विकासन्युज

इन्जिनियरहरूका लागि सुविधा : इन्भेष्टमेन्ट मेगा बैंक र इन्जिनियर्स एसोसिएसनबीच सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यावसायिक साझेदारीको सम्झौता भएको छ । विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यसहित गरिएको यो सम्झौतामा दुवै संस्थाका तर्फबाट उच्च अधिकारीहरूले हस्ताक्षर गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसनका अध्यक्ष ई. सुभाष चन्द्र बरालले सम्झौतामा हस्ताक्षर गर्दै सेवाको सुरुआत गरेका हुन् । सम्झौता अनुसार एसोसिएसनका सबै सदस्यहरूले बैंकको २७५ शाखा र वेबसाइटमार्फत 'प्रोफेशनल बचत खाता' खोल्न पाउनेछन् । जसमा १० लाख रुपैयाँको दुर्घटना बीमा सुविधा पनि समावेश गरिएको छ । साथै, सदस्यहरूले व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा, डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

बजेट अभावमा विद्यालय भवन अधुरो, गर्मीमा विद्यार्थी टिनको छानामुनि पढ्न बाध्य

राँझा । राप्ती सोनारी गाउँपालिका–९ ढकेरीस्थित गणेश माध्यमिक विद्यालयको निर्माणाधीन भवन पर्याप्त बजेट नहुँदा अधुरो छाडिएको छ ।   लुम्बिनी प्रदेश सरकारको २० लाख रुपैयाँको लागतमा दुई कोठे भवन निर्माण थालिएकामा रकम अपर्याप्तताका कारण अधुरै रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद रेग्मीले बताए । 'कक्षाकोठा अभाव भएकाले प्रदेश सरकारको सहयोगमा काम थालियो तर पर्याप्त पैसा नहुँदा भवन बनाउन सकिएको छैन', अध्यक्ष रेग्मीले भने, 'भवन नहुँदा विद्यार्थी टिनको छानामुनि पढ्न बाध्य छन् ।' कक्षा १२ सम्म पढाई हुने यो विद्यालयमा हाल चार सय ४० विद्यार्थी अध्ययनरत छन् । तराईको गर्मीमा टिनको छानामुनि पढ्नुपर्ने बाध्यताबाट बालबालिकालाई मुक्त गर्न आफूहरु क्रियाशील रहेको राप्ती सोनारी गाउँपालिका वडा नंं ९ का वडाध्यक्ष सोहनलाल थारुले बताए । दाता तथा सरकारी निकायसँग भवन पूरा गर्न आवश्यक रकमको व्यवस्थाका लागि आफू लागिपरेको उनले बताए ।   

भारतबाट आयात हुँदा किसानले पाएनन् धानको उचित मूल्य, किसान भए निराश

त्रिवेणी । यहाँका किसान चैतेधानको उचित मूल्य नपाउँदा  निराश भएका छन् ।  मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे  तर प्रतिक्विन्टल मात्र दुई हजार २०० रुपैयाँ मात्र पाउँदा उनी खिन्न छन् । गतवर्ष तीन हजार रुपैयाँभन्दा अधिक मोलमा उनले एक क्विन्टल धान बेचेका थिए ।  बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहेका किसान आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएका बताउँछन् । यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो । उचित मूल्य नपाएका उनीहरुले घरमा नै धान थन्क्याएका उनले बताए ।  गैंडाकोटका किसान मानबहादुर थारुले दुई हजार २०० रुपैयाँ प्रतिक्विन्टलका दरले धान बेचेको बताए । हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उनको दुखेसो छ ।  सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८७९  तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कूलप्रसाद तिवारीले बताए । भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएका हुनसक्ने उनले बताए । यो वर्ष नवलपुरमा एक हजार १०० हेक्टरमा चैतधान रोपिएको थियो ।

४० लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न

म्याग्दी । मालिका गाउँपालिका–३ लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत रु ३९ लाख २३ हजारको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाबाट करिब ४०० जना लाभान्वित भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को रु १७ लाख ७४ हजार ७२९, मालिका गाउँपालिकाको रु नौ लाख ९५ हजार ५०९ र उपभोक्ताको रु ११ लाख ५३ हजार २५० बराबरको श्रमदानमा आयोजना सम्पन्न भएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिए । मालिका गाउँपालिका र नेवाको साझेदारीमा चालु आर्थिक वर्ष २०८१/०८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुुक्सीपार र डाँडागाउँमा तीन वटा खानेपानी योजना निर्माण भएका छन् । ती योजनाहरुबाट ४०० परिवार लाभान्वित भएका वडाध्यक्ष मोतीप्रसाद बुढाले बताए। डाँडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुुक्सीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उनले बताए ।

११ करोडमा सञ्चालनमा आयो हिमालयन फरेष्ट, एक रातको २ हजारदेखि साढे ५ हजारसम्म

काठमाडौं । प्रकृतिप्रेमी पर्यटकलाई लक्ष्य गरी कास्कीको पोखरा महानगरपालिका-३१ पचभैयामा हिमालयन फरेष्ट रिसोर्ट सञ्चालनमा ल्याइएको छ । ११ करोड रुपैयाँ लगानीमा बनेको उक्त रिसोर्टमा ११ जनाले रोजगारी पाएका सञ्चालक प्रमोद भण्डारीले बताए । पोखराको दोस्रो ठूलो ताल बेगनास र रुपाताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधा युक्त रिसोर्ट सञ्चालन गरेको उनको भनाइ छ । रिसोर्टमा विभिन्न श्रेणीका २१ वटा कोठा छन् ।  ‘न्यूनतम् २ हजार रुपैयाँदेखि बढीमा ५ हजार ५०० रुपैयाँसम्मका कोठा हामीकहाँ छन्, खानामा पनि स्वदेशी र विदेशी दुवै परिकार उपलब्ध छ,’ सञ्चालक भण्डारीले भने ।  रिसोर्टमा एक दिनमा ६० जनासम्म पाहुना राख्ने क्षमता छ । ताल, हिमाल, वन जङ्गललगायत प्राकृतिक सम्पदाको दृश्यावलोकनका लागि पर्यटक पचभैया पुग्ने गर्छन् । चरा अवलोकनका लागि पनि उक्त क्षेत्र उपयुक्त मानिन्छ । ‘पोखराको व्यस्त दैनिकी र कोलाहल छलेर शान्त रात बिताउन पर्यटक बेगनास क्षेत्रमा आउने गरेका छन् । प्राकृतिक वातावरण आतिथ्य सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको हो,’ उनले भने ।   रिसोर्टको औपचारिक उद्घाटन नभए पनि दुई महिनादेखि सेवा दिन सुरु गरेको उनको भनाइ छ । पोखराको बैदाममा विगत १८ वर्षदेखि अन्य व्यवसाय गर्दै आएका भण्डारीले रिसोर्टमा पहिलोपटक लगानी गरेका हुन् । शिक्षण पेसामा रहँदा पचभैया मन परेपछि जग्गा किनेको र अहिले सोही ठाउँमा रिसोर्ट खोलेका हुन् ।  उक्त क्षेत्रमा महँगादेखि सामान्यस्तरका होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । लेखनाथ होटल तथा रेष्टुराँ एसोसिएसनका अध्यक्ष वीरभद्र कँडेलले त्यस क्षेत्रमा १३७ होटल तथा रेष्टुराँ व्यवस्था सञ्चालन रहेको जानकारी दिए ।  ठूलो लगानीका रुपाकोट रिसोर्ट, बेगनास रिसोर्टलगायतका रिसोर्ट तथा होटलले स्वदेशी र विदेशी पर्यटकलाई आतिथ्य सेवा दिँदै आएका छन् । प्राकृतिक सुन्दरता, मठमन्दिर, जातजातिको विविधतापूर्ण बसोबास, मौलिक संस्कृति, रहनसहन, स्थानीय उत्पादन आदिले बेगनास क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने गरेको छ । ७ तालको बाटिका भनेर चिनिने लेखनाथ क्षेत्रमा बेगनास ताल पर्छ । बेगनास नजिकै उस्तै रमणीय रुपा, दिपाङ, खास्टे, न्युरेनीलगायत ताल अवस्थित छन् । पोखराको पृथ्वीचोकदेखि १४ किमि र तालचोकदेखि साढे ३ किमी यात्रापछि बेगनास पुग्न सकिन्छ । बेगनास क्षेत्रमा स्तरीय सडक पूर्वाधार र बसपार्कको भने समस्या छ । तालचोक–बेगनास सडक विस्तार सुस्त गतिमा हुँदा पर्यटन क्षेत्र मारमा परेको पर्यटन व्यवसायीहरूको गुनासो छ । 

दोर्दी खोलाको कटअफ मूल्य साधारणको २७० रुपैयाँ र संस्थापकको २६५ रुपैयाँ

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको सेयरको कटअप मूल्य निर्धारण गरिएको छ । कम्पनीले लिलामीमा बिक्री गरेको सेयरको कटअफ मूल्य प्रतिकित्ता २७० रुपैयाँ निर्धारण भएको छ ।  बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीको संस्थापक समूहको (लकइनमा रहेको) सेयरको कटअफ मूल्य २६५ रुपैयाँ कायम भएको छ । यस्तै, सर्वसाधारण समूहको (लकइनमा रहेको) सेयरकाे कटअफ मूल्य प्रतिकित्ता २७० रुपैयाँ निर्धारण भएको कम्पनीले जनाएको छ ।  कम्पनीले अंकित मूल्य १ सय रुपैयाँ दरका संस्थापक समूहको (लकइनमा रहेको) १२ लाख ८५ हजार ४१ कित्ता, सर्वसाधारण समूहको (लकइनमा रहेको) १ लाख ६५ हजार ९५६ कित्ता र सर्वसाधारण समूहको ४ लाख ९५ हजार ६७९ कित्ता (लकईनमा नरहेको) गरी कुल १९ लाख ४६ हजार ६७६ कित्ता अवितरित सेयर जेठ ११ गतेदेखि जेठ २० गतेसम्म बिक्री खुला गरेको थियो ।  कम्पनीको उक्त सेयर खरिदका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्रहरुको प्रशोधन गरि निष्काशनकर्ता कम्पनीले जेठ २८ गते बाँडफाँड गरिएको जनाएको छ । कटअफ मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको तथा सर्वसाधारण समूहको (लकइनमा नरहेको) हकमा माग भन्दा कम सेयर खरिदको लागि आवेदन प्राप्त भएकोले रितपुर्वक आवेदन पेश गर्नेहरूलाई माग बमोजिम बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । बाँडफाँटकाे विवरण बिक्री प्रबन्धकको वेबसाइटबाट हेर्न सकिनेछ ।  बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता भुक्तानी जेठ ३० गते शुक्रबारदेखि आवेदकले आफ्नो आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा आइपीएस मार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ ।  सर्वसाधारण समूह (लकइनमा नरहेको) तर्फ ९३ हजार ६२९ कित्ता सेयरको लागि आवेदन नपरेकाले पुनः लिलाम बिक्री गरिने कम्पनीले जनाएको छ । 

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने

काठमाडौं । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको  सम्भावना छ । कोशी, बागमती  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मधेशले देशलाई खुवाउने अभियान मलखादबिना असम्भव

सिङ्घबहादुर थापा काठमाडौं । गत शुक्रबार मधेश प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेस भयो । प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा निकै महत्वका साथ समेटिएको कृषि क्षेत्रको नारा हो, ‘उत्पादन मधेशमा, विस्तार देशमा’, कृषिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न ‘मधेशले देशलाई खुवाउने अभियान’ । यस नाराले मधेश प्रदेशका किसानमा आशाको सञ्चार गरायो, तर यहीका किसानले धानबालीका लागि बीउ रोप्न मलखाद पाएका छैनन् । असारको सुरुमै धान रोप्न खेत खाली राखेका किसानहरूले जेठको दोस्रो साता तिरबाट धानको ब्याड राख्न सुरु गरिसकेका छन् । धानको ब्याड राम्रो उम्रिनका लागि डिएपी मल हाल्ने गरिन्छ, तर हाल रासायनिक मलका डिलरहरू खाली छन् ।  ‘चार पटक सहकारी संस्थामा पुगिसके मल आएको छैन भनेर फर्काइरहेका छन् । धान रोप्ने समयमा पनि मलखाद पाउने टुङ्गो छैन । खेती कसरी गर्ने होला ? यसरी मधेश प्रदेश सरकारको कृषिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न ‘मधेशले देशलाई खुवाउने अभियान’ कसरी सफल होला !,’ बागमती नगरपालिका-१२, काजिराम टोलका कालु बोटले भने ।  रासायनिक मलखाद वितरणको अधिकार पाएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडले सहकारीमार्फत रासायनिक मलखाद वितरण गर्दै आएका छन् । सहकारीले प्राप्त गर्ने मलखाद किसानहरूलाई दामासाही रूपमा वितरण गर्ने गरिएको बागमती बचत तथा ऋण सहकारी, बागमती–११ का अध्यक्ष वासु खड्काले बताए । हाल मात्रै होइन किसानले आवश्यकताअनुसार समयमा कहिल्यै मलखाद नपाएको उनको गुनासो छ । सर्लाहीको बरहथवा नगरपालिका-५, हात्तीडण्डाका सुरेन्द्र महतोले यस वर्ष धानखेतीका लागि दुई बिगाहा खेत तयारी अवस्थामा राखेका छन् । हाइब्रिड जातको मकै भित्र्याएर खेत खाली राखेकाले असारको सुरुमै धान रोप्ने उनको तयारी छ, तर बिउ राख्ने बेलामा मलखाद नपाउँदा सास्ती भएको उनले  सुनाए । जसोतसो गरी डिएपी मल किनेर तत्कालको गर्जो टारे पनि धान कसरी रोप्ने भनेर चिन्ता लागिरहेको महतोको भनाइ छ । ‘बिउ राख्न धेरै मलखाद नचाइने भएकाले जसोतसो टारेँ, तर धार रोप्न धेरै मलखाद चाहिन्छ । मल नहाले उत्पादन हुँदैन । त्यस बेलाचाहिँ के गर्ने भनेर चिन्ता लागिरहेको छ,’ उनले भने, ‘किसान र कृषि क्षेत्रप्रति कोही जिम्मेवार छैनन् । भाषणमा बोलेका २० प्रतिशत कुरा मात्रै व्यावहारिक रुपमा लागू हुने हो भने मात्र पनि किसानको ठूलो समस्या हल हुने थियो ।’ कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जबाट ढुवानीमा ढिलाइ हुँदा गोदाम खाली रहेको सर्लाहीस्थित कार्यालयका प्रमुख ध्रुव साहले जानकारी दिए । उनका अनुसार हाल सर्लाहीस्थित कृषि सामग्रीको गोदाममा युरिया र डिएपी दुवै मल सकिएको छ ।  चुरे क्षेत्रका किसान सठिया मकै गोडेर युरिया हाल्न मल खोजिरहेका छन् भने सिँचाइ सुविधा भएका ठाउँमा धानको बीउ राख्ने चटारो छ, तर मलखाद नपाएका कारण सठिया मकै गोड्न नपाएर खेर जाने अवस्थामा पुगेको बागमती नगरपालिका-१, हिरेडाँडाकी जमुना गोलेल गुनासो गरे ।  ‘उम्रिने बित्तिकै फौजी कीराको चपेटामा परेको मकैलाई मुस्किलले विषादी छिटेर जोगायौँ । हाल गोडमेल गर्ने बेलामा खादमल छैन । गोडमेल गरेपछि रासायनिक मल हाल्नुपर्छ । खादमल कहिले पाइने हो टुङ्गो छैन,’ उनले भने ।  यो समस्या गोलेको मात्रै होइन, न त यो यस पटकको मात्रै समस्या हो । हरेक वर्ष एउटै समस्या भोग्नु यहाँका किसानहरूको नियति नै हो ।   कृषि सामग्री केन्द्र नवलपुर सर्लाहीका प्रमुख साहले डिएपी लोड भएर आउने तयारीमा रहेको खबर पाएको सुनाउनुभयो । यहाँ आएलगत्तै वितरण सुरु गरिने उनले बताए । सिँचाइको सुविधा रहेकाले यहाँका किसानले तीन बालीसम्म लगाउँछन् । अन्य स्थानमा भन्दा यहाँ दुई गुणा बढी रासायनिक मलको माग छ, तर प्रदेश कार्यालयबाट अन्य जिल्लामा सरह दामासाहीका आधारमा खादमल प्राप्त हुने गरेको छ । जिल्लामा आएको मलखाद पनि पालिकाअनुसार दामासाहीका आधारमा भाग लगाएर वितरण गर्ने गरिएको साहले उल्लेख गरे ।  यसले कतै नपुग्ने त कतै धेरै हुँदा डिलरहरूले कालोबजारीमा बेच्ने गरेको समेत फेला पर्ने गरेको छ । यसबाट किसान नै प्रत्यक्ष मारमा पर्ने गरेका जिल्लास्थित नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले बताए । राज्यले आवश्यकता र मागअनुसार नै किसानहरूलाई रासायनिक मलखाद वितरण गर्नुपर्ने उनको भनाइ छ । कृषि सामग्री कम्पनी वीरगञ्ज प्रादेशिक कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेले डिएपी र युरिया धमाधम ढुवानी हुने क्रममा रहेकाले केही दिनमै जिल्लाका डिपोहरूमा पुग्ने बताए । प्रमुख पाण्डेले पहिलो चरणमा डिएपी मल ढुवानी भइरहेको बताए । किसानले गरेको मागभन्दा पनि जिल्लामा मल पठाउने परिमाण प्रदेश सरकारको निर्णयबमोजिम हुने उनले स्पष्ट पारे । कार्यलयका अनुसार यस ‘सिजन’का लागि प्रदेश सरकारले मलको कोटा तोकिसकेको छैन । यसकारण जिल्लामा किसानहरूले मलखाद पाउन अझै समय लाग्न सक्ने देखिएको छ । यहाँ धान, मकै, गँहु, उखुलगायत बालीका लागि थोरै मात्रामा रासायनिक मलखाद माग हुने गरेको छ भने जिल्लाको बागमती, बरहथवा, लालबन्दी, चन्द्रनगरलगायत स्थानमा वर्णशङ्कर जातका मकै, आलु, तरकारीलगायत खेतीका लागि अत्यधिक मात्रामा मलखाको माग हुने गरेको छ ।  सरकारले अनुदानमा मागको आधा मात्र वितरण गर्ने गरेका कारण स्थानीय किसानहरूले खुला सिमाना हुँदै भारतबाट समेत खादमल ल्याएर प्रयोग गर्नुपर्ने बाध्यता छ । कुल ८४ हजार ६७८ हेक्टर क्षेत्रफल कृषियोग्य भूमि रहेको यस जिल्लामा हरेक वर्ष २५ हजार मेट्रिकटन युरिया र २० हजार मेट्रिकटन डिएपीको माग हुने गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेड लालबन्दी र साल्ट ट्रेडिङ्ग कर्पोरेशन मलङ्गवाबाट गरी मागको आधा १० हजार मेट्रिकटन हाराहारीमा युरिया र ८ हजार हाराहारीमा डिएपी मल वितरण हुने गरेको छ । माग र पूर्तिको अनुपातले समेत जिल्लामा रासायनिक मलको सधैँ अभाव रहेको पुष्टि गरेको साना किसान कृषि सहकारी कर्मैयाका अध्यक्ष उत्तम आचार्यले बताए। राज्यले किसानको आवश्यकतालाई ध्यान दिएर खादमल वितरण गर्नुपर्ने उनको माग छ ।रासस