ग्लोबल मनी वीकको अवसरमा सिन्धु विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले आफ्नो वार्षिक कार्ययोजना तथा ग्लोबल मनी वीकको अवसरमा को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम बैंकका बनेपा शाखा र नारायणगढ शाखाको आयोजनामा चैत १० गते सम्पन्न भएको हो । बनेपास्थित श्री संकल्प क्याम्पसमा आयोजित कार्यक्रममा स्नातक तहका ६५ जना विद्यार्थी सहभागी भएका थिए । यस्तै, नारायणगढको श्री बालकुमारी कलेजमा आयोजित कार्यक्रममा कक्षा ११ र १२ का ७० जना विद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकका प्रतिनिधिहरूले बचत, कर्जा, लगानी, बजेट व्यवस्थापन, खर्च नियमन, वित्तीय सेवा लगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी गराएका थिए । साथै, डिजिटल बैंकिङ प्रणालीको प्रयोग, साइबर सुरक्षा, र डिजिटल लेनदेनसँग सम्बन्धित चुनौती र सावधानीका विषयमा पनि विस्तृत जानकारी प्रदान गरिएको थियो । बैंकले यस कार्यक्रमलाई विद्यार्थीहरूको वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको जनाएको छ । यस्ता कार्यक्रमले भविष्यका जिम्मेवार नागरिक निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
ग्लोबल मनी विकमा नबिल बैंकले गर्यो देशव्यापी कार्यक्रम, चार हजार बढी लाभान्वित
काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक, २०२५’को अवसरमा सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम सञ्चालन गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले विद्यार्थी र युवा केन्द्रित कार्यक्रम सञ्चालन गरी यस वर्ष पनि ‘ग्लोबल मनी विक, २०२५’मनाएको हो । यही मार्च १७ देखि २३ तारिखसम्म विश्वभर ‘थिङ्क बिफोर यु फलो, वाइज मनी टुमारो’ भन्ने मूल नाराका साथ ग्लोबल मनी विक सञ्चालन गरिएको थियो । यस अभियानअन्तर्गत नबिल बैंकले देशका सातै प्रदेशमा चार हजारभन्दा बढी विद्यार्थी र युवामाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको हो । बैंकले विद्यार्थी तथा युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउन तथा फाइनान्सियल इन्फ्लुएन्सर्सको लहलहैमा लागेर लगानी गर्न नहुनेबारे जानकारी दिन वित्तीय साक्षरता अभियान सञ्चालन गरेको थियो । सातै प्रदेशमा सञ्चालन गरिएको कार्यक्रममा बचत, बजेट, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षालगायतका विषयमा जानकारी गराइएको बैंकले जनाएको छ । बैंकले सञ्चालन गरेको उक्त अभियानबाट कोशी प्रदेशका७४४, मधेश प्रदेशका एक हजार ६३, बागमती प्रदेशका ४४१, गण्डकी प्रदेशका ४३४, लुम्बिनी प्रदेशका ५०६, कर्णाली प्रदेशका ४०५ र सुदूरपश्चिम प्रदेशका ४०७ विद्यार्थी तथा युवाहरु वित्तीय साक्षरता कक्षामा सहभागी भई लाभान्वित भएका बैंकले जानकारी दिएको छ । नबिल बैंक लिमिटेडले वित्तीय साक्षरताविस्तार तथा डिजिटल बैंकिङलाई अभिप्रेरित गर्ने उद्देश्यले वर्षभर नै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै सामाजिक उद्यमशीलता विकासका लागि बैंकले ‘नबिल एसएसई’लगायतका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ । युवा तथा विद्यार्थीलाई लक्षित गरी सहुलियत ब्याजदरमा शैक्षिक कर्जा, युवा उद्यमशील कर्जा पनि प्रवाह गरिरहेको छ ।
एभरेष्ट बैंकद्वारा ग्लोबल मनी वीक अन्तर्गत वित्तीय साक्षरता अभियान सम्पन्न
काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२५ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। चैत ४ गतेदेखि एक साता लामो अभियान अन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न विद्यालय तथा क्याम्पसमा वित्तीय सचेतना कार्यक्रमहरू सञ्चालन गरेको हो । बैंकले वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरेको यस अभियानबाट करिब ३,००० भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । कार्यक्रम अन्तर्गत बैंकका शाखाहरूले विद्यार्थीहरूलाई वित्तीय प्रणाली, डिजिटल कारोबारको सुरक्षित प्रयोग, बैंकिङ सेवाहरूको सदुपयोग तथा वित्तीय समावेशीकरणका विषयमा जानकारी प्रदान गरेका थिए । साथै, केही विद्यार्थीहरूलाई बैंकका शाखाहरू अवलोकन गराउँदै वित्तीय कारोबारबारे प्रत्यक्ष सिक्ने अवसरसमेत दिइएको थियो । ‘थिङ्क बिफोर यू फलो, वाइज मनि टुमरो’ नारासहित सञ्चालित कार्यक्रममा युवाहरूलाई वित्तीय योजनासम्बन्धी सचेत गराउनुका साथै उनीहरूको वित्तीय क्षमतामा सुधार ल्याउने उद्देश्य राखिएको बैंकले जनाएको छ ।
पिँडालु प्रतिकिलो ८० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको थोक मूल्य
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३०, आलु रातो प्रतिकिलो ३५, आलु रातो (मुढे) प्रतिकिलो ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो ५५, गाजर (लोकल) प्रतिकिलो ५०, गाजर (तराई) प्रतिकिलो ३५, बन्दा (लोकल) प्रतिकिलो १५, बन्दा (तराई) प्रतिकिलो १५, बन्दा (नरिवल) प्रतिकिलो २०, काउली (स्थानीय) प्रतिकिलो ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो ४०, मूला रातो प्रतिकिलो ५०, मूला सेतो (लोकल) प्रतिकिलो १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५, भन्टा लाम्चो प्रतिकिलो ३५ तथा भन्टा डल्लो प्रतिकिलो ५०, तने बोडीको मूल्य प्रतिकिलो १२० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो ५०, घिउ सिमी (लोकल) प्रतिकिलो ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, टाटे सिमी प्रतिकिलो ७०, तितो करेला प्रतिकिलो १२०, लौका प्रतिकिलो ६०, परबर (लोकल) प्रतिकिलो ८०, परबर (तराई) प्रतिकिलो ८०, घिरौला प्रतिकिलो ६०, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३५, सलगम प्रतिकिलो ६० तथा भिण्डी प्रतिकिलो १२० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ४०, पिँडालु प्रतिकिलो ८०, स्कूस प्रतिकिलो ४०, रायो साग प्रतिकिलो ६०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग ७०, तोरीको साग प्रतिकिलो ४०, मेथीको साग प्रतिकिलो ७०, प्याज हरियो प्रतिकिलो ५०, बकुला प्रतिकिलो ६०, तरुल प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो १८०, च्याउ (डल्ले) प्रतिकिलो ३५० तथा कुरिलो प्रतिकिलो ७०० निर्धारण गरिएको छ । निगुरो प्रतिकेजी १२०, ब्रोकाउली प्रतिकिलो ५०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो २००, कोइरालो प्रतिकिलो १७०, रातो बन्दा प्रतिकिलो ६०, जिरीको साग प्रतिकिलो ६०, ग्याठकोभी प्रतिकिलो ६०, सेलरी प्रतिकिलो १५०, पार्सले प्रतिकिलो ३००, सौफको साग प्रतिकिलो ६०, पुदिना प्रतिकिलो ३००, गान्टे मूला प्रतिकिलो ६०, इमली प्रतिकिलो १६०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १२० र गुन्द्रुकको मूल्य प्रतिकिलो ३५० तोकेको छ । समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फूजी) प्रतिकिलो ३५०, केरा (दर्जन) १६०, कागती प्रतिकिलो २७०, अनार प्रतिकिलो ३५०, अङ्गुर (हरियो) प्रतिकिलो २००, अङ्गुर (कालो) प्रतिकिलो २५०, सुन्तला (भारतीय) प्रतिकिलो १३०, तरबुजा हरियो प्रतिकिलो ८०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो १८०, भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) प्रतिकिलो ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४०, रुख कटहर प्रतिकिलो १००, निबुवा प्रतिकिलो ६०, नासपाती (चाइनिज) प्रतिकिलो २६०, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो १२०, अम्बा प्रतिकिलो १२०, लप्सी प्रतिकिलो १३०, स्ट्रबेरी (भुइँऐसेलु) २५०, किबी प्रतिकिलो ४५० तथा आभोकाडो प्रतिकिलो ६५०, अमलाको मूल्य प्रतिकिलो ९० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो १२०, खुर्सानी सुकेको प्रतिकिलो ४००, खुर्सानी हरियो प्रतिकिलो ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो ७०, सुर्खानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो १००, लसुन हरियो प्रतिकिलो ६०, हरियो धनिया प्रतिकिलो १००, लसुन सुकेको चाइनिज प्रतिकिलो ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो ३००, छ्यापी सुकेको प्रतिकिलो १६०, छ्यापी हरियो प्रतिकिलो ६०, ताजा माछा (रहु) प्रतिकिलो ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो २६०, ताजा माछा (छडी) प्रतिकिलो २४०, रुख टमाटर प्रतिकिलो १७०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो ८०० तोकेको छ ।
१३ करोडमा ठेक्का लगाउँदै त्रिभुवन विमानस्थलको पार्किङ्ग, एउटै सवारीबाट ९ सय रुपैयाँसम्म शुल्क
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ्ग क्षेत्र झण्डै १३ करोड रुपैयाँ भाडामा ठेक्का दिइने भएको छ । सवारी पार्किङ्ग शुल्क असुल गर्ने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अपरेशन एयरलाईन्स भवन अगाडी तथा आन्तरिक टर्मिनल भवन अगाडीको क्षेत्र भाडामा दिने भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरले तोकिएको ७७५५.४ वर्गमिटर क्षेत्रफल रहेको पाकिङ्ग क्षेत्रमा सवारी साधन विशान सेवा शुल्क उठाउन ठेक्कामा भाडामा दिन लागिएको जनाएको छ । कार्यालयका अनुसार सवारी साधन विसान शुल्क उठाउने सेवा सञ्चालनको ठेक्का अवधि ३ वर्षको हुनेछ । साथै, कार्यालयले ३ वर्षको लागि न्यूनतम १२ करोड ९८ लाख १६ हजार रुपैयाँमा सो क्षेत्र भाडामा ठेक्का लगाउने भएको हो । उक्त क्षेत्रमा पार्किङ्ग सेवा शुल्क उठाउन इच्छुक व्यक्ति तथा कम्पनीले चैत १९ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । साथै, बोलपत्र पेस गर्दा आफूले कबोल गरेको बहाल रकमको ५ प्रतिशत रकम कार्यालयको बैंक खातामा जम्मा गर्नुपर्नेछ । बोलपत्र फाराम खरिद शुल्क भने ११ हजार ३ सय रुपैयाँ तोकिएको छ । कार्यालयका अनुसार पार्किङ्ग क्षेत्र भाडामा लिइसकेपछि मोटरसाईकल, स्कुटर, रिक्साको प्रतिघण्टा ४० रुपैयाँ र प्रतिदिन २४० रुपैयाँ शुल्क उठाउनुपर्नेछ । यस्तै, कार, जिप, लिमोजिन, टेम्पोको प्रतिघण्टा ८० रुपैयाँ र प्रतिदिन ४८० रुपैयाँ शुल्क तोकिएको छ । यस्तै, हल्का सवारी साधन मिनिबस, माइक्रोबसको प्रतिघण्टा १ सय रुपैयाँ तोकिएको छ भने प्रतिदिन ६ सय रुपैयाँ तोािकएको छ । बस ट्रक (गह्रौं सवारी साधन)को प्रतिघण्टा १५० रुपैयाँ र प्रतिदिन ९ सय रुपैयाँ पार्किङ्ग शुल्क असुल गर्न पाउनेछ । एम्बुलेन्स बाहक यात्रु, सववाहन जस्ता आपतकालीन उद्धारमा प्रयोगमा हुने सवारी साधनहरु डिप्लोमेटिक यूएन एजेन्सी र प्राधिकरण र प्राधिकरणमा कार्यरत कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधनबाट शुल्क उठाउन पाईने छैन । नियमित रूपमा विसान गर्ने सवारी साधनको एकमुष्ठ मासिक दरले अग्रिम बुझाउनेलाई ३० दिनको लागि लाग्ने दस्तुरको दुई तिहाईले हुन आउने रकम मात्र लाग्ने छ ।
वीरगञ्जबाट बाहिरियो ५३ अर्ब २६ करोडका वस्तु, भटमासको तेल निर्यात बढ्यो
काठमाडौं । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको ८ महिनामा ५३ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो १७२.०१ प्रतिशतले बढी हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा भटमासको तेल निर्यात बढेको छ । बितेका ८ महिनामा २८ अर्ब १९ करोड रुपैयाँ मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार १४२ लिटर भटमासको तेल निर्यात भएको हो । यसैगरी, ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको जुस र ३ अर्ब ६८ करोड रुपैयाँ मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको छ ।
कुमारी र सिटिजन्स बैंकको सेयर बिक्रीमा, मूल्य १ सयदेखि १२० रुपैयाँ
काठमाडौं । कुमारी बैंक र सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कुमारी र सिटिजन्स बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् । कुमारी बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १६ लाख २० हजार ३६४ कित्ता सेयर बिक्रीमा राखेका छन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक सेयरधनीहरूले ३५ दिनभित्र बोलपत्र आवेदन पेस गर्नुपर्ने छ । यदि उक्त अवधिभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताहरूका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल रहेको छ । यस्तै, सिटिजन्स बैंकका संस्थापक सेयरधनीहरूले ३ लाख १८ हजार ८७३ कित्ता सेयर बिक्रीमा राखेका छन् । बैंकका अनुसार संस्थापक सेयरधनी यदुनाथ घिमिरेले ५४ हजार ८११.५७ कित्ता सेयर र रोशन श्रेष्ठले २ लाख ६४ हजार ६१.५८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । घिमिरेको सेयरको मूल्य १२० रुपैयाँ तोकिएको छ भन श्रेष्ठको सेयर मूल्य १ सय रुपैयाँ तोकिएको छ । बैंकको उक्त सेयर खरिदका लागि जोकोही लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
ऋणीहरू इमानदार नहुँदा बैंक सङ्कटमा परे, कर्जा दिँदा मनोविज्ञान बुझ्नुपर्छः शङ्कर पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले नयाँ पुस्तालाई कृषि उत्पादनमा जोड्दै अर्थतन्त्रलाई सबल बनाउनुपर्ने बताएका छन् । कृषि विकास बैंक कर्मचारी सङ्घ नेपालको १०औँ केन्द्रीय परिषद्को सोमबार पोखरामा उद्घाटन गर्दै उनले युवा विदेश पलायनबाट रोक्न कृषिलाई केन्द्रबिन्दुमा राखेर सँग कृषिको व्यवसायीकरण गर्न बैंकले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । महासचिव पोखरेलले पराम्परागत कृषि पद्धतिलाई परिवर्तन गरी वैज्ञानिक कृषि प्रणाली अवलम्बन गर्न जरुरी रहेको भन्दै बैंकले पनि आफ्नो प्राथमिकता बुझ्न आवश्यक रहेको बताए । कृषि विकास बैंकले पछिल्लो समय आफूलाई सुधार गर्दै लगेकामा प्रशंसा गर्दै उनले बचतकर्ताको संरक्षण गर्ने दायित्व नबिर्सन आग्रह गरे । ‘ऋणीहरू इमानदार नहुँदा बैंक तथा वित्तीय संस्था सङ्कटमा पर्नु हो । ऋणीलाई स्रोत र प्रविधि हस्तान्तरण गर्दै उनीहरूसँग नजिक रहनुपर्छ । ऋण प्रवाह गर्दा काज र मनोविज्ञान पनि बुझ्न आवश्यक छ,’ उनले भने । महासचिव पोखरेलले पछिल्लो समय लोकतन्त्रमाथि प्रहार गर्न केही मानिसहरू मक्किएका राजालाई बोकेर हिडेको आरोप लगाए । ‘लोकतन्त्रको विकल्प छैन । कतिपयले विसं २०४६ को परिवर्तनपछि के भयो भनेर टिप्पणी गर्छन् तर त्यसअघि देशको अवस्था कस्तो थियो भनेर हेरौँ । शिक्षा, स्वास्थ्य, सडक, सञ्चार तथा प्रविधि, पुल निर्माणले लोकतन्त्र स्थापनापछि नै तीव्रता पाएको हो,’ उनले भने । एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले जनताको जीवनस्तर माथि उकास्न बैंकले आफ्ना गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले देशको अर्थतन्त्र कमजोर भएको अवस्थामा बैंकले उद्यमशीलता र उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याए । एमाले नेता एवं पूर्वमन्त्री किरण गुरुङले राजतन्त्र गणतन्त्रको विकल्प हुन नसक्ने बताए । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पछिल्लो समय बैंक मुनाफा गर्नेतर्फ अगाडि बढेको र खराब कर्जा घटाउने अभियानमा आफूहरू लागेको बताए । ८२ हजार किसानलाई ६७ अर्ब रुपैयाँ लगानी गरेको उनले जानकारी दिए ।