विकासन्युज

ठाउँठाउँमा वर्षा हुँदा तापक्रम क्रमशः घट्दै, मनसुन भित्रिन एक दिन बाँकी

काठमाडौं । मौसम बदली भएसँगै ठाउँठाउँमा परेको वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वक्षेत्रमा यो दुई दिन अलि बढी वर्षा भएकाले तापक्रम घटेका छ । अन्य क्षेत्रमा तातो नै रहे पनि क्रमशः केही घट्ने जनाइएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले पूर्वमा तापक्रम घटिसकेको र पश्चिमतर्फ अझै तापक्रम बढी नै रहे पनि क्रमशः घट्ने क्रममा रहेको बताए । पूर्वमा भन्दा पश्चिम क्षेत्रमा बढी तातो हुने पनि उनले जानकारी दिए ।  मौसमविद् लामिछानेले पछिल्लो केही घण्टामा काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ खोटाङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, काभ्रे, नुवाकोट, गोरखा र मकवानपुरमा वर्षा भएको जानकारी दिए । यो क्रम बिहीबार र शुक्रबार पनि जारी रहने छ । जसकारण हिजो आजको भन्दा बिहीबार र शुक्रबारको तापक्रममा गिरावट आउने पनि उनको भनाइ छ ।  ठूलो र देशैभरि एकनासको वर्षा गराउने प्रणाली भने नभएको पनि महाशाखाले जनाएको छ, तर पनि दिउँसोको समयमा भने गर्मी नै महसुस हुने जनाइएको छ । महाशाखाले बुधबार साँझ सूचनामार्फत भनेको छ, ‘यो सूचना जारी गर्नुभन्दा तीन घण्टादेखि कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम र एक/दुई स्थानमा भारी वर्षा मापन भएको  छ । सो वर्षा गराउने प्रणाली दक्षिण-पश्चिमतर्फ सर्दै गइरहेकाले आसपासका क्षेत्रमा समेत मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा  समेत हल्का वर्षा भएको र बाँकी स्थानहरूमा समेत बदलीको क्रम बढ्दै वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।’ मनसुनको अवस्था हाल मनसुन जेठ १५ गतेकै अवस्थामा कोशी प्रदर्शनबाट अन्यत्र नफैलिएको बताउँदै लामिछानेले महाशाखाले अनुगमन गरिरहेको जानकारी दिए ।  उनले भने, ‘मनसुनका लागि अनुकूल वातावरण बन्दै गएको छ, केही दिनमा नयाँ परिणाम निस्किन्छ होला, सबै मापदण्ड पूरा भएपछि महाशाखाले बुलेटिनमार्फत जानकारी दिनेछ ।’  मनसुन भित्रिने सरदर मिति (जुन १३) आउन अब एक दिन बाँकी छ । यसपालि यो मिति आउनुभन्दा १५ दिनअघि नै पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको र पछि पूर्वी एसिया फर्किएको जनाइएको छ । 

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट मतदान, एक जनालाई २० मिनेट समय लाग्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ । बिहान ८ देखि अपरान्ह ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिए । मतदान विद्युतीय मेसिनबाट हुनेछ । उनका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक र विद्युतीय मेसिनलाई उम्मेदवारीका नाम राख्ने काम सम्पन्न भइसकेको छ । २४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा सुजन कडरियाले उम्मेदवारी दिएका छन् । एकजना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरत सिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।  यसैगरी, एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईले उम्मेदवारी दिएका छन् । महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन् ।  अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले छिटोछरितो बनाउने र कागजको मतपत्रको झन्झट हटाउनका लागि विद्युतीय मेसिनबाट मतदान गर्न लागिएको जानकारी दिए । राम-लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालले निर्वाचनमा ४३ वटा मेसिन प्रयोग गरिने जानकारी दिए ।  महाधिवेशनमा करिब एक हजार ५४३ जना प्रतिनिधिले मतदान गर्नेछन् । हाल विभिन्न पदमा ५१९ जना उम्मेदवार भएकाले एक जनालाई कम्तीमा १५ देखि २० मिनेट मतदान गर्न  समय लाग्ने जनाइएको छ । अनेरास्ववियुमा पहिलोपटक ३२ वर्ष उमेर हदअनुसार निर्वाचन हुँदैछ । महाधिवेशन यही जेठ २५ देखि सुरु भएको हो । 

एभरेष्ट कलर र लक्ष्मी सनराइज क्यापिटलबीच आईपीओ निष्कासनका लागि प्रत्याभूति सम्झौता

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आफ्नो आगामी साधारण सेयर (आईपीओ) निष्कासनका लागि आवश्यक पर्ने प्रत्याभूति सम्झौता सम्पन्न गरेको छ ।  कम्पनीले जारी गर्न लागेको ७ लाख ९० हजार कित्ता साधारण सेयरको प्रत्याभूति सम्झौता बुधबार सम्पन्न भएको हो । सम्झौतामा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुइटेल र प्रत्याभूतिकर्ताको तर्फबाट लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरे । कम्पनीले हालै केयर रेटिङ्स नेपाल लिमिटेडबाट 'डबल बी माइनस' (केयर एनपी बीबी) को रेटिङ प्राप्त गरेको छ । यो रेटिङ कम्पनीको औसत वित्तीय क्षमता र जोखिम व्यवस्थापन क्षमताको संकेत हो ।

पुन: सर्‍यो संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला

काठमाडौं । सर्वोच्च अदालतले ५२ जना संवैधानिक आयोगका पदाधिकारीविरुद्ध दायर रिट निवेदनमाथिको सुनवाइको फैसला  आगामी असार १८ गतेलाई सरेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा। कुमार चुँडाल र डा. नहकुल सुवेदीका इजलासमा पदाधिकारीविरुद्धको रिट निवेदनमाथि सुनुवाइको  फैसला आज सुनाउने भनिएको थियो ।   सर्वोच्च अदालतका सहप्रवक्ता नीराजन पाण्डेले संवैधानिक आयोगका पदाधिकारी विरुद्धका निवेदनमा आज सुनाउने भनिएको फैसला आगामी असार १८ गतेका लागि सरेको जानकारी दिए ।  सरकारले २०७७ र २०७८ सालमा दुई चरणमा गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा ५२ जना पदाधिकारी नियुक्त गरेको थियो । अध्यादेशमार्फत संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गर्नु गैरकानुनी भएको उल्लेख गर्दै १५  रिट निवेदन दर्ता भएको थियो । सोही निवेदनमाथिको सुनुवाइ यही जेठ १ गते सकिएको थियो ।

केयूको दीक्षान्तः एक हजार १२९ दीक्षित हुँदै

काभ्रेपलाञ्चोक । काठमाडौं विश्वद्यिालय (केयू) को दोस्रो चरणअन्तर्गतको ३० औं दीक्षान्त समारोहमा १ हजार १२९ विद्यार्थी दीक्षित हुने भएका छन् । शुक्रबार आयोजना हुने दीक्षान्त समारोहको प्रधमनमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षमा गरिने केयूद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सम्मेलनमा दिइएको जानकारीअनुसार अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत बेन्डन जीकारको प्रमुख आतिथ्य र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति रघुजी पन्तको समुपस्थिति कार्यक्रम आयोजना हुनेछ ।  समारोहमा केयूबाट स्कुल अफ आर्टसका एक सय ६३, स्कुल अफ एजुकेसनका एक सय दुई, स्कुल अफ इञ्जिनियरिङका ६८, स्कुल अफ मेनेजमेन्टका एक सय १०, स्कुल अफ मेडिकल साइन्सेजका छ सय ६१ र स्कुल अफ साइन्सका २५ जना विद्यार्थी दीक्षित हुने केयूका प्रवक्ता एक्कुमाया पुनले जानकारी दिए । उनका अनुसार विश्वविद्यालयका आर्टस्, एजुकेसन, इञ्जिनियरिङ, मेनेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स सङ्कायका पिएचडी तहका १४, डिएम तहका आठ, एमसिएच तहका १०, एमफिल तहका ६९, स्नातकोत्तरका पाँच सय १३, पिजिडी तहका चार र स्नातक तहका पाँच सय १९ जना दीक्षित हुनेछन् ।  दीक्षित हुनेमध्ये ५० दशमलव ९३ प्रतिशत पुरुष र ४९ दशमलव शून्य सात प्रतिशत महिला रहेका छन् । यस्तै, दीक्षित हुने विदेशी विद्यार्थी भुटान, भारत, श्रीलङ्का र माल्दिभ्सका गरी एक सय १८ जना रहेका प्रवक्ता पुनले जानकारी दिए । पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्राडा अच्युत वाग्लेले केयूको इतिहासमा पहिलोपटक स्कुल अफ इञ्जिनियरिङअन्तर्गत ‘डक्टर अफ फिलोसफी इन जियोम्याटिक्स् इञ्जिनियसिरङ’मा एक, स्कुल अफ मेनेजमेन्टअन्तर्गत ‘ब्याचलर अफ प्राफेसनल हस्पिटालिटी’मा २० र स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गत ‘डक्टर अफ मेडिसिन इन पल्मोनरी क्रिटिकल केयर एण्ड स्लिप मेडिसिन’मा एक, ‘एमएससी इन कम्युनिटी हेल्थ नर्सिङ’मा एक, ‘एमएससी इन साइक्र्याटिक नर्सिङ’मा दुई, ‘माष्टर अफ साइकोथेरापी इन मस्कुलोस्केलेटल साइकोथेरापी’ मा पाँच जनालाई उपाधि प्रदान गरिने जानकारी दिए । तीसौं दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा गरी केयूबाट ४७ हजार ८३१ जना उत्तीर्ण भएका छन् । जसमध्ये पाँच हजार ६६० विद्यार्थी विदेशी रहेका जनाइएको छ ।  यसैगरी, समारोहमा विश्वविद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई स्वर्णपदक प्रदान गरिने भएको छ । चान्सलर स्वर्णपदकमा स्नातकोत्तर तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने दयाराम सिंखडा, भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने एजल सुजखू, जुद्धबहादुर श्रेष्ठ स्वर्णपदकबाट कृष्णबाबु भट्टराई, रणबहादुर शाह स्वर्णपदकबाट एमबिए तहमा सर्वोत्कृष्ट विद्यार्थी तरुण अग्रवाल, रमेशप्रसाद सिंह स्वर्णपदकबाट स्नातकोत्तर तह एमएस अर्थोपेडिक्समा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने सुयश तिमल्सिना, महेशनाथ पराजुली स्वर्णपदकबाट स्कुल अफ एजुकेसनअन्तर्गत दुई वर्षे स्नातकोत्तर तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने छात्रा युरिशा उपाध्याय र प्रेमराज पन्त स्वर्णपदकबाट स्नातक तह ९स्कुल अफ मेनेजमेन्ट०मा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थी एजल सुजखु सम्मानित हुनेछन् । 

सेमिकन्डक्टर बनाउँदै टाटा, प्रशिक्षण लिन कर्मचारी ताइवान पठायो

काठमाडौं । टाटा इलेक्ट्रोनिक्स अब सेमिकन्डक्टर बनाउने तयारीमा लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कम्पनीले चिप निर्माण र तिनको परीक्षण (टेस्टिङ) का लागि प्लान्ट स्थापना गरिरहेको छ । यस कामलाई तीव्रता दिन कम्पनीले आफ्ना कर्मचारीहरूलाई प्रशिक्षणका लागि ताइवान पठाइरहेको छ । इकोनोमिक टाइम्सका अनुसार टाटा ग्रुपअन्तर्गतको यस कम्पनीले हालसम्म करिब २०० कर्मचारीलाई ताइवान पठाइसकेको छ । ती कर्मचारीहरू पावरचिप सेमिकन्डक्टर म्यान्युफ्याक्चरिङ कर्पोरेसन (पीएसएमसी) मा प्रशिक्षण लिइरहेका छन्।  पीएसएमसी टाटा इलेक्ट्रोनिक्सको प्रविधि साझेदार हो । यी कर्मचारीलाई विशेष प्रकारको सीप सिकाइँदैछ, जुन सीपले गुजरातको धोलेरामा निर्माण भइरहेको प्लान्ट सञ्चालन गर्न सघाउनेछ । सेमिकन्डक्टरले विद्युत नियन्त्रण गर्न मद्दत गर्छ । यो मोबाइल फोन, कम्प्युटरजस्ता विद्युतीय सामानहरूमा प्रयोग गरिन्छ । प्लान्ट सुरु गर्ने तयारी एक स्रोतका अनुसार टाटा इलेक्ट्रोनिक्सबाट प्रशिक्षणका लागि ताइवान जानेहरूको सङ्ख्या बढ्दै गएको छ । कम्पनी प्लान्ट सुरु गर्ने अन्तिम तयारीमा जुटिरहेको छ । सबैभन्दा ठूलो चुनौती दक्ष जनशक्तिको हो । कम्पनीले पीएसएमसीमा एकपटकमा करिब ५० देखि ७५ जनासम्म पठाइरहेको छ । करिब १४ खर्ब ५६ अर्बको प्लान्ट टाटा इलेक्ट्रोनिक्सले धोलेरामा करिब १४ खर्ब ५६ अर्ब रुपैयाँ लागतको प्लान्ट बनाइरहेको छ । यसले २० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी दिनेछ । त्यसबाहेक असममा रिब ४ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको ओ‌एसएटी (एसेम्ब्ली र परीक्षण) सुविधा निर्माण भइरहेको छ, जसबाट करिब २७ हजार जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ । मार्च २०२४ मा धोलेरास्थित टाटाको युनिटको भूमिपूजन कार्यक्रममा केन्द्रीय मन्त्री अश्विनी वैष्णवले पहिलो चिप डिसेम्बर २०२६ भित्र तयार हुने बताएका थिए । असमको ओएसएटी युनिट २०२५ को मध्यसम्म सञ्चालनमा आउने अनुमान छ । टाटा इलेक्ट्रोनिक्सले चिप बनाउने ठूला कम्पनीहरू जस्तै इन्टेल र ग्लोबलफाउन्ड्रिजका वरिष्ठ अधिकारीहरूलाई समेत नियुक्त गरिरहेको छ ।  सेमिकन्डरमा चीन र अमेरिकाको प्रभुत्व हाल सेमिकन्डक्टर चिप निर्माणमा चीन र अमेरिकाको वर्चस्व कायम छ । चिप बनाउने विश्वकै सबैभन्दा ठूलो कम्पनी एनभीडीया अमेरिकी हो । भारत पनि आफ्नै चिप निर्माणको दिशामा अघि बढिरहेको छ । विश्वास गरिन्छ कि यसै वर्ष भारतले पहिलो ‘मेड इन इन्डिनया’ चिप बनाउनेछ । यस अभियानमा धेरै कम्पनीहरू जुटेका छन् ।

सामाजिक मिडियाले ‘विनाशकारी’ बालबालिकाको मानसिक स्वास्थ्य संकटलाई बढावा दिइरहेको छ : एनजिओ

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्मको ‘अनियन्त्रित विस्तार’ ले बालबालिका र किशोरकिशोरीहरूमा अभूतपूर्व विश्वव्यापी मानसिक स्वास्थ्य संकट निम्त्याइरहेको विश्वव्यापी रूपमा तत्काल समन्वित कार्यको आह्वान गर्दै बालबालिकासँग सम्बन्धित संस्था किड्स राइट्सले बुधबार बताएको छ । उक्त संस्थाको रिपोर्ट अनुसार १० देखि १९ वर्ष उमेर समूहका सातमध्ये एक बच्चा र किशोरकिशोरीले मानसिक स्वास्थ्य समस्या भोग्नुपरेको छ भने १५–१९ वर्ष उमेर समूहका लागि आत्महत्याको दर प्रति एक लाखमा छ रहेको छ । आमस्टर्डममा आधारित समूहका अनुसार कलङ्कका कारण आत्महत्या व्यापक रूपमा कम रिपोर्ट गरिएकाले यी उच्च दरले पनि ‘शिखरको चुचुरो’ प्रतिनिधित्व गर्दछ । 'यस वर्षको रिपोर्ट एउटा चेतावनी हो जसलाई हामी अब बेवास्ता गर्न सक्दैनौँ', किड्स राइट्सका अध्यक्ष मार्क डुलार्टले भने, 'हाम्रा बालबालिकामाथिको मानसिक स्वास्थ्य... सङ्कट चरम विन्दुमा पुगेको छ, बाल सुरक्षालाई प्राथमिकता दिने सामाजिक सञ्जाल मञ्चहरूको अनियन्त्रित विस्तारले अझ बढेको छ ।' व्यापक इन्टरनेट प्रयोग र आत्महत्या प्रयासहरू बीचको प्रत्यक्ष सम्बन्धका साथ यसले ‘समस्याग्रस्त’ सामाजिक मिडियाको प्रयोग बढेको बताएको छ । यद्यपि पूर्ण प्रतिबन्ध यसको उत्तर नभएको समूहले चेतावनी दिएको छ । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने कानून पारित गरेको छ ।  'यस्तो पूर्ण प्रतिबन्धले बालबालिकाको नागरिक र राजनीतिक अधिकारको उल्लङ्घन गर्न सक्छ', सूचनाको पहुँचसहित प्रतिवेदनमा भनिएको छ । समूहले सामाजिक सञ्जाल मञ्चको प्रयोग बालबालिकाका लागि राम्रो शिक्षा र मानसिक स्वास्थ्य व्यवसायीहरूका लागि सुधारिएको प्रशिक्षणका लागि विश्वव्यापी स्तरमा ‘व्यापक बाल अधिकार प्रभाव मूल्याङ्कन’ गर्न आग्रह गरेको छ । 'डिजिटल क्रान्तिले विश्वको दुई अर्ब २० करोड बालबालिकाको कल्याणलाई खतरामा नपार्ने गरी सुधार गर्न सुनिश्चित गर्न हामीलाई ठोस कदम चाल्न आवश्यक छ', डुलार्टले भने, 'आधा उपायको समय समाप्त भयो ।' रासस  

बीमा कम्पनीहरूबाट ३४ अर्ब ७८ करोड दावी भुक्तानी हुन बाँकी, निर्जीवनको मात्रै ३० अर्ब

काठमाडौं । बीमा कम्पनीहरूबाट अझै ३४ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीहरूबाट ३४ अर्ब ७८ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी रहेको पाइएको हो । चालु आवको वैशाख मसान्तसम्ममा जीवन बीमातर्फ ४ अर्ब ४५ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी छ । जुन गत आवको तुलनामा भुक्तानी हुन बाँकी रकम ९५.४२ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा बीमा कम्पनीहरूको भुक्तानी हुन बाँकी रकम २ करोड २७ लाख रुपैयाँ थियो । चालु आवको वैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनको भुक्तानी हुन बाँकी दाबी संख्या ९७.२२ प्रतिशतले बढेको छ ।  गत आवको यही अवधिमा जीवन बीमकको भुक्तानी हुन बाँकी भुक्तानी संख्या २७ हजार ११७ रहेकोमा चालु आवमा बढेर ५३ हजार ४८१ रहेको छ । गत आवको तुलनामा कम्पनीहरुले भुक्तानी गरेको रकम भने घटेको छ । प्राधिकरणको तथ्यांकअनुसार गत आवको वैशाखसम्ममा ५० करोड ६६ लाख रुपैयाँ  दाबी रकम भुक्तानी गरेकोमा समीक्षा अवधिमा कम्पनीहरूले ४८ करोड ९५ लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन् । निर्जीवनतर्फ ३० अर्ब भुक्तानी बाँकी वैशाखसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ३० अर्ब ३३ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । जुन गत आवको सोही अवधिको तुलनामा ४६.८९ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा कम्पनीहरूको भुक्तानी हुन बाँकी दाबी रकम २० अर्ब ६४ करोड थियो । वैशाख मसान्तसम्ममा भुक्तानी हुन बाँकी दाबी संख्या १ लाख ५ हजार ६२० रहेको छ । गत आवको तुलनामा भुक्तानी हुन बाँकी दाबी संख्या २.४५ प्रतिशतले बढेको हो । त्यस्तै वैशाखसम्ममा १८ अर्ब ५७ करोड रुपैयाँ भुक्तानी भएको छ । जुन गत आवको वैशाखसम्मको तुलनामा ३४.८० प्रतिशतले बढी हो । गत आवको यही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १३ करोड ७८ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।