सहिदका छोराछोरी हाम्रा पनि छोराछोरी हुन् : अक्षय गोल्याण
काठमाडौं । गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी सहिद परिवारप्रति सम्मान व्यक्त गर्दै सामाजिक सञ्जाल लिङ्क्डइनमा भावुक सन्देश जारी गरेका छन् । जेनजी सहिद परिवार कल्याणकारी समाजले मंगलबार उनलाई सम्मान गरेको र सहिद परिवारसँग भेटघाट भएको सन्दर्भलाई लिएर गोल्याणले आफ्नो सामाजिक सञ्जालबाट यस्तो सन्देश जारी गरेका हुन् । ‘त्यहाँ भेला भएका सबैको मुहारमा पीडा ताजा थियो, मानौं घटना हिजोमात्रै भएको हो,’ जेनजी सहिद स्मृति दिवसको सम्झना गर्दै उनले लेखेका छन्, ‘प्रज्वलित हरेक दियोको ज्वालामा र मौन रहेका हरेक अनुहारमा त्यो पीडा महसुस गर्न सकिन्थ्यो ।’ औपचारिक कार्यक्रम सकिएपछि गोल्याणले सहिद परिवारसँग भेटेको र त्यसले आफूलाई सोचमग्न बनाएको उल्लेख गरेका छन् । ‘त्यो कोठामा आँशुका बीच पनि आत्मीयता र न्यानोपन थियो, चिरपरिचित जस्तो सहजता झल्किन्थ्यो,’ उनले भनेका छन्, ‘किनभने एक वर्ष अवधिमा हामीबीच भएको निरन्तर भेटघाट, नानीबाबुहरु पढ्ने विद्यालय भ्रमण र कुराकानीले अपरिचित थिएनौं ।’ कार्यक्रमस्थलमा देखिएको आत्मीयता नै सबैभन्दा ठूलो सम्मान भएको उनले बताएका छन् । अक्षय नेतृत्वको गोल्याण ग्रुपले सामाजिक सहकार्यात्मक संस्था गोल्याण फाउण्डेशनमार्फत सहिदका सन्तानलाई कक्षा १२ सम्म शैक्षिकवृत्ति प्रदान गरेको छ भने शैक्षिकवृत्तिमा नसमेटिएका सहिद परिवारका बुवाआमालाई वार्षिक १० लाख रुपैयाँको स्वास्थ्य बीमा गरिदिएको छ । फाउण्डेशनले घोषणाको एक वर्षमै प्रतिवद्धता कार्यान्वयन गरेको छ । अहिले २२ सहिदका ३१ जना बालबालिकाले शैक्षिकवृत्ति पाएका छन् । फाउण्डेशनले मासिक जनही ४० हजारको दरले वार्षिक ४ लाख ८० हजार रुपैयाँ खर्च गर्छ । त्यसैगरी २२ सहिदका ४३ बुवाआमा स्वास्थ्य बीमामा आवद्ध भएका छन् । पहिलो वर्षमै करिब ८ लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी भएको छ । अक्षयले यो सहकार्यबाट सहिदका परिवारका सदस्यहरुलाई गोल्याण परिवारकै एक हिस्सा बनाएको उल्लेख गरेका छन् । ‘सहिदका छोराछोरीहरु हाम्रा पनि छोराछोरी हुन् र बुवाआमा हाम्रा पनि,’ उनले भनेका छन्, ‘हामी सम्मान, जिम्मेवारी र सहिदहरूको बलिदानलाई कहिल्यै नबिर्सने प्रतिबद्धताका साथ यो यात्रालाई सँगसँगै अघि बढाइरहेका छौं ।’ सहिद परिवारसँगको एक वर्षको सम्बन्धले एउटै परिवारको आकार दिएको र आगामी यात्रा सँगसँगै अघि बढ्ने उनले बताएका छन् ।
प्रधानमन्त्रीसँग जेनजी शहीदकी आमाले सोधिन्– शहीदले न्याय कति वर्षपछि पाउँछ ?
काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडाले शहीदहरुले कहिले न्याय पाउँछन् भनेर सरकारसँग प्रश्न गरेकी छन् । उनले जेनजी शहीदको स्मृतिमा मंगलवार राजधानीमा आयोजित कार्यक्रममा उपस्थित नभएको भन्दै प्रधानमन्त्री बालेन्द्र साहसँग असन्तुष्टि समेत जनाइन् । उनले जेनजी शहिदहरुको बारेमा बोलिदिन माग गर्दा एकवर्षपछि श्रदाञ्जली आएको उल्लेख गर्दै शहीदहरुले न्याय कति वर्षमा पाउँछन् ? भन्दै प्रश्न गरिन् । उनले भनिन्, ‘देशले शहीद पायो, एक दिन विदा पनि पायो । स्मृति दिवसमा आएर केही बोलिदिनुहोस्, जेनजी शहीदको लागि केही लेखिदिनुहोस् भनेर बिहान ७ बजेदेखि भन्दा भन्दा साँझ ७ बजे स्टाटस त आयो । अन्तमा एकवर्षपछि शहीदलाई श्रदाञ्जली । अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु । शहीदले न्याय कति वर्षपछि पाउँछ सरकार ? शहीद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ अब ?’ उनले जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेहरुका माग सम्बोधन गर्न मागसमेत गरिन् ।
विपद्पछि रविको जोड– भत्किएका संरचनासँगै नागरिकको भरोसा पनि जोडौं
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्का बेला राज्य नागरिकको जीवनरक्षाका लागि ढाल बनेर उभिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै लामिछानेले अहिले राज्य आफ्ना नागरिकको प्राण खोज्नेदेखि सर्वस्व गुमाएकाहरूको आश्रय बन्नेसम्मका काममा जुटिरहेको बताए । ‘राज्य यतिबेला त्यो कहालीलाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ,’ उनले भने, ‘सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको छाहरी बन्न राज्य दिनरात खटिएको छ ।’ उनले विपद्ले बगाएका सडक र चुँडिएका पुलको पुनर्निर्माणसँगै नागरिकको टुटेको भरोसा जोड्नु पनि राज्यको महत्वपूर्ण जिम्मेवारी भएको बताए । लामिछानेले भविष्यमा यस्ता विपद् दोहोरिँदा क्षति कम गर्न बलियो पूर्वतयारी र सुरक्षित संरचनाको खाका निर्माण गर्नुपर्नेमा जोड दिए । ‘राज्य यतिबेला भेलले बगाएका सडक र चुँडिएका पुलमात्रै होइन, विपद्ले टुटाएका नागरिकको भरोसालाई जोड्ने प्रयास गरिरहेको छ,’ उनले भने । लामिछानेले बाढीपछिको प्रतिकार्यबारे सरकारको बचाउ गर्दै हवाई उद्धारको यति ठूलो र व्यवस्थित अभियान विरलै भएको दावीसमेत गरे । उनले भने, विपत्तिको सुरुकै घण्टामा सरकारले सम्पूर्ण शक्ति परिचालन गरेर उद्धार, उपचार र राहतको काम सुरु गरेको थियो । तथ्यसहित भन्न सकिन्छ हवाई उद्धारको यति ठूलो व्यवस्थित अभियान यसअघि विरलै भएको थियो ।’
जेनजी दिवसको कार्यक्रममा विवादित धर्मगुरुलाई मञ्चमा राखिएको भन्दै रास्वपा सांसदको आपत्ति
काठमाडौं । जेनजी दिवसका अवसरमा आयोजित कार्यक्रममा विवादास्पद धर्मगुरुलाई मञ्चमा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंले आपत्ति जनाएका छन् । बुधबार (आज) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौलागाईंले जेनजी आन्दोलनको भावना र मर्मविपरीत हुने गरी विवादित व्यक्तिहरूलाई कार्यक्रममा सहभागी गराइएको भन्दै प्रश्न उठाएका हुन् । उनले जेनजी आन्दोलनको स्मरणमा मंगलबार आयोजित कार्यक्रममा सहभागी गराइएका व्यक्तिहरूको भूमिकामाथि प्रश्न उठाउँदै कार्यक्रमको औचित्यमाथि नै असन्तुष्टि व्यक्त गरे । ‘हिजो जेनजीहरूको आन्दोलनको विषयमा स्मृति कार्यक्रम आयोजना गरिएको कार्यक्रममा जेनजीहरूको भावना र मर्मविपरीत गएर विवादास्पद व्यक्तिहरूलाई उपस्थित गराएर त्यो कार्यक्रम किन आयोजना गरियो,’ उनले भने । सांसद चौलागाईंले जेनजी आन्दोलनको मर्म, उद्देश्य र भावनालाई केन्द्रमा राखेर यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने बताए । आन्दोलनको स्मरणमा आयोजना हुने कार्यक्रममै विवादित पात्रलाई प्रमुख स्थान दिइँदा त्यसले आन्दोलनप्रति नै गलत सन्देश जाने उनको भनाइ थियो । उनको असन्तुष्टि आफ्नै दल रास्वपाभित्रबाट आएको हो । जेनजी आन्दोलनको स्मृतिमा आयोजना गरिएको कार्यक्रमलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठिरहेका बेला रास्वपाका सांसदले संसदमै असहमति जनाएका हुन्।
बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि सरकारले अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण थालेको छ । प्रभावित परिवारको इच्छाअनुसार अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण सुरु गरिएको हो । आपतकालीन अवस्थामा प्रभावितलाई राख्न होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो । अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने तयारी सरकारको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले मंगलबारदेखि प्रभावित जिल्लामा टोली खटाएको छ । टोलीले ‘कोबो टुलबक्स’ प्रयोग गरी ‘आवश्यकता मूल्यांकन फारम’मार्फत विवरण संकलन गरिरहेको छ । सर्वेक्षणबाट प्रभावित व्यक्ति तथा परिवारको विस्तृत विवरण संकलन गरिनेछ । घर पूर्ण वा आंशिक रूपमा क्षति भएको अवस्थासमेत पहिचान गरिनेछ । यस्तै, परिवारका दिवंगत वा बेपत्ता सदस्यको संख्या पनि संकलन गरिनेछ । सरकारी सहयोगमा अस्थायी आश्रय लिने वा भाडामा बस्ने परिवारको रुचि पनि बुझिनेछ । त्यसैगरी, प्रभावित परिवारसँग जग्गा उपलब्ध भए–नभएको, स्थानान्तरणका लागि उपयुक्त विकल्प, खानेपानी तथा सरसफाइको अवस्था र अन्य आवश्यकताबारे जानकारी लिइनेछ । हाल पहिलो चरणमा होल्डिङ सेन्टरमा रहेका परिवारको आवश्यकता पहिचान गरिने विभागले जनाएको छ । यसबाट प्रभावित परिवारका लागि आवश्यक योजना बनाउन र कार्यान्वयन गर्न सरकारलाई सहयोग पुग्नेछ । एक साताभित्र होल्डिङ सेन्टरमा रहेका परिवारको सर्वेक्षण सम्पन्न गर्ने गरी काम भइरहेको छ । त्यसपछि होल्डिङ सेन्टरबाहिर रहेका बाढी प्रभावित परिवारको पनि यही फारम प्रयोग गरेर सर्वेक्षण गरिनेछ ।
जेनजी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’
काठमाडौं । सातदोबाटोमा निर्माण गरिएको जेनजी शहीद पार्कको शालिक अनावरण कार्यक्रम शहीदका आफन्तले रोकिदिएका छन् । शालिकको अनुहार शहीदको अनुहारसँग नमिलेको भन्दै आफन्तहरूले अनावरण गर्न असहमति जनाएपछि उद्घाटनका लागि पुगेका गृहमन्त्री सुदन गुरुङ त्यत्तिकै फर्किए । शहीदका आफन्तले सालिक निर्माणमा लापरबाही गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले आफूहरूलाई कार्यक्रमबारे अन्तिम समयमा मात्रै जानकारी दिइएको र सालिकसमेत चित्तबुझ्दो नबनाइएको आरोप लगाए । एक आफन्तले भने, ‘अब यस्तो लापरबाही त नगर्दिनुस् । बितेर गइसक्नु भयो, शहीद हुनुभयो । सधैँको लागि बस्ने कुरा हो । लापरबाही गरेर हुँदैन । आज उद्घाटन हो भनेर हिजो दिउँसो ३–४ बजे बल्ल थाहा भयो । नत्र यसअघि हामीलाई केही पनि जानकारी थिएन ।’ शालिक निर्माण सम्पन्न भएकोबारे आफूहरूलाई जानकारी नै नभएको बताउँदै उनले उद्घाटन कार्यक्रमबारे समेत अघिल्लो दिन दिउँसो मात्रै थाहा पाएको बताए । शालिकको अनुहार नमिलेको भन्दै आफन्तहरूले तत्काल अनावरण गर्न नदिने अडान लिए । उनीहरूले परिवारको सहमति नलिई कार्यक्रम अघि बढाउन खोजिएको भन्दै आपत्तिसमेत जनाए । कार्यक्रमस्थलमा पुग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले पनि सालिकको अनुहार पूर्ण रूपमा तयार नभएसम्म अनावरण गर्न नहुन बताए । खरेलका अनुसार सातदोबाटोमा जेन–जी पार्क निर्माणको अवधारणा तत्कालीन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारकै पालामा अघि बढाइएको थियो । आफू त्यतिबेला सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री रहेको र तत्कालीन युवा तथा खेलकुदमन्त्री बबलु गुप्ताको सक्रियतामा पार्क निर्माणको काम अघि बढाइएको उनले बताए । उनले करिव अढाई महिनामा पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्वाचनका कारण काम केही समय थाती रहेको बताए । उनले भने, ‘यसको अवधारणा, सोच र काम सबै अन्तरिम सरकारकै पालामा हाम्रै पालामा अगाडि बढाएको हो । अनुहार मिलिसकेको छैन भने अहिले यसलाई उद्घाटन गर्ने, अनावरण गर्ने हतार गर्नु हुँदैन । अनुहार मिलाइसकेपछि परिवारहरूले पनि ठीक छ भनेपछि राम्रोसँग परिपक्व ढङ्गले अनावरण गर्नुपर्छ ।’ उनले पार्क निर्माणको काम लगभग सम्पन्न भएपनि फिनिसिङ तथा सालिक निर्माणमा केही काम बाँकी रहेको बताए । शहीदको अनुहार मिलाउने जिम्मेवारी सम्बन्धित निर्माणकर्ताको भएकाले पूर्ण रूपमा तयार भएपछि मात्रै अनावरण गर्नुपर्ने उनको भनाइ छ ।
महालक्ष्मी विकास बैंकको गुणस्तर व्यवस्थापन प्रणाली तेस्रोपटक प्रमाणित
काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र तेस्रोपटक प्राप्त गरेको छ । गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रदान गर्न सफल भएको आधारमा बैंकले उक्त प्रमाणपत्र प्राप्त गरेको हो । बैंकले यसअघि पनि आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गर्दै आएको थियो । बैंकका अनुसार २०८१ साल साउन ३२ गते (सन् २०२४ अगस्ट १६) देखि लागू हुने गरी बैंकले उक्त प्रमाणपत्र प्राप्त गरेको थियो । २०८२ साल भदौमा भएको पहिलो सर्भिलेन्स अडिटबाट पुनः प्रमाणित हुन सफल भएको बैंक २०८३ साल साउनमा भएको तेस्रो सर्भिलेन्स अडिटपछि २०८३ साल साउन ३२ गते (सन् २०२६ अगस्ट १६) देखि लागू हुने गरी पुनः प्रमाणित भएको हो । महालक्ष्मी विकास बैंकले ‘प्रोभिजन अफ डेभलपमेन्ट बैंकिङ एक्टिभिटिज’अन्तर्गत यो प्रमाणपत्र प्राप्त गरेको हो । बैंकका अनुसार विकास बैंकमध्ये यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा महालक्ष्मी विकास बैंक अग्रणी बनेको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने, ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने तथा कार्यप्रणालीमा निरन्तर सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुने बैंकले जनाएको छ । आईएसओ प्रमाणपत्र प्राप्तिका लागि बैंकका नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँचसँगै विस्तृत अडिटसमेत गरिएको थियो । गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समय काठमाडौंको ज्ञानेश्वरमा क्याफे लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ ।