विकासन्युज

स्मार्टफोन शाओमी १४ टी को मूल्य घट्यो

काठमाडौं । शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४ टी को मूल्य घटाएको घोषणा गरेको छ । लेइकासँगको सहकार्यमा बनेको यो फोनमा अत्याधुनिक क्यामेरा र उच्चस्तरीय फ्ल्यागशिप प्रदर्शन  रहेको छ ।  यससँगै अब शाओमी १४ टी (१२ जिबी + ५१२ जिबी)  ५९ हजार ९९९ मा आउने भएको छ । यसअघि यसको मूल्य ६४ हजार ९९९ रुपैयाँ तोकिएको थियो । यस स्मार्टफोनमा लाइका ट्रिपल क्यामेरा ५० एमपी मुख्य, १२ एमपी अल्ट्रा-वाइड र ५० एमपी टेलिफोटो लेन्सबाट प्रोफेशनल फोटो र ४ के भिडियो खिच्न सकिने क्षमता रहेको छ ।  शाओमी १४ टी स्मार्टफोन नेपालभरका शाओमी स्टोर र आधिकारिक खुद्रा पसलहरूबाट खरिद गर्न सकिने शाओमी नेपालले जनाएको छ । उच्चस्तरीय क्यामेरा, शक्तिशाली प्रदर्शन र किफायती मूल्यका कारण शाओमी १४ टी स्मार्टफोन उत्कृष्ट बन्न पुगेको छ । यो टाइटन ब्ल्याक, ग्रे र ब्लू तीन आकर्षक रङमा उपलब्ध छ । 

विपदबाट नागरिक र सम्पत्तिको सुरक्षा गर्न सरकार तयारी अवस्थामा छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनका कारण हुनसक्ने विपद्जन्य जोखिमबाट नागरिक र सम्पत्तिको सुरक्षा गर्न सरकार पूर्ण तयारी अवस्थामा रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लेखकले काठमाडौं उपत्यकामा विपद् हुँदा निजी वायुसेवा सञ्चालक संघले निःशुल्क उद्धार गर्ने सहमति भएको जानकारी दिए । उक्त सम्झौता वायुसेवा सञ्चालक संघ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच भएको हो । मनसुनका समयमा विपद्को जोखिम बढ्ने भएकाले उद्धार र राहतलाई प्रभावकारी बनाउन खोज र उद्धारमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई गृह मन्त्रालयले समन्वय गर्ने बताए । गृहमन्त्री लेखकले भने, 'विगतका अनुभवले पनि देखाएको छ, ठूलो जनधनको क्षति हुनसक्छ, त्यसैले सरकारले तयारी अवस्थामा बस्नुपर्ने हुन्छ । निजी वायुसेवाले उद्धारमा सहकार्य गर्दै ठूलो सार्वजनिक दायित्व पूरा गरेको छ ।' उपत्यका बाहिरको उद्धार कार्यका लागि भने निजी वायुसेवाले आवश्यक परे अपरेसन कस्ट लिने गरी सहयोग गर्ने सहमति भएको छ ।

झापामा कोभिडका ८ जना सङ्क्रमित फेला

बनियानी । झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासहित जिल्लामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप आएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जानकारी दिए ।  'झापाका पालिकाहरुसँग समन्वय गरेर खोप वितरण गर्छौं,' उनले भने, 'अब नयाँ तालिकाअनुसार खोप कार्यक्रम अघि बढ्छ ।' नयाँ खोप तालिकाअनुसार पाँच प्रकारका जनसङ्ख्यालाई लक्षित गरिएको छ । रोगप्रतिरोध क्षमता कम भएका पाँच वर्षभन्दा माथिका बालबालिका, वयस्क र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखिएको प्रमुख बाराकोटीले बताए । यसैगरी, स्वास्थ्यकर्मी र बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने व्यक्ति, गर्भवती महिला, १२ वर्ष वा सोभन्दा माथि उमेरका अन्य व्यक्ति र पाँच वर्षदेखि ११ वर्षसम्मका अन्य बालबालिकालाई खोपको प्राथमिकतामा राखिएको छ । जिल्लामा आठजना कोभिड सङ्क्रमित फेला परेका छन् । तीमध्ये पाँचजना झापाका छन्भने मोरङ, इलाम र दोलखाका एक/एकजना रहेको बाराकोटीले जानकारी दिए । झापामा कोभिडको सङ्क्रमण देखिन थालेपछि मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा नाकामा शङ्कास्पद मानिसको कोभिड परीक्षण हुन थालेको छ । 'काँकरभिट्टा नाकामा कोभिड परीक्षणका लागि तीनजना खटिएका छन्,' उनले भजे, 'जटिल प्रकृतिका बिरामीलाई कुन अस्पतालमा राख्ने भन्ने अन्योल छ ।'  

४४ वटा प्रयोग गर्न नमिल्ने पानीको जार फेला, व्यवसायीलाई सचेत रहन महानगरको आग्रह

काठमाडौं । उपभोक्तालाई गुणस्तरीय पिउने पानी उपलब्ध गराउने उद्देश्यले काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा मापदण्ड नपुगेका ४४ वटा जार फेला पारेको छ । महानगरको कृषि तथा पशुपन्छी विभागले गोङ्गबु बसपार्क क्षेत्र वरपर प्रशोधित पानी बोक्ने २८ वटा सवारी साधनको निरीक्षण गर्दा कुच्चिएका, फुटेका र अपारदर्शी जार प्रयोग भइरहेको पाइएको हो । यी जारहरू जफत गरी नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको छ । त्यसैगरी, अनुगमनका क्रममा त्रुटि देखिएका पानी व्यवसायीलाई मापदण्ड विपरीतका जार वितरण नगर्न, जारमा स्पष्ट विवरणसहितको लेबल राख्न, र बिल बिजकसहित कारोबार गर्न कडाइका साथ निर्देशन दिइएको महानगरले जनाएको छ । जनस्वास्थ्यलाई जोखिममा पार्ने पानीजन्य संक्रमण रोक्न यस विषयमा संवेदनशील बन्न पनि आग्रह गरिएको छ ।

हुवावे 'सिड्स फर द फ्युचर' मा चीन जाने ५ नेपाली विद्यार्थी छनोट

काठमाडौं । हुवावे नेपालले 'सिड्स फर द फ्युचर २०२५' कार्यक्रमका लागि नेपालबाट चीनमा आयोजना हुने क्षेत्रीय प्रतिस्पर्धामा सहभागी हुन शीर्ष पाँच नेपाली विद्यार्थीको छनोट गरेको छ । चीनको अगस्ट २०२५ मा हुने कार्यक्रममा प्रतिनिधित्व गर्ने यी पाँच जना आदर्श श्रेष्ठ, अपला तिमिल्सिना, दिनानाथ पाध्य, मंजिला पाण्डे र स्तुति ढुंगाना हुन् । यस वर्ष नेपालभरका ६५० भन्दा बढी विद्यार्थीको सहभागिताबाट छनोट प्रक्रियामा ३० जनालाई छोटो सूचीमा राखी विभिन्न प्राविधिक तालिम, कार्यशाला, र सांस्कृतिक आदानप्रदान गराइएको थियो । विद्यार्थीहरूले तालिमका क्रममा ५जी, एआई, क्लाउड कम्प्युटिङ, क्लिन इनर्जी लगायत डिजिटल प्रविधिको ज्ञान लिनका साथै काठमाडौंस्थित अत्याधुनिक डेटा सेन्टर र चीन सांस्कृतिक केन्द्र भ्रमण गरी अन्तरदेशीय सहकार्यको अनुभव समेत सँगालेका छन् । अन्तिम चरणको अन्तर्वार्तामा उनीहरूको नेतृत्व क्षमता, सञ्चार कला, सिर्जनात्मकता, विश्व जागरुकता र दिगो विकास लक्ष्यसँग मेल खाने दृष्टिकोणका आधारमा मूल्याङ्कन गरिएको थियो ।

कुमारी बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्ड, फोनपेको सहकार्यमा डिजिटल कारोबार सजिलो

काठमाडौं । कुमारी बैंक लिमिटेडले डिजिटल कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा ‘कुमारी भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु गरेको छ । बैंकका ग्राहकले मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’ मार्फत भर्चुअल क्रेडिट कार्ड सहजै सक्रिय गरी प्रयोग गर्न सक्नेछन् । कुनै भौतिक कार्ड नभई डिजिटल रूपमा जारी हुने यो कार्डमार्फत फोनपेको क्यूआर मर्चेन्टहरूमा सहज भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । ग्राहकले भुक्तानी गरेपछि ४५ दिनसम्म बिना ब्याज सुविधा पाउने र सेटलमेन्टका लागि १० प्रतिशत वा शतप्रतिशत रकम चुक्ता गर्ने विकल्प समेत रोज्न सक्ने बैंकले जनाएको छ ।

सेजनले अस्वीकार गर्‍यो सरकारको एक करोडको निःशर्त अनुदान

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रस्ताव गरिएको एक करोड रुपैयाँ बराबरको अनुदान अस्वीकार गरेको छ । सेजनले सोमबार विज्ञप्ति जारी गर्दै उक्त अनुदान नलिने निर्णय जनाएको हो । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत सेजन, नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र महिला आर्थिक पत्रकार संघ (फेजा) लाई सरकारद्वारा एक-एक करोड रुपैयाँ सञ्चालन अनुदान विनियोजन गरिएको थियो । सेजनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग यस प्रकारको कुनै पनि बजेट माग नगरेको विज्ञप्तिमा उल्लेख गरेको छ । यसैगरी, सेजनले हालसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट कुनै पनि निःशर्त अनुदान स्वीकार नगरेको जनाएको छ । विज्ञप्तिमा सेजनका सदस्यहरू सरकार र सरोकारवाला निकायहरूमाथि बजेट अनुशासन र स्रोतको प्रभावकारी उपयोगबारे निरन्तर खबरदारी गर्दै आएको स्मरण गराउँदै यस अवस्थाको विरोधस्वरूप अनुदान अस्वीकार गरिएको जनाइएको छ । सेजनले हाल देशमा नागरिकको जीवन रक्षा र आधारभूत आवश्यकतामा सरकारको लगानी बढाउनु पर्ने आवश्यकता औंल्याउँदै यस्ता रकम त्यहीँ केन्द्रित हुनुपर्ने धारणा राखेको छ ।

एमजी विन्डसर ईभी बुधबार सार्वजनिक हुँदै

काठमाडौं ।  नेपाली बजारमा एमजीको नयाँ विद्युतीय सवारीसाधन ‘एमजी विन्डसर ईभी’ बुधबार सार्वजनिक हुने भएको छ । एमजी ब्रान्डको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले विन्डसर ईभी सार्वजनिक गर्न लागेको हो । एमजी विन्डसर ईभी भारतमा निर्मित जेएसडब्लू एमजीको दोस्रो विद्युतीय मोडल हो । यसअघि भारतमै निर्मित कोमेट मिनी ईभी नेपाली बजारमा बिक्री भइसकेको छ । भारतीय बजारमा राम्रो बिक्री प्राप्त गरिरहेको विन्डसर ईभीले नेपाली बजारमा बीवाइडी डल्फिनसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । एमजी विन्डसर ईभी दुई फरक भेरियन्टमा उपलब्ध हुनेछ ।  एक्सक्लूसिभ र इसेन्स । अघिल्लो मूल्य खुलासाका आधारमा एक्सक्लूसिभको मूल्य ३९ लाख ४९ हजार रुपैयाँ र इसेन्सको ४२ लाख ४९ हजार रुपैयाँ तोकिएको थियो ।  तर, औपचारिक बिक्री सुरू हुँदा यी मूल्यहरू केही घट्न सक्ने अपेक्षा गरिएको छ । एमजी विन्डसर एक कम्प्याक्ट युटिलिटी भेहिकल (सीयूभी) हो, जुन लक्जरी र आधुनिक प्रविधिले भरिएको छ । यसमा वायरलेस चार्जर, अटोमेटिक एसी, इलेक्ट्रिकली, एड्जस्टेबल फ्रन्ट सिट, पावर टेलगेट, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रिक स्टेबिलिटी कन्ट्रोल तथा ३६० डिग्री क्यामेरा उपलब्ध छ ।  विन्डसर ईभीमा ३८ किलोवाट–आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ, जसले एकपटकको पूर्ण चार्जमा ३३१ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । भारतको सहरी परीक्षणमा यसले ३२७ किलोमिटर रेन्ज दिएको उल्लेख गरिएको छ । यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले २०० एनएम टर्क उत्पादन गर्न सक्ने कम्पनीको भनाइ छ ।  विन्डसर ईभीको डिजाइन आकर्षक र आधुनिक छ । यसमा फ्लश डोर ह्याण्डल, एलईडी लाइटहरू, १८ इन्चको अलोय ह्वील, पानारोमिक ग्लास रुफ, १३५ डिग्रीसम्म डिलाइन गर्न मिल्ने पछिल्लो सिट, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट प्यानल, १५.६ इन्चको फ्लोटिङ टचस्क्रिन सेन्टर कन्ट्रोल सिस्टम जडान गरिएको छ ।