विकासन्युज

५५ अंकले घट्यो सेयर बजार, कारोबार भने बढ्यो

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५५.९० अंकले घटेर २५८४.८८ बिन्दुमा झरेको छ । आज ४ कम्पनीको मूल्य बढ्दा २४० कम्पनीको मूल्य घटेको छ । मंगलबार कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ । ३२५ कम्पनीको १ करोड ११ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्स कम्पनीको २१ करोड, युनाइटेड मोदी हाइड्रोको १७ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १४ करोड र सीइडीबी होल्डीङसको १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज  सबै समूहको उपसूचकमा राताम्मे बनेको छ । बैंकिङ १.४२, विकास बैंक २.९९, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर ३.३१, लगानी २.०८, जीवन बीमा २.२०, उत्पादन १.५०, माइक्रोफाइनान्स २.४९, निर्जीवन बीमा २.४६, अन्य १.८२ तथा व्यापार १.८५ प्रतिशतले घटेकाे छ ।

तीन महिनापछि भोजपुरमा उडान सुरु

टक्सार । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ । गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान सुरु गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिए । उनका अनुसार भोजपुरमा अब नयाँ तालिका अनुसार उडान हुनेछ । विसं २०३५ देखि उडान सुरु भएको यहाँ नेपाल वायुसेवा निगमको जहाजले मात्र सेवा दिँदै आइरहेको छ । पाँच सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको विमानस्थलमा अन्य जहाजले उडान भर्दैनन् । उडान बन्द हुँदा जिल्ला अस्पतालबाट काठमाडौं रेफर गरिएका बिरामी र यात्रुहरु मारमा परेका थिए ।  निगमका दुई वटा साना विमानमध्ये एउटा मर्मत भइरहेको र मर्मत सकिएपछि उडानमा सहज हुने निगमले जनाएको छ ।

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्युठाननिवासी चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए । थापाको नियुक्तिपछि स्वास्थ्य बीमा बोर्डले गति लिने विश्वास गरेको मन्त्री पौडेलले बताए । ‘तपाईंको नेतृत्वमा स्वास्थ्य बीमामा सुधार ल्याएर आम नागरिकको पहुँच बढाउने हाम्रो लक्ष्य प्राप्ति हुने विश्वास लिएको छु,’ मन्त्री पौडेलले भने । बोर्डको निर्देशकमा विकास अर्थशास्त्री डा. रघुराज काफ्ले नियुक्त भैसकेका छन् । मन्त्री पौडेलले स्वास्थ्य बीमाको सुधार र स्वास्थ्य बीमा कोष बलियो पार्दै यसको दिगोपनामा प्राथमिकता रहेको बताउँदै आएका छन् । हालै मात्र उनले श्रोत थप गर्न सकिने विकल्पहरु प्रस्तुत गर्दै यसमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताएका छन् । बोर्डका कार्यलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत व्यवस्था गर्नका लागि मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री पौडेलले सो अवसरमा बताए । अध्यक्ष नियुक्त थापा स्नातकोत्तर हुन् । उनी बोर्डको यसअघि सदस्य रहि सकेका छन् ।

सरकारविरुद्दको नारा : कता हिँडेको बिजुली मारेर, कुलमान फालेर

काठमाडौं । सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएसँगै युवाहरू आन्दोलनमा उत्रिएका छन् । आज माइतीघरमा घिसिङलाई बर्खास्त गरेको विरोधमा स्वतन्त्र नागरिकको तर्फबाट युवाहरूले प्रदर्शन गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको सत्तारुढ दलकै नेताहरूले पनि विरोध प्रदर्शन गरेका छन् । कुलमानलाई बर्खास्त गर्ने निर्णय लगत्तै मंगलबार बिहानैबाट रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा सुरक्षा बढाइएको छ । माइतीघरमा संलग्न प्रदर्शनकारीहरूले ‘जाग्यो जाग्यो जनता अति भयो अब त ’, ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका छन् ।

प्रतिपक्षीहरु आफू बच्न र सरकारलाई बद्नाम गर्न लागे : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरु सरकारविरुद्ध लागिपरेको बताएका छन् । मंगलबार ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्पका साथ अघि बढिरहेको भएपनि बिरोधीहरु सपना साकार पार्न नदिन लागिपरेको उल्लेख गरेका हुन् । उनले वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भुमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भएपनि त्यसो नभइरहेको बताए । उनले प्रतिपक्षहरु कसरी आफू बच्ने र सरकार र अरुलाई बद्नाम गर्ने भन्नेमा लागेको बताए । यस्ता कुरामा अल्मलिने समय आफूलाई नभएको पनि बताए । देश विकासका लागि तय गरिएका नीतिहरु कसरी प्रभावकारी र छिटो कार्यान्वयन गर्ने भन्नेकुरामा आफ्नो ध्यान रहने जानकारी दिए । प्रधानमन्त्री ओलीले भने, ‘हामीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्प बोकेका छौँ । केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनका लागि लागेका छन् । त्यो स्वभाविक पनि हो । बिरोधीहरु लाग्छन् । यद्यपि वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भुमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो ।’ प्रधानमन्त्री ओलीले ०४६ सालको परिवर्तनपछि देश तिव्र गतिमा अघि बढिरहेको बताए । उनले विकासका लागि पहिला पूर्वाधार आवश्यक रहेको र पूर्वाधार नगरी विकास गर्न नसकिने जानकारी दिए ।

हेटौँडा सिमेन्ट उद्योगको पुनःउत्पादन चैतको तेस्रो सातादेखि

बागमती । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने भएको छ । उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएपछि उत्पादन सुरु गर्ने तयारी भइरहेको हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक ईञ्जिनियर नविनकुमार कर्णले बताए। ‘उद्योगको मेसिन पुरानो र बिग्रिसकेकाले त्यसलाई मर्मत सम्भार गर्न केही समय लाग्यो’, निमित्त महाप्रबन्धक कर्णले भने, ‘स्थापनाकालमा जडान गरिएको मेसिन हो, यसलाई विस्थापित गरेर नयाँ मेसिन जडान गर्नपुर्ने देखिन्छ तर आर्थिक समस्याका कारण तत्काल त्यो सम्भव नदेखिएपछि मर्मत गराएका छौँ ।’ यसबाट तत्काल सिमेन्ट उत्पादन गर्न सकिने उनको भनाइ छ । उनका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ केही मौज्दात रहेको र केही आउने सुनिश्चितता भइसकेको छ ।  ‘अहिले हामीसँग करिब एक सय टन कोइला छ’, निमित्त महाप्रबन्धक कर्णले भने, ‘अरु कोइला भोलिदेखि आउने भएको छ, त्यसैले कच्चा पदार्थको खासै समस्या हुँदैन ।’ कोइलाको पुरानो भुक्तानी हुन नसकेकाले कम्पनीसँग कुराकानी गरी उद्योग सञ्चालन गर्न कोइला पठाउन तयार भएको उनले बताए । उद्योग सञ्चालनका लागि विद्युत् समस्या पनि समाधान हुने उनले बताए । ‘उद्योग चलाउन नियमित विद्युत् चाहिन्छ, त्यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग कुराकानी भएको छ’, उनले भने , ‘प्राधिकरणले नियमित विद्युत् दिने प्रतिबद्धता जनाएको छ, अब त्यो समस्या नरहला ।’ उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मत गर्नुपर्ने भएकाले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योग बन्द हुँदा कर्मचारीले विगत तीन महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् । विसं २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । तर आर्थिक समस्यालगायतका कारण उद्योग बन्द भएको थियो । एक पछि अर्कौ समस्यासँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगले गत २०८१ भदौ महिनाको तेश्रो साताबाट पुनःसिमेन्ट उत्पादन सुरु गरेपनि मेसिन मर्मत गर्नुपर्ने भएपछि असोज १५ गतेदेखि उद्योग बन्द भएको थियो । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको सो उद्योग आर्थिक समस्यालगायतका कारण थलिएको छ ।

मृत्युदण्डको प्रतीक्षामा ५० वर्ष बिताएका व्यक्ति निर्दोष साबित, पाए १९ करोड क्षतिपूर्ति

काठमाडौं । हत्याको गलत आरोपमा दोषी ठहरिएका र विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका एक जापानी पुरुषलाई १४ लाख डलर (१९ करोड ५७ लाख २० हजार रुपैयाँ) क्षतिपूर्ति प्रदान गरिएको छ । ​जापानी नागरिक इवाओ हाकामादा, जसले विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका थिए र ५६ वर्षपछि निर्दोष प्रमाणित भएका छन् । ​ यो भुक्तानीले इवाओ हाकामादाले चार दशकभन्दा बढी समयसम्म थुनामा बिताएका दिनहरूका लागि प्रतिदिन १२ हजार पाँच सय येन (८३ डलर) का दरले क्षतिपूर्ति प्रदान गरेको छ । यसको अधिकांश समय मृत्युदण्डमा रहँदा हरेक दिन उनको अन्तिम दिन हुनसक्ने डर थियो । हाल ८९ वर्षका पूर्व बक्सरले सन् १९६६ को चार व्यक्तिको हत्या मुद्दामा गत वर्ष उनीकी बहिनी र अन्य व्यक्तिहरूको निरन्तर अभियानपछि सफाइ पाएका थिए । सिजुओका जिल्ला अदालतको सोमबारको एक निर्णयमा ‘दावीकर्तालाई २१ करोड ७३ लाख ६२ हजार पाँच सय येन प्रदान गरिने’ अदालतका प्रवक्ताले बताए । सोही अदालतले सेप्टेम्बरमा हाकामादा पुनः सुनुवाइमा निर्दोष रहेको र प्रहरीले प्रमाणमा छेडछाड गरेको फैसला गरेको थियो । हाकामादाले ‘बयान (स्वीकारोक्ति) का लागि जबरजस्ती गर्ने अमानवीय अनुसन्धान’ भोगेका थिए । यसलाई उनले पछि फिर्ता लिएको अदालतले बताएको छ । स्थानीय मिडियाका अनुसार यो अन्तिम रकम यस्ता प्रकारका क्षतिपूर्तिका लागि एक रेकर्ड हो । तर हाकामादाको कानूनी टोलीले पैसाले उनले भोगेको पीडालाई पूरै सम्बोधन गर्न नसक्ने बताएको छ । दशकौँको नजरबन्दले–मृत्युदण्डको खतरा निरन्तर बढ्दै जाँदा–हाकामादाको मानसिक स्वास्थ्यमा ठूलो असर पारेको छ । उनका वकिलहरूले उनलाई ‘कल्पनाको संसारमा बाँचिरहेको’ भनेर वर्णन गरेका छन् । हाकामादा जापानको युद्धोपरान्त इतिहासमा मृत्युदण्डबाट पुनरावलोकन गरिएका पाँचौँ कैदी थिए । अघिल्ला सबै चारवटा मामिला पनि निर्दोष ठहरिएका थिए ।

सिटिजन्स बैंकका ग्राहकलाई द मल्ल होटलमा छुट हुने

काठमाडौं । सिटिजन्स बैंक र द मल्ल होटलबीच समझदारी भएको छ । बैंक र लेखनाथ मार्ग, काठमाडौंस्थित द मल्ल होटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले द मल्ल होटलमा १५ प्रतिशत आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।