विकासन्युज

काठमाडौंमा ग्यास अभाव हुन नदिन हेटौँडाबाट दैनिक १०० ट्रक पठाइने

काठमाडौं । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यास अभाव समाधान गर्न हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास वैकल्पिक सडकमार्फत काठमाडौं पठाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि हेटौँडाबाट वैकल्पिक सडक हुँदै भरिएका १०० ट्रक एलपी ग्यास काठमाडौं उपत्यकामा पठाई वितरण गर्ने व्यवस्था सुरु गरिएको जनाएको छ । भाद्र १० गते आएको बाढीका कारण पृथ्वी राजमार्गमा करिब दुई दिनसम्म लेदो जमेर सडक अवरुद्ध भएको थियो । त्यसपछि कृष्णभीर क्षेत्रमा सडक भासिएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध रहेको मन्त्रालयले जनाएको छ । सडक अवरुद्ध हुँदा एलपी ग्यास बोकेका बुलेट काठमाडौं उपत्यकामा प्रवेश गर्न नसकेपछि केही दिनयता उपभोक्ताले ग्यास अभाव झेल्दै आएका छन् । मन्त्रालयका अनुसार पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआएसम्म हेटौँडाबाट वैकल्पिक मार्ग हुँदै ग्यास आपूर्ति गर्ने व्यवस्था निरन्तर कायम राखिनेछ । काठमाडौं उपत्यकामा देखिएको ग्यास अभावको समस्या नेपाल आयल निगम तथा एलपी ग्यास उद्योगी र व्यवसायीसँगको निरन्तर संवाद तथा समन्वयमार्फत आगामी केही दिनभित्रै क्रमशः समाधान हुँदै जाने मन्त्रालयले विश्वास व्यक्त गरेको छ । मन्त्रालयले विपद्का कारण जनधनमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । उपभोक्ताको दैनिक जीवनमा थप असहजता हुन नदिन आपूर्ति व्यवस्थालाई सहज, नियमित र प्रभावकारी बनाउन आवश्यक सबै पहल भइरहेको मन्त्रालयले जनाएको छ। आधारभूत आवश्यकतासँग जोडिएको एलपी ग्यास आपूर्तिमा कमी हुन नदिन मन्त्रालय प्रतिबद्ध रहेकोसमेत विज्ञप्तिमा उल्लेख छ ।

लाजिम्पाटको चखेवा लाउन्ज एन्ड बार लिलामीमा, महानगरले माग्यो मूल्याङ्कनकर्ता

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २ कार्यालयले लाजिम्पाटस्थित बिग मार्ट रहेको भवनको पहिलो तल्लामा सञ्चालित चखेवा लाउन्ज एन्ड बारका सामान लिलामी प्रयोजनका लागि मूल्याङ्कन गर्न इजाजतप्राप्त मूल्याङ्कनकर्ताबाट सिलबन्दी कोटेसन माग गरेको छ । घरधनी अभय शमशेर ज.ब.रा. समेतको बिग मार्ट रहेको भवनको पहिलो तल्लामा दाङ जिल्ला, सौडियार गाविस वडा नम्बर ४ स्थायी ठेगाना भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २, गणेशचोक बस्ने नरेन्द्रबहादुर महराले चखेवा लाउन्ज एन्ड बार सञ्चालन गर्दै आएका थिए । काठमाडौं महानगरपालिकाबाट भएको मुचुल्काबमोजिम लिलामी प्रयोजनका लागि सो तल्लामा रहेका सामानको मूल्याङ्कन गर्न लागिएको हो । काठमाडौं महानगरपालिका विवाद निरूपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० बमोजिम गठित मूल्याङ्कन समितिले सामानको मूल्याङ्कन गर्नेछ । मूल्याङ्कन गर्नुपर्ने सामानमा सीसी क्यामेरा, एसी, पंखा, आइस कुलर, फ्रिज, अग्नि फायर, स्पिकर, म्युजिकल बक्स, स्ट्यान्ड माइक, डिजिटल बोर्डलगायत इलेक्ट्रोनिक्स सामान, फर्निचर तथा सो तल्लामा मौज्दात रहेका अन्य सामान छन् । महानगरले इच्छुक इजाजतप्राप्त मूल्याङ्कनकर्तालाई १५ दिनभित्र सिलबन्दी कोटेसन पेश गर्न आह्वान गरेको छ । कोटेसनसँगै मूल्याङ्कनकर्ताको इजाजतपत्रको प्रमाणपत्र, स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र, फर्म वा कम्पनी दर्ता प्रमाणपत्र, अनुभवसहितको व्यक्तिगत विवरण तथा मूल्याङ्कन गर्न लाग्ने समय र पारिश्रमिक रकमसम्बन्धी प्रस्ताव पेश गर्नुपर्नेछ ।

चितवन को-ई ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ५० लाख रुपैयाँ सहयोग

काठमाडौं । चितवन को–ई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । ग्रुपअन्तर्गतको मनकामना दर्शन प्रालिले १ करोड २५ लाख रुपैयाँ र चितवन मिल्क लिमिटेडले २५ लाख रुपैयाँ गरी कुल १ करोड ५० लाख रुपैयाँ सहयोग गरेका हुन् । ग्रुपका अनुसार हालै आएको बाढीपहिरोबाट देशभरका विभिन्न परिवार तथा समुदायमा ठूलो क्षति पुगेको भन्दै उद्धार, राहत तथा पुनर्निर्माणका लागि उक्त सहयोग गरिएको हो । ग्रुपले बाढीपहिरोका कारण प्रियजन, घरबार तथा जीविकोपार्जन गुमाएका परिवारप्रति सहानुभूति व्यक्त गरेको छ ।  चितवन को–ई ग्रुपले आफ्नो जरा चितवन, गोरखा तथा आफूले कार्य गर्दै आएका आसपासका क्षेत्रसँग जोडिएको उल्लेख गर्दै विपद्का बेला छिमेकी, साझेदार र समुदायको सदस्यका रूपमा सहयोग गर्नु आफ्नो दायित्व भएको जनाएको छ । ग्रुपले आफ्ना स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको समुदाय र देशप्रतिको उत्तरदायित्वलाई मूल सिद्धान्तका रूपमा आत्मसात् गर्दै सहयोगलाई निरन्तरता दिइरहेको जनाएको छ । ग्रुपका अनुसार उक्त योगदानले तत्कालीन राहत, प्रभावित परिवारको पुनःस्थापना तथा समुदायको पुनर्निर्माणका लागि भइरहेका प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, विपद्बाट प्रभावित परिवार तथा उद्धार कार्यमा खटिएका सबैप्रति सहानुभूति व्यक्त गर्दै ग्रुपले ‘एकताको बलमा, हामी सँगै पुनर्निर्माण गर्नेछौँ’ भन्ने प्रतिबद्धता जनाएको छ ।

रवि लामिछानेले बोलाए रास्वपा सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थली, काठमाडौंमा बस्नेछ ।

प्रतिनिधिसभाको बैठक आज बस्दै, तीन महत्वपूर्ण प्रस्ताव पेस हुने

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल-भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता प्रतिनिधिसभामा पेस गर्नेछन् । त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची रहेको छ ।

मन्दिरको जग्गा व्यक्तिका नाममा, तत्कालीन प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा

काठमाडौं । मालपोत कार्यालय, भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानि गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार आचार्यसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार उनीहरूमाथि गैरकानुनी लाभ वा हानि पुर्याउने, गलत लिखत तयार गर्ने तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोप छ । आयोगका अनुसार मुद्दा दायर गरिएकामा तत्कालीन प्रमुख मालपोत अधिकृत आचार्य, तत्कालीन नायब सुब्बाद्वय लक्ष्मणप्रसाद न्यौपाने र अजितकुमार साहनी (चाई), तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर तथा जग्गाधनी पर्वतराजकान्त मिश्र छन् । उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कसुरमा ४ करोड ५३ लाख ४१ हजार ८०० रुपैयाँ बिगो कायम गरिएको आयोगले जनाएको छ । आयोगले सोही ऐनबमोजिम कैद तथा बिगोबमोजिम जरिवानाको मागदाबी गर्दै आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार भूमि सम्बन्धी ऐन, २०२१ लागू हुनुअघि रुपन्देहीको साविक भुजौली गाउँ पञ्चायत वडा नं. ९(ख) मा रहेका कित्ता नम्बर ७, २९, ३२, ६७, ६८, ९२ र ९४ का जग्गा सूर्जा मिश्राइनको जोतभोगमा थिए । ती जग्गाको ७ नम्बर फाँटवारीमा सरकारले तोकेको हदबन्दीभन्दा बढी भएको जग्गा कालीजी मन्दिरलाई दान दिएको हुँदा छाडेको भन्ने स्पष्ट उल्लेख रहेको आयोगले जनाएको छ । त्यस्तै, २०२६ सालको सर्भे नापीमा समेत उक्त कित्ताका जग्गा कालीजी मन्दिरलाई दान दिइएको देखिएको आरोपपत्रमा उल्लेख छ । आयोगका अनुसार ती जग्गामा हालसमेत कालीजी र शिवजीका मन्दिर रहेका छन् । सिद्धार्थनगर नगरपालिका वडा नं. १० का स्थानीयले परापूर्वकालदेखि नै मन्दिरमा पुजारी राखी दैनिक पूजापाठ गर्दै आएका छन् । तर, हदबन्दीका कारण सरकारको मापदण्डभन्दा बढी भएको भन्दै मन्दिरलाई दान गरिएका ती जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम गरिएको आयोगको आरोप छ । 

बाढी प्रभावित क्षेत्रमा विद्युत् पूर्वाधार पुनर्निर्माण र उद्धार कार्य तीव्र

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण क्षति पुगेका विद्युत् पूर्वाधारको पुनर्निर्माण, प्रभावितको उद्धार तथा राहत कार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उच्च प्राथमिकताका साथ अघि बढाएको छ ।  बाढी प्रभावित रसुवा र नुवाकोट जिल्लामा उद्धार, समन्वय र विद्युत् आपूर्ति पुनःसुचारु गर्न मन्त्रालयले विशेष टोलीसहित आफ्ना संयन्त्रहरू परिचालन गरेको छ । मन्त्रालयका अनुसार रसुवाको चिलिमे जलविद्युत् परियोजनाको विद्युत्गृहमा फसेकाहरूको उद्धारका लागि साँघुरो खोचका कारण हेलिकोप्टर र हेभी उपकरण प्रयोग गर्न कठिन भएपछि करिब २०० जना जनशक्ति खटाएर हाते माध्यमबाट सफा गर्ने तयारी गरिएको छ ।  ऊर्जा मन्त्रीले सम्पर्कविहीन रहेका राष्ट्रसेवकका परिवारसँग भेट गरी अन्तिम सम्भावनासम्म खोजी तथा उद्धार प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गरे । उद्धार कार्यका लागि नेपाली सेनाको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरण, भारतीय तथा चिनियाँ प्राविधिक र विज्ञ टोली निरन्तर खटिएका छन् ।  क्षेत्रगत समन्वय र सहजीकरणका लागि मन्त्रालयले नुवाकोटमा सि.डि.इ. गोपी प्रसाद साह र रसुवामा सि.डि.इ. सुर्यदेव गुप्तलाई कमाण्ड पोस्टमा खटाएको छ । बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालनका लागि तीव्र गतिमा काम भइरहेको छ । रसुवाको उत्तरगयाँ-४ तथा चपली-देविघाटको दोस्रो सर्किट (६६ के.भी.) सुचारु गरी नुवाकोटको तार्केश्वर र बिदुर नगरपालिकाका विभिन्न वडाहरूमा बिजुली पुर्‍याइएको छ ।  राष्ट्रिय प्रसारण पुग्न नसकेका दुर्गम स्थानहरूमा विद्युत् सेवा दिन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र अन्य संस्थाको सहयोगमा १० सेट संस्थागत सौर्य विद्युत् प्रणाली रसुवा, नुवाकोट र धादिङका विभिन्न गाउँपालिकाहरूमा पठाइएको छ । यसैबीच, बाढीबाट सिर्जना भएको राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कोषका लागि विद्युत् नियमन आयोगले १ करोड, एचआईडीसीएलले १ करोड १ लाख र ग्रिन भेन्चर लिमिटेडले ११ लाख रुपैयाँ गरी कुल २ करोड १२ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका छन् । 

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंमा व्यावसायिक ग्यास बिक्री ठप्प, घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकता

काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरी सडकमार्ग प्रभावित बनेपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको नियमित आपूर्तिमा गम्भीर असर परेको छ । ग्यास बोकेका बुलेट काठमाडौं आउन नसक्ने अवस्था सिर्जना भएपछि नेपाल आयल निगमले तत्कालका लागि होटल, रेस्टुरेन्ट, क्यान्टिन तथा अन्य व्यावसायिक प्रयोजनमा ग्यास बिक्री वितरण रोक्ने निर्णय गरेको छ ।  बुधबार निगमका अधिकारी र ग्यास विक्रेता महासंघका पदाधिकारीबीच भएको बैठकले सीमित ग्यासलाई घरायसी र अत्यावश्यक उपभोक्ताका लागि सुरक्षित राख्दै आपूर्ति व्यवस्थापनको नयाँ रणनीति तय गरेको हो ।  निगमको नयाँ निर्णयअनुसार अब व्यावसायिक उपभोक्ताले आफ्नै खर्चमा ग्यासको व्यवस्था गर्नुपर्नेछ। । होटल तथा अन्य ठूला व्यवसायीले आफूले प्रयोग गर्ने ब्रान्डका खाली सिलिन्डर सम्बन्धित डिलर वा उद्योगसँग समन्वय गरी तराईका ग्यास उद्योगसम्म पुर्‍याउनुपर्नेछ र त्यहाँ रिफिल गराएर वैकल्पिक सडकमार्ग हुँदै काठमाडौं ल्याउने सम्पूर्ण जिम्मेवारी व्यवसायी स्वयंले लिनुपर्नेछ ।  यता, काठमाडौंका सर्वसाधारणका लागि उपत्यकाका ग्यास उद्योगहरूले तराईका उद्योगहरूसँग समन्वय गरी सिलिन्डर भरेर ल्याउने र विक्रेतामार्फत समानुपातिक रूपमा वितरण गर्ने व्यवस्था मिलाइएको छ ।  आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले तराईबाट ग्यास ल्याएर उपत्यकाको आपूर्ति कायम राख्ने प्रयास भइरहेको र तराईबाट आएको ग्यास अत्यावश्यक परेका उपभोक्तालाई प्राथमिकतामा राखेर वितरण गरिने जानकारी दिएका छन् । भित्र्याइएको सीमित ग्यासलाई मुख्यगरी विद्यार्थी, असहाय, बिरामी, ज्येष्ठ नागरिक, आश्रम, अपाङ्गता भएका व्यक्ति तथा बाढीपीडितका राहत केन्द्रहरूलाई प्राथमिकताका साथ उपलब्ध गराइनेछ ।  यस संकटको समयमा बजारमा हुनसक्ने कालोबजारी, कृत्रिम अभाव र बढी मूल्य असुली नियन्त्रण गर्न निगमले बजार अनुगमनलाई कडा बनाउने भएको छ। यसका लागि निगमको क्विक रेस्पोन्स टिममा ग्यास विक्रेताका दुई जना प्रतिनिधि सहभागी गराई संयुक्त अनुगमन गरिनेछ ।  निगमको एलपी ग्यास तथा एभिएसन विभागका निर्देशक विनितमणि उपाध्याय, उपनिर्देशक इन्दु शर्मा अधिकारी, ग्यास विक्रेता महासंघका कार्यवाहक उपाध्यक्ष विष्णुप्रसाद दुलाल र काठमाडौं अध्यक्ष हेमबहादुर थापालगायतको उपस्थिति रहेको उक्त बैठकले सडकमार्ग सहज नहुँदासम्म वैकल्पिक उपायबाटै आपूर्ति व्यवस्थापन जारी राख्ने प्रतिबद्धता जनाएको छ ।