काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि सरकारले अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण थालेको छ ।
प्रभावित परिवारको इच्छाअनुसार अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण सुरु गरिएको हो । आपतकालीन अवस्थामा प्रभावितलाई राख्न होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो ।
अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने तयारी सरकारको छ ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले मंगलबारदेखि प्रभावित जिल्लामा टोली खटाएको छ । टोलीले ‘कोबो टुलबक्स’ प्रयोग गरी ‘आवश्यकता मूल्यांकन फारम’मार्फत विवरण संकलन गरिरहेको छ ।
सर्वेक्षणबाट प्रभावित व्यक्ति तथा परिवारको विस्तृत विवरण संकलन गरिनेछ । घर पूर्ण वा आंशिक रूपमा क्षति भएको अवस्थासमेत पहिचान गरिनेछ ।
यस्तै, परिवारका दिवंगत वा बेपत्ता सदस्यको संख्या पनि संकलन गरिनेछ । सरकारी सहयोगमा अस्थायी आश्रय लिने वा भाडामा बस्ने परिवारको रुचि पनि बुझिनेछ ।
त्यसैगरी, प्रभावित परिवारसँग जग्गा उपलब्ध भए–नभएको, स्थानान्तरणका लागि उपयुक्त विकल्प, खानेपानी तथा सरसफाइको अवस्था र अन्य आवश्यकताबारे जानकारी लिइनेछ ।
हाल पहिलो चरणमा होल्डिङ सेन्टरमा रहेका परिवारको आवश्यकता पहिचान गरिने विभागले जनाएको छ । यसबाट प्रभावित परिवारका लागि आवश्यक योजना बनाउन र कार्यान्वयन गर्न सरकारलाई सहयोग पुग्नेछ ।
एक साताभित्र होल्डिङ सेन्टरमा रहेका परिवारको सर्वेक्षण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।
त्यसपछि होल्डिङ सेन्टरबाहिर रहेका बाढी प्रभावित परिवारको पनि यही फारम प्रयोग गरेर सर्वेक्षण गरिनेछ ।