आर्थिक सहायता कटौतीले १ करोड ३० लाख विस्थापितको स्वास्थ्य खतरा
काठमाडौं । आर्थिक सहायता कटौतीले झण्डै १ करोड ३० लाख विस्थापितको स्वास्थ्यलाई खतरामा पारेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय युएनएचसीआरले जनाएको छ । गत जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्केपछि शरणार्थी र आप्रवासीको हित विपरित एजेन्डाअघि सार्दै र अधिकांश अमेरिकी वैदेशिक सहायता कोष तत्काल रोक्का गरेपछि विश्वभरका मानवीय संस्थाहरू प्रभावित भएका छन् । संयुक्त राज्य अमेरिका परम्परागत रूपमा यूएनएचसीआरको शीर्ष दाता हो र अमेरिकाले प्राप्त कुल योगदानको ४० प्रतिशत भन्दा बढी हिस्सा व्यहोर्ने गरेको थियो । युएनएचसीआरका जनस्वास्थ्य प्रमुख एलेन मैनाले भने, ‘सन् २०२५ सम्ममा, पर्याप्त स्रोत साधनको अभावमा अनुमानित ६३ लाख बालबालिकासहित १ करोड २८ लाख विस्थापित व्यक्ति जीवनरक्षक स्वास्थ्य हस्तक्षेपबाट वञ्चित हुन सक्छन् ।’ सहयोगको प्रदान गर्ने देशहरूमा स्वास्थ्य खर्चमा आएको गिरावटका कारण बढेको वर्तमान मानवीय अनुदान सङ्कटले शरणार्थी र होस्ट समुदायहरूको लागि सार्वजनिक स्वास्थ्य र पोषण कार्यक्रमहरूको दायरा र गुणस्तरलाई असर गरिरहेको, आवश्यक सेवाहरूमा पहुँचमा बाधा पुर्याइरहेको र रोगको प्रकोप, कुपोषण, उपचार नगरिएको पुरानो अवस्था र मानसिक स्वास्थ्य समस्याहरूको जोखिम बढाइरहेको छ। कटौतीको उदाहरण दिँदै मैनाले बङ्गलादेशमा रहेका करिब १० लाख रोहिङ्ग्या शरणार्थीले गम्भीर स्वास्थ्य सङ्कटको सामना गरिरहेको र आर्थिक सहायता रोकिँदा हुँदा स्वास्थ्य सेवाको पहुँचमा खतरा आएको उनले बताए । बुरुन्डीका विभिन्न शिविरमा पोषण कार्यक्रम स्थगन हुनुको अर्थ पाँच वर्षमुनिका हजारौं शरणार्थी बालबालिकाले कुपोषणको पर्याप्त उपचार पाउन नसक्ने उनको भनाइ छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा युएनएचसीआरको सन् २०२५ को स्वास्थ्य बजेट सन् २०२४ को तुलनामा ८७ प्रतिशतले कटौती गरिएको छ । ‘कङ्गोमा कोष कटौतीको स्वास्थ्य परिणामहरू विनाशकारी हुने अपेक्षा गरिएको छ । यसले ५ लाख २० हजारभन्दा बढी शरणार्थीहरूलाई सङ्क्रामक रोग र मृत्युको उच्च जोखिममा पार्नेछ,’ उनले भने । इजिप्टमा आपतकालीन जीवन रक्षा प्रक्रियाबाहेक शरणार्थीका लागि युएनएचसीआरको सबै उपचार स्थगन गरिएको छ । युएनएचसीआरको स्वास्थ्य टोलीले गरेको सर्वेक्षणमा १ करोड २८ लाख विस्थापित व्यक्ति स्वास्थ्य सहायताविहीन हुने अनुमान गरिएको थियो । यूएनएचसीआरका प्रवक्ता विलियम स्पिन्डलरले अन्य परम्परागत शीर्ष दाताहरूले पनि आफ्नो कोष घटाइरहेको बताए ।
कसैले चाहेर यो व्यवस्था परिवर्तन हुँदैन : शेरबहादुर देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतान्त्रिक शासन व्यवस्था कायम रहने बताएका छन् । लुम्बिनीमा आज आयोजित नेपाली लेखक सङ्घको आठौँ अधिवेशनको उद्घाटन समारोहमा उनले नेपाली जनता गणतन्त्रका सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले वर्तमान व्यवस्था कायम रहने बताएका हुन् । सभापति देउवाले पूर्वराजाका नाममा भएका गतिविधिको निन्दा गरे। उनले संवैधानिक राजा बन्ने चाहना कहिल्यै प्रकट नगरेको स्पष्ट गरे । देशमा गणतन्त्र स्थापित भइसकेकाले कसैले चाहदैमा यो व्यवस्था परिवर्तन नहुने उनको भनाइ छ । हरेक नेपाली गणतन्त्रका पक्षमा एकजुट हुनुपर्नेमा सभापति देउवाको जोड छ ।
नेपालको वर्तमान अवस्था : आन्दोलन कि समाधान ?
नेपालमा हिजो मात्र सम्पन्न राजावादीहरूको आन्दोलनले फेरी एकपटक देशभर चर्चा पायो । तर, यस आन्दोलनले राजतन्त्रप्रति जनताको सम्मान, सद्भाव बढाउनुको सट्टा घटाएको देखिन्छ। स्पष्ट छ-नेपालमा राजतन्त्र फर्कने वाला छैन। राजावादी आन्दोलनहरूलाई अगुवाइ गर्ने व्यक्तिहरू, विशेष गरी दुर्गा प्रसाईँ जस्ता अराजक व्यक्तिहरू योजनाकार बन्दा, जनताले सुरुमा देखाएको समर्थन क्रमशः हराउँदै गएको छ। कुनै पनि आन्दोलनको दीर्घकालीन प्रभाव हुन्छ, तर यस्तो नेतृत्वकै कारण राजावादी धारको उचाइ घट्दै गएको देखिन्छ। हामीले सधैं आन्दोलन नै हेर्नुपर्ने हो ? नेपालको इतिहासमा निरन्तर व्यवस्था परिवर्तनका आन्दोलनहरू देखिएका छन्। प्रश्न उठ्छ-के हाम्रो पुस्ताले जीवनभर आन्दोलन मात्रै हेर्नुपर्ने हो ? मानौं, कुनै दिन राजावादीहरू सफल भए र राजतन्त्र फर्कियो भने, त्यसपछि के हुन्छरु के कसैले गम्भीर रूपमा यसबारे सोच्नुभएको छ ? गणतन्त्र पक्षधरहरू चुप लागेर बस्लान् ? निश्चित रूपमा होइन। उनीहरू फेरि आन्दोलन गर्नेछन्, ‘राजतन्त्र मुर्दाबाद’ भन्दै सडकमा उत्रनेछन् । यसरी निरन्तर आन्दोलनकै दुष्चक्रमा नेपाल फसिरहने हो त ? राजतन्त्र फर्काएर विकास सम्भव छ ? राजावादी आन्दोलनका समर्थकहरूसँग एउटा गम्भीर प्रश्न छ-तपाईंहरूको देश विकास गर्ने योजना के हो ? के तपाईंहरू लाई लाग्छ ? राजतन्त्र फर्केपछि एक झट्कामै देशको विकास हुन्छ ? कि तपाईंहरूलाई केवल राजाको पद मात्र फर्काउन रहर छ ? व्यवस्था मात्र परिवर्तन गरेर देश समृद्ध बन्ने भए, आजसम्म भएका परिवर्तनहरूले नेपाललाई किन समृद्ध बनाउन सकेनन् ? समस्या व्यवस्थामा मात्र होइन, नेतृत्व गर्ने जनप्रतिनिधि र कर्मचारीहरूमा पनि छ। नेतृत्व स्वच्छ, दूरदर्शी र सक्षम भए जुनसुकै प्रणालीमा पनि देश अगाडि बढ्न सक्छ। समाधान के हो ? मेरो अनुरोध छ-यदि तपाईंहरू देश विकास नै चाहनुहुन्छ भने, भएको व्यवस्थालाई सुधार गरेर अघि बढौं। गणतन्त्रवादी र राजावादीहरू संवादमा बसौं, छलफल गरौं, सहमति खोजौं। देश विकासको स्पष्ट योजना बनाऔं। आन्दोलन भन्दा मिलेर काम गर्नु दीर्घकालीन समाधान हो। नेपालले अब निरन्तर आन्दोलन होइन, स्थिरता र सहकार्य खोज्नु आवश्यक छ।
प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई
काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि ओपनर कुशल भुर्तेलले ६१ रन बनाए । कूल ७० बलको सामाना गरेका उनले ७ चौका र ३ छक्का प्रहार गरे । यस्तै अमित श्रेष्ठले ३९ र दिलिपनाथले अविजित ३१ रन बनाए । आर्मीका लागि साहब आलमले ३ र नरेन साउदले १ विकेट लिए । त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउदै १५४ रन बनाएको थियो । २५ रनमै ५ विकेट गुमाएको आर्मीका लागि कप्तान विनोद भण्डारी र वसीर अहमदले ७५ रन बढीको साझेदारी गरेका थिए । उसका लागि बसीर अहमदले १०४ बलको सामना गर्दै ९ चौका र १ छक्काको सहयोगमा ८६ रन बनाए भने कप्तान विनोद भण्डारीले २९ रनको योगदान दिए । त्यसबाहेक विवेक यादवले ११ रन बनाउदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । आर्मीलाई सस्तोमै समेट्ने क्रममा बलिङतर्फ नेपाल पुलिसका करण केसीले ७ ओभरमा एक मेडेनसहित ३० रन खर्चेर ३ विकेट लिए । सागर ढकालले ८ ओभरमा २९ रन खर्चेर ३ विकेट लिँदा कप्तान दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशी र गुलशन झाले समान १/१ विकेट लिए । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्र्तगत यसपटक ४६ वटा खेलहरु खेलाइएको थियो । यी सबै खेल पहिलो पटक काठमाडौं बाहिर रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङ्गको लमहिमा रहेको देउखुरी अन्तरराष्ट्रिय रङ्गशालामा आयोजना भएको हो । प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको बिभागिय टोली सहित १० वटा टोलीहरुले सहभागीता जनाएका थिए ।
घलेगाउँमा ग्रामीण पर्यटन प्रवर्द्धन तथा रजतजयन्ती समारोह हुँदै
काठमाडौं । नेपालको प्रमुख ग्रामीण पर्यटन गन्तव्य घलेगाउँमा ‘पर्यटन प्रवर्द्धन तथा रजतजयन्ती समारोह’ आयोजना हुने भएको छ । विसं २०५७ मा औपचारिक रूपमा ग्रामीण पर्यटनको सुरुआत गरेको घलेगाउँले २५ वर्ष पूरा गरेको अवसरमा आगामी वैशाख २३, २४ र २५ गते विशेष कार्यक्रम आयोजना गरिँदैछ । सो समारोहले घलेगाउँलाई थप पर्यटकीय केन्द्र बनाउने अपेक्षा गरिएको छ । घलेगाउँ पर्यटन व्यवस्थापन समितिको आयोजनामा हुने कार्यक्रममा स्थानीय संस्कृति, ग्रामीण भिलेज होमस्टे, साहसिक खेलकुद तथा विभिन्न सांस्कृतिक झलक प्रस्तुत गरिनेछन् । पर्यटन बोर्ड, स्थानीय तह, निजी क्षेत्र तथा सरोकारवाला निकायको सहकार्यमा कार्यक्रम सम्पन्न गरिनेछ । घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार पर्यटन प्रवर्द्धनका लागि गुरुङ समुदायको परम्परागत नृत्य, झ्याउरे नाच, घाँटु नृत्य तथा अन्य सांस्कृतिक प्रस्तुति विशेष आकर्षणका रूपमा रहनेछन् । साथै पर्यटकलाई स्थानीय जीवनशैलीको अनुभव गराउन होमस्टे (घरबास) भ्रमण गराइनेछ । घलेगाउँलाई ‘स्मार्ट भिलेज’ का रूपमा विकास गर्ने लक्ष्यसहित यो कार्यक्रम आयोजना गरिँदैछ । वातावरणमैत्री प्रविधि, फोहर व्यवस्थापन, नवीकरणीय ऊर्जा प्रवद्र्धन तथा डिजिटल पूर्वाधार विकासमा ध्यान दिइनेछ । उनका अनुसार कार्यक्रमअन्तर्गत ग्रामीण पर्यटनको भविष्य, आवश्यक नीतिगत सुधार, सार्वजनिक-निजी साझेदारीका अवसरबारे छलफल गरिनेछ । समारोहमा फुटसल, म्याराथन दौड, साइक्लिङ, साहसिक खेल आयोजना गरिनेछन् । विजेतालाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । फुटबल प्रतियोगितामा एमएससी क्लब बालिया (भारत), त्रिवेणी युवा क्लब बेँसीसहर, नाल्मा ११, बिवाइसी भोटेओडार, भूइँखेल फुटबल क्लब, अभिषेक चर्च, फ्रेण्डसिप युथ क्लब, गुन्नी फुटबल क्लब, सीवाईसी नेपाल तुरतुरे, रड्स रामपुर, एन्फा मनाङ र बँसीसहर युथ सोसाइटी सहभागी हुनेछन् ।
सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न ७ सदस्यीय समिति गठन
काठमाडौं । नेपाल पत्रकार महासङ्घले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ । महासङ्घको आज राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । समितिमा महासङ्घका ६ जना सचिव सदस्य रहेका छन् । समितिमा सचिवहरु रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन सदस्य रहनुभएको महासङ्घले जनाएको छ । समितिले आजै आक्रमण गरिएका सञ्चारगृहमा गएर अध्ययन गर्न लागेको संयोजक बागचन्दले जानकारी दिए । समितिले घटनाका पीडित, प्रत्यक्षदर्शी र पीडितका परिवारसँग छलफल गर्नेछ । समितिले घटना के, कसरी भयो ?, अब महासङ्घ कसरी अघि बढ्ने ? लगायत विषयमा सुझावसहितको प्रतिवेदन दिने जनाइएको छ । पूर्वराजा समर्थित समूहहरुले शुक्रबार तीनकुने क्षेत्रमा आगलागी, तोडफोडलगायत अराजक गतिविधिमा उत्रेका थिए । प्रदर्शनकारीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधन भएको थियो । कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा पनि प्रदर्शनकारीले आक्रमण एवं तोडफोड गरेका थिए ।
‘गणतन्त्रमा आपसी प्रतिस्पर्धा हुन्छन्, तर व्यवस्थाविरुद्ध उद्दण्डता प्रदर्शन गरे प्रतिवाद गरिन्छ’
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वराजाका समर्थकहरुले शुक्रबार काठमाडाँैको तीनकुने, कोटेश्वरलगायत क्षेत्रमा गरेको तोडफोड, आगजनी र लुटपाट गरेका क्षेत्रको निरीक्षण गरेका छन् । गृहमन्त्री लेखकसहित गृहसचिव गोकर्णमणि दुवाडी र गृहमन्त्रालयका उच्चपदस्थ अधिकारी र प्रहरी अधिकृतहरुले आगजनी भएको तीनकुनेस्थित निजी घर, कान्तिपुर टेलिभिजनको कार्यालय, अन्नपूर्ण पोष्ट दैनिक, जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय र कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा गृहमन्त्री लेखकले सञ्चार गृहमाथिको आक्रमण निन्दनीय भएको र घटनामा संलग्न जोसुकै भए पनि कारवाहीको दायरामा ल्याउने बताए । उनले लोकतन्त्रको महत्वपूर्ण अङ्ग सञ्चारमाध्यमलाई ध्वस्त पार्ने कोसिस गरेकामा त्यसको निन्दा गर्दै दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘लोकतान्त्रिक गणतन्त्रमा आपसी प्रतिस्पर्धा हुन्छन् । जनताको अभिमतअनुसार सरकार पक्ष र प्रतिपक्ष हुन्छ । तर जब व्यवस्थाविरुद्ध कसैले उद्दण्डता प्रदर्शन गर्छ भने त्यसको एकाकार भई प्रतिवाद गर्नुपर्छ,’ उनले भने ।
तीनकुने घटना: उच्चस्तरीय छानबिन आयोग गठन गर्न रास्वपाको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने क्षेत्रमा भएको घटनाबारे उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ । शनिबार बसेको केन्द्रीय सचिवालयको बैठकले दोषीलाई छानबिन गरी कारबाही गर्न आयोग गठनको माग गर्ने निर्णय गरेको हो । प्रवक्ता मनीष झाले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा शुक्रबार घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको बताउ । यस्तै, पार्टीको केन्द्रीय समिति बैठक चैत १८ गते पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने निर्णय पनि बैठकले गरेको छ ।