महालक्ष्मी विकास बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा देशभर वित्तीय साक्षरता सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा ग्लोबल मनि विक २०२५ को अवसरमा देशै भरी वित्तीय साक्षरता तथा सचेतना कार्यक्रमहरु सम्पन्न भएको छ । महालक्ष्मी विकास बैंकले चैत ४ देखि मिति १० गतेसम्म साताव्यापी रुपमा मनाइएको ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका देशै भरी रहेको सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरु सम्पन्न गरेको छ । यस साताव्यापी अभियान अन्तर्गत यस बैंकका गंगबु, धनगढी, चन्द्रनिगापुर, दमौली, इटहरी, जनकपुर ,विरगंज, दमक, टिकापुर, महेन्द्रनगर, बुटवल, लेकसाइड पोखरा, केन्द्री कार्यालय लगायतका विभिन्न प्रादेशिक कार्यालयहरुले विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकासका लगि वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ । देशभरी गरिएको कार्यक्रमहरुमा १२०० जनाभन्दा बढीको सहभागिता रहेको र उक्त कार्यक्रमहरुमा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतिय वित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुहरुमा जानकारी गराइएको छ । साथै यस बैंकको आधिकारिक सामाजिक सञ्जालका माध्यहरुबाट समेत विभिन्न सचेतनामूलका जानकारीहरु पोष्ट गर्नुका साथै भिडियो सामाग्रीहरु समेत प्रसारण गरिएको छ । यस कार्यबाट किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।
नेपाल-अमेरिका व्यापारिक सम्बन्ध सुदृढ बनाउँदै एमच्याम
काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम)ले अमेरिकासँग व्यापारिक सम्बन्ध सुदृढ बनाउनका लागि पहल गरेको छ । अमेरिका भ्रमणका क्रममा एमच्यामको प्रतिनिधिमण्डलले वासिङ्टन डिसीमा दुई मुलुकबीचको आर्थिक सहकार्यलाई अघि बढाउन महत्त्वपूर्ण छलफल गरेको हो । सो क्रममा नेपाली प्रतिनिधिमण्डलले अमेरिकी सरकारी निकाय, व्यवसायी र नीति निर्माण तहका उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट गरेको थियो । एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित विक्रम शाह, मोघा इनर्जीका सिइओ सम्राथ मोघा र एमच्याम नेपालका महाप्रबन्धक अमिरराज थापाको टोलीले अमेरिकी विदेश मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्, अमेरिकी व्यापार तथा विकास संस्था, अमेरिकी चेम्बर अफ कमर्स र विश्व बैङ्कका उच्च अधिकारीहरूसँग दुई पक्षीय आर्थिक सम्बन्धबारे छलफल गरेको थियो । एमच्यामको प्रतिनिधिमण्डललाई स्वागत गर्दै अमेरिकी विदेश मन्त्रालयका एक्टिङ डेपुटी असिस्टेन्ट सेक्रेटरी अला कमिन्सले नेपाल अमेरिकाबीच आर्थिक गतिशीलता र आपसी समृद्धिमा जोड दिएका थिए । उक्त कार्यक्रममा अमेरिकी वाणिज्य विभागको अन्तर्राष्ट्रिय व्यापार प्रशासनका कार्यवाहक निर्देशक क्रिस एशले नेपाल अमेरिकाबीचको व्यापार अवरोध हटाउने एवं व्यापारिक अवसरलाई सदुपयोग गर्ने प्रतिबद्धता जनाए । एशले भने, ‘नयाँ प्रशासनले व्यापारमा अवरोध हटाउने र नेपाल–अमेरिकाबीचको व्यापारिक अवसरलाई वृद्धि गर्ने प्रतिबद्ध छ ।’ निर्देशक एशले एमच्याम नेपाललाई व्यापारिक सम्बन्ध विस्तारमा नेतृत्वदायी भूमिका खेल्न प्रोत्साहित समेत गरेका छन् । अमेरिकी वाणिज्य विभागका कार्यवाहक निर्देशक नाओमी विग्लरले एमच्याम नेपाललाई सम्भावित व्यापार साझेदारसँग जोड्ने, लगानी अवसरको प्रवर्द्धन गर्ने र नेपालमा अमेरिकी व्यवसायहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सो भेटमा आर्थिक सल्लाहकार सारा एन्डरसन र विदेश मन्त्रालयका नेपाल डेस्क अफिसर सिन कोम्बर पनि सहभागी थिए । नेपाली दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डेले अमेरिकी सरकारलाई दूतावासको तर्फबाट धन्यवाद ज्ञापन गर्दै दुई देशबीचको लामो समयदेखिको कूटनीतिक साझेदारीको प्रशंसा गरे । उनले आइटी क्षेत्र विशेष गरी एआई प्रवर्द्धनमा सीप अभिवृद्धि र प्रमाणीकरणका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले अमेरिकी सरकारलाई यस क्षेत्रमा गरेको सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनको साझेदारीका लागि तत्पर रहेको बताएका थिए । एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित विक्रम शाहले नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको उच्च सम्भावना रहेको भन्दै लगानीका लागि आग्रह गरे । नेपालमा रहेको अमेरिकी दूतावासमार्फत आर्थिक र सामाजिक क्षेत्रमा भएको सहयोगको सराहना गर्दै शाहले उद्योग–केन्द्रित व्यापार विकासमा थप सहयोगका लागि आग्रह गरेका थिए । अमेरिकी जलविद्युत् विकासकर्ता सम्राथ मोघाले नेपालमा अमेरिकी लगानी आकर्षित गर्न कर सुधारको आवश्यकतामा जोड दिए । उनले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ) लाई सहज बनाउन र अमेरिकी व्यवसायहरूको प्रतिफल सुनिश्चितताका लागि नीतिगत पहल गर्न आग्रह गरे । एमच्याम नेपालका महाप्रबन्धक अमिरराज थापाले नेपालमा अमेरिकी व्यवसाय, रोजगारी सिर्जना, र प्रविधि हस्तान्तरणलाई प्रवर्द्धन गर्न एमच्याम नेपालले सञ्चालन गरेका प्रयासहरूबारे जानकारी गराएका थिए । उनले अमेरिकी चेम्बर अफ कमर्सको छत्रछायामा द्विपक्षीय व्यापारिक साझेदारीलाई सुदृढ बनाउन एमच्यामको प्रतिबद्धता दोहोर्याएका थिए । एमच्यामको प्रतिनिधिमण्डलले राष्ट्रिय सुरक्षा परिषद्का ग्रेग डी। पाइप र राजन नाथानिएलसँगको भेटमा व्यापार सहजीकरण र नीतिगत स्थिरताका लागि प्रतिबद्धता जनाएका छन् । यस्तै प्रतिनिधिमण्डलले युएसटीडिएका निर्देशक भेरिन्डा फाइक र प्रबन्धक अन्ना पिट्जरसँगको छलफलमा नेपाल र अमेरिकी व्यवसायहरूबीच आर्थिक सहकार्य गर्नुपर्ने बताएका थिए । अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डलसँग एमच्याम नेपालले आइसिटी, ऊर्जा, पर्यटन, आतिथ्य, निर्माण, फिनटेक, कृषि व्यवसाय, र सेवा क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको उल्लेख गरेको छ । अमेरिका नेपालका लागि चौथो ठूलो व्यापार साझेदार राष्ट्र समेत हो । अमेरिकासँग गत वर्ष २०२३(२४ मा नेपालले ४१४५ मिलियनको आयात र ४१२८ मिलियनको निर्यात गरेको थियो । दुई मुलुकबीचको व्यापारिक सम्बन्ध सुदृढ बनाउँदा व्यापार वृद्धिसँगै नेपाललाई विकासशील राष्ट्रको दिशामा अघि बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । एमच्यामको प्रतिनिधिमण्डलले विश्व बैङ्क समूह, अमेरिकी कोष विभाग र अन्तर्राष्ट्रिय वित्त निगमका प्रतिनिधिहरूसँग पनि नेपालको आर्थिक सम्भावनाहरूबारे छलफल गरेको थियो । साथै, अमेरिकी चेम्बर अफ कमर्समा एमच्याम नेपालले दुवै राष्ट्रबीचको व्यापारिक सम्बन्धलाई गतिशील बनाउन गरिएका प्रयासहरूको अद्यावधिक जानकारी दिइएको थियो । नेपाली प्रतिनिधिमण्डलले एमसिसी कम्प्याक्ट व्यापार वृद्धि र नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउनका लागि एक महत्त्वपूर्ण पहल भएको उल्लेख गरेको छ । एमसिसी परियोजनामा अमेरिकाबाट ५० अर्ब र नेपालबाट १३ अर्ब रुपैयाँको लगानीमा बन्ने एमसिसी परियोजना सफल हुने विश्वास गरिएको छ । व्यापारिक कूटनीतिका एक प्रवर्तकको रूपमा एमच्याम नेपालले यसलाई सफलतापूर्वक कार्यान्वयन गर्नु भविष्यको आर्थिक प्रगतिको मुख्य आधारका रूपमा हेरिने दुवै देशका प्रतिनिधिद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । अमेरिकी आर्थिक सहयोगले अवसरहरू विस्तार गर्ने, जनताको विश्वास निर्माण गर्ने र द्विपक्षीय साझेदारीलाई सुदृढ पार्ने र नेपालको दीर्घकालीन समृद्धिलाई प्रवर्धन गर्ने एमच्यामद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । व्यापारिक कूटनीतिमा सक्रिय भूमिका खेल्दै एमच्याम नेपालले आर्थिक गतिशीलता, नवप्रवर्तन, र दिगो व्यापारिक वृद्धिका लागि आधारशिला तयार गर्दै नेपाल र अमेरिकाबिचको पुरानो मित्रतालाई अझ बलियो बनाउँदै जाने एमच्यामले उल्लेख गरेको छ ।
काठमाडौं मेडिकल कलेज र दुई श्रमिक आपूर्ति कम्पनीलाई विभागले तिरायो २-२ लाख जरिवाना
काठमाडौं । इजाजत नलिई श्रमिक आपूर्ति गर्ने दुई कम्पनी र उक्त कम्पनीबाट कामदार राख्ने काठमाडौं मेडिकल कलेजलाई जरिवाना तिराइएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार यी तीन कम्पनीलाई २/२ लाख जरिवाना तिराइएको छ । श्रम ऐन २०७४ अनुसार श्रमिक आपूर्ति गर्न चाहने कम्पनीले इजाजतपत्र लिनुपर्छ । तर, फाल्कन सर्भिसेस प्रालि र कमलपोखरी सर्पोट सर्भिस प्रालिले इजाजत नै नलिई श्रमिक आपूर्ति गर्ने गरेको अनुगमनबाट खुलेको हो । साथै, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले यी कम्पनीसँग सम्झौता गरी श्रमिक आपूर्ति गर्ने गरेको समेत अनुगमनमा देखिएको छ । यी तीन कम्पनीलाई जनही २/२ लाखका दरले जरिवाना तिराइएको विभागका प्रवक्ता मणिनाथ गोपले जारी गरेको विज्ञप्तिमा छ ।
८ महिनामा जीवन बीमा कम्पनीको व्यवसाय १ खर्ब नाघ्यो, नेपाल लाइफको सर्वाधिक कमाइ
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीहरूले एक खर्बभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले १ खर्ब आठ अर्ब ७१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । उक्त अवधिमा कम्पनीहरूले नवीकरण शुल्कमार्फत एक अर्ब ९६ करोड ६४ लाख शुल्क संकलन गरेका छन् । जीवन बीमा कम्पनीहरूले फागुन महिनामा मात्रै ४ लाख १९ हजार २५३ बीमालेख जारी गर्दा १३ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । फागुनमा मात्रै कम्पनीहरूले नवीकरण शुल्कमार्फत १० अर्ब ३७ करोड, वैदेशिक रोजगार बीमा शुल्क ३० करोड ५१ लाख संकलन भएको प्राधिकरणले जनाएको छ। नेपाल लाइफको सर्वाधिक समीक्षा अवधिमा नेपाल लाइफ इन्स्यारेन्सले सर्वाधिक व्यवसाय गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सले फागुन मसान्तसम्ममा १९ लाख ४ हजार ९६ बीमा लेख जारी गर्दा २९ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफले फागुनमा मात्रै ३ अर्ब ३९ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । बीमा शुल्क आर्जनमा नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले ८ महिना अर्थात फागुन मसान्तसम्ममा कुल १३ अर्ब ६२ करोड ८४ लाख रुपैयाँको व्यवसाय गरेको छ । उक्त अवधिमा कम्पनीले १५ लाख ३४ हजार ४ बीमालेख जारी गरेका छन् । कम्पनीको फागुनको मात्रै व्यवसाय २ अर्ब ३९ करोड १९ लाख रुपैयाँ रहेको छ । तेस्रो नम्बरमा रहेको एलआईसी नेपालले फागुनसम्ममा १२ अर्ब ५६ करोड रुपैयाँको बीमा शुल्क संकलन गरेको छ । एलआईसीले फागुनमा मात्रै एक अर्ब ३८ करोड ९५ लाख रुपैयाँको व्यवसाय गरेको प्राधिकरणको तथ्यांक छ । त्यस्तै, धेरै व्यवसाय गर्ने चौंथो नम्बरमा हिमालयन लाइफ इन्स्योरेन्सले ११ अर्ब २२ करोड २७ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । अन्य बीमा कम्पनीहरूमा फागुन मसान्तसम्ममा सूर्यज्योति लाइफ इन्स्यारेन्स ६ अर्ब ६९ करोड ५० लाख, एशियन लाइफ इन्स्यारेन्स ५ अर्ब ६९ करोड ८२ लाख, सिटिजन्स लाइफ इन्स्यारेन्स ४ अर्ब ४९ करोड। राष्ट्रिय जीवन बीमा कम्पनी ४ अर्ब ४७ करोड ९३ लाख, सानिमा रिलायन्स ४ अर्ब २९ करोड २६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै, मेट लाइफ ३ अर्ब ८८ करोड ९ लाख, आइएमई लाइफ इन्स्योरेन्स ३ अर्ब २८ करोड ७८ लाख, प्रभु महालक्ष्मी ३ अर्ब १९ करोड ७६ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ३ अर्ब १७ करोड ५९ लाख र सन नेपाल लाइफ इन्स्यारेन्स २ अर्ब ७० करोड २९ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेका छन् । १३ जीवन बीमकको व्यवसाय बढ्दा एकको व्यापारमा गिरावट अघिल्लो वर्ष अर्थात आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्मको तुलनामा चालु आव २०८१/८१ को सोही अवधिको तुलनामा १३ वटा जीवन बीमकको व्यापार बढेको छ भने एउटाको घटेको छ । सबैभन्दा धेरै व्यापार गर्ने नेपाल लाइफ इन्स्योरेन्सले गत आवको तुलनामा समीक्षा अवधिमा आफ्नो व्यापार ११.७८ प्रतिशतले बढाएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आवको फागुनसम्ममा नेपाल लाइफले २९ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले २६ अर्ब ३० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । दोस्रो धेरै व्यवसाय गर्ने नेशनल लाइफ इन्स्यारेन्सले फागुनसम्म १३ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ११.८७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ११ अर्ब ५६ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । तेस्रोमा नेपाल लाइफ इन्स्यारेन्सको व्यवसाय गत आवको तुलनामा ८.४९ प्रतिशतले बढेर १२ अर्ब ५६ करोड ५ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीहरूको व्यवसाय ११ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । हिमालयन लाइफको व्यवसाय ०.३८ प्रतिशतले बढेको छ । सूर्यज्योति लाइफको १७.२९ प्रतिशत, एसियन लाइफको १०.४६ प्रतिशत र सिटिजन लाइफको २०.४३ प्रतिशतले बढेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय १४.३७ प्रतिशतले घटेको छ । फागुनसम्ममा ४ अर्ब ४७ करोड ९३ लाख व्यवसाय गर्दा गत आवको सोही अवधिमा कम्पनीले ५ अर्ब २३ करोड ७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो ।
रोहिङ्ग्या शरणार्थीका लागि करिब एक अर्ब डलर माग
जेनेभा । संयुक्त राष्ट्रसङ्घले बङ्गलादेशमा रहेका करिब १५ लाख रोहिङ्ग्या शरणार्थी र उनीहरूका लागि जीवनरक्षक सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घ र साझेदारले करिब एक अर्ब अमेरिकी डलर सहयोग माग गरिरहेको जनाएको छ। संयुक्त राष्ट्रसङ्घले र १०० भन्दा बढी साझेदारले रोहिङ्ग्या सङ्कटका लागि सन् २०२५–२६ को संयुक्त प्रतिकार्य योजना सुरु गर्न लागेको जनाएको छ । उक्त अपिलमा रोहिङ्ग्या शरणार्थी र ‘होस्ट’ समुदायसहित करिब १४ लाख ८० हजार मानिससम्म पुग्न पहिलो वर्ष ९३ करोड ४५ लाख अमेरिकी डलर माग गरिएको छ । सन् २०१७ मा छिमेकी मुलुक म्यानमारमा भएको सैन्य कारबाहीबाट भागेर आएका बङ्गलादेशका करिब १० लाख मुस्लिम र अधिकांश मुस्लिम अल्पसङ्ख्यक शरणार्थी राहत शिविरमा बस्दै आएका छन् । ‘आठौं वर्षमा पनि रोहिङ्ग्या मानवीय सङ्कट अन्तर्राष्ट्रिय चर्चाबाट धेरै हदसम्म बाहिर छ, तर आवश्यक छ,’ सोमबारको विज्ञप्तिमा भनिएको छ। खाद्य सहायता, खाना पकाउने इन्धन वा आधारभूत आवासमा कटौती लगायतका महत्वपूर्ण क्षेत्रमा कुनै पनि कोषको कमीले यस अति जोखिममा रहेको जनसंख्याका लागि गम्भीर परिणाम निम्त्याउने छ। यसले धेरैलाई सुरक्षाको खोजीमा खतरनाक डुङ्गा यात्रा गर्नेजस्ता हताश उपायहरू अपनाउन बाध्य पार्न सक्छ। संयुक्त राष्ट्रसङ्घले शिविरमा रहेका शरणार्थी जनसङ्ख्यामध्ये आधाभन्दा बढी महिला र किशोरी रहेको र उनीहरु लैङ्गिक हिंसा र शोषणको उच्च जोखिममा रहेको जनाएको छ । एक तिहाइ शरणार्थी १० देखि २४ वर्ष उमेर समूहका रहेको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, ‘औपचारिक शिक्षामा पहुँच, पर्याप्त सीप विकास र आत्मनिर्भरताका अवसरबिना उनीहरूको भविष्य धरापमा परेको छ ।’ ’म्यानमाको रखाइन राज्यमा स्थिति शान्तिपूर्ण र सुरक्षित र स्वेच्छिक रूपमा फर्कन अनुकूल नभएसम्म अन्तर्राष्ट्रिय समुदायले शिविरमा रहेका शरणार्थीहरूलाई जीवनरक्षाका लागि आर्थिक सहयोग जारी राख्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ। रासस
सबैभन्दा धेरै रक्सी पिउने देश मोल्दोवा, कुवेतमा भने खपत शून्य
तस्बिर : एआई (ग्रोक ) काठमाडौं । के तपाईंलाई थाहा छ- विश्वमा सबैभन्दा बढी रक्सी कुन देशहरूमा खपत हुन्छ ? यस सूचीमा शीर्ष १० देशहरूमध्ये ८ युरोपेली छन् भने सबैभन्दा कम खपत हुने देशहरूमा १० मध्ये ९ इस्लामी देशहरू छन् । एउटा देश त यस्तो पनि छ जहाँ कसैले रक्सी पिउँदैनन् । शुद्ध अल्कोहल खपतको हिसाबले युरोपेली देश मोल्दोवा विश्वमा पहिलो स्थानमा छ । २४.६ लाख जनसङ्ख्या भएको यस देशमा प्रत्येक व्यक्तिले वर्षमा औसतमा १५.२ लिटर रक्सी खपत गर्छन् । पूर्वी युरोपमा अवस्थित यो देश पहिले सोभियत सङ्घको हिस्सा थियो । यहाँको प्रति व्यक्ति जीडीपी ६ हजार ७२९.४१ अमेरिकी डलर छ । यस सूचीमा दोस्रो स्थानमा लिथुआनिया छ जहाँ प्रति व्यक्ति वार्षिक रक्सी खपत १५ लिटर छ । यसपछि चेक गणतन्त्र (१४.४ लिटर), सेसेल्स (१३.८ लिटर), जर्मनी (१३.४ लिटर), नाइजेरिया (१३.४ लिटर), आयरल्याण्ड (१३ लिटर), लाट्भिया (१२.९ लिटर), बुल्गेरिया (१२.७ लिटर), फ्रान्स (१२.६ लिटर), पोर्चुगल (१२.३ लिटर), बेल्जियम (१२.१ लिटर), रूस (११.७ लिटर), अस्ट्रिया (११.६ लिटर), इस्तोनिया (११.६ लिटर), पोल्याण्ड (११.६ लिटर) र स्विट्जरल्याण्ड (११.५ लिटर) छन् । कुवेत विश्वको एकमात्र देश हो जहाँ रक्सी खपत शून्य छ । साउदी अरबमा यो प्रति व्यक्ति ०.२ लिटर, पाकिस्तानमा ०.३ लिटर, इजिप्टमा ०.४ लिटर, नाइजरमा ०.५ लिटर, इन्डोनेसियामा ०.८ लिटर, इरानमा १ लिटर, टर्कीमा २ लिटर, सिङ्गापुरमा २.५ लिटर, यूएईमा ३.८ लिटर, इजरायलमा ३.८ लिटर, उत्तर कोरियामा ३.९ लिटर र भेनेजुएलामा ५.६ लिटर छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पाँचौं दीक्षान्त समारोह (तस्बिरहरू)
काठमाडौं । सोमबार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पाँचौं दीक्षान्त समारोह सम्पन्न भएको छ ।
महाकाली नदीबाट सिँचाइका लागि पानी तान्दै स्थानीय सरकार
फाइल फाेटाे काठमाडौं । बैतडीमा महाकाली नदीबाट पानी तानेर सिँचाइ सुविधा पुर्याइने भएको छ । पञ्चेश्वर गाउँपालिकाले महाकाली नदीको पानी तानेर एक हजार दुई सय रोपनी जग्गामा पुर्याउन लागेको हो । यसका लागि विस्तृत कार्ययोजना (डीपीआर) तयार भइरहेको गाउँपालिकाका प्रवक्ता जनकबहादुर चन्दले बताए । उनका अनुसार गाउँपालिकाको वडा नं ४ विनायक गाउँ महाकाली नदीको छेउमै रहेको भए पनि खेतीपातीका लागि आकासे पानीको भर पर्नुपर्ने समस्या छ । अध्यक्ष चन्दले भने, ‘विनायक गाउँमा राम्रो खेतीपाती हुन्छ । सिँचाइको सुविधा नहुँदा जग्गा बाँझै छ । हुन त महाकालीको छेउमै हो तर भएपनि त्यो पानी गाउँसम्म पुग्दैन । खेतीपातीका लागि आकाशकै भर पर्नुपर्ने अवस्था छ ।’ उनले नदीबाट पानी तान्नका लागि प्रारम्भिक अनुमान ३७५ मिटर उचाइको दुरी रहेको बताए । यसका लागि १० हर्सपावरको विद्युत जडान गरेर ५५ हजार घनमिटरका दुईवटा ट्याङ्की निर्माण गरिने जनाइएको छ । यसमा चार इन्चको मोटो पाइप जडान गरेर खेतमा पानी पुर्याउने बताइएको छ । उक्त आयोजनाका लागि ३० लाखभन्दा बढी रुपैयाँ खर्च हुने प्रवक्ता चन्दले बताए । उनका अनुसार यो आयोजनालाई चाँडै अघि बढाउने तयारीमा गाउँपालिका छ ।