा २.८० प्रतिशत देखिएको छ ।
भौगोलिक रूपमा काठमाडौं उपत्यकामा मुद्रास्फीति २.९५ प्रतिशत, तराईमा ३.३१ प्रतिशत, पहाडमा ३.४६ प्रतिशत, र हिमाली क्षेत्रमा ४.४७ प्रतिशत रहेको छ । थोक मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति पनि घट्दै गएको छ । चैतमा थोक मुद्रास्फीति ४.२० प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.९४ प्रतिशत थियो । उपभोग्य वस्तु समूहमा थोक मुद्रास्फीति ९.८३ प्रतिशत, मध्यवर्ती वस्तुमा १.०८ प्रतिशत, र पुँजीगत वस्तुमा ३.०६ प्रतिशतले वृद्धि भएको छ । निर्माण सामग्रीको थोक मुद्रास्फीति २.५२ प्रतिशतले बढेको छ ।
सरकारको खर्च १० खर्ब रुपैयाँ, आम्दानी ८ खर्ब ३१ अर्ब रुपैयाँ
चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा सरकारको कुल खर्च ९ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ गरेको छ । समीक्षा अवधिमा चालु खर्च ६ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ, पुँजीगत खर्च १ खर्ब २ अर्ब ९० करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च २ खर्ब १७ अर्ब ५३ करोड रुपैयाँ रहेको छ
समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ८ खर्ब ३१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । यसअन्तर्गत कर राजस्व ७ खर्ब ४४ अर्ब १५ करोड रुपैयाँ र गैर कर राजस्व ८७ अर्ब २५ करोड रुपैयाँ परिचालन भएको छ ।
चैत मसान्तमा सरकारका विभिन्न खातामा ३ खर्ब ७१ अर्ब ७९ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । गत असार मसान्तमा यस्तो मौज्दात ९३ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो ।