आन्दोलनबाट क्षति पुगेकालाई राज्यले सम्बोधन गर्नुपर्छ : महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले शुक्रबार (चैत १५ गते) भएको पूर्वराजा समर्थकहरूको आन्दोलनबाट क्षति पुगेकालाई राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत आन्दोलनका नाममा नियोजित रूपमा परिचालित आपराधिक जत्थाको तोडफोड, आगजनी र लुटपाटबाट पीडित भएकालाई राज्यका तर्फबाट यथोचित सम्बोधन आवश्यक रहेको बताए । महासचिव पोखरेलले जनतालाई आतङ्कित बनाउने आपराधिक घटनामा संलग्न व्यक्ति तथा तिनलाई उक्साउने र निर्देशन दिने सबैलाई कारकाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले हिजोको घटनामा जीवन गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थलाभको कामना समेत गरे । उनले एकै दिन दुईवटा जनप्रदर्शन भए पनि विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरुको कार्यक्रममा भन्दा धेरै जनताको सहभागिता रहेको जनाए । महासचिव पोखरेलले समाजवादी मोर्चाको कार्यक्रम शान्त, मर्यादित एवं सन्देश मुलुक र पूर्वराजा समर्थकहरूको कार्यक्रम हिंसात्मक, प्रतिशोधात्मक, अराजक रहेको उल्लेख गरे । ‘व्यवस्थाको विकल्प दिन्छौँ भन्नेहरू आन्दोलनका माध्यमबाट अपिल गर्न र सन्देश दिन सक्नुपर्दछ । त्यसमा पूर्वराजा समर्थकहरू पूर्णतः असफल भए । बरू उल्टै उनीहरूका क्रियाकलापले राजतन्त्रको निरङ्कुशता र दमन बेहोर्ने नपरेको नयाँ पुस्तालाई त्यसबारेमा थोरै भए पनि बुझ्ने मौका मिल्यो,’ उनले भने । महासचिव पोखरेलले कसैको निहित स्वार्थ, प्रतिशोध वा दुरासयबाट आजको नेपाली समाज प्रभावित हुँदैन भन्ने सन्देश पुनः दिनुपर्ने आवश्यक रहेको धारणा राखे ।
राजावादीहरुले कहाँ-कहाँ लगाए आगो ?
काठमाडौं । शुक्रबार तीनकुनेमा भएको राजावादीको जनप्रदर्शनमा हिंसात्मक गतिविधि तथा विभिन्न व्यवसायीहरूको सम्पत्तिमाथि लुटपात तोडफोट गरिएको छ । राजावादीको हिंसात्मक समूहले तीनकुने, कोटेश्वर, बानेश्वर, बालकुमारी क्षेत्रका निजी भवन तथा सवारीसाधनमा तोडफोड तथा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार तीनकुनेमा रहेको मार्बल हाउस, अन्नपूर्ण मिडियाको कार्यालय, कान्तिपुर टेलिभिजनमा तोडफोड तथा आगजनी गरेका छन् । यस्तै, बालकुमारी पुल नजिकै रहेको भाटभटेनी सुपर स्टोर, जडीबुटीमा रहेको सरकारी उद्योग जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, आलोकनगरमा रहेको नेकपा समाजवादी पार्टी कार्यालयलगायतमा तोडफोड र आगजनी गरेको प्रहरीले जनाएको छ । यस्तै, राजावादी समूहले तीनकुने, कोटेश्वर, बालकुमारी, नरेफाँटलगायत क्षेत्रहरुमा सयौं सवारीसाधनमा आगजनी समेत गरेका छन्। उक्त हिंसात्मक गतिविधिमा लाखौं करोडौं रुपैयाँको क्षति भएको बताइएको छ ।
भाटभटेनी सुपरमार्केटः हिजो लुटपाट र तोडफोड, आज नियमित सञ्चालनमा
काठमाडौं । उद्योग व्यवसायमा कुनै अराजक गतिविधि वा क्षति भयो भने त्यसको समाधान नहुँदासम्म सम्बन्धित कम्पनीका सञ्चालकले तत्काल सेवा दिन आनाकानी गर्छन् । संस्थामा भएको क्षतिपूर्तिका लागि विभिन्न ठाउँ चहार्दै हिँड्छन् । यदि बीमा गरिएको छ भने विवरण संकलन गरी दाबी भुक्तानीका लागि माग गर्छन् । सुरक्षाको प्रत्याभूति खोज्छन् । शुक्रबार (चैत १५ गते) काठमाडौंको तीनकुनेमा राजावादी समर्थकहरूले गरेको प्रदर्शनका क्रममा केही उच्छृङ्खल समूहले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा प्रवेश गरेर सामग्री लुटपाट गर्याे । उक्त समूह एक्कासी भवनभित्र प्रवेश गरेर मोबाइल, घडी, बियर, महंगा ब्रान्डका रक्सी, कपडा, फलफुल, जुसलगायतका सयौँ वस्तु लुटपाट गरे । साथै भवनमाथि इँटा र ढुंगा प्रहार गरेर क्षति पुर्याएको छ । तर, टपाट र तोडफोड भएको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट दोस्रो दिन नै सञ्चालनमा आएको छ । रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको भाटभटेनी सुपरमार्केट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पानु पौडेलले जानकारी दिए । क्षतिको मूल्यांकन र फुटेका सिसा केही दिनभित्रै पुनःनिर्माण गरिने जानकारी गराउँदै कोटेश्वरस्थित भाटभटेनी रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको उनले बताए । ‘कम्पनीका अनुसार एक्कासि हुलहुज्जत गरी स्टोरमा प्रवेश गरेर लुटपाट र क्षति पुर्याउनेहरुलाई सरकारले छिट्टै कानुनी दायरामा ल्याउनेछ भन्ने विश्वास पनि व्यक्त गरेका छौँ,’ सीईओ पोडेलले भने । घट्नमा भएको क्षतिविवरण संकलन भईरहेको उनले बताए । हिजै प्रहरीले घटनाको विवरण लिएको र बीमा सर्भेयरले पनि काम गरिरहेको उनले बताए ।
रोकियो धर्मकीर्ति महाविहार निर्माण कार्य, भर्याङ भत्काउन निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाको अनुगमन समितिले धर्मकीर्ति महाविहारको विहार निर्माण कार्य रोकेको छ । कामपाको उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा रहेको समितिले निर्माण कार्यको अनुगमन गर्दा भर्याङ जोखिमपूर्ण भेटिएको भवन निर्माण प्रक्रियामा लापर्वाही देखिएपछि निर्माण कार्य रोकेको जनाएको छ । समितिले जोखिमपूर्ण भर्याङ भत्काउन, सुपरभाइजर र साइट इञ्जिनियरको लिखित स्वीकृति बिना थप काम अगाडि नबढाउन समेत निर्देशन दिएको हो । जमिन तलाबाट पहिलो तलामा जाने भर्याङका तलाहरुको उचाइ फरक फरक भएको, साँघुरो भएको, ढलान गर्न जोडिएका फर्मामुनि इटा राखिएको, सुपरभाइजर र इञ्जिनियरले यसअघि दिएका निर्देशन पालना नगरेको अवस्था पाइएकाले निर्माण कार्य रोकिएको कामपाको भनाइ छ । अनुगमनका क्रममा समितिका संयोजक एवं कामपाको उपप्रमुख डङ्गोलले, पूर्वाधार निर्माणमा भइरहेका गलत क्रियाकलापमा आँखा चिम्लिन नसकिने बताइन् । ‘तोकिएको मापदण्डमा घट्ने गरी कतैको पनि काम अगाडि बढ्न दिँदैनौँ । काम नभएर फरक पर्दैन, गलत हुनुहुँदैन,’ डङ्गोलले भनिन् । निर्माण कार्यमा अपनाउनुपर्ने विधिमा लापर्वाही गरेको भेटिएको सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीले बताउ । उनका अनुसार निर्माण कार्यमा पहिलेको दाँजोमा सुधार आएको छ । तर, अझै कडा निगरानी चाहिएको छ । यसलाई कडाइ गरेर लैजाने उनले बताए । उक्त विहार बुद्ध शिक्षाका लागि निर्माण गर्न लागिएको हो । गएको भदौ २३ गते कार्यादेश दिइएको निर्माण कार्य २०८२ भदौ २२ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्नेछ । आयोजनाको सम्झौता रकम ५६ लाख ५८ हजार ३७२ रुपैयाँ हो । १ हजार १७८.१८ वर्गफिट क्षेत्रफल भएको जमिनमा निर्माण हुने चार तले विहारको जमिन तला, पहिलो र दोस्रो तला ८२३.२३ वर्गफिटका हुनेछन् । माथिल्लो तला ५७८.६४ वर्गफिट क्षेत्रफलको हुनेछ । त्यस्तै वडा नं २२ मा रहेको मूलश्री महाविहार (मुःबाहा) मा रहेको कुमारी द्यो छेँ र वडा नं २४ मा रहेको ब्राम्हिण राजोपाध्याय आगमछेँ निर्माण प्रक्रियाको बारेमा पनि जानकारी लिएको थियो । मूःवहामा रहेको तीन तला र बुइँगल रहेको कुमारी द्यो छेँको सम्झौता रकम १ करोड ९२ लाख ९ हजार ११३ रपेयाँ हो । यसको पुनःनिर्माणका लागि २०८१ भदौ ९ कार्यादेश दिइएको हो । विसं २०८२ फागुन ८ गतेभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्छ । पछिल्लो समय कामपाले निर्माणाधीन सम्पदाको अनुगमन गरिरहेको छ ।
ढुक्कसँग परीक्षामा सहभागी हुने वातावरण बनाइदिन आग्रह
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षामा सम्मिलित परीक्षार्थीलाई ढुक्कसँग परीक्षामा सहभागी हुने वातावरण बनाइदिन सम्बन्धित सबै निकायसँग आग्रह गरेको छ । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता शिवकुमार सापकोटाद्वारा प्रकाशित विज्ञप्तिमा परीक्षा जस्तो संवेदनशील शैक्षिक गतिविधिलाई शान्तिपूर्ण र भयरहीत वातावरणमा सञ्चालन हुन दिनु देशका सम्पूर्ण नागरिकको कर्तव्य रहेको उल्लेख गरिएको छ । सो परीक्षामा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सम्मिलित छन् । परीक्षा निरन्तर सञ्चालनमा छ । साथै, विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान तथा संकायबाट स्नातक तहका हजारौँ विद्यार्थी सम्मिलित परीक्षा सञ्चालन भइरहेको छ । लाखौँ विद्यार्थीको भविष्य निर्माणको एउटा महत्त्वपूर्ण कडीका रुपमा रहेको परीक्षालाई निर्वाध सञ्चालन गराउने वातावरण बनाउन मन्त्रालयले आग्रह गरेको हो । ‘लाखौँ विद्यार्थीको अधिकारलाई उपभोग गर्ने सहज वातावरण बनाइदिन सम्बन्धित सबै निकाय, शिक्षण संस्था, शिक्षक समुदाय, अभिभावक र आम समुदायलाई मन्त्रालय हार्दिक आग्रह गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यू आदेश हटाइयो
काठमाडौं । जिल्ला प्रशासनले काठमाडौंका विभिन्न क्षेत्रमा जारी गरेको कर्फ्यू हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यू आदेश स्थगित गरिएको हो । राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर शुक्रबार राती १० बजेसम्मका लागि कर्फ्यू आदेश गरेको थियो । जिल्ला प्रशासन कार्यालयले समय बढाउँदै शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्यू जारी गरेको थियो । काठमाडौं महानगरपालिकाभित्रका विभिन्न स्थानमा चार किल्ला तोकी सो सिमाना भित्र कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको थियो । बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि विमानस्थल, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वर बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म कर्फ्यू क्षेत्र तोकिएको थियो । त्यसैगरी गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै बानेश्वर चोकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको थियो ।
दोषीमाथि कानुनी कारबाही गर्न पत्रकार महासङ्घको माग
काठमाडौं । राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी समूहले सञ्चार गृहमाथि भएको तोडफोडप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालले एक विज्ञप्तिमार्फत समाचार सङ्कलनका क्रममा एक सञ्चारकर्मीको मृत्यु भएको, विभिन्न सञ्चार गृहको भवनमा आगो लगाइएको, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुङ्गा हानिएको तथा सवारीसाधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतङ्कित तुल्याउने कार्य भएकामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । आगो लगाएको भवनको समाचार सङ्कलनको क्रममा जलेर एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ । त्यसैगरी तीनकुनेस्थित अन्नपूर्ण मिडिया ग्रुुपको भवनमा तोडफोड र आगजनी गरी क्षति पुर्याइएको छ । कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछि ढुङ्गामुढा गरी समाचार कक्षसम्म आतङ्क सिर्जना गरिएको छ । हिमालयन टेलिभिजनको सवारीसाधन तोडफोड भएको जानकारी महासङ्घमा प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने प्रेसजस्तो भरपर्दो सञ्चार संस्था र सञ्चारकर्मीको ज्यानै जाने गरी यसप्रकारको हमला हुनु घोर आपत्तिजनक, निन्दनीय र भत्र्सनायोग्य भएको महासङ्घको ठहर छ । ‘शान्तिपूर्ण प्रदर्शन गर्ने संवैधानिक अधिकारको महासङ्घ सदैव सम्मान गर्दछ । तर, आन्दोलनको नाममा सञ्चारकर्मीको ज्यानै जाने, प्रेसलाई आतङ्कित र त्रसित बनाउने कार्य किमार्थ स्वीकार गर्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता हर्कतमा संलग्न जो कोही भए पनि तत्काल कानुनी कठघरामा उभ्याउन महासङ्घ सरकारसँग जोडदार माग गर्दछ ।’ महासङ्घले क्षति पुर्याइएका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन आग्रह गरेको छ । महासङ्घले लोकतन्त्र र प्रेसविरोधी यस्ता क्रियाकलाप नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहने र यस प्रकारका हर्कत दोहोरिए त्यस विरुद्ध उत्रन बाध्य हुनेतर्फ सचेत गराएको छ । यसैबीच सञ्चारकर्मी रजकको जलेर निधन भएको खबरले महासङ्घ स्तब्ध भएको उल्लेख छ । महासङ्घले सो अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ । मृतक पत्रकार रकजप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । नेपाल प्रेस यूनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठनलगायत सञ्चार आवद्ध विभिन्न सङ्घ संस्थाले पनि आज भएको घटनाप्रति आपत्ति प्रकट गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । स्वतन्त्र प्रेसको सम्मान गर्न, निर्वाध समाचार सङ्कलन गर्न दिन र सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन सम्वद्ध सबैलाई आग्रह गरेका छन् ।
प्रमुख सचेतक परियारको गाडी जलाएको घटनाप्रति रास्वपाको निन्दा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु सबैभन्दा उदार र सुन्दर विशेषता रहेतापनि यस्तो आधारभूत मान्यताबाट पर गई शुक्रबार पूर्वराजाका समर्थकहरूबाट भएको आगजनी र तोडफोडको घटनाप्रति भर्त्सना गरेको छ । सो पार्टीका प्रवक्ता (कार्यवहाक) मनिष झाले भने, ‘शान्तिपूर्ण आन्दोलन संविधानले दिएको अधिकार मात्र हैन, लोकतन्त्रमा नागरिक सहभागिताको स्वीकृत विधि भएपनि अराजकता, मानवीय क्षति, निजी तथा सार्वजनिक सम्पत्तिमाथिको हमला, लुटपाट तथा आगजनी जस्ता घटनाप्रति घोर भर्त्सना गर्दछौँ ।’ सो पार्टीले शुक्रबारको घटना भड्काउने र जनधनको क्षति गराउनेलाई कारबाहीको माग गर्दै आगामी दिनमा आन्दोलनरत पक्षलाई जिम्मेवार एवम् शान्तिपूर्णरुपमा प्रस्तुत हुन सचेत गराएको छ । आमजनताको सम्पत्तिको सुरक्षा गर्नु, संयमता अपनाई हिंसात्मक हुन सक्ने भीडलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै सो पार्टीले प्रदर्शनको भिडियो खिचिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । राजावादी समूहले भक्तपुरतर्फ गइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रयोग गरेको सरकारी गाडीसमेत बालकुमारीमा जलाइदिएको घटनाप्रति पार्टीले निन्दा गरेको छ । घाइते भएका सुरक्षाकर्मी तथा आन्दोलनकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीय प्रशासनद्वारा जारी सूचना अनुसार आ-आफ्नो स्थानमा सुरक्षित र अनुशासित रहन सबैमा सो पार्टीले अनुरोध गरेको छ ।