विकासन्युज

सानिमा रिलायन्स लाइफको सीप विकास कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीका अभिकर्ताहरूका लागि सीप विकास कार्यक्रम सम्पन्न गरेको छ । गत जेठ १५ गते धुलिखेलमा र जेठ १७ गते चितवनमा कार्यक्रम सम्पन्न गरिएको हो । तालिम प्रदान गर्न छिमेकी मुलुक भारतका अनुभवी प्रशिक्षक विजयकुमार झालाई आमन्त्रित गरिएको थियो । उनी मोटिभेसनल स्पिकर र सेल्स ट्रेनरको रूपमा भारतदेखि विश्वको विभिन्न देशहरूमा प्रख्यात छन् ।  सीप विकास अभिवृद्धि कार्यक्रममा झाले जीवन बीमा कम्पनीको सन्दर्भमा केन्द्रित रही अत्यन्त प्रभावकारी प्रशिक्षण प्रदान गरे । उनले जीवन बीमाको मूल उद्देश्य, ग्राहकको मनोविज्ञान, ग्राहकसँग सम्बन्ध निर्माण, आपत्ति समाधान गर्ने तरिका, तथा दीर्घकालीन सम्बन्ध विस्तारका व्यावहारिक उपायहरूबारे स्पष्ट र प्रयोगमा ल्याउन मिल्ने सुझावहरू दिए । यो प्रशिक्षणले सहभागीहरूलाई आफ्ना बिक्री सीप सुधार गर्न, ग्राहकसँग अझ आत्मविश्वासका साथ प्रस्तुत हुन र कम्पनीको व्यवसायिक लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउन प्रेरित गरेको छ । कार्यक्रममा २ सय ४० भन्दा धेरै अभिकर्ताहरूको सहभागिता रहेको थियो ।  उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृतहरू, क्षेत्रीय प्रबन्धकहरूलगायत अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।  कार्यक्रममा सीईओले प्रशिक्षणको महत्त्व र अपरिहार्यता माथि प्रकाश पार्दै तालिमबाट सिकेका कुराहरुलाई व्यावहारिकतामा उतार्नुपर्ने बताए । 

नेपालकै पहिलो पटक सिटिजन्स बैंकले सुरु गर्‍यो र्‍यापिड एपीआई बैंकिङ प्रणाली

काठमाडौं । सिटिजन्स बैंकले नेपालमै पहिलो पटक गोकियो ल्याब्स प्रालिसँगको सहकार्यमा व्यवसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन डिजाइन गरिएको सुरक्षित एपीआई बैंकिङ प्लेटफर्म र्‍यापिड एपीआई बैंकिङ प्लेटफर्म सञ्चालनमा ल्याएको छ । यस सेवाअन्तर्गत प्रथम चरणमा व्यवसायिक ग्राहकको सहमतिमा र्‍यापिडले ग्राहकको ईआरपी प्रणालीहरूलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जडान गर्छ, जसले गर्दा ईआरआर भित्रैबाट वास्तविक समयमा ब्यालेन्स चेक र स्टेटमेन्ट हेर्न सकिन्छ ।  साथै दोस्रो चरणमा र्‍यापिड विश्वव्यापी मापदण्ड आईएसओ २००२२ तथा एमएफए र ओएउथ टु जस्ता प्रविधिहरू प्रयोग गरी भुक्तानी प्रारम्भ गर्ने सुरक्षित एपीआई उपलब्ध गराउनेछ, जसमा भुक्तानी स्वीकृतिका लागि हस्ताक्षरकर्ता (एकल वा बहु-हस्ताक्षर) परिभाषित गर्न सकिने, क्यूआर कोड र कार्डमार्फत गरिएका कारोबारहरूको सेटलमेन्ट डेटाको विस्तृत भुक्तानी विवरण प्राप्त गर्न सकिन्छ । यसैगरी, कर्मचारीहरूको तलब भुक्तानीलाई छिटो प्रभावकारी र स्वचालित गराउन सकिने, एउटा खाताबाट अर्को खातामा रकमान्तर तथा अन्तर बैंक रकमान्तर सहज र सुरक्षित तरिकाले गराउन सकिने, अनलाइन खाता खोल्न सकिने, जस्ता सेवाहरु उपलब्ध हुनेछन् ।  र्‍यापिडले व्यवसायिक प्रयोगकर्तालाई ओएउथ टुमार्फत सुरक्षित डिजिटल सहमतिद्वारा पूर्ण नियन्त्रण दिन्छ र प्रत्येक महत्त्वपूर्ण कार्यका लागि एक पटक प्रयोग हुने पासकोड टोओटीपीको माध्यमबाट थप सुरक्षा प्रदान गर्छ । सम्पूर्ण डेटा आधुनिक पीकेआई प्रविधिको प्रयोगद्वारा पूर्ण रूपमा इन्क्रिप्ट गरिएको हुन्छ । यो सेवाले व्यवसायिक ग्राहकहरूको बैंकिङ कारोवारलाई धेरै नै सहज हुने विश्वास बैंकले लिएको छ ।  बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।  हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको छ । सिटिजन्स बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाख ९८ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

आगामी वर्षको बजेट कार्यान्वयन गर्न गृहकार्य सुरु, खरिदसम्बन्धी तयारी अघि बढाउन निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ । नीति तथा कार्यक्रम, बजेट र लक्ष्यबीच तादम्यता मिलाइ कार्ययोजना बनाएर कार्यान्वयन गर्न गृहकार्य सुरु भएको हो । अर्थ मन्त्रालयमा आज आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम तथा आयोजनाका लागि खरिदसम्बन्धी तयारी अघि बढाउन निर्देशन दिए ।  बजेट स्वीकृत भएलगत्तै सम्झौता गर्न सकिने गरी तयारी गर्दा छिटो काम गर्न सहज हुने उनको भनाइ छ ।  मुख्य सचिव एकनारायण अर्यालले खरिद प्रकृया अघि बढाउन थप ऐन कानुन ज?री नभएको उल्लेख गर्दै बजेटमा उल्लेख भएअनुसार खरिद प्रकृया अघि बढाउँदा हुने धारणा व्यक्त गरे । बैठकमा चालू आर्थिक वर्षको पूँजीगत खर्च वृद्धिमा विशेष ध्यान दिनेबारे पनि छलफल भएको थियो ।  बैठकमा अर्थ सचिव घनश्याम उपाध्यायले स्रोत सुनिश्चितता भएका र आवश्यक कागजात भएका योजना तथा कार्यक्रमको सम्बन्धमा रकमान्तरलगायतका विषयमा अर्थ मन्त्रालयले तत्काल सहजीकरण गर्ने बताए ।  उनले स्रोत सहमति भएका र कागजात पुरा भएका आयोजना तथा कार्यक्रमको सम्बन्धमा सहजीकरणका लागि आवश्यक परे बिदा र शनिबारको दिन पनि काम गर्ने बताए ।  प्रक्रिया पुगेका र हुन सक्ने काम मात्र अर्थ मन्त्रालयमा पठाउन सम्बन्धित मन्त्रालयका सचिवलाई उनले अनुरोध गरे । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जल स्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालयलगायतका सचिवहरूको उपस्थिति थियो ।  

५.९९ अंकले बढ्यो सेयर बजार, ७ अर्ब ९७ करोडको कारोबार

काठमाडाै‌ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) का अनुसार बिहीबार नेप्से ५.९९ अंकले बढेर २६४१.४६ विन्दुमा कायम भएको छ ।  आज ३११ कम्पनीको ७७ हजार ६६० पटक कारोबारमा एक करोड ७१ लाख ८ हजार ८०९ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  बिहीबार दुई उपसमूहबाहेकका सेयर घटेको छ । हाइड्रो पावर १.२४ र लगानीको ०.०१ प्रतिशतले बढेको छ ।  त्यस्तै आज रिभल्स फल्स पावर, बुटवल पावर कम्पनी, पियोर इनर्जी र बरुण हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । 

कामना सेवा विकास बैंकले गर्यो सरस्वती प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री

काठमाडौं । कामना सेवा विकास बैंकले झापा मेचीनगरको श्री सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गरेको छ । कार्यक्रममा बैंकको इँट्टाभट्टा शाखा प्रबन्धक श्री निर्जर पौडेलले विद्यालयका प्रधानाध्यापक फूलमाया बुढाथोकीको उपस्थितिमा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत ४० जना विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरे । सामग्रीमा विद्यालय झोला, कापी, कलम, पेन्सिललगायत आवश्यक शैक्षिक सामग्रीहरू समावेश गरिएको थियो ।  कार्यक्रममा बोल्दै प्रधानाध्यापक बुढाथोकीले मेचीनगर क्षेत्रका सामाजिक-आर्थिक रूपले पिछडिएको विद्यार्थीहरूको शैक्षिक पहुँचमा बैंकको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।  उक्त कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।  आगामी दिनहरुमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने बैंकले जनाएको छ ।  

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।  आयोगले बिहीबार विशेष अदालतमा नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । बहुदलीय व्यवस्थापछि प्रधानमन्त्री भइसकेका व्यक्तिलाई भ्रष्टाचार मुद्दामा अभियुक्त बनाइएको नेपालमा यो पहिलो घटना हो ।  उद्योग र शैक्षिक प्रतिष्ठान सञ्चालनका लागि हदबन्दी छुटमा लिएको जग्गा गैरकानुनी रूपमा बेचबिखन गरी राज्यलाई ठूलो रकम हानिनोक्सानी पुर्‍याएको पाएपछि अख्तियार मुद्दा चलाउने निष्कर्षमा पुगेको हो । अख्तियार स्रोतका अनुसार यस प्रकरणमा चारवटा कसुरजन्य कार्य भएको र जसमध्ये एक कसुरमा नेपाल व्यक्तिगत रूपमै संलग्न भएको देखिएपछि नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय भएको हो ।  पतञ्जलिको नेपाल कार्यालयका केही अधिकारी, जग्गा व्यवसायी र सरकारी निकायका अधिकारी मिलेर गैरकानुनी रूपमा ३५३ रोपनी जग्गा अपचलन गरेको उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको थियाे । नेता नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।  यससँगै नेपालकाे सांसद् पद स्वतः निलम्बन हुने भएको छ । निलम्बनको सूचना सभामुखले संसदमा सुनाएपछि मात्र औपचारिक मानिने प्रावधान रहेको छ ।  भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भनिएको छ, ‘थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ।’

‘टेक एण्ड पे’ काे प्रावधान नहटाए ६६ अर्ब लगानी डुब्ने चिन्ता, १७ हजार मेगावाट क्षमताका आयोजना संकटमा पर्ने विश्लेषण

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले बजेटमा आएको जलविद्युत आयोजनाको ‘टेक एण्ड पे’ पीपीए गर्ने प्रावधान हटाउन सरकारसँग आग्रह गरेको छ । बिहीबार इप्पानले आयोजना गरेको बजेटमा सार्वजनिक टेक एन्ड पे पीपीएको प्रावधानविरुद्ध ऊर्जा उत्पादकहरुको भेला कार्यक्रममा टेक एण्ड पे पीपीएको प्रावधानले यो क्षेत्र समाप्त हुने भन्दै संशोधनका लागि सरकारसँग इप्पानका अध्यक्ष गणेश कार्कीले आग्रह गरेका हुन् । उनले २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको मार्गचित्र बनाएर हिँडिसकेपछि विद्युत खरिद सम्झौतामा टेक एण्ड पे ल्याउनु दु:खको कुरा भएको भन्दै  गम्भीर आपत्ति जनाए । उनले जेठ १५ मा सार्वजनिक गरिएको बजेटमा टेक एण्ड पे पीपीए प्रावधान बनाउनु राष्ट्र निर्माण गर्ने सरकारको उद्देश्य विपरीतको कार्य भएको बताए । अध्यक्ष कार्कीले भारत र बंगलादेशमा निर्यात हिसाबले २८ हजार ५०० मेगावाटसम्म टेक एण्ड पे पीपीए गर्नुपर्ने र खपतका हिसाबले पनि २०३५ सम्म १३ हजार ५०० मेगावाट आन्तरिक रूपमै खपत हुने प्रक्षेपण रहेकाले अहिले टेक एण्ड पेमा जानुपर्ने कुनै बाध्यता सरकारलाई नरहेको स्पष्ट पारे । प्राधिकरणले सक्दैन भने विद्युत व्यापारका लागि अर्को कम्पनी बनाउनुपर्ने तर यो विषय जसरी पनि सच्याउनुपर्नेमा उनको जोड छ ।   कार्कीले भारतमा बिजुली निर्यात दिनानुदिन बढिरहेको, बंगलादेशमा पनि वर्षायामकै लागि निर्यात सुरु भएको र आन्तरिक माग पनि हरेक वर्ष बढिरहेको सन्दर्भमा सरकारले बढीभन्दा बढी विद्युत उत्पादन गर्ने गरी निजी क्षेत्रलाई आकर्षित गर्नुपर्नेमा टेक एण्ड पे प्रावधान ल्याएर यस क्षेत्रका उद्योगी व्यवसायीलाई पलायन गराउने बाटो रोजेको चिन्ता व्यक्त गरे । उनले यो व्यवस्था नसच्चाए निजी क्षेत्रसँग रहेका १७ हजार मेगावाट क्षमताका आयोजनाहरू संकटमा पर्ने र त्यसमा अहिलेसम्म भइसकेको ६६ अर्ब रुपैयाँभन्दा बढी लगानी पनि डुब्ने चेतावनी दिए ।  उनका अनुसार सरकारले उत्पादन र खपतको सन्तुलनमा मात्र आधारित भएर  ‘टेक एन्ड पे’ विधिमार्फत विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने नीतिले दीर्घकालीन ऊर्जा विकासमा गम्भीर असर पार्नेछ।

बाफिया संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित पार्छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित पार्ने बताएका छन् । काठमाडौंमा आयोजित तेस्रो संस्करणको नेशनल बैंकिङ डिस्कोर्श- २०२५ को उद्घाटन सत्रमा बोल्दै ढकालले संसदमा विचाराधीन  ऐनमा संशोधनको प्रस्ताव अनुसार जस्ताको त्यस्तै पारित भएमा आर्थिक गतिविधि नै प्रभावित बन्ने धारणा राखे। बाफियासँग सम्बन्धि ऐन संशोधन गर्न संसद्मा प्रस्तावित विधेयकमा बैंकर र उद्योगी छुट्याउने प्रस्ताव गरिएको अवस्थामा यो विषयलाई गम्भीर रूपमा लिनु पर्ने उनको तर्क थियो । 'व्यवसायी र बैंकर छुट्याउने भन्ने जुन विषय छ । यसले अर्थतन्त्रमा समस्या पार्न सक्छ । एकातिर प्रमोटरलाई उत्तरदायी बनाउने भन्दै ५१ प्रतिशत सेयर संस्थापकलाई दिने भनिएको छ । यसबाहेक सम्बद्ध पक्ष भनेर परिभाषित गरिएको छ । यो व्यवस्थाअनुसार १ प्रतिशतभन्दा बढी शेयर भएका लगानीकर्ताले कर्जा लिन नपाउने हो भने सबैजसो उद्योगधन्दा व्यवसाय बन्द हुने जोखिम छन्,' ढकालले भने । उनले बजेट कार्यान्वयन गर्न सके नेपालले लिएको आर्थिक विकासको लक्ष्य पुरा गर्न सकिने समेत बताए । यस्तै, उनले वातावरणलाई असर नपर्ने गरी  खनिजजन्य पदार्थको आन्तरिक प्रयोग र निर्यात गर्न सकिने बजेटको व्यवस्था सकारात्मक भएको बताए । 'यदि मध्यपूर्वका देशहरूलाई आफूसँग भएको पेट्रोलियम पदार्थको निर्यात नगरेको भए वा निर्यात गर्न नदिइएको भए मध्यपूर्वका देशहरू आजको अवस्थामा रहने थिएनन् । तसर्थ हामीले पनि वातावरणमा नकारात्मक असर नपर्ने गरी नेपालमा भएको प्राकृतिक स्रोतको प्रयोग र निर्यातलाई सहजीकरण गर्नु पर्दछ,' उनले भने।