होटल याक एण्ड यतीको बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

काठमाडौं । पाँचतारे होटल याक एण्ड यतीले बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ ।

होटलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको होटलले जनाएको छ ।

होटलका निर्देशक अरुणकुमार सर्राफ, उनकी आमा रत्नादेवी सर्राफ र भाइ उमेश सर्राफसहितको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरण गर्दै अरुणकुमार सर्राफले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

काठमाडौंको दरबारमार्गमा रहेको होटल याक एण्ड यती नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको पुरानो र प्रतिष्ठित होटलका रूपमा परिचित छ । ऐतिहासिक लालदरबारलाई समेटेर विकास गरिएको यो होटल सन् १९७७ देखि सञ्चालनमा आएको हो ।

होटलले राणाकालीन वास्तुकला, पुराना कलाकृति तथा ऐतिहासिक संरचनालाई संरक्षण गर्दै आधुनिक आतिथ्य सेवासँग जोड्दै आएको छ । त्यसैले होटल याक एण्ड यती नेपालको आतिथ्य क्षेत्रसँगै कला, वास्तुकला र सम्पदासँग पनि जोडिएको छ ।

सर्राफ परिवार व्यवसायसँगै सामाजिक सेवा, सम्पदा संरक्षण र वातावरणीय दिगोपनका क्षेत्रमा समेत सक्रिय रहँदै आएको छ । सर्राफ फाउन्डेसनले नेपालको सांस्कृतिक, वास्तुकलागत तथा हिमाली सम्पदाको संरक्षण, अध्ययन र प्रवर्द्धनमा विभिन्न काम गर्दै आएको छ ।

फाउन्डेसनले कला, वास्तुकला, शिक्षा, समुदाय र दिगोपनलाई जोडेर विभिन्न पहल सञ्चालन गर्दै आएको जनाएको छ । यसअन्तर्गत तारागाउँ नेक्स्ट र नेपाल आर्किटेक्चर आर्काइभलगायतका कार्यक्रम रहेका छन् ।

खुम्बु क्षेत्रमा दिगो पर्यटन र वातावरण संरक्षण प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको सगरमाथा नेक्स्ट पनि फाउन्डेसनको प्रमुख पहलमध्ये एक हो । नाम्चे बजारनजिक स्याङ्बोचेमा रहेको यस केन्द्रले सगरमाथा क्षेत्रमा बढ्दो पर्यटनसँगै देखिएको फोहोर व्यवस्थापन र वातावरणीय चुनौतीबारे जनचेतना अभिवृद्धि गर्दै आएको छ ।

स्थानीय समुदाय, संस्कृति र हिमाली वातावरणको संरक्षणमा समेत केन्द्रले काम गर्दै आएको छ । होटल याक एण्ड यतीले बाढी प्रभावितका लागि गरेको पछिल्लो सहयोगलाई सर्राफ परिवारको सामाजिक उत्तरदायित्वअन्तर्गतको निरन्तरताका रूपमा लिइएको छ । 

Share News