विकासन्युज

निर्माण व्यवसायीका समस्या सरकारले सम्बोधन गरेन, आशमात्र देखायो : अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारले महासंघका समस्या सम्बोधन नगरेको बताएको छ महासंघका अध्यक्ष रवि सिंहले सरकारसँग पटक–पटक सम्बोधन गर्दा पनि कुनै वास्ता नगरेको गुनासो गरे । उनले पटकपटक ध्यानाकर्षण गर्दा पनि सरकारले आश मात्रै देखाएको तर समाधान नगरेको आक्रोस पोखेँ । सुरुमा प्रधानमन्त्री, अर्थमन्त्रीलगायत सबै सकारात्मक देखिएको भएपनि अन्तिममा कसैले पनि नटेरेको उनी सुनाउँछन् । उनले विकासन्युजसँग भने, ‘हामीले सरकारसँग बारम्बार आन्तरिक रूपमा छलफल गर्‍याैं, तर सम्बोधन गछौं भन्दाभन्दै यहाँसम्म पुर्‍यायो । अन्तिममा हामीले नै धोका पायौं ।’ काम गरेको भुक्तानी रकमबाहेक सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमा देखिएको म्याद थपसम्बन्धी कानुनी जटिलता, राष्ट्र बैंकबाट निर्माण व्यवसायीहरूलाई ऋणमा दिइएको सुविधा कटौती, निर्माण सामाग्रीमा कार्टेलिङ गरी सिमेन्ट, डन्डीलगायतका भइरहेको चर्को मूल्यवृद्धिले निर्माण उद्योग लगभग ‘कोमा’ मा पुगिसकेको अध्यक्ष सिंहले बताए । सरकारले योजना बढाउने तर बजेट थप नगर्ने उनको भनाइ छ । देशमा तीनै सरकारको अवस्था भद्रगोल रहेको उनी बताउँछन् । उनले, ‘देशमा तीन सरकार छन् तर हाल सबैको भद्रगोल छ । यहाँ तलदेखिमाथिसम्म सबै मिलेका छन् । कार्टलिङ गरिरहेका छन् । यहाँ सबै अराजक हुन् ।’ उनले सरकाले निर्माण व्यवसायीहरूले निर्माण कार्य गरेबापतको विगत आर्थिक वर्षहरूमै भुक्तानी हुनुपर्ने बक्यौता रहेको ठुलो रकम अझै पनि भुक्तानी गर्न नसकेको आरोप लगाए । निर्माण उद्योगको विकासमा सरकार उदासीन हुँदा समग्र अर्थतन्त्रमै गम्भीर समस्या देखिएको उनले दाबी गरे । मुलुकमा हाल साढे ६ खर्बभन्दा बढीका आयोजनाहरू पुगिसकेकोमा सरकारसँग साढे एक खर्बभन्दा बढीका आयोजना सम्पन्न गर्न सक्ने क्षमता नरहेको सुनाए ।

वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा पारी ठगेको आरोपमा ६ जना पक्राउ

काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । गोरखा आरूघाट गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २४ वर्षीया सरू परियार, कञ्चनपुर बेलौरी नगरपालिका–३ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने ३२ वर्षीय जेम्स राना, काठमाडौं कीर्तिपुर नगरपालिका–६ घर भएकी ३४ वर्षीया रेखा तुलाधार, धादिङ निलकण्ठ नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २७ वर्षीय रवि खनाल, ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ बस्ने ४० वर्षीय ललितबहादुर ईवारम र ३३ वर्षीय दिपेश सुब्बालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये सरूले अष्ट्रेलिया पठाइदिन्छु भनी एक जनासँग दुई लाख ५० हजार रुपैयाँ, जेम्सले क्रोएसिया पठाइदिन्छु भनी एक जनासँग तीन लाख रुपैयाँ, रेखाले जापान पठाइदिन्छु भनी चार जनासँग १३ लाख दुई हजार रुपैयाँ, रविले अमेरिका पठाइदिन्छु भनी एक जनासँग १४ लाख रुपैयाँ तथा ललित र दिपेशले अमेरिका पठाइदिन्छु भनी एक जनासँग ५३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएका प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

हुवावे डिजिटल पावर नेपाल र सीएनआईको सौर्य पीभी र ऊर्जा भण्डारणमा दिगोपन संवाद

काठमाडौं । हुवावे डिजिटल पावर नेपालले दिगो हरित ऊर्जा समाधान केन्द्रित कार्यक्रम सौर्य पीभी र ऊर्जा भण्डारण संवादको आयोजना गरेको छ । काठमाडौंको हात्तीसारस्थित ह्वावे प्रदर्शनी केन्द्रमा आयोजित यस विशेष कार्यक्रमले नेपालको ऊर्जा, व्यावसायिक र औद्योगिक क्षेत्रका ८० भन्दा बढी प्रभावशाली सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) सँगको संयुक्त सहकार्यमा आयोजना गरिएको यस कार्यक्रमले नेपालको ऊर्जा परिदृश्यलाई रूपान्तरण गर्न, देशलाई ग्रिनर र दिगो भविष्यतर्फ डोर्‍याउन सौर्य फोटोभोल्टिक प्रणाली र ऊर्जा स्टोरेज समाधानहरूको सम्भावना अन्वेषण गर्न विशेष प्लेटफर्म प्रदान गरेको छ । यस कार्यक्रमलाई नेपाल उद्योग परिसंघ, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, ऊर्जा नियामक आयोग लगायत समेत आयोजक रहेको यस कार्यक्रमलाई नेपालको औद्योगिक ऊर्जा क्षेत्रको विकास प्रति प्रतिबद्धता देशको दिगो भविष्यमा संक्रमणको लागि महत्त्वपूर्ण मानिएको छ । कार्यक्रममा अतिथि वक्ताहरूले छलफलमा आफ्ना बहुमुल्य विचार व्यक्त गरेका थिए । वक्ताहरूमा हुवावे नेपालका सीईओ जिम हुआङ, ऊर्जा विकास परिषदका अध्यक्ष आशिष गर्ग, हुवावे नेपाल डिजिटल पावर विभागका निर्देशक जेम्स झाङ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका उपनिर्देशक शुभलक्ष्मी श्रेष्ठ, एनएमबी बैंकमा दिगो ऊर्जा बैंकिङका प्रमुख दिनेश दुलाल, विद्युत नियमन आयोगका सदस्य डा. मधुसूदन अधिकारी, टोङवेईका प्राविधिक विज्ञ ग्यारी, साथै शिव शक्ति समूह, डिजेपीएल समूह र चौधरी समूह जस्ता अग्रणी उद्योगहरूका प्रबन्ध निर्देशकहरू थिए । कार्यक्रमले सौर्य पीभी र ऊर्जा भण्डारणको नवीनतम प्रवृत्तिदेखि नेपालमा यी प्रविधिहरूको व्यावहारिक अनुप्रयोगहरू सम्मका प्रमुख विषयहरूलाई समेटेर छलफल गरेको थियो । वक्ताहरूले यी समाधानले उद्योगहरूलाई कसरी डिकार्बोनाइज गर्न, ऊर्जा लागत घटाउन र दिगो अभ्यासहरूलाई प्रवद्र्धन गर्न मद्दत गर्न सक्छन् भन्ने बारेमा गहन दृष्टिकोण प्रदान गरेका थिए । कार्यक्रममा ह्वावेले आफ्नो नवीनतम आविष्कारहरू, ह्वावे फ्युजन सोलार सी एन्ड आई ओएसिस सोलुसन, जसमा १ सी÷१५० के र २१५÷१०८ केडब्लुएच सी एण्ड आई ब्याट्री इनर्जी स्टोरेज सिस्टम (बिइएसएस) पनि अनावरण गरेको थियो । आधिकारिक सुरुवात ह्वावे नेपालका सीईओ जिम हुआङ, हुवावे नेपालका प्रमुख प्राविधिक अधिकृत लिक्सियाओवेई र ह्वावे दक्षिण एसिया डिजिटल पावर बिजनेस डिपार्टमेन्टका प्रबन्ध निर्देशक निक्सियाओपेङको नेतृत्वमा भएको थियो । यी उन्नत समाधानहरू नेपाली उद्योगहरूलाई ऊर्जा लागत घटाउन र उनीहरूको बिजुली आपूर्तिको विश्वसनीयता सुधार गर्न मद्दत गर्न डिजाइन गरिएको हो । यसका अतिरिक्त फ्युजनसोलार सी एन्ड आई ओएसिस स्मार्ट पीभी र ईएसएस सोलुसन प्रस्तुत गरिएको थियो, जसले शपिङ मल, कारखाना र कार्यालय पार्क जस्ता व्यावसायिक र औद्योगिक एप्लिकेसनहरूको लागि बढेको सुरक्षा सुविधाहरू प्रदान गर्दछ । यी आविष्कारहरू कार्बन उत्सर्जन घटाउन र कम–कार्बन, सर्कुलर अर्थतन्त्र निर्माणमा योगदान पु¥याउने विश्वव्यापी प्रयासहरूलाई सहयोग गर्ने गरि गरिएको छ । आफ्नो स्वागत भाषणमा ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत जिम हुआङले भने– ’हामीलाई ऊर्जाको भविष्यलाई आकार दिन नेपालले राखेको अविश्वसनीय सम्भावनाको सम्झना गराइयो । हामीसँगै यो यात्रा सुरु गर्दा हामी सहकार्य र नवीनता मार्फत हामी दिगो समाधानहरू प्रयोग गर्न सक्छौं, कार्बन फुटप्रिन्टहरू कम गर्न सक्छौं र ग्रिनरी डिजिटल रूपमा सशक्त ऊर्जा पारिस्थितिक प्रणाली निर्माण गर्न सक्छौं भन्नेमा स्पष्ट थियौं ।’ नेपाली उद्योग परिसंघका ऊर्जा विकास परिषद्का अध्यक्ष आशिष गर्गले नेपालको औद्योगिक क्षेत्रमा दिगो ऊर्जा संक्रमणको आवश्यकतामाथि प्रकाश पार्दै भने– ’नेपालको औद्योगिक क्षेत्रको भविष्य कुशल मात्र नभई दिगो हुने ऊर्जा समाधानहरू अपनाउने कुरामा निर्भर गर्दछ। सौर्य ऊर्जा, ऊर्जा भण्डारण समाधानहरू र हरित उत्पादनहरू उत्पादन गर्न नेपाली उद्योगहरूको डिकार्बोनाइजेशन यस रूपान्तरणको प्रमुख हुनेछ, जसले नेपालको स्वच्छ ऊर्जा लक्ष्यहरूमा योगदान पु¥याउँदै उद्योगहरू फस्टाउन सक्छन् भन्ने कुरा सुनिश्चित गर्नेछ ।’ उनले नेपाली उद्योगहरूलाई डिकार्बोनाइज गर्नु केवल वातावरणीय जिम्मेवारी मात्र नभई दीर्घकालीन विश्वव्यापी प्रतिस्पर्धात्मकता र दिगोपन सुनिश्चित गर्नको लागि एक महत्वपूर्ण रणनीति भएकोमा जोड दिए । साथै दिगो अभ्यासहरूलाई एकीकृत गरेर नेपाली उद्योगहरूले नयाँ विकास अवसरहरू अनलक गर्न, विश्वव्यापी लगानी आकर्षित गर्न र विकसित हुँदै गइरहेको हरित अर्थतन्त्रमा नेतृत्वदायी स्थान सुरक्षित गर्न सक्ने उनले बताए । ‘हुवावेमा हामी नवीन डिजिटल पावर समाधानहरू मार्फत नेपालभरका उद्योगहरूलाई उनीहरूको ऊर्जा लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्न प्रतिबद्ध छौं । सौर्य ऊर्जा र ऊर्जा भण्डारणको एकीकरणले नेपाली व्यवसायहरूको लागि अझ लचिलो र लागत–कुशल भविष्यको लागि मार्ग प्रशस्त गर्नेछ । हामी हाम्रा नयाँ प्रविधिहरू प्रदर्शन गर्न र यस रूपान्तरणमा उद्योगका प्रमुखहरूसँग सहकार्य गर्न उत्साहित छौं,’ हुवावे नेपाल डिजिटल पावर विभागका निर्देशक जेम्स झाङले भने । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र राज पाण्डेले आफ्नो समापन मन्तव्यमा भने, ‘यो कार्यक्रमले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा एउटा महत्त्वपूर्ण कदम चालेको छ । हामी स्वच्छ, भरपर्दो ऊर्जाद्वारा संचालित भविष्यतर्फ हेर्दै गर्दा आज प्रस्तुत गरिएका समाधानहरूले हामीलाई परम्परागत ऊर्जा स्रोतहरूमा हाम्रो निर्भरता कम गर्न र अझ दिगो र ऊर्जा–कुशल भविष्यतर्फ अघि बढ्न मद्दत गर्नेछ भन्ने कुरामा म विश्वस्त छु । यो रूपान्तरणलाई अगाडि बढाउन ह्वावे र स्थानीय उद्योग सरोकारवालाहरू बीचको सहकार्य आवश्यक छ ।’ अन्त्यमा, सौर्य ऊर्जा र ऊर्जा भण्डारण संवाद एक महत्त्वपूर्ण कार्यक्रम थियो, जसले अत्याधुनिक नवीकरणीय ऊर्जा समाधानहरू अपनाउनको लागि नवप्रवर्तनलाई अगाडि बढाउन र रणनीतिक साझेदारीलाई बढावा दिन ह्वावे डिजिटल पावर नेपालको प्रतिबद्धता देखिन्छ ।

सेयर बजारमा ८ अर्बको कारोबार, महालक्ष्मी विकास बैंकमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० बिन्दुमा झरेको छ । यो सहित लगातार सातौं दिन सेयर बजार घटेको छ । आज ३२ कम्पनीको मूल्य बढ्दा २०९ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्यमा भने कुनै परिवतन भएको छैन । मंगलबार ३०३ कम्पनीको १ करोड ५५ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ५८ करोड रुपैयाँको कारोबार भएको छ । साथै नेपाल रिइन्स्योरेन्सको ५३ करोड, महालक्ष्मी विकास बैंकको ४३ करोड, गार्डियन माइक्रो लाइफको ३७ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको ३१ करोड रुपैयाँको कारोबार भएको छ । मंगलबार विकास बैंक सेक्टर बाहेक अरूमा राताम्मे देखिएको छ । सबै सेक्टर घट्दा सो सेक्टर १.९३ प्रतिशत बढेको छ ।  बैंकिङ ०.७१, फाइनान्स १.५७, होटल तथा पर्यटन १.१३, हाइड्रोपावर १.५१, लगानी १.८९, जीवन बीमा १.३०, उत्पादन २.४९, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा ०.९९, अन्य १.६८ र व्यापार १.७९ प्रतिशतले घटेकाे छ ।  आज महालक्ष्मी विकास बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

नेपाल प्रहरी अस्पतालमा अब पीजी अध्ययन गर्ने चिकित्सकको कोटा थप्ने गरी न्याम्ससँग सम्झौता

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा स्नातकोत्तर (पीजी) अध्ययन गर्ने चिकित्सक तथा नर्सको कोटा थपिएको छ । चिकित्सा अध्ययन प्रतिष्ठान न्याम्स र नेपाल प्रहरी अस्पतालबीच यससम्बन्धमा सम्झौता भएको छ । हाल एक सय २७ जनाले चिकित्सक तथा नर्सिङमा पीजी अध्ययन गर्दै आइरहेकामा आवश्यक फ्याकल्टी थप गर्न दुई पक्षबीच सम्झौता भए पछि अब यो संख्या दुई सय ५० पुग्ने भएको छ । सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अध्यक्षताको न्याम्स कार्यकारी बैठकले हालै यससम्बन्धी निर्णय गरेको थियो । सोही आधारमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यससम्बन्धी सम्झौता भएको हो । मन्त्री पौडेलले दक्ष चिकित्सा जनशक्ति उत्पादन वृद्धि गर्नका लागि स्नातकोत्तर कोटा बढ्ने गरी फ्याकल्टी थप गर्न भने पछि न्याम्सले थप गर्ने निर्णय गरेको थियो । अब सम्झौताअनुसार न्याम्सले नेपाल प्रहरी अस्पतालमा फ्याकल्टी थपको अनुमति दिएको छ । अस्पतालको विकासमा समेत सघाउने न्याम्सले सम्झौता गरेको छ । प्रहरी अस्पतालले भने रेजिडेन्टलाई चिकित्सा विद्यार्थीलाई सरकारी नियमानुसार भत्ता उपलब्ध गराउने सम्झौता गरेको छ । सम्झौतामा नेपाल प्रहरी अस्पतालका तर्फबाट मेडिकल निर्देशक एआइजी डा. सुन्दरप्रसाद ह्योजु तथा न्याम्सका तर्फबाट रेक्टर प्राडा लोचन कार्कीले हस्ताक्षर गरेका थिए । सम्झौताका लागि आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशमै दक्ष चिकित्सकको अभाव पूर्ति गर्न विद्यार्थी कोटा थप गर्ने गरी निर्णय भएकामा हालसम्म चार सय पीजी विद्यार्थी थप अध्ययन गर्ने वातावरण बनेको बताए। यस सम्झौताले थप दक्ष चिकित्सक उत्पादन हुने वातावरण तयार पार्ने उनले विश्वास व्यक्त गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर तथा न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेत समेतलगायत उपस्थित थिए ।

डोटीको सेती नदीमा भेटियो ३५ केजीको माछा !

काठमाडौं । डोटीमा ३५ केजीको माछा भेटिएको छ । मंगलबार बिहान जिल्लाको केआई सिंह गाउँपालिका नजिकै वर्ने सेती नदीमा ३५ केजीको माछा भेटिएको केआई सिंह गाउँपालिका ३ का वडाध्यक्ष रामबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार उक्त माछा आज बिहान बल्छीमा परेको हो । वडाध्यक्षले भने, ‘३५ केजीको माछा भेटिएको छ । स्थानीय पसलेहरूले उक्त नदीमा बल्छी थापेको र त्यही बल्छीमा माछा भेटिएको भन्ने खबर छ । यसबारेमा बुझ्दै छौं ।’ उनका अनुसार माछाको तौल नाप्दा ३५ केजी भएको छ ।

विश्वको अधिकांश जनसङ्ख्याले प्रदूषित हावा सास फेर्छ : प्रतिवेदन

काठमाडौं । विश्वको अधिकांश भागमा प्रदूषित हावा रहेको र केवल १७ प्रतिशत सहरहरूले विश्वव्यापी वायु प्रदूषण दिशानिर्देशहरू पूरा गरेको मङ्गलबारको एक प्रतिवेदनले पत्ता लगाएको छ । स्विट्जरल्यान्ड स्थित वायु गुणस्तर अनुगमन डाटाबेस आइक्युएयरले एक सय ३८ देशका ४० हजार वायु गुणस्तर अनुगमन स्टेसनबाट प्राप्त डाटा विश्लेषण गरेको थियो र चाड, कङ्गो, बङ्गलादेश, पाकिस्तान र भारतमा सबैभन्दा प्रदूषित हावा रहेको पत्ता लगाएको थियो । भारतमा नौ सबैभन्दा प्रदूषित सहरहरू मध्ये छ वटा छन् । तीमध्ये उत्तरपूर्वी भारतको औद्योगिक सहर बिरनिहाट सबैभन्दा खराब स्थानमा छ । विशेषज्ञहरूका अनुसार वास्तविक वायु प्रदूषणको मात्रा धेरै बढी हुनसक्छ किनकि विश्वका धेरै भागमा अधिक सटीक डाटाका लागि आवश्यक अनुगमन छैन । उदाहरणका लागि अफ्रिकामा प्रत्येक ३७ लाख मानिसका लागि केवल एउटा अनुगमन स्टेसन छ । प्रतिवेदनअनुसार यस समस्याको सामना गर्न थप वायु गुणस्तर अनुगमनकर्ताहरू स्थापित गरिँदैछन् । यस वर्ष प्रतिवेदनका लेखकहरूले वायु प्रदूषणको राम्रो अनुगमन गर्ने प्रयासको परिणामस्वरूप आठ हजार नौ सय ५४ नयाँ स्थान र लगभग एक हजार नयाँ अनुगमनकर्ताबाट प्राप्त डाटा समावेश गर्न सक्षम भए । तर गत हप्ता अमेरिकी विदेश मन्त्रालयले विश्वभरका आफ्ना दूतावास र वाणिज्य दूतावासहरूबाट प्राप्त डाटा सार्वजनिक नगर्ने घोषणा गरेपछि वायु प्रदूषणका लागि डाटा अनुगमनलाई धक्का लागेको छ । मलेसिया स्थित सनवे सेन्टर फर प्लानेटरी हेल्थकी मुख्य वैज्ञानिक तथा वायु प्रदूषण विशेषज्ञ फातिमा अहमदका अनुसार लामो समयसम्म प्रदूषित हावा सास फेर्नाले श्वासप्रश्वाससम्बन्धी रोग, अल्जाइमर्स र क्यान्सर हुन सक्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले वायु प्रदूषणले वार्षिक रूपमा लगभग ७० लाख मानिसको ज्यान लिने अनुमान गरेको छ । अहमदले वायु प्रदूषणको स्तर घटाउन अझ धेरै गर्न आवश्यक रहेको बताए । डब्लुएचओले विश्वको ९९ प्रतिशत जनसङ्ख्या सिफारिस गरिएको वायु गुणस्तर स्तर पूरा नगर्ने ठाउँमा बसोबास गर्ने गरेको पाएको थियो । ‘यदि तपाईंसँग खराब पानी छ, पानी नै छैन भने, तपाईं मानिसहरूलाई दिनको आधा घण्टा पर्खनू भन्न सक्नुहुन्छ, पानी आउनेछ । तर यदि तपाईंसँग प्रदूषित हावा छ भने, तपाईं मानिसहरूलाई सास फेर्न रोक्नू भन्न सक्नुहुन्न’, अहमदले भने । बेइजिङ, दक्षिण कोरियाको सियोल र पोल्यान्डको रिबनिक जस्ता धेरै सहरले सवारी साधन, बिजुली प्लान्ट र उद्योगहरूबाट हुने प्रदूषणमा कडा नियमहरू मार्फत आफ्नो वायु गुणस्तर सफलतापूर्वक सुधार गरेका छन् । उनीहरूले स्वच्छ ऊर्जालाई प्रवद्र्धन गरेका छन् र सार्वजनिक यातायातमा लगानी गरेका छन् । गम्भीर वायु प्रदूषण नियन्त्रण गर्ने अर्को उल्लेखनीय प्रयास दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घको सीमापार धुवाँ प्रदूषणसम्बन्धी सम्झौता थियो । यद्यपि यसले अहिलेसम्म सीमित सफलता पाए पनि यस क्षेत्रका दश देशले ठूला वन डढेलोहरूबाट हुने प्रदूषणको अनुगमन र नियन्त्रण गर्न एकसाथ काम गर्ने प्रतिबद्धता जनाएका छन् । वन डढेलो सुक्खा मौसममा यस क्षेत्रमा सामान्य घटना हो । ग्लोबल क्लाइमेट एन्ड हेल्थ एलायन्सको अभियानको नेतृत्व गर्ने श्वेता नारायणले सबैभन्दा खराब वायु प्रदूषणको सामना गर्ने धेरै क्षेत्रहरू पनि कोइला, तेल र ग्यास जलाएर पृथ्वी–तताउने ग्यासहरू व्यापक रूपमा निस्कने ठाउँहरू हुन् भने । पृथ्वीको तापक्रम कम गर्न पृथ्वी–तापन उत्सर्जन कम गर्दा वायु गुणस्तर पनि सुधार गर्न सकिने उनले बताए । ‘वायु प्रदूषण र जलवायु सङ्कट एउटै सिक्काका दुई पाटा हुन्’, उनले भने । रासस

तीन पालिकाले सडकबत्तीको पाँच करोड बक्यौता तिर्न बाँकी

इटहरी । सुनसरीका तीन स्थानीय तहले सडकबत्तीको रु पाँच करोड ९१ लाख ६० हजार बक्यौता तिर्न बाँकी रहेको छ । इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका र बराक्षेत्र नगरपालिकाले सडकबत्तीको बक्यौता तिर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख रामउदगार साहले जानकारी दिए । बक्यौता तिर्न पटक–पटक सूचना जारी गरे पनि हालसम्म नतिरेको उनले बताए । इटहरी उपमहानगरपालिकाले रु तीन करोड ७७ लाख ४० हजार, बराहक्षेत्र नगरपालिकाले रु एक करोड ३५ लाख २५ हजार र रामधुनी नगरपालिकाले रु ७८ लाख ९४ हजार बक्यौता तिर्न बाँकी रहेको छ । प्रमुख साहले भने, ‘बक्यौता रकम तिर्न पालिकालाई पत्र पठाउँदै आएका छौँ ।’ इटहरी वितरण केन्द्रका सूचना अधिकारी सुरज गोसाईंका अनुसार प्रत्येक महिना सडकबत्तीको बिल पालिकालाई पठाउने गरिएको छ । प्राधिकरणले बक्यौता नतिर्नेको विद्युत्को लाइन काट्दै आएको छ । चालू आर्थिक वर्ष २०८१/८२ मा साउन महिनायता १२ हजार ८२ जनाको लाइन काटिएको उनले बताए ।