तीनकुने घटनाः दुईको मृत्यु, ५३ प्रहरी घाइते, १४ स्थानमा आगजनी
काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ । प्रहरीले मानवीय र भौतिक क्षति भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्षतिको विवरणसमेत सार्वजनिक गरेको छ । तीनकुने घटनामा परी कीर्तिपुर-४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ । तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए । यसैगरी ९ वटा सरकारी सवारी साधन, ६ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको छ । विभिन्न १४ स्थानमा आगजनी भएको, ९ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
चैत्र कृष्ण औँसीः आज परम्परागत घोडेजात्रा पर्व मनाइँदै
काठमाडौं । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरी जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।
आजको मौसम: कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना, राति के हुन्छ ?
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुनाका साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकीको पहाडी भू-भागको एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
अराजकता मच्चाउने राजावादीका १७ जना पक्राउ, सुवेदी नजरबन्द, दुर्गा प्रसाईं फरार
काठमाडौं । प्रहरीले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शम्सेर जबरासहित डेढ दर्जन व्यक्तिलाई पक्राउ गरेको छ । राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा मिश्र, जबरासहित १७ जना पक्राउ गरेको हो । मिश्र र राणालाई ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको हो । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्याइएपछि मिश्र, राणासहित स्वागत नेपाल, सेफोर्ड लिम्बु, सन्तोष तामाङलाई पक्राउ गरिएको हो । उनीहरूलाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको हो । उनीहरूलाई उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीसँगको झडपका क्रममा १२ जना भने शुक्रबार दिउँसै पक्राउ परेका हुन् । ‘राजसंस्था पुनः स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीलाई भने गौरीघाटस्थित घरमै नजरबन्दमा राखिएको छ । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मिलेर काठमाडौंको तीनकुनेमा प्रदर्शनको नाममा हिंसात्मक गतिविधि गरेको आरोप छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र सुवेदीको नेतृत्वको समूहले गरेको प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका छन् । घटनाका प्रमुख दोषी मानिएका प्रसाईँ तीनकुनेबाट भागेपछि भूमिगत भएका छन् । सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेका प्रसाईँ घरमा नगई भूमिगत भएका हुन् । उनलाई पक्राउ गर्न प्रहरी परिचालन भए पनि राति ११ बजेसम्म फेला परेका छैनन् ।
तीनकुने घटनाका दोषीलाई कारबाही गर्ने सरकारको निर्णय, घाइतेको निःशुल्क उपचार गराउने
काठमाडौं । सरकारले पूर्वराजावादीको समर्थकहरुले गरेको प्रदर्शनबाट भएको घटनाको सत्यतथ्य छानबिन गरेर कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ । शुक्रबार बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको निःशुल्क उपचार गराउने पनि निर्णय गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । साथे सरकारले पूर्वराजाका समर्थकहरूले काठमाडौंको तीनकुनेमा घटाएको घटनाक्रमप्रति घोर भत्र्सना गरेको छ । आजको घटनाका दोषीलाई छानबिन गरी कारबाही गर्ने निर्णय पनि सरकारले गरेको छ । आगामी दिनमा यस्ता घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिउको मन्त्री गुरुङले बताए ।
जडिबुटी प्रशोधन केन्द्रको आगजनी ४ घण्टामा निभाइयो
काठमाडौं । पूर्वराजाका समर्थकहरुले आज जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको जडिबुटीस्थित कार्यालयमा लगाएको आगो ४ घण्टा पछि निभाइएको छ । कोटेश्वरबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदर्शनकारीले एक्कासी प्रशोधन कम्पनीमा प्रवेश गरी अपरान्ह आगजनी गरेका थिए । आगो निभाउन परिचालित जुद्ध वारुण यन्त्र भक्तपुरका ३ वटा, काठमाडौं महानगरपालिकाका २ र ललितपुर महानगरपालिकाको १ गरी ६ वटा दमकलले ४ घण्टामा आगो निभाएको जुद्ध बरुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिए । उनले भने, ‘जम्मा ६ वटा दमकलले राति ९ बजे आगो निभाएर फर्कियौँ ।’ उनले सन्चोलगायत जडिबुटीका औषधि बनाउदा प्रयोग हुने केमिकल बलेपछि आगो थप बढेकाले निभाउन समय लागेको बताए । आगो निभाउन गएको जद्ध बारुण यन्त्रको एक दमकलसमेत ओन्दालनकारीले तोडफोड गरेको कार्यालय प्रमख धौभडेलले जानकारी दिए ।
राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ
काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ परेको हो । प्रहरीले केही समय अघि उनीहरूलाई नियन्त्रणमा लिएको जनाउको छ । शुक्रबारको घटनाबारे अनुसन्धानका लागि प्रक्राउ गरिएको जनाएको छ । दुवै जनालाई अस्पतालमा घाइतेलाई भेटेर फर्कने क्रममा नियन्त्रणमा लिइएको हो ।
लम्बियो कर्फ्यूको समय, शनिबार बिहान ७ बजेसम्म रहने
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको कर्फ्यूको समय शनिबार बिहान ७ बजेसम्मका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, आज राती १० बजेसम्मका लागि जारी भएको कर्फ्यूको समय शनिबार बिहानसम्मका लागि थप गरिएको हो । काठमाडौं महानगरपालिकाभित्रका विभिन्न स्थानमा चार किल्ला तोकी सो सिमाना भित्र कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ । बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि विमानस्थल, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वर बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म कर्फ्यू क्षेत्र तोकिएको छ । त्यसैगरी गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै बानेश्वर चोकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।