विकासन्युज

एनएमबि बैंकको पहलमा ६ करोड डलर बराबरको हरित वण्ड जारी हुने

काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय संस्थाहरू आइएफसी, बीआइआइ र मेटलाइफसँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड जारी गर्ने सम्झौता गरेको छ । यो सहकार्यबाट जलवायु परियोजनामा संलग्न उद्यमहरूमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गुणस्तरीय रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । साथै, देशको ऊर्जा क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ । वण्डबाट उठाइएको रकम सौर्य ऊर्जा, विद्युतीय सवारी, हरित भवन तथा बायोमासजस्ता नवीकरणीय ऊर्जा परियोजनाहरूमा लगानी गरिनेछ । समझदारीपत्र हस्ताक्षर समारोहमा एनएमबि बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलले नवीकरणीय उर्जा क्षेत्रको विकासका लागि यो पहल एक 'पारिवर्तनकारी फड्को' हुने विश्वास व्यक्त गरे । साथै, विदेशी पूँजी भित्र्याई जलवायु क्षेत्रमा लगानी बढाउँदा पर्यावरणीय प्रभाव न्यूनीकरणमा समेत सहयोग पुग्ने उल्लेख गरे ।

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरी एक दशकदेखि कुटानी–पिसानी मिल सञ्चालन गर्दै आएका छन् । मिल सञ्चालन गरेर उनले मासिक रु एक लाख बढी आम्दानी गर्दै आएका हुन् । सृजनशील बचत तथा ऋण सहकारी संस्थाबाट चौधरीले रु २० लाख ऋण लिएर मिल सञ्चालन गरेको बताए । मिलमा गहुँको पिठो बनाउने, तोरीको तेल निकाल्ने, धान कुटानी गरी चामल निकाल्ने उपकरण राखेका छन् । “पटकपटक गरी सहकारीबाट रु २० लाखजति ऋण लिएका हौँ”, उनले भने, “सहकारीबाट लिएको ऋणमध्ये रु १८ लाख आम्दानीको रकमले तिर्न भ्याएका छौँ, अब रु दुई लाखमात्रै बाँकी छ, त्यो पनि दुई तीन महिनामा चुक्ता गर्ने योजना छ ।” व्यवसाय गर्ने पैसा नहुँदा विगतमा खेतबारीमा दिन बिताउने गरेको उल्लेख गर्दै चौधरीले खेतबारीबाट उत्पादन हुने अन्नले खानमात्रै पुग्ने, खर्चका लागि अभाव हुने गरेको बताए । सहकारीमा आबद्ध भएर ऋण लिएर मिल सञ्चालन गरेपछि पैसाको अभाव नभएको उहाँको भनाइ छ । “महिनामा रु एक लाख ५० हजार जति आम्दानी हुन्छ”, उनले भने, “मिलमा काम गर्ने कामदारको ज्याला, उपकरण मर्मत, विद्युत्को महसुल खर्च कटौती गरी महिनामा रु ७० हजारजति बचत हुने गरेको छ ।” बचत भएको रकम चौधरीले सहकारीमा जम्मा गर्दै आएको जानकारी दिए । उनका अनुसार मिलको आम्दानी भएको रकमले उहाँले गाउँमा चार कठ्ठा जग्गा खरिद गर्नुका साथै दुई छोराले धनगढीमा उच्च शिक्षा अध्ययन गराइरहेका छन् । सीमा क्षेत्र नजिकै भएकाले मिलमा कुटानी–पिसानीका लागि भारतीय गाउँ टाटरगञ्जका नागरिक पनि आउने उनले जानकारी दिए । दैनिक भारतीयको चार क्विन्टलजतिको गल्ला कुटानी–पिसानीको काम हुने गरेको चौधरीले बताए । नेपाली र भारतीयको गरी दैनिक १० क्विन्टल गल्ला कुटानी–पिसानीको हुने गरेको छ । नजिक अरु कुटानी–पिसानीका मिल नहुँदा ग्राहकको घुइँचो लाग्ने गरेको उहाँको भनाइ छ । “तोरीको तेल पेल्न, कुटानी–पिसानी गर्ने भारतीय अधिक आउने गरेका छन्”, चौधरीले भने, “भारतीय क्षेत्रमा रहेका मिलले लिने रकमभन्दा यहाँ सस्तो हुँदा उहाँहरू यता आउनुहुन्छ ।” मिलमा ‘ब्रान’ छाडेमा कुनै शुल्क नलिएर धान कुटानी गरिदिने गरेको उनले बताए । गहुँ पिसानी गरेको प्रतिकिलो रु डेढ, मकैको रु अढाइ, तोरीको तेल निकालेको रु सात लिने गरेका जनाउँदै चौधरीले धान कुटानी गरेपछि आउने ब्रान र तोरीको तेल पेलेर निस्कने पिना (खली) बेचेर अतिरिक्त आम्दानी हुने बताए । आम्दानी भएको रकम बचतमार्फत बजार क्षेत्रमा जग्गा खरिद गरी पक्की घर निर्माण गर्ने योजना रहेको उहाँले उल्लेख गरे । ग्राहकलाई चाहेकोबेला सेवा दिने भएकाले मिलमा ग्राहकको कमी नहुने उनको बुझाइ छ । रासस

आजसम्म सेयरधनी बने सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पाउने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को लाभांश सुरक्षित गर्ने आज वैशख १६ गते अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ वैशाख १७ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको साधारण सभा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले वैशाख २८ गते बिहान १० बजे काठमाडौंमा २८औँ वार्षिक साधारण सभा बोलाएको छ।  कम्पनीको सभाले लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई भुक्तानी गरेको रकम अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

सहरी क्षेत्रमा नयाँ अस्पतालका लागि जग हाल्नु पर्दैन, स्वास्थ्य बीमा सङ्कटमा छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विशिष्टिकृत उपचार गर्ने नयाँ अस्पताल अब सहरी क्षेत्रमा थप गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको १७औँ स्थापना दिवस तथा रक्त सञ्चार केन्द्रको उद्घाटन समारोहमा उनले देशका सहरी क्षेत्रमा अब नयाँ विशिष्टिकृत अस्पताल खोल्न आवश्यक नभएको बताए ।  उनले भने, ‘सहरी क्षेत्रमा अब नयाँ अस्पताल निर्माण गर्न जग हालिरहनु पर्दैन । भएकै अस्पतालको प्रभावकारी व्यवस्थापन गर्ने, गुणस्तरीय सेवा प्रदान गर्ने, पूर्ण प्रविधिमैत्री बनाउने र सबै उपचार गर्न सक्न गरी क्षमता वृद्धि गरे पुग्छ ।’  देशभरका ६ हजार ७४३ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र पुर्याउनुपर्ने र स्वास्थ्य सेवा पुगेका केन्द्रमा पूर्वाधार र प्रविधि नहुँदा गुणस्तरीय सेवा दिन नसकिरहेको उनको भनाइ छ । सरकारले नागरिकको स्वास्थ्य बीमाका लागि १० अर्बभन्दा बढी बजेट विनियोजन नगर्ने तर स्वास्थ्य बीमा बोर्डले विभिन्न अस्पताललाई तिर्नुपर्ने ३७ अर्ब रुपैयाँ पुगिसकेको बताउँदै नागरिकमा आधारित बीमा व्यवस्था लागू गर्न नसके बीमा सङ्कटमा पर्ने उल्लेख गरे । स्वास्थ्य बीमा सङ्कटमा मन्त्री पौडेलले भने, ‘डुब्न लागेको बीमालाई उतार्नुछ भने राज्यको लगानी र नागरिकको योगदानमा आधारित बीमा प्रणाली लागू गर्नुपर्छ ।’  मध्यपुरथिमि नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले अस्पतालको गुणस्तरीय सेवा विस्तारका लागि नगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरिरहेको बताउँदै अस्पतालाई उत्कृष्ट बनाउने प्रतिबद्धता जनाए ।  अस्पतालका कार्यकारी निर्देशक डा डिके रोशनले देशकै अब्बल अस्पताल बनाउने लक्ष्यका साथ अघि बढिरहेको र हाल दैनिक १ हजारभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिरहेको जानकारी दिए । 

खुल्न थाले विद्यालय, अभिभावकले सुरु गरे भर्ना अभियान र पठनपाठन

काठमाडौं । शिक्षक महासङ्घले घोषणा गरेको आन्दोलन अनिश्चित बन्दै गएपछि पर्वतका सामुदायिक विद्यालय खुल्न थालेका छन् । सामुदायिक विद्यालय सञ्चालनमा नआउँदा निजी विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढेको र यही अवस्थामा सामुदायिक विद्यालय थप प्रभावित हुने भएपछि  विद्यालय व्यवस्थापन समिति र अभिभावकले भर्ना अभियान सञ्चालन र पठनपाठन सुरु गरेका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ पर्वतका अनुसार विभिन्न स्थानीय तहले विद्यालय खोलेर भर्ना अभियानका साथै पठनपाठन सुरु गरेका छन् । कुश्मा नगरपालिकाका केही विद्यालय, मोदी गाउँपालिका, फलेवास, महाशिला, जलजलाका विभिन्न विद्यालय खुलेर नियमित पठनपाठन हुन थालेको इकाई प्रमुख मतिलाल चपाईले जानकारी दिए ।  इकाईका अनुसार जिल्लामा २७५ सामुदायिक र २८ निजी विद्यालय छन् । आन्दोलनमा नगएका शिक्षकले अभिभावक र व्यवस्थापन समितिको दबाबमा विद्यालय सञ्चालन गर्न थालेका हुन् । यहाँका सामुदायिक विद्यालयमा करिब १९ हजार विद्यार्थी अध्ययनरत छन् । 

नारायणगढ-बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

काठमाडौं । नारायणगढ-बुटवल सडक अन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई  वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माण कार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११ देखि भोलिपल्ट बिहान ५ बजेसम्म आवागमन बन्द गरिने भएको हो । ‘दाउन्ने खण्डमा आवश्यक सडक मर्मत सम्भार र निर्माणकार्य गर्ने गरी रातको समयमा सवारीसाधन सञ्चालन रोकी निर्माणकार्यलाई अहिले तीव्रता दिइएको छ,’ उनले भने, ‘सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षा अगावै सम्पन्न गर्नका निम्ति थप केही दिन आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ ।’ यसअघि दाउन्ने सडकखण्डमा चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ देखि ३ बजेसम्म र २०८२ वैशाख १ गतेदेखि रातिको ११ देखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम भइरहेको छ । अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताए ।  नारायणगढ–बुटवल सडकको ११४ किलोमिटर अन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ ।  १७ अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ ।

लुम्बिनीका विद्युतीय सवारी प्रयोग विहीन, राज्यको सम्पत्तिमा असर

काठमाडौं । लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएको थियो । कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर थन्किएका छन् । जसले राज्यको सम्पत्तिमा असर पारेको छ । यही वैशाख १३ गते लु१झ ६९६ नं को विद्युतीय भ्यान लुम्बिनी ग्राम क्षेत्रभित्रको सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा अगाडिको भागमा क्षति भएको छ । विसं २०८० चैत २३ गते सोही भ्यानलाई अनधिकृत व्यक्तिले प्रयोग गरिरहेको देखेर स्थानीयले प्रहरीलाई बुझाएका थिए ।  कोषको सूचना शाखाका कर्मचारी राजन बस्नेतले उक्त सवारी अनधिकृत रूपमा चलाउँदा २०८० साल साउन १९ गते दुर्घटना भएको थियो भने भ्यान मर्मतका लागि २८ लाख रुपैयाँ खर्च लाग्ने प्राविधिकले जनाएका छन् । बस्नेतले चलाएको उक्त सवारीको ठक्करबाट लुम्बिनी सांस्कृतिक नगरपालिका-७ पक्डीहवाका ४० वर्षीय रविन्द्र यादव घाइते भएका थिए । साथै लु३१प १८६ नं को मोटरसाइकलमा ठूलो क्षति भएको उनको भनाइ छ । उनका अनुसार यहाँ लु१झ ६९४ नंको भ्यान पछाडितर्फ ठोक्किएको छ । ‘ढोकामा ह्यान्डल गायब छ भने एउटा पाङ्ग्रा खोलिएको छ । लु१झ ६९५ नं भ्यानको चारवटा पाङ्ग्रा पञ्चर भएको छ । पाँचमध्ये चार बसको एसी बिग्रिएको छ । लु १झ ३८४ नम्बरको बसमा अगाडिको सिसा फुटेको छ,’ उनले भने ।  एसियाली विकास बैंकको दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गतको क्लिनइनर्जी योजनाबाट लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत १९ वटा विद्युतीय सवारी कोषका नाममा विसं २०७९ जेठ १२ गते नामसारी भई आएका हुन् । विभिन्न दुर्घटनामा क्षतिग्रस्त भएका सवारीसाधन, तिनैमध्येबाट हुन् । लुम्बिनीमा ल्याइएका १४ भ्यान र ५ वटा विद्युतीय बस वातानुकूलित, अपाङ्गता मैत्री र स्वचालित ढोका भएका छन् । प्रत्येक बसमा १९ सिट र भ्यानमा पाँच सिट क्षमता छ । एकपटक पूरा चार्ज गरेपछि चार सय किमी गुड्न सक्ने उक्त बस/भ्यानमा कार्डबाटै भुक्तानी गर्न सकिने सुविधा पनि छ । अदालतले सेतोलाई हरियो नं प्लेटमा रूपान्तरण गरी दाताको उद्देश्यअनुसार सञ्चालन गर्न एक महिनाको समय सीमा तोकेर परमादेश जारी गरेको, लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए ।  उक्त समय सीमा नाघीसकेपनि अवस्था जस्ताको त्यस्तै रहेको उनको भनाइ छ ।  ‘कानुनी अस्पष्टताका कारण सेतो प्लेटका सवारीसाधनलाई उद्देश्य अनुसारको प्रयोगमा ल्याउन सकेका थिएनौँ । अदालतको आदेशपछि प्रक्रिया अघि बढाइएको छ,’ लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भने, ‘अब हरियो प्लेट बनाएर उद्देश्य अनुसारको प्रयोगमा ल्याइनेछ ।’ 

सरकार र शिक्षकहरूको वार्ता सकारात्मक, आज सहमति हुन सक्ने

काठमाडौं । सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीच सोमबारको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले सोमबार सहमति हुन नसकेको हो । सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहितको टोलीले गरेको थियो । वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए ।  उनले भने, ‘केही विषय टुङ्गो लगाउन बाँकी छ । वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ ।’ शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको उल्लेख गरे । उनले महासङ्घसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले यथा शीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने पक्षमा सरकार रहेको जानकारी दिए ।  महासङ्घका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताए । उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने उल्लेख गरे । वार्तामा सहमतिको प्रक्रिया अघि बढेकोले आज बिहान ८ बजे बस्ने बैठक निष्कर्षमा पुग्ने शिक्षक नेताहरुले बताएका छन् । आज बस्ने बैठकले  सहमति गर्ने तयारी भइरहेको छ ।  मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासङ्घसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो । मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्म शिक्षक आन्दोलनको माग सम्बोधन हुने बताए ।   विद्यालय शिक्षा ऐनलगायत माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि राजधानी काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।