तीनकुने प्रकरणः पक्राउ पर्ने १११ जना पुगे, २१ जनाको अस्पतालमा उपचार जारी
काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ । पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित १११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । उनका अनुसार शुक्रबार १०५ जनालाई पक्राउ गरिएको थियो भने आज थप ६ जना पक्राउ परेका हुन् । प्रहरी परिसर काठमाडौँले २५, प्रहरी वृत्त बानेश्वरले २५, प्रहरी वृत्त गौशालाले ९, प्रहरी प्रभाग कोटेश्वरले ४६, प्रभाग गोङ्गबुले ३, प्रहरी वृत्त बालाजुले १, प्रहरी वृत्त सिंहदरबारले २ जनालाई पक्राउ गरेको उनले जानकारी दिए । उक्त घटनामा २ जनाको मृत्यु भएको जनाउँदै प्रहरी प्रवक्ता बोहराले नेपाल प्रहरीतर्फ ५५, सशस्त्र प्रहरीतर्फ २२ र प्रर्दशनकारीतर्फ ५१ जना घाइते भएका उल्लेख गरे । तीमध्ये प्रहरी र प्रदर्शनकारीसहित २१ जनाको विभिन्न अस्पतालमा उपचार जारी रहेको काठमाडौं प्रहरीले जनाएको छ । तोडफोड, आगजनी र लुटपाट प्रवक्ता बोहराका अनुसार व्यक्तिगत र सरकारी कार्यालय गरी १८ वटामा तोडफोड भएको छ । विभिन्न १२ ठाउँमा आगजनी तथा १ ठाउँमा तोडफोड तथा लुटपाट भएको छ । ‘प्रहरीतर्फ छ, सरकारी कार्यालयको चार, विवरण नखुलेको छ गाडी तथा विवरण नखुलेको स्कुटर र मोटरसाइकलसहित छ वटामा तोडफोड भएको छ । केही गाडी जलाइएको छ,’ उनले भने ।
उद्योग परिसंघले भन्यो- सुरक्षित रूपमा व्यापार व्यवसाय गर्न पाउनुपर्छ
काठमाडौं । नेपाल उद्योग परिसंघले शुक्रबार तिनकुने क्षेत्रमा भएका हिंसात्मक आन्दोलन, तोडफोड, लुटपाटजस्ता अराजक गतिविधिको विरोध जनाएको छ । निजी सम्पत्ति, सञ्चारगृह, व्यावसायिक प्रतिष्ठान, विभिन्न कार्यालय तथा व्यापारिक गतिविधिमा भएको आक्रमण, आगजनी तथा लुटपाटको विरोध जनाउँदै संघले क्षतिपूर्तिको माग समेत गरेको छ । साथै उद्योग परिसंघले अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको छ । ‘शुक्रबार निजी सम्पत्ति तथा सञ्चारगृहमा भएको तोडफोड, आगजनी, तथा व्यावसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटना अत्यन्त दुःखद् हो । विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्दा आमनागरिक, विभिन्न पेसा, व्यवसायमाथि भौतिक आक्रमण, व्यक्तिगत सम्पत्तिमाथि आगजनी, व्यावसायिक प्रतिष्ठानमा तोडफोड एवं लुटपाटजस्ता कार्य जहिले पनि निन्दनीय छ,’ परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी, लुटपाटजस्ता अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई सुरक्षित रूपमा व्यापार, व्यवसाय, पेसा गर्न पाउने अधिकारलाई सुरक्षित बनाउन परिसंघले माग गरेको हो । विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्न पाउने अधिकार सुरक्षित भए पनि यस्ता कार्यले अरु कसैको अधिकार हनन् गर्न हुँदैन भन्नेतर्फ समेत सचेत हुन निजी क्षेत्रले आग्रह गरेको छ ।
तीनकुने घटनामा ज्यान गुमाउनेलाई शहीद घोषणा, मिश्र र राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेको घटनामा ज्यान गुमाएका २ जनालाई शहीद घोषणा गर्न माग गरेको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले घटनामा ज्यान गुमाएकालाई सरकारले शहीद घोषणा गर्नुपर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । शुक्रबारको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको थियो । साथै, पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ । दुई नेतालगायतलाई २४ घण्टाभित्र रिहा नगरिए राप्रपाले देशभर विरोधका कार्यक्रमहरु गर्ने र त्यसलाई आन्दोलनका रुपमा उठाएर लैजाने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
निर्वाचनमा दलहरूबीच गठबन्धन हुँदा महिला प्रतिनिधित्व घट्यो: पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०६२र६३ को जनआन्दोलनले महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला निर्माण गरेको बताएकी छिन् । उनले जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी पारित ‘विशेष प्रस्ताव’ को जगमा उभिएर २०७२ सालमा जारी संविधानले महिलाको ३३ प्रतिशत प्रतिनिधित्वको संवैधानिक व्यवस्था गरेको बताइन् । रुपन्देहीस्थित सिद्धार्थनगर नगरपालिकाद्वारा आयोजित ‘लुम्बिनी प्रदेशभित्रका महिला जनप्रतिनिधिहरूका बीचमा कार्यसम्पादनमा आइपरेका समस्या र समाधान’ विषयक अन्तरसंवाद कार्यक्रमलाई आज सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले वर्तमान संविधानमा महिलाका आधारभूत अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित भएकाले नै तीनै तहका सरकार, संसद् तथा नीतिनिर्माण निकायमा महिलाको सहभागिता उल्लेखनीय रूपमा वृद्धि हुनुका साथै उनीहरूको भूमिका झन् सशक्त हुँदै गएको बताइन् । यसैगरी, शिक्षा, स्वास्थ्य, रोजगारी, सम्पत्तिको स्वामित्व र श्रम सहभागिताजस्ता क्षेत्रमा उल्लेखनीय सुधार भएसँगै नेपालको समग्र लैङ्गिक विकास सूचकाङ्कमा पनि सकारात्मक प्रगति देखिएको उनको भनाइ छ । ‘यसैको परिणामस्वरुप महिला सशक्तीकरण र लैङ्गिक समानताको क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिहरू विश्व महिला आन्दोलनका लागि प्रेरणादायी बनेका छन्,’ उनले भनिन्, ‘हालसम्म प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संविधान प्रदत्त महिला अधिकारको पूर्ण कार्यान्वयन गर्न तथा पूर्ण लैङ्गिक समानताको लक्ष्य हासिल गर्ने हाम्रो अभियानलाई हामीले निरन्तरता दिनुपर्दछ ।’ पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो निर्वाचनका क्रममा राजनीतिक दलहरूबीच भएका गठबन्धनका कारण कतिपय अवस्थामा संवैधानिक प्रावधानविपरीत महिला प्रतिनिधित्वको अनुपात घटेको भन्दै असन्तुष्टिसमेत व्यक्त गर्दै आगामी निर्वाचनमा राजनीतिक दलहरूले यस विषयमा विशेष ध्यान पुर्याउन आग्रह गरिन् । उनले प्रदेश तथा स्थानीय तहमा अधिकांश महिला जनप्रतिनिधिहरू समानुपातिक प्रणालीबाट आएका र अधिकांश पुरुष सांसदहरू प्रत्यक्ष निर्वाचन प्रणालीबाट आएको उल्लेख गर्दै महिला भएकै कारण समानुपातिक प्रणालीबाट आएका जनप्रतिनिधिलाई विभेद हुने गरेको गुनासो आउने गरेको बताइन्। यस खालको विभेद हुनु भनेको दुःखद् मात्र नभएर संविधान र कानुनी मापदण्ड प्रतिकूल हुने उनको भनाइ छ । ‘जनप्रतिनिधि महिला भनेका सामान्य महिला होइनन्, उनीहरू जनताले चुनेका नेता हुन् । त्यसैले, उनीहरूमाथि हुने कुनै पनि प्रकारको विभेद स्वीकार्य हुँदैन,’ उनले भनिन्, ‘यस्तो विभेदको प्रतीकार गर्दै अधिकार सुनिश्चित गर्न उनीहरूले पनि आवश्यक राजनीतिक, प्रशासनिक तथा व्यवस्थापकीय क्षमताको अभिवृद्धि गर्न आवश्यक छ ।’ पूर्वराष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि सञ्चालन भइरहेका दिवाखाजा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय अग्र्यानिक खाद्य पदार्थको प्रयोग गर्नुमा जोड दिइन् । उनले यसले नवपुस्ताको स्वास्थ्य र पोषणमा सुधार गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई पनि चलायमान बनाउने भएकाले कार्यक्रमलाई सफल बनाउन लुम्बिनी प्रदेशका महिला जनप्रतिनिधिहरूको बृहत् भेलामार्फत आग्रह गरिन् ।
धवल शम्शेर जवरालाई फौजदारी अभियोग, संसद् सचिवालयमा पत्र
काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शम्शेर जवरालाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी संसद् सचिवालयलाई दिएको छ । नेपालको संविधानको धारा (१०३) को उपधारा (६) बमोजिम प्रहरीले सचिवालयलाई सांसद जबरा पक्राउको सूचना दिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । ‘सभामुखलाई सम्बोधन गरेर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रतिनिधिसभा सदस्य जवरालाई पक्राउ गरिएको पत्र सचिवालयलाई प्राप्त भएको छ,’ प्रवक्ता गिरीले भने ।
‘हिंसात्मक गतिविधि गर्नेलाई माफी दिइन्न, राजतन्त्र फर्कने कोरा कल्पना नगर्नुस्’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले हिंसात्मक गतिविधि गर्नेलाई माफी नदिइने बताएका छन् । साथै उनले हिंसा भड्काउनेलाई कारबाहीको दायरामा ल्याइने बताए । अखिल नेपाल किसान महासङ्घ काभ्रेपलाञ्चोक जिल्ला कमिटीको आज बनेपामा आयोजित सातौँ जिल्ला अधिवेशनमा उनले आन्दोलनका नाममा गरिएका हिंस्रक गतिविधिको निन्दा गर्दै सरकारले दोषीलाई कारबाही गर्ने बताए । आन्दोलनाका नाममा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड, लुटपाट र आगजनी गर्ने जोसुकैलाई सरकारले नियन्त्रणमा लिएर कारबाही गर्नुपर्नेमा जोड दिँदै हिंसात्मक गतिविधि गर्ने छुट कसैलाई नभएको उनको भनाइ छ । एमाले पोलिटब्युरो सदस्य एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले राजतन्त्र फर्कने कोरा कल्पना नगर्न सुझाउँदै देशका प्रमुख राजनीतिक दल र नेपाली जनता सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले यो व्यवस्थालाई सुदृढ बनाउनेतर्फ लाग्न सम्पूर्ण नेपालीलाई आग्रह गरे ।
तीनकुने घटनामा ज्ञानेन्द्र शाह दोषी, महानगरले तिरायो ८ लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवानावापत पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा पत्र काटेको छ। राजावादीहरुको शुक्रबार काठमाडौंमा भएको प्रदर्शन पूर्वराजा शाहकै निर्देशनमा भएको भन्दै महानगरले निर्मल निवासलाई नै पत्र काटेको हो । राजावादीहरुले तीनकुनेमा प्रदर्शन गर्दा तोडफोड र लुटपाट गरेको सबै मूल्यांकन गरेर विभिन्न शीर्षकमा महानगरले जरिवाना तोकेको छ ।महानगरले विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र काटेर जरिवाना तोकेको हो। महानगरका अनुसार कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख रुपैयाँ, महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख रुपैयाँ, तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख रुपैयाँ जरिवाना तोकेको छ । यस्तै, जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख रुपैयाँ, बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख रुपैयाँ, ६० सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख रुपैयाँ जरिवाना तोकेको महानगरले जनाएको छ । यस्तै, महानगरको दमकल फुटाएको १ लाख ३० हजार रुपैयाँ, तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड गरेको ४० हजार रुपैयाँ र तीनकुनेको आइल्याण्डमा तोडफोड गरेको २३ हजार रुपैयाँ जरिवाना तोकेको छ । तीनकुने वितण्डाको मुख्य दोषी ठहर गर्दै महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रूपैयाँको बिल निर्मल निवासमा पठाएको हो ।
राष्ट्र बैंकको गभर्नर नियुक्तिमा कहाँ सेटिङ गर्दै हुनुहुन्छ त्यो मलाई थाहा छ : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सत्ता गठबन्धनमा तानातानको अवस्था बनेको बताएका छन् । शनिबार प्रेस सेन्टर नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सत्ता गठबन्धनमा तानातान चलिरहेको बताए । देशको अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेको बेलामा योग्य मान्छे ल्याउनुपर्ने बेलामा गठबन्धनभित्र तानातान चलिरहेको उनको भनाइ छ । ‘को मेरो मान्छे, को तेरो मान्छे, कसलाई ल्याउँदा कति फाइदा हुन्छ । राष्ट्रलाई फाइदा होइन, आफूलाई भन्ने सोचियो भने त्यसले अर्थतन्त्र सुधार गर्न सहयोग गर्दैन,’ उनले भने, ‘मैले भर्खरै प्रधानमन्त्री छोडेको हुँ, तपाईंहरूले कहाँ सेटिङ गर्दै हुनुहुन्छ त्यो मलाई थाहा छ । तपाईंहरू कहाँबाट लाभ लिन खोज्दै हुनुहुन्छ । मलाई सबै थाहा छ । त्यसो नगर्नुस् ।’ साथै उनले समाजवादी मोर्चाले करिब एक लाख जनता गणतन्त्रको पक्षमा उतारेकै कारणले राजावादी अराजकता कम भएको दाबी गरे । ‘हिजो मोर्चाको कार्यक्रम राखेकोप्रति धेरैले बधाई र धन्यवाद छ । समाजवादी मोर्चाले पचासौं हजारौं जनता हिजो सडकमा नउतारेको भए, हिजो धेरै ठूल्ठूला दुर्घटना हुने खतरा थियो । त्यहाँ हिजो झन्डै एक लाख जनता नउत्रिएको भए, यतिमात्रै होइन, अझै ठूलो घटना हुन्थ्यो । हामीले हिजो कार्यक्रम राखेकै कारणले धेरै धनजनको क्षति हुनबाट बच्यो,’ उनले भने । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्ने बताए । आफ्ना कमजोरीको आत्मलोचनासहित जनताको भावनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । ‘जनताले आज हामीबाट सुधार मागिरहेका छन् । सुधार खोजिरहेका छन् । हरेक क्षेत्रमा सुधार गर्ने प्रतिवद्धता र आफ्ना कमजोरीको आत्मलोचना गर्दै जनताको भावनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।