जेनजी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’

काठमाडौं । सातदोबाटोमा निर्माण गरिएको जेनजी शहीद पार्कको शालिक अनावरण कार्यक्रम शहीदका आफन्तले रोकिदिएका छन् । 

शालिकको अनुहार शहीदको अनुहारसँग नमिलेको भन्दै आफन्तहरूले अनावरण गर्न असहमति जनाएपछि उद्घाटनका लागि पुगेका गृहमन्त्री सुदन गुरुङ त्यत्तिकै फर्किए ।

शहीदका आफन्तले सालिक निर्माणमा लापरबाही गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले आफूहरूलाई कार्यक्रमबारे अन्तिम समयमा मात्रै जानकारी दिइएको र सालिकसमेत चित्तबुझ्दो नबनाइएको आरोप लगाए । 

एक आफन्तले भने, ‘अब यस्तो लापरबाही त नगर्दिनुस् । बितेर गइसक्नु भयो, शहीद हुनुभयो । सधैँको लागि बस्ने कुरा हो । लापरबाही गरेर हुँदैन । आज उद्घाटन हो भनेर हिजो दिउँसो ३–४ बजे बल्ल थाहा भयो । नत्र यसअघि हामीलाई केही पनि जानकारी थिएन ।’

शालिक निर्माण सम्पन्न भएकोबारे आफूहरूलाई जानकारी नै नभएको बताउँदै उनले उद्घाटन कार्यक्रमबारे समेत अघिल्लो दिन दिउँसो मात्रै थाहा पाएको बताए । 

शालिकको अनुहार नमिलेको भन्दै आफन्तहरूले तत्काल अनावरण गर्न नदिने अडान लिए । उनीहरूले परिवारको सहमति नलिई कार्यक्रम अघि बढाउन खोजिएको भन्दै आपत्तिसमेत जनाए । 

कार्यक्रमस्थलमा पुग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले पनि सालिकको अनुहार पूर्ण रूपमा तयार नभएसम्म अनावरण गर्न नहुन बताए । 

खरेलका अनुसार सातदोबाटोमा जेन–जी पार्क निर्माणको अवधारणा तत्कालीन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारकै पालामा अघि बढाइएको थियो । 

आफू त्यतिबेला सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री रहेको र तत्कालीन युवा तथा खेलकुदमन्त्री बबलु गुप्ताको सक्रियतामा पार्क निर्माणको काम अघि बढाइएको उनले बताए ।

उनले करिव अढाई महिनामा पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्वाचनका कारण काम केही समय थाती रहेको बताए ।

उनले भने, ‘यसको अवधारणा, सोच र काम सबै अन्तरिम सरकारकै पालामा हाम्रै पालामा अगाडि बढाएको हो । अनुहार मिलिसकेको छैन भने अहिले यसलाई उद्घाटन गर्ने, अनावरण गर्ने हतार गर्नु हुँदैन । अनुहार मिलाइसकेपछि परिवारहरूले पनि ठीक छ भनेपछि राम्रोसँग परिपक्व ढङ्गले अनावरण गर्नुपर्छ ।’

उनले पार्क निर्माणको काम लगभग सम्पन्न भएपनि फिनिसिङ तथा सालिक निर्माणमा केही काम बाँकी रहेको बताए । 

शहीदको अनुहार मिलाउने जिम्मेवारी सम्बन्धित निर्माणकर्ताको भएकाले पूर्ण रूपमा तयार भएपछि मात्रै अनावरण गर्नुपर्ने उनको भनाइ छ ।

Share News