कुमारी बैंकले बैंक खातामा बीमा सुविधा हटाउने
काठमाडौं । कुमारी बैंकले बैंक खातामा बीमा सुविधा हटाउने भएको छ । बैंकले विभिन्न बचत खाताहरूमा प्रदान गरिँदै आएको बीमा सुविधा साउन ३१ गतेपछि बन्द गर्ने जनाएको हो । बैंकले विगत लामो समयदेखि परिवार सुरक्षा बचत खाता, कुमारी प्रिमियम स्यालरी एकाउन्ट, कुमारी रेमिट प्रिमियम सेभिङ एकाउन्ट लगायत अन्य विभिन्न खाताहरूमा बीमा सुविधा प्रदान गर्दै आएको छ । परिवार सुरक्षा बचत खातामा रहेको २६ लाख, कुमारी प्रिमियम स्यालरी एकाउन्ट र कुमारी रेमिट प्रिमियम सेभिङ एकाउन्ट रहेको ७/७ लाखसम्मको बीमा सुविधा यथावतै राखि अन्य खाताहरूमा प्रदान गर्दै आएको बीमा सुविधा साउन ३१ गते पश्चात् कायम नरहने बैंकले जनाएको छ । उक्त खातामा ग्राहकहरूले पाइरहेको अन्य सबै सेवा सेवासुविधाहरु भने यथावत् रहने बैंकले जनाएको छ । बैंकले असार १७ गतेपछि उल्लेखित खाताहरू बाहेक अन्य खाताहरूलाई नयाँ बीमा सुविधामा समावेश गरिने छैन । तर, यसअघि बीमामा समावेश भइसकेका ग्राहकहरूले साउन ३१ गतेसम्मका स्वास्थ्य उपचारको बिल बैंक समक्ष दावी गर्न सक्ने जनाएको छ ।
पारदर्शी र खुला प्रक्रियाद्वारा जहाज थप, होटललाई उद्योगमा वर्गीकृत गरिँदै
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल एयरलाइन्समा जहाज थप गर्ने विषय प्राथमिकताका साथ अघि बढेको जानकारी दिएका छन् । राष्ट्रिय सभामा जवाफ दिँदै उनले नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी र व्यावसायिक संस्थामा रूपान्तरण गर्न व्यवस्थापन सुधारको कामसमेत प्राथमिकताका साथ अघि बढेको समेत बताए । ‘नेपाल एयरलाइन्समा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका लागि अन्तर्राष्ट्रिय लिज तथा प्रदेशसँगको सहकार्यमा पारदर्शी र खुला प्रक्रियाद्वारा जहाजहरू थप गर्न आवश्यक प्रक्रिया अघि बढाइएको छ,’ मन्त्री पाण्डेले भने । मन्त्री पाण्डेले देशभरका विभिन्न विमानस्थलको अवस्थाबारे सभालाई जानकारी दिए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्रमशः अन्तर्राष्ट्रिय उडानको सङ्ख्या वृद्धि भइरहेको र आन्तरिक उडान सङ्ख्यामा समेत उल्लेख्य वृद्धि भएको उनको भनाइ छ । ‘दाङको टरीगाउँ विमानस्थलको स्तरोन्नति तथा विकासका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अध्ययन तथा पूर्वतयारी भइरहेको छ,’ मन्त्री पाण्डले भने, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तथा सञ्चालन ढाँचा स्पष्ट गरी कार्य अघि बढाइने छ ।’ यस्तै, सुर्खेत विमानस्थलको स्तरोन्नति तथा विस्तारका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अध्ययन तथा पूर्वतयारी भइरहेको उनले जानकारी दिए । त्यसका लागि प्राधिकरणमार्फत आवश्यक बजेट परिचालन भई कार्य अघि बढ्ने समेत मन्त्री पाण्डेको भनाइ छ । यसैगरी उनले सबै धर्मावलम्बीका आस्थाका प्रतीकको संरक्षण र सम्भारमा उचित ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । वृहत्तर लुम्बिनी गुरु योजना अनुरूपका कार्यहरू सम्पन्न गर्न मन्त्रालय र कोषको सहकार्यमा कार्य भइरहेको मन्त्री पाण्डेले जानकारी दिए । सगरमाथा हेरिटेज ट्रेलमा बजेट विनियोजन भई निरन्तर कार्य भइरहेको जानकारी दिँदै उनले दोलखा पद मार्ग, मन्दिर तथा गुम्बाहरूको संरक्षणलगायत पूर्वाधारमा बजेट विनियोजन भएको उनले जानकारी गराए । पर्यटकीय गन्तव्यलाई गुणस्तरीय र आकर्षक बनाउन ३ करोड रुपैयाँमाथिका योजनालाई प्राथमिकता दिई कार्यान्वयनमा लगिने समेत मन्त्री पाण्डेको भनाइ छ । यस्तै, कैलालीको गौरीफन्टा लगायत सबै नाकाबाट आउने पर्यटकीय सेवाका सवारीसाधनलाई सहज आगमनको व्यवस्था मिलाउन गृह मन्त्रालय र अर्थ मन्त्रालयलगायत निकायसँगको समन्वयमा काम भइरहेको उनले सभालाई जानकारी दिए । ‘यसका साथै सबै धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनमा स्थानीय तह, प्रदेश, सङ्घीय सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकताका साथ पालना गर्न हामी प्रतिबद्ध छौँ,’ मन्त्री पाण्डेले भने, ‘होटल तथा रिसोर्टलाई उद्योगको क्षेत्रमा वर्गीकृत गरी यसमा लगानी, रोजगारीजस्ता अर्थतन्त्रका महत्त्वपूर्ण क्षेत्रमा योगदान अभिवृद्धि गर्ने गरी राज्यबाट नीतिगत व्यवस्था भएको छ ।’ यस्तै, नेपाल पर्यटन बोर्ड, मन्त्रालय, निजी क्षेत्र, कूटनीतिक नियोग तथा नेपालीहरूको ‘डायस्पोरा’मार्फत पर्यटन प्रवर्द्धनका काम भइरहेको उनको भनाए छ ।
नेतृत्वप्रति आक्रोस भए पनि व्यवस्थाप्रति समर्थन घटेको छैन: अध्यक्ष नेपाल
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा विचलन आएका कारण नेतृत्वप्रति जन आक्रोस र निराशा भए पनि वर्तमान व्यवस्थाप्रतिको समर्थन नघटेको बताएका छन् । पार्टीको धनुषा जिल्ला कमिटीको सातौं अधिवेशन उद्घाटन समारोहमा उनले जन आक्रोस र निराशा चिर्न सेवा प्रवाहमा जोड दिनुपर्ने बताए । अध्यक्ष नेपालले राजनीतिमा प्रतिक्रिया वादी एवं पुँजीवादी चिन्तनका कारणले सिङ्गो कम्युनिष्ट पार्टी नै बदनाम हुन थालेको भन्दै सचेत हुनुपर्ने धारणा राखे । उनले पतञ्जलि जग्गा प्रकरणबारे आफू ‘नबिराउनु, नडराउनु’ भन्ने पक्षमा रहेको उल्लेख गरे ।
विकास हाइड्रोको आईपीओ बिक्री खुला, १० हजार कित्ता आवेदन दिन पाइने
काठमाडौं । विकास हाइड्रोपावरले आज असार १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरी बाँडफाँट पश्चात् सर्वसाधारण सेयरधनीहरूका लागि बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३ सय रुपैयाँको ४९ प्रतिशत अर्थात् ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँको ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर जारी गर्नेछ । जसमध्ये कम्पनीले ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले ७० हजार ९१० कित्ता कर्मचारी, १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो ।कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा असार ३२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
अर्घाखाँचीको सुपा देउरालीमा केबलकार निर्माण गरिने
काठमाडौं । अर्घाखाँचीको सुपा देउराली मन्दिरमा नजिकै केबलकार निर्माण गरिने भएको छ । सुपा देउराली मन्दिरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । यही असार १३ गतेको सन्धिखर्क नगर कार्यपालिकाको बैठकले सुपा देउराली केबलकार प्रालिलाई उद्योग दर्ताका लागि सिफारिस गर्ने निर्णय गरेको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार सुपा देउराली मन्दिरदेखि मसिनाको लेकसम्म केबलकार निर्माण गरिनेछ । प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा पछिल्ला वर्षमा उल्लेखनीय वृद्धि भएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष हरि खनालले बताए । मन्दिरमा देवीको दर्शन गर्न कपिलवस्तु, दाङ, प्युठान, गुल्मी, रुपन्देहीबाट बढी सङ्ख्यामा पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश, बिहारबाट समेत धार्मिक पर्यटकहरू सुपा देउरालीमा आउने गरेको वडा नं ७ का अध्यक्ष चुरा बहादुर केसीले बताए । सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने जनविश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ । मन्दिरमा पाठी, बोकाको बली चढाउने चलन छ ।
एलडीसीमा स्तरोन्नतिपछि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणको आवश्यकता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अतिकम विकसित देश (एलडीसी) बाट स्तरोन्नतिपछि पनि बलियो साझेदारी र जलवायु मैत्री वित्तीयकरणका लागि विश्व समुदायसँग आग्रह गरेका छन् । स्पेनको सेभिल्लास्थित फाइब्स सेभिल्ला प्रदर्शनी र सम्मेलन केन्द्रमा आयोजित ‘सशक्तीकरणका लागि लचिलोपनः दिगो एलडिसी स्तरोन्नतिका लागि जलवायु-स्मार्ट वित्तीयकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले सो आग्रह गरेका हुन् । अध्यक्ष ढकालले सन् २०२६ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने विषय नेपालका लागि उपलब्धिसँगै चुनौतीपूर्ण रहेको पनि बताए । उनले नेपालको एलडिसी स्तरोन्नतिका लागि तीन मापदण्डमध्ये दुई वटा पूरा भएको भए पनि प्रतिव्यक्ति आय स्तर र जलवायु परिवर्तनको प्रभावप्रति उच्च जोखिममा रहेको उल्लेख गरे । नेपालको वित्तीय आवश्यकता ठूलो र बढ्दो क्रममा रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले त्यसका लागि विश्वसमुदायसँग सहयोग र सहकार्यका लागि आग्रह गरे । ‘सरकारको राष्ट्रिय अनुकूलन योजनाले सन् २०५० सम्म जलवायु अनुकूलनका लागि करिब ४७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ, जुन वार्षिक रूपमा लगभग १.३ अर्ब डलर हो,’ उनले भने, ‘साथै, दिगो विकास लक्ष्यहरू प्राप्त गर्न नेपालले प्रत्येक वर्ष जिडिपीको करिब ११ प्रतिशतको वित्तीय अन्तरको सामना गरिरहेको छ ।’ एलडिसी स्तरोन्नतिले अन्तरराष्ट्रिय समर्थनको अन्त्य नभई नयाँ प्रकारको साझेदारीको सुरुवात हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ढकालले नेपालजस्ता देशहरूलाई आर्थिक लचिलोपन निर्माण गर्न, स्वच्छ ऊर्जामा लगानी गर्न तथा जलवायु परिवर्तनले निम्त्याउने जोखिमहरू कम गर्ने दिशामा सहयोग गर्न विश्व समुदायलाई आग्रह गरे । उनले यसका लागि आवश्यक सहयोग र सहकार्यका लागि नेपालको निजी क्षेत्रको छाता संस्थाको तर्फबाट आफूहरू तयार रहेको समेत बताए । कार्यक्रममा विश्वभरका नीति निर्माता, विकास साझेदार, निजी क्षेत्रका नेताहरू र विशेषज्ञहरूसँग एलडिसीहरूमा जलवायु लचिलोपन र दिगो विकासका लागि वित्तीय चुनौती र अवसरबारे छलफल भएको थियो ।
आज राष्ट्रिय सभाबाट बजेट पारित गर्ने, निजामती सेवा विधेयक पेस हुने
काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज अपरान्ह ११ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसहित विभिन्न मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । यस्तै, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । अर्थमन्त्री पौडेलले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । अर्थमन्त्री पौडेलले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले जानकारी दिए । यसैगरी, राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यसूची निर्धारण गरिएको छ ।
आज देशभर पानी पर्ने, यी ६ प्रदेशमा भने भारी वर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशका अधिकांश भागमा हल्का वर्षा हुनेछ । आज देशभर साधारणतया बदली रहने कोशी, बागमती, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।