विकासन्युज

एसईई परीक्षामा ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसईई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ प्रयोग भएको पुष्टि भएको हो । सुनसरी सदरमुकाम इनरुवा– ९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसईई परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’मार्फत चिट चोर्न सहयोग गर्ने गार्ड रङ्गेहात पक्राउ परेका छन् । परीक्षा केन्द्रबाट ‘ह्वाट्सएप’को प्रयोग गरी चिट चोराउने कार्यमा संलग्न दुई जना गार्डलाई पक्राउ गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । परीक्षा केन्द्र अनुगमनमा पुगेको प्रजिअसहितको टोलीलाई देखेर परीक्षा गार्ड (शिक्षक)ले मोबाइल अफ गरेका थिए । उनीहरूको मोबाइल जाँच गर्दा परीक्षा केन्द्रमा खटाइएका प्रावि शिक्षकको साथमा रहेको मोबाइलबाट चिट चोर्न र चोराउन ह्वाट्सएपमार्फत च्याट गरिएको भेटिएको थियो । ह्वाटस्एपमा कुराकानी गर्दै विद्यार्थीको नाम, सिम्बल नम्बर र बोर्डिङ स्कुलको नामसहित विद्यार्थी संख्या के कति भन्नेबारे च्याट गरिएको पाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । पक्राउ परेका शिक्षक श्रवणकुमार चौधरी र रमानन्द मेहतालाई परीक्षा गार्डबाट निष्कासन गरेको उनले बताए । त्यसैगरी, अनुगमनका क्रममा इनरुवा– १ स्थित भगवती मावि परीक्षा केन्द्रबाट तीन जना निरीक्षकलाई नियन्त्रणमा लिएको प्रजिअ मिश्रले बताए । भगवती मावि परीक्षा केन्द्रबाट इनरुवा–५ का मुकेन्द्र यादव, रमानन्द यादव र दिनेशप्रसाद यादवलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको तिम्सिनाले बताए । यसैबीच परीक्षा केन्द्रमा मोबाइल प्रवेशको विषयलाई लिएर सुनसरी प्रशासनले चेकजाँचमा कडाइ गर्न निर्देशन दिएको छ । सुनसरीको दुहवीबाट अघिल्लो दिन प्रजिअले विद्यार्थीबाट जनही १० हजार रकम लिने दुई गार्डलाई निष्कासन गरिएको थियो । परीक्षा मर्यादित बनाउँदै चिट चोर्ने र चोराउने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी परीक्षा केन्द्र लक्षित अनुगमन टोली परिचालन गरिएको सुनसरीका प्रजिअ मिश्रले बताए । निरीक्षकले ‘ह्वाट्सएप ग्रुप’ बनाएर भित्रको प्रश्नपत्र बाहिर पठाएर बाहिरबाट सबै प्रश्नको उत्तर लेखेर पठाउने र विद्यार्थीलाई सिकाउने गरेको पाइएको हो । यसअघि गत बिहीबार मात्रै सुनसरीकै दुहबीको सरस्वती माध्यमिक विद्यालय र गढीको सरस्वती माध्यमिक विद्यालयबाट दुई/दुई जना निरीक्षकलाई निष्कासन गरिएको थियो । सुनसरीका प्रजिअ मिश्र नेतृत्व टोलीले अनधिकृत गतिविधि गरेको र विषय शिक्षक राखेको भेटिएपछि निष्कासन गरिएको थियो । दुवै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आगामी दिनमा त्रुटि नगर्न सचेतसमेत गरिएको उनले बताए । परीक्षालाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आवश्यक सकुर्लर गरिएको उनले बताए । सुनसरीमा खासगरी निजी विद्यालयका सञ्चालकको आर्थिक प्रलोभनमा निरीक्षक फस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । निजी विद्यालयका सञ्चालकले विद्यालयलाई उत्कृष्ट देखाउनका लागि परीक्षा केन्द्रदेखि निरीक्षक राख्नेसम्मको कार्यमा आर्थिक चलखेल गर्ने गरेका कारणले निरीक्षक फ्स्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्लाका ५० परीक्षा केन्द्रमा १३ हजार ५७३ परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समनव्य एकाइ प्रमुख खगेन्द्र सुवेदीले जानकारी दिए । रासस

बिहान सीईओ नियुक्ति, दिउँसो राष्ट्र बैंकको निर्देशन, ४ बजे खारेज

काठमाडौं । गोर्खाज फाइनान्सको सञ्चालक समितिको बैठक चैत १० गते बिहान साढे दश बजे बस्यो । बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र इवाहाङलाई नियुक्त गर्ने निर्णय गर्‍यो । त्यसपश्तात इवाहाङलाई सीईओमा नियुक्ति गरेको जानकारी कम्पनीले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड लगायतका नियामकलाई पत्रमार्फत गर्‍यो । फेरि सोही दिन ४ बजे कम्पनी सञ्चालक समितिको अर्काे बैठक बस्यो । उक्त बैठकले सीईओमा नियुक्त भएका इवाहाङको नियुक्तिलाई खारेजी गर्ने निर्णय गर्‍यो । नेपाल राष्ट्र बैंकको निर्देशनमा फाइनान्सको सञ्चालक समिति बैठकले सीईओ इवाहाङको नियुक्ति खारेजको निर्णय गरेको कम्पनी सचिव दीपक न्यौपानले बताए । फाइनान्सको गत पुष १४ गते बसेको सञ्चालक समिति बैठकले सीईओमा प्रकाशचन्द्र अधिकारीलाई नियुक्त गरेको थियो । तर अधिकारीले आफूलाई सीईओमा नियुक्त गर्दा सञ्चालक समितिको सर्वसम्मतबाट निर्णय नभएकोले कार्य गर्न असमर्थ रहेको भन्दै निवेदन दिएका थिए । त्यसपश्चात उनको नियुक्ति रद्द गरिएको थियो । राष्ट्र बैंकले सीईओ नियुक्तिसम्बन्धी प्रक्रिया अध्ययन गरेपछि अधिकारीले संस्थामा कार्य गर्न असमर्थ रहेको पत्र दिएका थिए । त्यसपछि सञ्चालक समितिको चैत ६ गते बसेको बैठकले अधिकारीको सीईओ पदमा नियुक्ति गरिएको यसअघिको निर्णय खारेज गरेको न्यौपानेले जानकारी दिए । अधिकारीको नियुक्ति खारेजपछि रिक्त रहेको सीईओ पदमा सञ्चालक समितिले इवाहाङलाई चैत ११ गतेबाट लागू हुने गरी ४ वर्षको लागि नियुक्त गरेको थियो । तर, पुस २४ गते र पुस २५ गते गरेको विशेष निरीक्षणमा कैफियत देखिएपछि सीईओ नियुक्तिसम्बन्धी हालसम्म भए गरेका सम्पूर्ण कार्यहरू रद्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको कम्पनी सचिव न्यौपानले जानकारी दिए । तर, राष्ट्र बैंकले गरेको निरीक्षणको प्रतिवेदनमा के कस्ता कैफियत छन् भन्नेबारे आफूलाई जानकारी नभएको न्यौपानले बताए । ‘सञ्चालक समितिको बैठक बिहान साढे १० बजे बसेर सीईओ नियुक्ति गरियो । तर, निरीक्षणको आधारमा कैफियत देखिएपछि सीईओ नियुक्तिसम्बन्धि हालसम्म भएका कार्य रद्द गर्न भनेर राष्ट्र बैंकले दिउसो पत्र पठायो । कार्यान्वयन गर्दाखेरी भाषामा सम्पूर्ण प्रक्रिया रद्द गर्नु भनेपछि खारेज गरिएको हो,’ न्यौपानेले भने, ‘सीईओ नियुक्तिसम्बन्धि सम्पूर्ण प्रक्रिया रद्द गर्न भनेर राष्ट्र बैंकबाट चिठी आएपछि रद्द गरेको हो ।’ उनका अनुसार प्रकाशचन्द्र अधिकारीलाई सीईओमा नियुक्ति गर्दा उजुरी परेपछि राष्ट्र बैंकले निरीक्षण गरेको हो ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ अध्यक्षमा वेणुगोपाल रंगनाथन नियुक्त

फाइल तस्बिर । काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको अध्यक्ष पदमा वेणुगोपाल रंगनाथनलाई नियुक्त भएका छन् । ४६९औं सञ्चालक समितिको बैठकले २०२५ मार्च २१ देखि लागू हुने गरी बैंकको अध्यक्ष पदमा वेणुगोपाल रंगनाथन नियुक्त भएका हुन् । आइतबार कार्यवाहक गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले रंगनाथनलाई शपथ खुवाइन् । वेणुगोपाल २००७ को जुनदेखि स्ट्यान्डर्ड चार्टर्डसँग आवद्ध रहँदै आएका छन् । उनले मुख्य रूपमा कर्पोरेट र इन्भेस्टमेन्ट बैंकिङ (सीआईबी) का लागि जोखिम व्यवस्थापन कार्यमा विभिन्न वरिष्ठ भूमिकाहरूमा काम गरिसकेका छन् । हाल उनी भारत र दक्षिण एसिया क्लस्टर (जसमा बंगलादेश, श्रीलंका र नेपाल समावेश छन्) का लागि प्रमुख जोखिम अधिकृत (सीआरओ) हुन् । ३२ वर्षभन्दा बढी समयको बैंकिङ अनुभव रहेको वेणुगोपालले विभिन्न भौगोलिक क्षेत्रहरू र व्यावसायिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । उनी चार्टर्ड एकाउन्टेन्टसमेत हुन् ।

३० अंकले बढ्यो सेयर बजार, २१० कम्पनीको मूल्य बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । लागातार घटिरहेको सेयर बजार ६ वटा कारोबार पछि आज बढेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.५२ अंकले बढेर २६४५.२० बिन्दुमा पुगेको छ । आज २१० कम्पनीको मूल्य बढ्दा ३३ कम्पनीको मूल्य घटेको छ । सोमबार ३२६ कम्पनीको ९७ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ३२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सीइडीबी होल्डीङसको १५ करोड, नेपाल रिइन्स्योरेन्सको १२ करोड, गर्डियन माइक्रोलाइफको १२ करोड र सिन्धु विकास बैंकको ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ । सोमबार कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । फाइनान्स सबैभन्दा धेरै ३.७५ प्रतिशतले बढेकाे छ । बैंकिङ ०.९२, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर १.००, लगानी ०.९५, जीवन बीमा १.६४, उत्पादन ०.८०, माइक्रोफाइनान्स ०.९०, निर्जीवन बीमा ०.६१, अन्य १.९१ तथा व्यापार १.५५ प्रतिशतले बढेकाे छ । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ९.२९ प्रतिशतले बढेकाे छ । पोखरा फाइनान्सको ७.४७, समृद्धि फाइनान्सको ६.३०, स्वेतगंगा हाइड्रोपावरको ५.६४ तथा रिलायन्स फाइनान्सको ५.२२  प्रतिशतले बढेकाे छ । यस्तै, अपरहेवाखोला हाइड्रोपावरको ४.९२, नारायणी डेभलपमेन्ट बैंकको ४.०५ तथा युनाइटेड मोदी हाइड्रोको २.९ प्रतिशतले सेयर मूल्य घटेकाे छ ।

प्रथम राष्ट्रिय पानी सम्मेलनः नौबुँदे काठमाडौं घोषणापत्र जारी

काठमाडौँ, ११ चैतः जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्व तथा राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको आयोजनामा प्रथम राष्ट्रिय पानी सम्मेलन सम्पन्न भएको छ । नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह–२०८१ लाई सार्थक बनाउने उद्देश्यका साथ शनिबारदेखि सुरु भएको उक्त सम्मेलन नौबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै आइतबार साँझ सम्पन्न भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यतामा दुई दिनसम्म चलेको सम्मेलनले तीन तहका सरकार बीचको समन्वय र सहकार्य, विकास साझेदार संस्था, सामुदायिक संस्थालगायत अन्य सरोकारवाला समेतको संलग्नतामा एकीकृत नदी वेसिन योजनाअनुसार जल सुशासन हुने गरी जलस्रोतको दिगो उपयोग, संरक्षण, व्यवस्थापन र नियमन गर्ने प्रतिबद्धता जनाएको छ । सम्मेलनले पानीको प्रयोग तथा संरक्षणसँग सम्बन्धित नीतिगत एवं कानुनी व्यवस्थामा पानीको समुचित उपयोग तथा संरक्षण सम्बन्धमा सरोकारवाला सरकारी तथा गैरसरकारी संस्थाको सबलीकरण, संस्थागत क्षमता विकास, प्रदेश सरकार र स्थानीय तहले आफ्ना नीति तथा कानुनको तर्जुमा गर्दा तीन तहबीच कानुनी सामञ्जस्यता कायम गर्ने र सबै तहका सरकारहरुले यस क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यसैगरी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहकार्यमार्फत जलस्रोतको विकास गरी सामाजिक र आर्थिक रूपान्तरणमा टेवा पुग्ने गरी सहकार्यको नीति अवलम्बन गर्ने, प्राकृतिक विपद् व्यस्थापनका लागि पूर्वतयारी योजना बनाई प्रभावकारी कार्यान्वयन गर्ने, जलवायु परिवर्तनका कारणले पारेको प्रभावलाई न्यूनीकरण गर्न नवीनतम् प्रविधिको अवलम्बन एवं जलवायु उत्थानशील कार्ययोजनामार्फत पानीको समुचित उपयोग तथा संरक्षण गर्दै खानेपानी, सिँचाइ, जलविद्युत्लगायतका जलस्रोतका क्षेत्रमा दिगो संरचना विकास र सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । पानी सम्मेलनले जलस्रोतको क्षेत्रमा अध्ययन तथा अनुसन्धानको विस्तार गर्नका साथै पानीको समुचित उपयोग तथा संरक्षणका लागि रैथाने ज्ञान, सीप एवं प्रविधिलाई समेत समावेश गरी उपलब्ध ज्ञान तथा तथ्याङ्कको वैज्ञानिक अभिलेखीकरण, विश्लेषण तथा प्रयोग अभिवृद्धि गर्न एकीकृत सूचना प्रणाली निर्माण एवं सुदृढीकरण गरी दीर्घकालीन एकीकृत योजना तर्जुमा गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यसैगरी, जलस्रोतसँग सम्बन्धित सबै सरोकारवालाले जलस्रोतको उपयोग तथा व्यवस्थापनका लागि साझा मञ्चको विकास गरी समुदायको नेतृत्व सबलीकरण र क्षमता विकासका साथै असल अभ्यासको निरन्तरता र विस्तारका लागि काम गर्ने बताइएको छ । जलवायु  परिवर्तनबाट उत्पन्न हुने क्षति तथा नोक्सानीको परिपूर्ति गर्न हरित जलवायु कोषबाट प्राप्त हुन सक्ने स्रोत र साधनलाई जलस्रोत क्षेत्रमा उच्चतम उपयोग गर्ने सम्मेलनले प्रतिबद्धता जनाएको छ । नेपालको समृद्धि जलविद्युत्, कृषि, सिँचाइ, पर्यटन र खानेपानीलगायतका क्षेत्रमा जलस्रोतको प्रभावकारी उपयोग गर्दै आर्थिक रूपान्तरण, औद्योगिक विकास, रोजगारी सिर्जना गर्ने र क्षेत्रीय व्यापारलाई सक्षम बनाउने आधार तयार गरी दिगो विकासमार्फत समृद्धि हासिल गर्न पहल गर्ने बताइएको छ । यसैगरी, सरोकारवालासँगको समन्वय र सहकार्यमा जल तथा ऊर्जा आयोगले नेतृत्वदायी भूमिका निर्वाह गरी एकीकृत जलस्रोत व्यवस्थापन, बहुउपयोग, संरक्षण तथा नियमन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । वातावरणीय सन्तुलन कायम राख्न, प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन गर्न, तथा जलस्रोतको उचित उपयोग र संरक्षण गर्न एवं जलस्रोतमा प्रदूषण हुन नदिन प्रतिबद्ध रहँदै आगामी वर्षमा पनि यस्ता सम्मेलनलाई निरन्तरता दिने आयोगका सचिव मधुप्रसाद भेटुवालले जानकारी दिए ।

बिरालो मार्ने व्यक्तिविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । बङ्गलादेशको राजधानी ढाकाको एक अदालतले बिरालोको मृत्युको विषयमा दायर गरिएको मुद्दामा एक व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । फेब्रुअरी १ मा बिरालो मारेको आरोपमा पक्राउ पुर्जी जारी गरेका अकबर हुसेन शिब्लुविरुद्ध लगाइएका आरोपहरूको सुनुवाइ गर्दै ढाका महानगरीय मजिस्ट्रेट जीएम फरहान इश्तियाकले आइतबार यो आदेश दिए । फेब्रुअरी ५ मा, बङ्गलादेशको पिपुल फर एनिमल वेलफेयर फाउन्डेसनको तर्फबाट नफिसा नौरिन चौधरीले मुद्दा दायर गरे । मुद्दाको बयानमा नफिसाले बिरालो फेब्रुअरी १ मा हराएको बताए । यसपछि सीसीटीभी फुटेजमा शिब्लुले बिरालोलाई लात हानेर मारेको देखिन्छ ।

हिमाल खुलेसँगै अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल

गण्डकी । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्री पर्यटकको चहलपहल बढ्न थालेको छ । यस क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ । ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले गत सातादेखि पर्यटकको आउजाउ बढेको बताए । ‘मौसम सफा छ, हिमाल खुलेको छ, पर्यटन क्षेत्र चलायमान बनेको छ,’ उनले भने, ‘शरद ऋतुपछि यो याममा धेरै पर्यटक नेपाल भित्रन्छन् ।’ अध्यक्ष आचार्यका अनुसार पदयात्रामा विदेशी पर्यटकसँगै पछिल्लो समय आन्तरिक पर्यटकको पनि आकर्षण बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानी, कास्कीको खुमै डाँडा, कोरी आदि पदयात्री पर्यटकको रोजाइमा पर्ने गन्तव्यस्थल हुन् । अन्नपूर्ण चक्रीय पदमार्ग पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्यस्थल रहेको अध्यक्ष आचार्यले बताए । गत वर्ष पोखरालाई पर्यटनको राजधानी सहरका रूपमा घोषणा गरेपछि यस क्षेत्रमा पर्यटकको आकर्षण थप बढेको उनको भनाइ छ । पोखरा जोड्ने मुख्य सडकमार्ग र अन्तरर्राष्ट्रिय हवाईयात्रालाई नियमित तथा व्यवस्थित बनाउन सके उल्लेख्य सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने उनले बताए । अध्यक्ष आचार्यले कतिपय पुराना र स्थापित पदमार्ग सडकका कारण सङ्कटमा परेकाले तिनको विकल्प खोज्नुपर्ने बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका थिए । जसमा दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका थिए । उक्त सङ्ख्या हालसम्मकै बढी रहेको आयोजना प्रमुख डा. रविन कडरियाले बताउनुभयो । त्यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए । सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड–१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्षअर्थात् सन् २०२२ मा जम्मा एक लाख २९ हजार सात सय ३३ पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । गत वर्षदेखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको ‘एक्याप’का प्रमुख डा कडरियाले बताए । उनका अनुसार ‘एक्याप’ ले पदयात्रा र सडकमार्ग भएर सो क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको तथ्याङ्क राख्दै आएको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँको प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द लिन पर्यटक पदयात्रामा जाने गरेका छन् । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण क्षेत्र पदयात्राका लागि उत्कृष्ट मानिन्छ ।

अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी

दाङ । गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सो उद्योगमा लागेको आगो हालसम्म पनि नियन्त्रणमा आउन नसकेको हो । अझैसम्म पनि उद्योगमा लागेको आगलागी पूर्ण नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए । उनका अनुसार हाल सात वटा दमकलले आगो निभाइरहेका छन् । दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रुपन्देहीबाट एउटा दमकल ल्याएर आगो निभाउने क्रम जारी छ । प्लाई बनाउन प्रयोग हुने धेरै सामग्री भएकाले आगो निभाउन ढिलाइ भएको प्रजिअ लम्सालको भनाइ छ । ‘प्लाईका धेरै सामग्री छन्, आगो बलिरहेको छ’, उनले भने, ‘निभाउन अझै समय लाग्ने देखिन्छ ।’ आसपासमा बस्ती भए पनि त्यो बस्तीका लागि जोखिम भने टरेको प्रजिअ लम्सालले बताए । आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ । यद्यपी अझै पनि क्षतिको विवरण आइपुगेको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित सुरक्षा निकाय, स्थानीयलगायतले आगो नियन्त्रण गरिरहेका छन् ।