१९८ किमि सडक कालोपत्र ,१७ हजार ३७४ लाई साढे ६३ करोड भत्ता वितरण
काठमाडौं । घोराही उप-महानगरपालिकाले पछिल्लो ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र गरेको छ । नगर प्रमुख नरुलाल चौधरीका अनुसार पछिल्लो ९ वर्षमा ४५८ किलोमिटर सडक स्तरोन्नति र ग्राभेल, २८० किलोमिटर नयाँ सडक निर्माण र ६८.३ किलोमिटर सडक मर्मत सम्पन्न भएको छ । नगरका सबै वडालाई केन्द्रसँग जोड्न २०७ कल्भर्ट र पाँच झोलुङ्गे पुल निर्माण गरिएका उनले बताए । सहरी सौन्दर्यीकरण र सरसफाइका लागि ९९ किलोमिटर ढल निर्माण तथा एउटा व्यवस्थित स्यानेटरी ल्यान्डफिल्ड साइट सञ्चालनमा ल्याइएको छ । नदी नियन्त्रणका लागि २०.९ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरी बाढी र कटानको जोखिम कम गरिएको छ । खानेपानी र सिँचाइमा आत्मनिर्भरता नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ १०८ कुवा र ७७ डिपबोरिङ निर्माण गरी हाल ९२ प्रतिशत घरमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिएको नगर प्रमुख चौधरीले बताए । कृषि क्षेत्रलाई लक्षित गरी ४३ कृत्रिम जलाशय निर्माण गरिएका छन् । जसबाट ७३८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको उनको भनाइ छ । ऊर्जा क्षेत्रमा ८७ किलोमिटर प्रसारण लाइन विस्तार र ७ वटा शौर्य ऊर्जा प्लान्ट स्थापना गरिएको छ । नगर प्रमुख चौधरीका अनुसार शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा शिक्षा क्षेत्रमा २७ विद्यालय भवन र ३९ नयाँ कक्षाकोठा थपिएका छन् भने अधिकांश सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको छ । स्वास्थ्यतर्फ २८ स्वास्थ्य संस्थाका भवन निर्माण भएका छन् । सामाजिक सुरक्षाका क्षेत्रमा १७ हजार ३७४ लाभग्राहीलाई बैंकमार्फत ६३ करोड ५८ लाख रुपैयाँभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । घोराहीले हालसम्म १३८ स्थानीय कानुन निर्माण गरी शासन प्रणालीलाई विधिसम्मत बनाएको छ । वडास्तरबाटै अनलाइन घटना दर्ता, अनलाइन नागरिकता सिफारिस र राजस्व सङ्कलनजस्ता विद्युतीय शासन प्रणाली लागू गरी सेवा प्रवाहलाई छिटो तथा पारदर्शी बनाइएको नगरप्रमुख चौधरीले बताए । वातावरण संरक्षणका लागि एक हजार ३०० थान इन्डक्सन चुलो र ४५० थान सुधारिएको चुलो वितरण गरी धुवाँ मुक्त भान्सा अभियानलाई समेत सहयोग पुर्याइएको छ ।
स्पेनको सानदार प्रदर्शन, साउदी अरेबियामाथि ४–० को एकपक्षीय जित
काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘एच’को रोमाञ्चक भिडन्तमा स्पेनले साउदी अरेबियामाथि ४–० को फराकिलो र सानदार जित दर्ता गरेको छ । खेलको सुरुवाती मिनेटदेखि नै आक्रामक रणनीति अपनाएको स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै ३ अंक जोड्न सफल भयो । खेलको पहिलो हाफमा स्पेन पूर्ण रूपमा हाबी देखियो । स्पेनले लगातार साउदीको रक्षापंक्तिमाथि दबाब बढाएको थियो । मिडफिल्डको उत्कृष्ट तालमेल र फरवार्ड लाइनको सटिक फिनिसिङका कारण स्पेनले पहिलो ४५ मिनेटभित्रै विपक्षी टोलीविरुद्ध ३–० को सहज एवं सानदार अग्रता लियो । खेलको १०औं मिनेटमै बार्सिलोनाका युवा स्टार लामिने यमालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । फरवार्ड मिकेल ओयार्जाबालले मात्र ३ मिनेटको अन्तरालमा लगातार दुई गोल गरे । उनले २१औं मिनेटमा टोलीका लागि दोस्रो र २४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ३-० को स्थितिमा पुर्याए । खेलकाे ४९ ‍‍औं मिनेटमा साउदीका हसन अल्टामबक्तीले आत्मघाती गाेल गरे । दोस्रो हाफमा साउदी अरेबियाले खेलमा पुनरागमनका लागि आफ्नो रणनीति बदल्ने प्रयास गरेको थियो । साउदीले केही राम्रा प्रहार गरे पनि स्पेनको मजबुत रक्षापंक्ति र गोलकिपरलाई भत्काउन सकेन । साउदी अरेबियालाई पूर्ण रूपमा दबाबमा राख्दै ४ गोलको जित निकालेसँगै स्पेनले समूह ‘एच’ मा आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको छ । यो फराकिलो जितले स्पेनको नकआउट पुग्ने सम्भावनालाई थप मजबुत बनाएको छ ।
पहिलो हाफमै स्पेनको बलियो कमब्याक, ३ गोलको सानदार अग्रता
काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘एच’को रोमाञ्चक भिडन्तमा स्पेनले खेलको पहिलो हाफमै बलियो पकड बनाएको छ । स्पेनले पहिलो ४५ मिनेटभित्रै विपक्षी टोलीविरुद्ध ३-० को सानदार अग्रता लिएको हो । खेलको सुरुवाती मिनेटदेखि स्पेनले लगातार विपक्षीको रक्षापंक्तिमाथि दबाब बढाएको थियो । मिडफिल्डको चुस्त पासिङ र फरवार्ड लाइनको उत्कृष्ट तालमेलका कारण स्पेनले पहिलो हाफमै तीन पटक बललाई जाली चुमाउन सफल भयो । खेलको १०औं मिनेटमै बार्सिलोनाका युवा स्टार लामिने यमालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । फरवार्ड मिकेल ओयार्जाबालले मात्र ३ मिनेटको अन्तरालमा लगातार दुई गोल गरे । उनले २१औं मिनेटमा टोलीका लागि दोस्रो र २४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ३-० को स्थितिमा पुर्याए । विश्वकपको समूह चरणमा नकआउट यात्रा बलियो बनाउन यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ । दोस्रो हाफमा विपक्षी टोलीले पुनरागमनका लागि रणनीति बदल्ने प्रयास गर्नेछ भने स्पेन आफ्नो यो बलियो अग्रतालाई जितमा बदल्दै स्पष्ट ३ अंक जोड्ने दाउमा हुनेछ । पहिलो खेलमा स्पेन केप भर्डसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट
काठमाडौं । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि दुई अर्ब ६४ करोड ६४ लाख रुपैयाँ बजेट ल्याएको छ । आइतबार (आज) आयोजित नगरसभाको १५औं अधिवेशनमा उपप्रमुख कन्दकला कुमारी रानाले बजेट सार्वजनिक गरेकी हुन् । उनका अनुसार आगामी आवका लागि चालुतर्फ एक अर्ब ४३ करोड ६३ लाख रुपैयाँ र पुँजीगततर्फ एक अर्ब २३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ । बजेटका स्रोतका रुपमा आन्तरिक आयबाट ५५ करोड १० लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ६० करोड ४५ लाख ३६ हजार रुपैयाँ, नेपाल सरकारबाट वित्तीय हस्तान्तरणतर्फ एक अर्ब छ करोड ७९ लाख प्राप्त हुने जनाएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारबाट १४ करोड २२ लाख रुपैयाँ तथा चालु आर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख २१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । चालु आवको दुई अर्ब ५६ करोड चार लाख रुपैयाँ बजेटमध्ये जेठ मसान्तसम्म एक अर्ब ७७ करोड ४९ लाख ५१ हजार रुपैयाँ प्राप्त भएकामा एक अर्ब १९ करोड ९४ लाख खर्च भएको उपप्रमुख रानाले जानकारी दिइन् । उपमहानगरले आगामी आवको बजेटमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा लोककल्याणकारी कार्यलाई प्राथमिकता दिएको छ । उपमहानगरले आगामी वर्ष नगर गौरवका आयोजना सञ्चालन तथा वडा स्वास्थ्य क्लिनिकलाई थप सुदृढीकरण गर्ने जनाइएको छ । विकास आयोजनाको प्रभावकारी सञ्चालनका लागि आयोजना बैंक स्थापना गर्ने र त्यसमा समावेशन आयोजना क्रमशः कार्यान्वयन गर्दै लगिने र सीप सिकाएर युवालाई स्वरोजगार बाउन सीप तथा रोजगार मेला सञ्चालनलाई उपमहानगरले आगामी वर्ष निरन्तरता दिने भएको छ ।
राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा पानी भर्न थालियो, १५ दिनभित्र परीक्षण उत्पादनको तयारी
काठमाडौं । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी भर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दग्नाम र झिँको सिमानामा पर्ने बाँधबाट पिप्लेस्थित तेस्रो अडिटसम्मको मुख्य सुरुङमा पानी भर्न थालिएको हो । रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले आयोजनाको निर्माण सकिएका भौतिक संरचनाको परिक्षण गर्नेक्रम जारी रहेको जनाउँदै छ किलोमिटर दुई सय ७० मिटर मुख्य सुरुङमा पानी भर्न थालिएको बताए । ‘पहिलो दिन एक हजार ६०० मिटर सुरुङमा पानी भरेका छौं । करिब चार दिनमा सबै सुरुङमा पानी भरेर १५ दिनपछि सञ्चालन योग्य बनाउने कार्यतालिका छ’, उनले भने, ‘सात वर्षको प्रयासपछि यो आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गर्नुलाई महत्वपूर्ण उपलब्धि मानेका छौं ।’ यसअघि बाँध, डिसेन्डर (पानी थिग्र्याउने पोखरी) र स्वीचयार्डको सफल परीक्षण भइसकेको आयोजनाले करिब १५ दिन सुरुङमा पानी भरेपछि कुनै समस्या नआएमा त्यसलगत्तै विद्युत्गृहमा रहेका २०/२० मेगावाट क्षमताका दुईमध्ये एक वटा युनिटबाट परीक्षणका लागि विद्युत् उत्पादनको तयारी गरिएको प्रबन्ध सञ्चालक केसीले जानकारी दिए । रघुगङ्गा गाउँपालिका-४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध र दुई वटा पानी थिग्र्याउने पोखरीको परिक्षण भइसकेको छ । भौतिक संरचना र विद्युत्गृहका उपकरणको परीक्षणपछि आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गर्ने उनले बताए । तिल्केनीचौरमा विद्युत्गृह निर्माण सकेर रङरोगन गर्न थालिएको छ । बीस मेगावाटको एक युनिट जडान भइसकेको छ भने अर्को युनिटका पाटपुर्जा जडान अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत्गृह परिसरमा निर्माण भएको स्वीचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आएको प्रबन्ध सञ्चालक केसीले जानकारी दिए । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) छ अर्बमा ठेक्का सम्झौता गरेको थियो। पटकपटक गरी सन् २०२५ नोबेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो। चौँथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न गराउने लक्ष्य अनुसार काम भइरहेको प्रबन्ध सञ्चालक केसीले बताए । कोरोना महामारी, बाढी, पहिरोलगायत प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता भएको थियो । भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो । कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रसारण लाइन पनि बनिसकेको आयोजना कार्यालयले जनाएको छ ।
अमेरिका र इरान स्विट्जरल्याण्डमा गर्दै वार्ता
काठमाडौं । अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित वार्ता आइतबार स्विट्जरल्याण्डमा सुरु भएको मध्यस्थकर्ता कतारले पुष्टि गरेको छ । कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ, ‘लेक लुसर्न समिट’को सुरुवात र उच्च-स्तरीय समितिको पहिलो बैठक अमेरिका, इस्लामिक गणतन्त्र इरान र दुई मध्यस्थकर्ता राष्ट्र, कतार र पाकिस्तानका प्रतिनिधिहरूको सहभागितामा’ सुरु भएको छ ।’ इन्धन उत्पादनका लागि सम्पन्न कतारले अगाडि भनेको छ, ‘कतारले यी बैठकहरूले अमेरिका र इरानबीच भएको ‘समझदारी पत्र’ मा उल्लेखित सबै पक्षहरूलाई सम्बोधन गर्ने व्यापक र स्थायी सम्झौतातर्फ नेतृत्व गर्नेछन् । ’ उक्त सहमतिको घोषणा गत हप्ताको बिहीबार अमेरिका र इरानबीच हस्ताक्षर भएको समझदारी पत्रमा उल्लेख गरिएको थियो ।
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
काठमाडौं । सशस्त्र प्रहरीबल नेपाल, रौतहट टोलीले स्थानीय दुर्गाभगवती गाउँपालिका-३ स्थित मत्सरी घाटमा फसेका १४ जना स्थानीय महिला तथा बालिकाको सकुसल उद्धार गरेको छ । आइतबार अपराह्न ३ः४० बजे मुमको दाल टिपेर फर्कने क्रममा बागमती नदीस्थित सो घाटको बीच भागमा रहेको अग्लो स्थानमा रही उद्धारका लागि याचना गरिरहेका ११ महिला एवं तीन बालिका गरी १४ जनाको प्रहरीले सकुशल उद्धार गरको हो । सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक यज्ञबहादुर योञ्जनको नेतृत्वमा खटिएको १७ जनाको टोलीले रवरको डुङ्गा प्रयोग गरी नदीमा फसेका सबैको उद्धार गरेको सशस्त्र प्रहरी बेसक्याम्प गौरका प्रहरी नायब उपरीक्षक प्रेमसागर विष्टले जानकारी दिए । उद्धार गरिएका सबैलाई उनीहरूको घरसम्म पुर्याएको सशस्त्र प्रहरीले बताएको छ ।
वन्यजन्तु पीडित किसानलाई गुल्मीदरबारले राहत दिने
काठमाडौं । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले वन्यजन्तुको सङ्ख्या वृद्धि भएकाले मानव–वन्यजन्तुबीचको द्वन्द्व बढेसँगै बालीनालीमा हुने क्षतिबाट पीडित भएका किसानलाई राहत दिने नीति अघि सारेको छ । गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष सरोज थापाले वन्यजन्तु पीडित किसानलाई राहत दिने नीति अघि सारिएको बताए । अध्यक्ष थापाले पालिकाभित्र मुख्य समस्याका रूपमा देखा परेको बाँदर, बँदेललगायत वन्यजन्तुको समस्या समाधानका लागि सङ्घ, प्रदेश र विभिन्न सरोकार भएका निकायसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउने घोषणा गरे । उत्पादनमुखी कृषिलाई प्रोत्साहन गर्न गाउँपालिकाले यसअघि सञ्चालनमा ल्याएको कार्यक्रम ‘कृषिउपज उत्पादनः हातहातमा अनुदान’ भन्ने नीतिलाई यसपटक पनि निरन्तरता दिने उनको भनाइ छ । खेतीयोग्य जमिनलाई बाँझो राख्ने बढ्दो प्रवृत्तिलाई निरुत्साहित गर्न गाउँपालिकाले कृषिभूमि बैंकको कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष थापाले स्थानीय बालीको बीउबिजन सङ्कलन र व्यवस्थापन गर्दै लोपोन्मुख अवस्थामा रहेका कोदो, लट्टे, जुनेलो, घैया, तीते फापर, जौ, उवालगायत बालीको उत्पादन वृद्धि गर्न र संरक्षणका लागि किसानलाई विशेष प्रोत्साहन गरिने उल्लेख गरे । पालिकाले ‘कृषि उत्पादनमा वृद्धिः गुल्मीदरबारको समृद्धि’को नारालाई आत्मसात् गर्दै लागत साझेदारीमा फलफूल, तरकारी, मसलाबाली, मौरीपालन, च्याउ, पुष्पखेती, कफीखेतीलगायत व्यावसायिक परियोजना सञ्चालन गर्ने जनाएको छ । घरघरमा उद्यमशीलताको लहर ल्याउन ‘आँगनमा फूलबारी, कौशीमा मौरी घारी, घरपछाडी करेसाबारी’ कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिने भएको छ । नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी ‘गुणस्तरीय खाना उत्पादनमा स्वच्छता’ नीति अपनाउँदै अर्गानिक उत्पादन र रासायनिक मलको विकल्पमा जैविक तथा गड्यौलाको मलको प्रयोगलाई बढावा दिने योजना अघि सारिएको अध्यक्ष थापाले जानकारी दिए । पशुपालनतर्फ ‘मेरो पशुपक्षीः मेरो सम्पत्ति’ अभियान सञ्चालन गरी पशुहरूमा लाग्ने रोगको रोकथाम र उपचार पद्धतिलाई प्रभावकारी बनाउने तथा पशुको नस्ल सुधारका लागि निःशुल्क कृत्रिम गर्भाधान सेवालाई निरन्तरता दिइने उल्लेख गरेको छ । कृषि र पशु बिमा कार्यक्रममार्फत किसानद्वारा गरिएको लगानीको जोखिम न्यूनीकरण गरिनुका साथै पालिकाभित्रका उत्कृष्ट किसानलाई प्रोत्साहन गर्न ‘गुल्मीदरबार उत्कृष्ट कृषक सम्मान’ कार्यक्रमलाई निरन्तरता दिइने नीतिमा समेटिएको छ । पालिकाले ‘गुल्मीदरबारका महिलाः उद्यमशीलतामा पहिला’ भन्ने मूलमर्मलाई आत्मसात गर्दै महिला उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसैगरी, स्वास्थ्यतर्फ ‘हाम्रो गाउँ, स्वस्थ बनाऔं’, ‘साथी शिक्षा’, ‘मेरी आमाः स्वास्थ आमा’, ‘उपाध्यक्ष कोेसेली’ लगायत कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रममा पालिकाभित्र सञ्चालित सहकारी संस्थालाई सुदृढ र पारदर्शी बनाउन समस्याग्रस्त सहकारीहरूको अध्ययन गरी समाधानको पहल विषय पनि समेटिएको छ ।