विकासन्युज

यार्सागुम्बाको सिजन : आयआर्जनसँगै शिक्षा र सेवा प्रभावित, विद्यालय बन्द

काठमाडौं । देशको पश्चिम उत्तरका उच्च हिमाली क्षेत्रका गाउँ बस्ती अहिले रित्तो जस्तै देखिन्छ । हिउँ पग्लिएर खालि भएका नागी पाटनहरुमा यार्सा गुम्बा टिप्न गाउँका सबै गएपछि गाउँ रित्तो भएको हो । गाउँमा अशक्त, सुत्केरी, बालबालिका, वृद्धवृद्धा मात्र भेटिन्छन् । यार्सागुम्बा अर्थोपार्जन र पारिवारिक अर्थचक्रको महत्वपूर्ण पक्ष हो । मुगुको मुगुम कर्मारोङ गाउँमा पुग्दा यस्तै दृश्य देखियो ।  पश्चिम उत्तरका हिमाली तथा उच्च पहाडी जिल्लाका स्थानीयहरु जेठको दोश्रो सातादेखि एक महिनासम्म उच्च हिमाली क्षेत्रमा किरा कोर्न जाने गर्दछन् । उच्च हिमाली क्षेत्रका पाटनहरुमा पाईने यार्सागुम्बा टिप्ने कामलाई स्थानीय भाषामा किरा कोर्ने भन्ने गरिन्छ । साना साना बालबालिकाहरुले पनि यसलाई यही ढंगले बुझ्ने गरेका छन् । सबै किरा कोर्न गएका कारण विद्यालय बन्द भएका छन् भने गाउँ रित्तो भएका छन्  । त्यस क्षेत्रमा मुख्य आय आर्जनको स्रोत नै यार्सागुम्बाको बिक्रि  हो । सिजनमा सबै यार्साटिप्न जान्छन् । लगभग एक महिनाको समय गाउँ नै सुनसान हुन्छ । मुगु कार्मारोङ गाउँपालिका वडा नम्बर ७ स्थायी घर भई मांग्रीमा सामाजिक परिचालकको रुपमा काम गर्दै आएका ठिल्ले लामाले गाउँमा साना नानी भएका महिला, बालबालिका र वृद्धवृद्धा मात्रै गाउँमा रहेको बताए ।  उनी भन्छन्,  ‘यहाँको मुख्य आम्दानी भनेको यार्सागुम्बा हो । १०/१२ देखि ५०/६० वर्ष सम्ममा मान्छेहरु हिडिसक्यो यार्सा टिप्नका लागि । ठ्याक्कै एकमहिना गाउँ सुनसान हुन्छ । असार १३ गते पछि गाउँ फर्कन्छन् । एकमहिना पछि टिप्न पाउँदैनन् ।  विद्यालयहरु अहिले बन्द छन् । विद्यालय शिक्षामा अझै पनि कसैले चासो दिएको देखिँदैन । विद्यार्थीहरु कम भर्ना हुने । भर्ना भईहाले पनि पछि निकालेर लैजाने हुन्छ । खानेपानीको पनि समस्या छ गाउँमा ।’ सानो बच्चा भएका स्वास्थ्यकर्मी नुर्बूछिरिङ लामा गाउँमा नै भेटिन् । उनी भन्छिन्, ‘पुरुषहरु त सबै गए । अहिले गाउँमा सानो सानो बच्चाको आमाहरु होलान् । कर्मचारीहरु होलान् । गाउँका आधाजसो घरमा ताल्चा लागेको छ । परिवारै यार्सागुम्बाा टिप्न गएका छन् । आयआर्जनको स्रोत यार्सागुम्बा र ज्यालामजदुरी हो ।’ यार्सागुम्बा नेपालको हिमाली क्षेत्रमा पाईने ढुसीको एक प्रजाति हो । बहुमूल्य जडिबुटीको रुपमा प्रयोग हुँदै आएको यार्सागुम्बा निर्यातबाट ठूलो आम्दानी हुने गर्दछ । सिजनमा ९ वर्ष भन्दा माथि ६० वर्ष उमेर सम्मका मानिसहरु यार्सा टिप्न जाने गर्दछन् । मुख्य आयआर्जनको स्रोत नै यार्सा भएकाले मुगुका अधिकांश गाउँहरु अहिले सुनसान प्राय छन् । मांग्री पनि सुनसान छ । गाउँका आधाआधी घरमा ताला लागेको छ । सानासाना बालबालिका र वृद्धवृद्धा मात्रै भेटिन्छन् । मांग्रीको छिमेकी गाउँ छायलाका स्थानीय पनि यार्सा टिप्न गएका छन् । गाउँमा महिला र साना बालबालिका मात्रै छन् । एकाध विद्यालय सञ्चालनमा छन् तर विद्यार्थी छैनन् । सञ्चालनमा रहेका विद्यालयमा पनि ९ वर्ष मुनिका बालबालिकाहरु मात्रै भेटिन्छन् । यस वर्ष जेठ १३ गतेदेखि यार्सागुम्बा टिप्न खुला गरिएको थियो । १२ गतेदेखि नै मुगु, हुम्ला, जुम्ला, डोल्पा लगायतका अधिकांश विद्यालय बन्द छन् भने गाउँहरु पनि सुनसान हुन थालेका छन् । एकाध सञ्चालनमा आएका विद्यालयमा पनि प्राथमिक तहका विद्यार्थी मात्रै आउने गरेको पाइन्छ । औषधिजन्य गुणयुक्त यार्सागुम्बा आपूर्ति गर्नेमा चीन पछि नेपाल दोस्रो मुलुक हो । यसको प्रमुख बजार चीन हो । यकिन तथ्यांक नभएपनि पूर्वी नेपालको अलैँची सरह नै पश्चिम नेपालको हिमाली क्षेत्रबाट यार्सागुम्बा निर्यात हुने गरेको पाइन्छ । नेपाल राष्ट्र बैंकले २०७२ मा गरेको अध्ययनले पनि हिमाली र उच्च पहाडी जिल्लाका बासिन्दाको सामाजिक आर्थिक क्रियाकलाप अभिवृद्धिसँगै राष्ट्रिय अर्थतन्त्रलाई चलायमान हुन यार्सागुम्बाले सहयोग गरेको उल्लेख छ । सो अध्ययनमा आर्थिक वर्ष २०७०/२०७१ मा नेपालका ११ जिल्लामा ४ अर्ब ९२ करोडको यार्सागुम्बा संकलन गरिएको अनुमान गरिएको थियो । यार्सागुम्बा संकलनका लागि मुख्य केन्द्रका रुपमा रहेका दार्चुला, डोल्पा, जुम्ला, बझाङ्ग र मनाङमा अध्ययन केन्द्रित थियो । 

चीनको दुर्लभ खनिज प्रतिबन्धको शिकार स्विफ्ट, अरू कार उद्योग पनि संकटमा

काठमाडौं । सुजुकी मोटरले चीनको दुर्लभ खनिज निर्यात प्रतिबन्धका कारण आफ्नो स्विफ्ट कारको उत्पादन रोकिएको दुईजना विषयविज्ञ स्रोतहरूले बताएका छन् । यससँगै सुजुकी यस्तो रोकको असर पर्ने पहिलो जापानी गाडी निर्माता बनेको छ । जापानी गाडी निर्माता कम्पनीले स्विफ्ट सब-कम्प्याक्ट (स्विफ्ट स्पोर्ट मोडेल बाहेक) को उत्पादन मे २६ देखि जुन ६ सम्मका लागि रोक्ने योजना भएको घोषणा पहिले नै गरिसकेको थियो । त्यसको कारण उसले पुर्जाहरूको अभावलाई जनाएको थियो । तर कम्पनीले त्यसबाहेक थप विवरण दिएको थिएन । एक प्रवक्ताले यो रोकको कारणबारे कुनै टिप्पणी गर्न मानेनन् । यो समाचार पहिलोपटक निक्केई आर्थिक दैनिकले सार्वजनिक गरेको हो । चीनले अप्रिलमा दुर्लभ खनिज र सम्बन्धित चुम्बकहरूको व्यापक निर्यात रोक्ने निर्णय गरेपछि विश्वभरका गाडी निर्माता, हवाईजहाज उद्योग, अर्धचालक कम्पनीहरू र सैन्य आपूर्तिकर्ताहरूको आपूर्ति श्रृंखला गम्भीर रूपमा प्रभावित भएको छ । केही युरोपेली अटो पाट्र्स कारखानाहरूले पनि उत्पादन स्थगित गरिसकेका छन् । मर्सिडिज(बेन्जले पनि दुर्लभ खनिजको अभावबाट जोगिन उपायहरूबारे विचार गरिरहेको छ । विश्वभरका कार उद्योगहरू चीनबाट आउने दुर्लभ चुम्बकीय तथा अन्य खनिजको अभावलाई लिएर चिन्तित छन् । यी खनिज पदार्थ विन्डशील्ड वाइपर मोटरदेखि लिएर एन्टीलक ब्रेकिङ सेन्सरसम्म धेरै भागहरूमा प्रयोग हुन्छन् ।  मे ९ मा ट्रम्प प्रशासनका अधिकारीहरूलाई जनरल मोटर्स (जीएम), टोयोटा, फक्सवागन, हुन्डाई लगायतका ठूला कार कम्पनीहरूको प्रतिनिधित्व गर्ने व्यावसायिक संगठनका प्रमुखले दुर्लभ खनिज प्रतिबन्धको विषयलाई लिएर पत्र पठाइसकेका छन् । अमेरिकाका वित्त मन्त्रालयका अनुसार चीनले विभिन्न प्रकारका सामग्रीहरू रोकिरहेको छ, जसमा दुर्लभ खनिज पनि समावेश छ । अमेरिकी अधिकारीहरूले सम्झौता भएपछि चीनले दुर्लभ खनिज निर्यातमा लगाइएको प्रतिबन्ध घटाउने आशा गरेका थिए । यी खनिजहरू आईफोन, इलेक्ट्रिक गाडीहरूदेखि एफ(३५ लडाकु विमानहरू र क्षेप्यास्त्र प्रणालीहरूमा प्रयोग हुँदै आइरहेका छन् ।  उता चीनले अमेरिकाले आफ्ना कम्पनीहरूका लागि प्रविधिको बिक्री सीमित गरिरहेको आरोप लगाएको छ । किया इण्डियाबाट तीन वर्षमा १ हजार ८ इञ्जिन गायब, पूर्वकर्मचारी र स्क्र्याप डिलर अनुसन्धानको घेरामा टोयोटाको ३३ अर्ब डलरको ‘गेम चेन्जर’ सम्झौता  

पप्पु कन्स्ट्रक्सनका सञ्चालककी बुहारी ठगी आरोपमा पक्राउ

काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई प्रहरीले विश्वासघात र ठगीको आरोपमा पक्राउ गरेको छ । उनीमाथि पर्सा प्रहरीले दर्ता गरेको मुद्दाअनुसार अनुसन्धान अघि बढाइएको हो । पर्साबाट पक्राउ पुर्जी आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी पर्सा पठाउने तयारी गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले श्रुती रौनियार पक्राउ परेको पुष्टि गरेका छन् । उनका अनुसार उनलाई आवश्यक अनुसन्धानका लागि पर्सा प्रहरीमा बुझाइनेछ ।

ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (इभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो ।  बिहिबार आयोजित कार्यक्रमकाबिच बैंकका संचालक कृष्ण प्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्जका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले सम्युक्तरुपमा उक्त चार्जिङ स्टेशनको समुद्घाटन गरे । गाडी चार्जसंगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिगंल गनको ४० किलोवाट क्षमता रहेको छ ।  उक्त चार्जिङ स्टेशनमा बैंकमा सेवाको लागि आउने ग्राहक र बैंकको कर्मचारीहरुलाई आफ्नो इभी गाडी चार्ज गर्न व्यवस्था गरिएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगकर्ता बढेसंगै बैंकमा आउने ग्राहकहरुको सवारी साधनलाई लक्षित गरी बैंकले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो ।  उक्त कार्यक्रममा बैंकका संचालक शर्माले बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गरी वातावरण अनुकुल इभी सवारी साधनको प्रर्वद्धनको एक पहलको रुपमा यस चार्जिङ स्टेशनको स्थापना गरेको जानकारी दिए । साथै, बैंकले आफ्नो व्यवसाय विस्तारसंगै वातावरणमैत्री उपायहरु अवलम्बन गरिरहेको समेत उल्लेख गरे ।  साथै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आइएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकप्रति प्रतिबद्ध रहेको बताए । उनले ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार विरुवा रोपण गरिरहेको बताउँदै बैंकले वातावरण मैत्री प्रोडक्टहरु ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको बताए । ग्लोबल आइएमई बैंकले सञ्चालन गरेको इभि चार्जिङ स्टेशन अन्य बैंक तथा वित्तीय संस्थाहरुले समेत अबलक्बन गर्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका उच्च पदस्थ कर्मचारी र गाडी चार्जको प्रतिनीधीहरुको उपस्थिति रहेको थियो ।  ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।  

सवारी आयातमा युआन एलसी खुलाउने प्रावधान परिवर्तन गर्न नाइमाको माग

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई सुझाव दिएको छ । बुधबार गभर्नर पौडेललाई भेटेर नाइमाका पदाधिकारीहरूले उनलाई गभर्नर नियुक्ति भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा आगामी मौद्रिक नीतिलाई प्रभावकारी बनाउनका लागि सुझावहरू पनि प्रदान गरिएको नाइमाले जनाएको छ । नाइमाले सबै प्रकारका सवारीसाधनमा ८०-२० प्रतिशत कर्जा अनुपात कायम गर्न आग्रह गरेको छ । हाल आयातकर्ताहरूलाई चिनियाँ उत्पादनका सवारीसाधनका हकमा चीनमै अवस्थित चिनियाँ कम्पनीहरूसँग मात्रै चिनियाँ युआनमा लेटर अफ क्रेडिट (एलसी) खोल्न अनुमति दिइएकोमा अब जुनसुकै देशका आयातकर्तालाई पनि चिनियाँ युआनमा एलसी खोल्न अनुमति दिन अनुरोध गरिएको छ । त्यस्तै, सवारी कर्जाका लागि लागू हुने जोखिम भारित सम्पत्तिको दर अहिलेको १०० प्रतिशतबाट घटाएर ७५ प्रतिशत कायम गर्न पनि नाइमाले सुझाव दिएको छ । नाइमा अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको टोलीले गभर्नर पौडेलसँग भेट गरी उक्त सुझावहरू दिएको हो । 

गरिमा क्यापिटलमार्फत डिम्याट र मेरोसेयर नवीकरण असार मसान्तसम्म गर्न सकिने

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले डिम्याट तथा मेरोसेयर खाताको नवीकरण आगामि असार मसान्तसम्म गर्न सकिने छ । कम्पनीले असार मसान्तसम्मको नवीकरण नगरे खाता ‘फ्रिज’ हुने जानकारी दिएको छ। क्यापिटलका अनुसार डिम्याट खाता नवीकरण शुल्क वार्षिक १०० रुपैयाँ र मेरोसेयर खाता नवीकरण शुल्क ५० रुपैयाँ रहेको छ । इच्छुक ग्राहकले गरिमा क्यापिटलको कार्यालय, शाखा वा निकटतम शाखारहित वित्तीय सेवा केन्द्रमा गई वा इ–सेवा, खल्ती, आईएमई पे, प्रभु पे, कनिक्ट आईपीएस लगायत डिजिटल माध्यममार्फत पनि शुल्क भुक्तानी गर्न सक्नेछन् । त्यस्तै, कम्पनीले पोर्टफोलियो म्यानेजमेन्ट सेवा अन्तर्गत व्यवस्थापन शुल्क र प्रदर्शन शुल्क पनि असार मसान्तभित्र बुझाउन अनुरोध गरेको छ । गरिमा क्यापिटलले लगानीकर्तालाई समयमै नवीकरण गरी सेवा निरन्तरतामा अवरोध नहुने सुनिश्चित गर्न अनुरोध गरेको छ ।

स्वास्थ्य सेवा विस्तारको तयारी : साउनदेखि अलपत्र अस्पतालहरू सञ्चालनमा ल्याइने

काठमाडौं । श्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी अघि बढाएका छन् । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको संख्या ५७ छ । नयाँ आर्थिक वर्षमा समेत थप यस्ता अस्पताल निर्माणको योजना छ ।  मापदण्ड समेत अभाव देखिएकाले पाँच, १० तथा १५ शैय्या क्षमताका स्थानीय तहमा निर्मित अस्पतालहरु सञ्चालनका मन्त्री पौडेलले सक्रियता देखाएका थिए । हालै मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ निर्माण गरिसकेको छ ।  अब मापदण्डका आधारमा त्यस्ता अस्पताललाई संघ सरकारले गर्ने जनशक्ति, औजार उपकरण, औषधी तथा रिएजेन्टस लगायतका अत्यावश्यक संशाधनको व्यवस्थापन गर्न मन्त्री पौडेलले कार्ययोजना तयारी अघि बढाएका छन् । यसका लागि मन्त्री पौडेलले मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका छन् ।  कार्यदलले संघ सरकारले गर्ने सहयोगबारे कार्ययोजना बनाउनुका साथै ती अस्पतालमा प्रदेश तथा स्थानीय तहको भूमिकाबारे समेत प्रष्टता ल्याउन सघाउनेछ । मन्त्रालयले यस्ता अस्पतालको निर्माण तथा सञ्चालनका लागि आगामी वर्षका लागि करिब एक अर्ब बजेट व्यवस्थापन गरेकाले अब आधारभूत अस्पतालहरु सञ्चालनमा सहजता आउने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।   

अङ्गुरखेतीले बदल्दैछ गाउँको मुहार, स्वरोजगारमा युवा आकर्षित

तनहुँ । यहाँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । घिरिङ भाइनएड एन्ड रिसर्च सेन्टर कम्पनीले खेती सुरु गरेको हो । कम्पनीले स्विट्जरल्यान्डबाट प्रतिबिरुवा रु ७०० देखि रु एक हजारसम्म खर्च गरेर गत वर्षदेखि खेती सुरु गरेको उद्यमी एवं सञ्चालक कुमार कार्कीले जानकारी दिए । 'पहिलो वर्ष करिब नौ हजार ५०० बिरुवा रोपेका थियौँ । धादिङमा रु ३८ करोड ५० लाख र तनहुँ रु डेढ करोड गरी रु ४० करोड लगानी गरिसकेको छु', उनले भने । यहाँ यस वर्ष पनि अङ्गुर फलेर टिप्ने कार्य सुरु भइसकेको छ । उत्पादित अङ्गुर तनहुँ, पोखरा, काठमाडौँलगायत क्षेत्रबाट व्यवसायी फार्ममा आएर लैजाने गरेको उद्यमी कुमार कार्कीले जानकारी दिए । उनले भने, 'पहिलो वर्ष १८ लाख मूल्य बराबरको अङ्गुर उत्पादन भएको थियो, यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुने अपेक्षा गरेका छौँ ।' कार्कीका अनुसार फार्ममा हाल २०/२२ प्रजातिका अङ्गुर छन् । त्यसमध्ये केही खानका लागि त केही वाइन बनाउनका लागि प्रयोग हुन्छन् । खाने अङ्गुर प्रतिकिलोग्राम रु ३५० र वाइन बनाउने प्रतिकिलो रु २५० मा बिक्री गर्ने गरिएको छ । हाल दैनिक १०/१२ जना जनशक्ति अङ्गुर टिप्नका लागि खटाइएका छन् । फार्ममा रहेका २०/२२ प्रजातिका अङ्गुर परीक्षणका लागि खेती गरिएकामध्ये करिब १० प्रजाति उत्पादनमा राम्रो भएको कार्कीले जानकारी दिए । सोही कम्पनीले धादिङबाट भाइएड वाइनरी नामक वाइनसमेत उत्पादन गरिरहेको छ । कम्पनीको वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता रहेको छ । प्रति ७५० एमएलको वाइनतर्फ तीन प्रकारका वाइन उत्पादन गरिएका र ती प्रतिबोतल रु एक हजार २०० मा बिक्रीका लागि बजारमा ल्याइएका व्यवसायी कार्कीले बताए । धादिङको जुङ्गेखोला केवलपुर दशथाक्रे गाउँपालिकामा समेत विगत १५ वर्षदेखि १५० रोपनीमा व्यावसायिक अङ्गुरखेती गर्दै आएको उनले बताए । वाइनका लागि अङ्गुर प्रशोधनलगायत उत्पादन उद्योगसमेत सोही स्थानमा स्थापना गरिएको छ । विशेष गरी जुस, वाइन तथा खानाका लागि अङ्गुरखेती गरिएको कार्कीको भनाइ छ । अङ्गुरको बोट रोपेको एक वर्षमा फल दिन सुरु गर्छ भने पहिलो वर्षमा प्रतिबोट तीनदेखि चार केजी उत्पादन हुने गरेको छ । चैत/वैशाखमा फूल फुलेसँगै करिब तीन महिनामा फल टिप्न तयार हुने गरेको छ । मासिक घाँस कटाइ, बिरुवा गोडमेल, मल तथा अन्य व्यवस्थापकीय काममा स्थानीयहरूले पनि काम पाएका छन् । यसका लागि ज्यालादारीमा कामदार खटाउने गरिएको कार्कीले बताए । विगतदेखि नै पर्यटन क्षेत्रमा काम गरिरहेकाले कृषि क्षेत्रमा नयाँ काम गर्ने ध्येयले यस खेतीतर्फ आकर्षित भएको उनले सुनाए । धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म नामक कार्यक्रम शीर्षकमा नेपाल सरकारबाट रु ५५ लाख बराबरको अनुदान दिएपछि काम गर्न थप हौसला मिलेको कृषक कार्कीले बताए । 'यो मेरो नयाँ पेसा पनि हो, लामो अध्ययन अनुसन्धानपछि यसका लागेको छु । हालसम्म राम्रै भइरहेको छ । यहाँ आउने धेरैले आहा ! कति राम्रो अङ्गुरखेती भनेर प्रशंसा पनि गर्छन् । सरकारले पनि अनुदान सहयोग गरेर थप हौसला प्रदान गरेको छ', उनले भने । रासस