विकासन्युज

नेपाललाई हिमताल संरक्षणका लागि ५ अर्बको अन्तर्राष्ट्रिय सहयोग

काठमाडौं । हिमताल विस्फोटबाट हुनसक्ने क्षति कम गर्ने कार्यका लागि नेपालले हरित जलवायु कोषबाट ५ अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान प्राप्त गरेको छ । हिमताल संरक्षणको क्षेत्रमा नेपालले प्राप्त गरेको यो रकम हरित जलवायु कोषले उपलब्ध गराएको पहिलो र सबैभन्दा ठूलो सहयोग हो । युएनडिपीको सहयोगमा जल तथा मौसम विज्ञान विभाग र उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमार्फत प्रश्तावित परियोजनालाई पपुवान्युगिनीमा बसेको हरित जलवायु कोषको बोर्ड बैठकले स्वीकृत गरेको छ । हिमताल विस्फोटबाट हुने क्षतिलाई न्युनिकरण गर्ने कार्यका लागि बोर्डले ३६ दशमलव १ मिलियन अमेरिकी डलर (झन्डै ५ अर्ब नेपाली रुपैयाँ) को १५ वर्षे परियोजना स्वीकृत गरेको छ । यो परियोजनामा पहिलो चरणको ७ वर्ष हरित जलवायु कोषले उपलब्ध गराएको अनुदानबाट कार्यक्रम सञ्चालन हुनेछ । दोस्रो चरणको ८ वर्ष नेपाल सरकारले अन्य निकायसँगको सहलगानीमा परियोजना अघि बढाउनुपर्ने छ ।   पछिल्लो ८ वर्षमा करिव १३ दशमलव  ९ मिलियन अमेरिकी डलर (करिव २ अर्ब नेपाली रुपैयाँ) बराबरको कार्य गरिने अनुमान गरिएको छ । यसबाहेक परियोजनाले समेटेका स्थानीय सरकारसहित अन्य संवद्ध विभाग, निकाय तथा मन्त्रालयले पनि समानान्तर आर्थिक दायित्व लिनेछन् । संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई हिमनदी संरक्षणका लागि अन्तर्राष्ट्रिय वर्षको रूपमा मनाउँदै गर्दा नेपालले हिमताल संरक्षणका लागि हरित जलवायु कोषको अनुदान पाएको हो । परियोजनाको नेतृत्व गर्ने मन्त्रालय उर्जा जलस्रोत तथा सिंचाई सचिव सरिता दवाडीले सरोकारवाला निकाय र विकास साझेदार युएनडिपिको निरन्तरको सहयोग र सहकार्यपछि प्रोजेक्ट स्वीकृत भएकोमा सबैलाई धन्यवाद दिइन् । उनले छो रोल्पा र इम्जा हिमताल संरक्षणमा प्राप्त गरेको सफलता पछि ४ वटा ताल संरक्षणमा अनुदान प्राप्त भएको उल्लेख गर्दै अन्य तालको संरक्षणमा पनि मन्त्रालयले काम गर्दै जाने प्रतिवद्धता जनाइन् । उनले भनिन् ‘विगत ८ वर्षको प्रयासमा ४ वटा लेक लोअरिङ्गको लागि जिसिएफको प्रोजेक्ट प्राप्त गरेका छौ । यसमा म अत्यन्तै खुसी व्यक्त गर्न चाहन्छु र यसमा संलग्न हुने सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । यसको कार्यान्वयन गर्ने निकाय उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय र यो अन्तर्गतको जल तथा मौसम विज्ञान विभाग रहेको छ । यो हाम्रो इनिसियल इन्टरभेन्सन हो । यसलाई विस्तारै अन्य लेकमा इन्टरभेन्सन गदै जाने हिसावले मन्त्रालय अघि बढ्छ भन्न चाहन्छु । ’ जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका हिमताल विष्फोटबाट हुने क्षति कम गर्ने कार्यका लागि प्राप्त अनुदान नेपालका लागि निकै महत्वपुर्ण रहेको बताए । प्राप्त अनुदानबाट हिमतालको सतह कम गर्ने,जलतथा मौसमी केन्द्र स्थापना, विपद पूर्वसूचनामा पहुँच विस्तार र जलाधार संरक्षणमा खर्च गरिने बताए । यो परियोजनाले कोशीका ३ र गण्डकीको एउटा हिमताललाई समेटेको जानकारी दिए । उनले भने ‘यसका लागि तीनै तहका सरकार, विकास साझेदार, एनजिओ,आईएनजीओ, नीजि क्षेत्र, अनुसन्धान गर्ने संस्था लगायत संगको समन्वय र सहकार्यमा जल तथा मौसम विज्ञान विभाग, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको लिडमा एनडिआरआरएमए र भू संरक्षण विभाग समेतको सहभागीतामा यो कार्य गर्छौं ।’ नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) का आवासीय प्रतिनिधि क्योको योकोसुकाले पर्वतीय क्षेत्रले सामना गरेका जटिल जलवायु जोखिमलाई सम्बोधन गर्न नेपाल सरकारसँग साझेदारी गर्न पाउनु आफूहरुका लागि महत्वपूर्ण अवसर भएको प्रतिक्रिया दिए । हरित जलवायु कोषको सहयोगमा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवन रक्षा र उत्थानशीलताका लागि संचालन हुने कार्यक्रम दीर्घकालीन लगानी भएको जानकारी दिए । जल सतह घटाउने, जल तथा मौसमी केन्द्र स्थापना गर्ने र समयमै पूर्वसूचना प्रवाह गरी त्यस क्षेत्रका बासिन्दालाई सचेत गराई जोखिम न्युनिकरण गर्ने र भूसंरक्षणमार्फत जलाधार संरक्षण गर्ने परियोजनाका प्राथमिकताका क्षेत्र रहेका छन् । त्यसैगरी प्रोजेक्ट क्षेत्रमा १ सय ५० हेक्टर भन्दा बढी क्षेत्रमा वृक्षरोपणमार्फत जलाधार क्षेत्रको भूसंरक्षण गर्ने लगायतका कयौ कार्यक्रमहरु रहेका छन् । 

बैंकिङ प्रणालीको तरलता व्यवस्थापन गर्न ६० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले बुधबार ६० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ६० अर्ब निक्षेप खिच्न लागेको हो ।  बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ शुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । अहिले कुल निक्षेप ७० खर्ब ५८ अर्ब माथि पुगेको छ । निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको हो ।  ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ १८ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । सामान्यता २१ दिनका लागि राष्ट्र बैंकलले बोलपत्र आह्वान गर्ने गरेपनि पछिल्लो समय भने लामोसमयका लागि राष्ट्र बैंकले बजारबाट पैसा खिच्न थालेको छ ।

फेरारीको नयाँ ‘अमाल्फी’ कूप सार्वजनिक, मूल्य २ लाख ४० हजार युरो

काठमाडौं । फेरारीले मंगलबार नयाँ ‘अमाल्फी’ कूप सार्वजनिक गरेको छ । लक्जरी स्पोट्स कार निर्माता फेरारीले पेट्रोल र हाइब्रिड मोडेललाई मिसाउँदै आफ्नो पहिलो पूर्ण विद्युतीय सवारीसाधन (ईभी) सार्वजनिक गर्ने तयारी गरिरहेको बेला यो नयाँ मोडेल ल्याइएको हो । ८ सिलिन्डर र ३.८५ लिटर इञ्जिन क्षमताको अमाल्फीले सन् २०१९ मा सार्वजनिक गरिएको सफल ‘रोमा’ मोडेललाई प्रतिस्थापन गर्दै अपग्रेड पनि गरेको छ । यो मोडेल फेरारीको इन्ट्री सेग्मेन्टमा पर्दछ । अमाल्फी सार्वजनिक हुनुभन्दा दुई महिना अघिमात्र फेरारीले २९६ स्पेसियाले हाइब्रिड कार र त्यसको कनभर्टिबल भर्सन ल्याएको थियो । फेरारीले आफ्नो पहिलो विद्युतीय कार (ईभी) यस वर्षको अक्टोबरबाट तीन चरणमा सार्वजनिक गर्न सुरु गर्ने जनाएको छ । यद्यपि दोस्रो ईभी मोडेल- जसले अझै ठूलो बजारलाई लक्षित गर्ने जनाइएको छ जुन सन् २०२८ भन्दा पहिले आउने अपेक्षा गरिएको छैन । किनभने उच्च प्रदर्शनका लक्जरी ईभीहरूप्रति माग पर्याप्त नभएको स्रोतहरूले रोयटर्सलाई जनाएका छन् । अमाल्फीको आकार ‘रोमा’ जस्तै भए पनि यसको बाह्य स्वरूप विशेषगरी अगाडिको डिजाइनमा परिवर्तन गरिएको छ । फेरारीका प्रमुख मार्केटिङ तथा वाणिज्य अधिकारी एनरिको गालिएराले अमाल्फी उच्च प्रदर्शन, प्रविधि र ड्राइभिङ आनन्दका हिसाबले एक साँचो फेरारी स्पोट्र्सकार भएको बताए । अमाल्फी पूर्ण रूपमा आन्तरिक दहन इञ्जिन (आईसीई) बाट सञ्चालित छ, जसले ६४० हर्सपावर उत्पादन गर्छ र यसको उच्चतम गति ३२० किलोमिटर प्रति घण्टा छ । कम्पनीका अनुसार यसमा पछाडिको भागमा एक्टिभ स्पोइलर जडान गरिएको छ, जसले उच्च गतिमा स्थिरता प्रदान गर्छ । रोमा झैं अमाल्फी पनि ‘२ प्लस कूप हो, जसमा दुई साना पछाडि सीटहरू छन् । नयाँ मोडेलको सुरुआती मूल्य २ लाख ४० हजार युरो ९झण्डै २ लाख ८१ हजार अमेरिकी डलर० तोकिएको छ । ग्राहकहरूलाई पहिलो डेलिभरी युरोपबाट सुरु हुँदै अर्को वर्षको पहिलो त्रैमासिकमा गरिने जनाइएको छ । अमेरिकी ग्राहकहरूलाई डेलिभरी त्यसपछि तीनदेखि छ महिनापछि सुरु हुने छ, जसमा आयात करका कारण मूल्य केही बढ्नेछ । ‘रोमा’ कूपको उत्पादन बन्द गरिएको छ भने सन् २०२३ मा सार्वजनिक गरिएको यसको रिट्र्याक्टेबल टप संस्करण फेरारीको उत्पादन सूचीमा यथावत् रहेको छ ।

नारायणगढ-बुटवल सडक विस्तार ६९ प्रतिशत सम्पन्न, चौथो पटक म्याद थप्ने तयारी

त्रिवेणी । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ । तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा निर्माणको भौतिक प्रगति ६९ प्रतिशत पुगेको नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए ।   नारायणगढ-बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रो पटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न नभएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको थियो । यस अवधिको अन्त्यमा आइपुग्दा ६९ प्रतिशत काम सकिएको हो ।  सूचना अधिकारी खनालका अनुसार चौथो पटक म्याद थपको प्रक्रिया अघि बढाइएको छ । नारायणगढ–बुटवल सडकको कूल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले ५७६ दिन थप म्याद थपका लागि माग गरेको छ । एक वर्षका लागिमात्र म्याद थप गर्ने तयारी गरिएको सूचना अधिकारी खनालले बताए ।  चौथो पटक म्याद थप्ने तयारी हुँदै गर्दा नारायणगढदेखि दुम्किबाससम्मको खण्डमा एकतर्फी रुपमा ५५ किलोमिटर कालोपत्र सडकमा यात्रा गर्न सकिने उनले बताए । यस खण्डको चोरमारा बजार, अरुणखोला र दुम्कीबास बजारको केही भागमात्र कालोपत्र गर्न बाँकी रहेको सूचना अधिकारी खनालले बताए ।  डाइभर्सनको दुःख हट्ने नारायगण–बुटवल सडकखण्डअन्तर्गत दुम्कीबासको विनयी खोलामा रहेको पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिँदै आएको छ । गत पुसमा पुल भाँचिएपछि डाइभर्सनबाट यातायात वारपार गराइँदै आइएको छ । पटक पटक वर्षासँगै आएको बाढीका कारण डाइभर्सन बगाउँदा चालक तथा यात्रुले सास्ती खेप्दै आएका छन् ।  आयोजनाले भाँचिएको पुल छेउमा नयाँ पुल निर्माण गरेको छ । उक्त पुल अब दुई तीन दिनमा सञ्चालन गरिने सूचना अधिकारी खनालले बताए । पुलमा मौसमले साथ दिएमा बुधबार कालोपत्र गरिने र ढिलोमा आउँदो शनिबार सञ्चालन गर्ने योजना रहेको उनले बताए । नयाँ पुल सञ्चालनमा आएमा डाइभर्सनका कारण सास्ती खेप्दै आएका चालक तथा यात्रुलाई सहजता मिल्ने छ ।  नवलपुर खण्डमा लामो पुल अन्तर्गत पर्ने अरुणखोला र गिरुवारी खोलामा भने बर्खापछि पुल निर्माणको काम गरिने छ । सामान्य गर्न मिल्ने केही काम नियमित भए पनि बर्खाअघि यी पुल निर्माण सम्पन्न नहुने सूचना अधिकारी खनालले बताए ।  दाउन्नेमा यातायात सहज बनाउन मर्मत गरिने नारायगण–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने खण्डमा यातायात सहज बनाउन अबको काम केन्द्रित रहने आयोजनाका सूचना अधिकारी खनालले बताए । पानी पर्ने बित्तिकै दाउन्ने खण्डमा यातायात सञ्चालनमा समस्या हुँदै आएको छ ।  दाउन्ने खण्डमा अब निर्माणको काम रोकेर मर्मतको काम मात्र गरिने सूचना अधिकारी खनालले बताए । कल्भट निर्माणसहित अन्य काम रोकेर यातायात सहज रुपमा सञ्चालनका लागि मर्मतको काममात्र गर्न लागिएको उनको भनाइ छ । दाउन्ने खण्डमा ग्राभेल राखेर नियमित मर्मतको काम गर्ने र पानी परे पनि यातायात सञ्चालन समस्या आउन नदिनतर्फ आफूहरूको ध्यान केन्द्रित रहेको उनले बताए ।  एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा अघि  बढेको  सडक विस्तार योजनाको दुवै खण्ड गरेर कूल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ लागत रहेको छ । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर  चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ/छ  मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुनेछ ।  राजमार्ग विस्तारको महत्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रुले लामो समयसम्म सास्ती खेप्दै आएका छन् । अहिले कामले गति लिएको र यात्रामा केही सहजता मिल्न थालेको छ । अझै पनि दाउन्ने खण्डमा समस्या उस्तै रहेको छ । उक्त क्षेत्रमा सामान्य वर्षा हुँदासमेत बाटो चिप्लो भएर घण्टौं जाममा पर्नुपर्ने बाध्यता रहेको छ । रासस

भारतीय बोट ब्रान्ड नेपाल भित्रियो, प्रिमियम इयरबड्स र इयरफोन बिक्री सुरु

काठमाडौं । भारतको ख्यातीप्राप्त वेयरेबल ब्रान्ड बोट लाइफस्टाइल नेपाली बजारमा आधिकारिक रूपमा लन्च भएको छ । मंगलबार शार्क ट्यांक इन्डियाका जज एवं बोटका सह–संस्थापक तथा प्रमुख मार्केटिङ अधिकृत अमन गुप्ताले औपचारिक रूपमा लन्च गरेका हुन् । नेपालका लागि बोट लाइफस्टाइल ब्रान्डको आधिकारिक बिक्रेता रमेश कर्प हुनेछ, जसले विभिन्न उत्पादनहरू नेपाली बजारमा बिक्री वितरण गर्नेछ । बोट भारतको नम्बर एक वेयरेबल ब्रान्डका रूपमा परिचित छ र यसअघि नेपालमा निर्भाना सिरिजका केही उत्पादनहरू बिक्री गर्दै आइरहेको थियो । तर, आधिकारिक रूपमा लन्च भएपछि यसको उपस्थिति अझ सुदृढ हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । कम्पनीका अनुसार हाइ-परफर्मेन्स एक्टिभ न्वाइज क्यान्सेलेसन युक्त प्रिमियम इयरबड्स र इयरफोनहरू नेपाली बजारका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा बिक्रेतामार्फत उपलब्ध हुनेछन् । लन्च कार्यक्रममा सह–संस्थापक अमन गुप्ताले नेपाल आफूहरूको लागि विशेष बजार रहेको र यहाँको ग्राहकलाई गुणस्तरीय प्रविधि पुर्‍याउन पाउँदा हर्षित भएको बताए । त्यसैगरी, टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले नेपाली बजारमा ब्रान्डको औपचारिक प्रवेशसँगै ग्राहक सन्तुष्टिका लागि उत्कृष्ट उत्पादन र सेवा पुर्‍याउने प्रतिबद्धता जनाए ।

शिक्षा, सीप र भविष्यको भरोसा- युनिग्लोब कलेज

एसईईको रिजल्ट आएपछि विद्यार्थीहरूको मनमा अनेक प्रश्न उठ्छन्, अब कहाँ पढ्ने, कुन विषय रोज्ने, कुन कलेजमा भर्ना हुने ? उनीहरू भविष्यका सपनाहरूलाई सजिलो बाटोमा लैजाने सही स्कुल वा कलेज खोज्न चाहन्छन् । यस समयमा धेरैले साथी, परिवार, शिक्षकहरूसँग सल्लाह गर्छन्, कलेजको सेमिनार, काउन्सिलिङमा जान्छन् र अनलाइन रिसर्च गर्छन् । उनीहरूको चाहना हुन्छ, ‘जहाँ शिक्षाको गुणस्तर राम्रो होस्, अनुभवी शिक्षक टिम होस्, विद्यार्थीलाई सिक्न र बुझ्न मद्दत गर्ने वातावरण होस् र भविष्यको लक्ष्यलाई मार्गदर्शन गर्ने अवसरहरू मिलून् ।’   त्यस्तै सोचका विद्यार्थीहरूका लागि युनिग्लोब स्कुल उत्कृष्ट विकल्प बन्न सक्छ । काठमाडौंको  मुटु  कमलादी रहेको यो स्कुलले विज्ञान, व्यवस्थापन र कानुनमा प्लस टु कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कलेजमा अनुभवी शिक्षक, अत्याधुनिक पूर्वाधार, अनुसन्धान र प्रयोगशाला सुविधा छ भने अन्तरक्रियात्मक सिकाइ पद्धतिमार्फत अध्यापन गराइन्छ ।   ‘खोज्दै सिक्दै’ को भावनामा स्थापित यस स्कुलमा विद्यार्थीहरूले केवल किताबमै सीमित नभई केस स्टडी, समूह परियोजना, इत्यादि अभ्यासमार्फत आफ्नो ज्ञानलाई व्यवहारमा उतार्ने अवसर पाउने दाबी युनीग्लोबले गर्छ । तपाई आफ्नो भविष्यको सुनिश्चित बाटो खोज्दै हुनुहुन्छ भने युनीग्लोब तपाईंको लागि उपयुक्त गन्तव्य हुन सक्छ । अन्य स्कुल भन्दा के फरक ? युनिग्लोब अरु स्कुलहरूसँग तुलना गर्दा स्पष्ट रूपमा केही विशेषताहरूले फरक देखिन्छ । यहाँ केवल पाठ्यपुस्तक पढ्ने तरिकामा मात्र होइन, व्यवहारिक र समग्र विकासमा विशेष जोड दिइन्छ । अन्य विद्यालयहरूले जहाँ परम्परागत विधि अपनाउँछन्, युनिग्लोबले अत्याधुनिक प्रयोगशाला, स्मार्ट कक्षा, र इन्टरएक्टिभ शिक्षण प्रविधिहरू प्रयोग गरेर सिकाइलाई अझ प्रभावकारी बनाएको छ । यहाँका शिक्षकहरू मात्र ज्ञान दिँदैनन्, विद्यार्थीहरूको सोच, विश्लेषण, र समस्या समाधान गर्ने क्षमता विकास गर्न प्रेरित गर्छन्। यस विद्यालयमा विज्ञान, व्यवस्थापन र कानुनका विषयहरूमा प्लस टु कार्यक्रम चल्छ । जसले विद्यार्थीलाई पूर्णतः २१औं शताब्दीका लागि तयार पार्दछ । तर यहाँको शिक्षण विधि परम्परागतभन्दा फरक छ । विज्ञानका विद्यार्थीहरूले अत्याधुनिक प्रयोगशालामा व्यावहारिक सिकाइ पाउँछन् जहाँ उनीहरूले किताबमा मात्र नभई वास्तविक प्रयोग गरेर ज्ञानलाई गहिराइमा बुझ्न पाउँछन् ।  व्यवस्थापनका विद्यार्थीहरूलाई केवल थ्योरी मात्र होइन, मार्केटिङ, वित्तीय योजना, नेतृत्व कौशललगायत धेरै कुराहरू केस स्टडी, इन्टरेक्टिभ सेमिनार र सिमुलेसनमार्फत सिकाइन्छ। कानुनका विद्यार्थीहरूलाई तार्किक चिन्तन र कानुनी विश्लेषणमा दक्ष बनाउने अभ्यास गराइन्छ । यसरी हरेक विद्यार्थीले आफ्नो रुचि र क्षमताअनुसार अध्ययन गर्न पाउँछन् । यहाँ विद्यार्थीहरूलाई प्रायः बाहिरी फिल्ड ट्रिपहरू, अनुसन्धान परियोजनाहरू, र व्यावसायिक वातावरणसँग जोडिएका अनुभवहरूमा लैजाने व्यवस्था छ, जसले उनीहरूको सिकाइलाई वास्तविक जीवनसँग जोड्छ । अन्य विद्यालयमा प्रायः यस्ता व्यवहारिक अवसरहरू सीमित हुन्छन् । बिहान र दिउँसो दुई सिफ्टमा पढाइ हुने यस विद्यालयमा, विद्यार्थीहरूको मनोबल र आत्मविश्वास बढाउन कलेजले 'एस्प्रिट डे कोर्प्स ' अर्थात् टोली भावना विकासमा ठूलो महत्त्व दिन्छ, जसले समग्र विद्यार्थी जीवनलाई सकारात्मक र सहयोगी बनाउँछ । व्यवस्थापन पनि पारदर्शी, सुलभ र विद्यार्थी- अभिभावक मैत्री रहेको कारण यहाँको वातावरण अत्यन्तै भरोसायोग्य र सुरक्षित मानिन्छ ।  स्कुलका प्रधानाध्यापक डा. गणेश रेग्मी कलेजले परम्परागत शिक्षामा सीमित नभइ सीप, आत्मविश्वास र नेतृत्व क्षमता विकास गराउने काम गरिरहेको बताउँछन् ।  ‘हामीसँग अत्याधुनिक प्रयोगशालाहरू, डिजिटल शिक्षण सामग्री, र अनुभवी शिक्षकहरूको टिम छ, जसले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिन दिन्छ,’ उनी भन्छन्,‘हामीले विज्ञान, व्यवस्थापन र कानुनका विद्यार्थीहरूलाई मात्र थ्योरीमा होइन, फिल्ड भिजिट, केस स्टडी, र परियोजनामार्फत सिक्ने अवसर दिन्छौं, जसले उनीहरूलाई प्रतिस्पर्धी विश्वमा अगाडि बढ्न सक्षम बनाउँछ।’ यो कलेजको वातावरण पनि मित्रवत्, सुरक्षित र विद्यार्थी केन्द्रित छ । जसले विद्यार्थीलाई खुल्ला मनले सिक्न र विकास गर्न प्रोत्साहित गर्छ। उनी थप्छन्, ‘भर्ना गर्नेहरूलाई म भन्न चाहन्छु, युनिक ग्लोबमा तपाईंले यस्तो शिक्षा पाउनुहुनेछ जुन तपाईंको व्यक्तित्व र भविष्यको लागि दिगो हुनेछ । हामी तपाईंको रुचि, क्षमताअनुसार मार्गदर्शन गर्छौं, केवल परीक्षा पास गर्ने शिक्षा होइन, जीवनभर काम लाग्ने ज्ञान सिकाउने लक्ष्यका साथ। यहाँ शिक्षाको गुणस्तर मात्र नभएर विद्यार्थीकै भलाइलाई केन्द्रमा राखिन्छ। यदि तपाईं प्रतिस्पर्धात्मक बजारमा सफल हुन चाहनुहुन्छ भने, युनिक ग्लोब सेकण्डरी स्कुल तपाईंका लागि सर्वोत्तम विकल्प हो।’  युनिग्लोब स्कुल एण्ड कलेजले आफ्नो व्यवस्थापनलाई अत्यन्तै सुसंगठित र पारदर्शी बनाएको छ । जसले विद्यार्थी, अभिभावक र शिक्षकहरूबीच विश्वास र सहकार्यको वातावरण सिर्जना गरेको छ । यहाँ विद्यार्थी भर्ना प्रक्रियादेखि दैनिक प्रशासनसम्म सबै पक्षलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले यहाँ आधुनिक सूचना प्रविधिको प्रयोग गरिन्छ । विद्यालयले समयमै सूचना प्रवाह, नियमित अभिभावक बैठक, र विद्यार्थी प्रगतिको स्पष्ट मूल्यांकन प्रणाली अपनाएको छ जसले पारदर्शिता कायम राख्दछ।  छात्रवृत्तिको व्यवस्था  यो कलेजले आर्थिक अवस्था राम्रो नभएका विद्यार्थीलाई पढाइबाट वञ्चित हुन दिँदैन । आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था गरेको छ भने शुल्क तिरेर अध्ययन गर्नेहरूका लागि पनि सजिलो किस्ताबन्दी व्यवस्था गरेको छ ।  प्रधानाध्यापक रेग्मीका अनुसार यो कलेजले सबैलाई गुणस्तरीय शिक्षा प्राप्तिको अवसर दिँदै आएको छ । व्यवस्थापन टोलीले विद्यालयको शैक्षिक र प्रशासनिक पक्षलाई सन्तुलित रूपमा अघि बढाउन कडा मेहनत गरेको  छ । जसले गर्दा युनिग्लोबले उच्च शैक्षिक स्तर र सकारात्मक विद्यार्थी अनुभव सुनिश्चित गर्न सफल भएको छ । युनीग्लोबका व्यवस्थापन प्रमुख भन्छन् ‘हामीले यो विद्यालयलाई केवल पढाइको थलो मात्र होइन, एक सम्पूर्ण शैक्षिक वातावरणका रूपमा विकास गरेका छौं जहाँ विद्यार्थीहरू आत्मविश्वासी, जिम्मेवार र सक्षम नागरिक बन्न प्रेरित हुन्छन्।’ यो कलेजको प्राथमिकता भनेको विद्यार्थीहरूको सहजता र समग्र विकास हो । यसका लागि कलेजले भर्ना प्रक्रियादेखि दैनिक प्रशासन र सेवा प्रवाहसम्म सबै कुरा पारदर्शी, सरल र विद्यार्थी–अभिभावक मैत्री बनाएको छ । उनी कक्षा ११ र १२ मा अत्याधुनिक कक्षा कोठा, प्रायोगिक प्रयोगशाला, पुस्तकालय, र डिजिटल सुविधा उपलब्ध छन् जसले सिकाइलाई प्रभावकारी र आकर्षक बताउँछन् । उनी भन्छन्,‘फिल्ड ट्रिप, केस स्टडी, प्रोजेक्ट वर्क जस्ता व्यवहारिक सिकाइका अवसरहरू विद्यार्थीलाई मात्र नभएर अभिभावकलाई पनि विश्वस्त बनाउँछ, यहाँ पढाइले वास्तविक जीवनका चुनौतीहरू सामना गर्न तयार पार्छ।’ कलेजले छात्रवृत्ति र आर्थिक रूपमा सहयोगी नीति लागू गरेर सबै विद्यार्थीलाई शिक्षा पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ । कमलादीको सुविधाजनक स्थान र सुरक्षित वातावरणले विद्यार्थी र अभिभावक दुबैलाई मनोवैज्ञानिक सन्तुष्टि दिन्छ ।  यी सबै पक्षहरूले गर्दा युनिक ग्लोब सेकण्डरी स्कुलमा भर्ना हुन विद्यार्थी र अभिभावकहरू झन् आकर्षित भएका छन्। यहाँ अध्ययन गर्ने विद्यार्थीलाई पढाइ मात्र नभइ हरेक दिन नयाँ कुरा सिक्न अवसर पनि दिइन्छ । यहाँ पढिरहेका विद्यार्थी भन्छन्,‘शिक्षकहरू साथीझैँ हुनुहुन्छ, प्रयोगात्मक कक्षाहरू, प्रोजेक्टहरू, फिल्ड भिजिटले सिकाइ झनै रमाइलो बनाउँछ। यहाँको वातावरण सुरक्षित र सहयोगी छ। आत्मविश्वास बढ्छ, कुरा राख्न सिकिन्छ, टीममा काम गर्न सिकिन्छ। भविष्य बनाउन युनिग्लोबले सही बाटो देखाइरहेको छ ।’                                                      अभिभावकहरूको दृष्टिले हेर्दा, युनिग्लोब एसएस कलेजले उत्कृष्ट शिक्षाको ग्यारेन्टी मात्र नभइ आफ्ना विद्यार्थीको समग्र विकास र सुरक्षामा पनि पूर्ण प्रतिबद्धता जनाएको छ । यहाँको अनुभवी शिक्षक टोली, सुरक्षित र अनुशासित वातावरण, र बच्चाहरूको व्यक्तिगत आवश्यकतामा ध्यान दिने व्यवस्थापनले अभिभावकहरूको मन शान्त बनाउँछ। विद्यालयले व्यावहारिक सिकाइका अवसरहरू, आधुनिक प्रविधिको प्रयोग, र छात्रवृत्तिसमेत उपलब्ध गराएर आर्थिक भारलाई समेत सहज बनाएको छ। कमलादी जस्तो सुविधाजनक र पहुँचयोग्य स्थानमा अवस्थित भएकाले बालबालिकाको यात्रामा पनि सजिलो हुन्छ।  अभिभाकले आफ्नो छोराछोरीको उज्ज्वल भविष्यका लागि युनिग्लोबलाई पहिलो रोजाइ बनाइरहेका छन् । ‘यहाँको शिक्षा र संस्कारले मात्र पढाइमा होइन, जीवनका सबै पक्षमा सफल बनाउने आधार तयार गर्ने गर्दछ,’ विद्यालयका प्रधानाध्यापक भन्छन्,‘ युनिग्लोब सेकन्डरी स्कुलमा पढाइ भनेको केवल किताबका पाना पल्टाउने काम होइन, यो भविष्य निर्माण गर्ने यात्रा हो। यहाँको गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक सुविधा र प्रेरणादायक वातावरणले हरेक विद्यार्थीलाई आफ्नो सपना पुरा गर्ने बाटो देखाउँछ। ’   

चन्द्र भण्डारी भन्छन्- इँटाभट्टामा मान्छे पोल्नेदेखि पैसाले पद किन्नेहरूसँग नैतिकताको के कुरा गर्नु ?

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गुल्मीका सांसद चन्द्र भण्डारीले नेपाली राजनीतिमा नैतिकता हराउँदै गएको बताएका छन् ।  पछिल्लो पटक कांग्रेस केन्द्रीय समिति बैठकमा अदालतमा विभिन्न भ्रष्टाचार मुद्दा खेपिरहेका र अदालतले धरौटीमा रिहा गरेका व्यक्तिहरूले समेत भाग लिएको विषयमा विकासन्युजले राखेको जिज्ञासामा प्रतिक्रिया दिँदै भण्डारीले उक्त कुरा बताएका हुन् । ‘अदालतमा बयान दिएर बैठकमा भाग लिनु, देशका सर्वोच्च पदमा पुगेका व्यक्तिहरू पुनः सक्रिय राजनीतिमा फर्कनु यी सबैनै गैर-नैतिक विषयहरू हुन्,’ नेता भण्डारीले भने । अब व्यक्ति केन्द्रित नभई विषय  केन्द्रित बहस हुनुपर्नेमा उनले जोड दिए । तर व्यक्तिले आफ्नो कद र पदको ख्याल नगर्दा समस्या झनै बढेको तर्क उनले प्रस्तुत गरे । ‘इँटाभट्टादेखि बजेट विनियोजनमा देखिएका चरित्रहरूले हाम्रो नैतिक आचरणलाई झल्काउँछ। यस्तो अवस्थामा नैतिकताको कुरा गर्नु आफैमा हास्यास्पद हुन्छ,’ भण्डारीले भने ।  पछिल्लो समयका विभिन्न नियुक्ति प्रक्रिया, पूर्वराष्ट्रपति तथा पूर्वउपराष्ट्रपतिहरूको पछिल्लो राजनीतिक सक्रियताले नैतिकतालाई गिज्याइरहेको उनको भनाइ छ ।  

ऊर्जा घरको बत्ति मात्र होइन, राष्ट्र समृद्धि बाल्ने शक्ति होस् : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले नेपालले अझै ऊर्जा क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल गर्न नसकेको स्वीकार गर्दै अब सरकारी–निजी क्षेत्रको सहकार्यलाई तीव्र रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । 'ऊर्जा घरको बत्ती बाल्नका लागि मात्र होइन, समग्र राष्ट्रको आर्थिक र सामाजिक विकासका लागि आवश्यक छ,' मन्त्री खड्काले राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) र पाँच वटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रीड जडान सम्झौता हस्ताक्षर कार्यक्रममा भने, 'समयमै ऊर्जा योजनाहरू कार्यान्वयन नगर्दा नेपाल पछाडि परेको छ । अब सरकारी र निजी क्षेत्रको सहकार्यबाट मात्र समाधान सम्भव छ ।' मन्त्री खड्काले विगतका अवरोधले ऊर्जा क्षेत्रमा सन्तोषजनक प्रगति हुन नसकेको उल्लेख गर्दै आगामी दिनमा प्रसारण, वितरण र विद्युत् व्यापारमा समेत निजी क्षेत्रलाई सक्रिय साझेदार बनाउन सरकार प्रतिबद्ध रहेको बताए । 'तीन दशकअघि नै अरुण तेस्रो जस्ता आयोजना अघि बढाइएको भए, न लोडसेडिङ हुन्थ्यो, न लगानीको अभाव,' उनले भने, 'अब ढिलो गर्न पाइँदैन । सरकार वा प्राधिकरणले नभए निजी क्षेत्रसँग मिलेर भए पनि काम अघि बढाउनैपर्छ ।' कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्यले आरपिजिसिएलको अध्यक्षका नाताले निजी क्षेत्रसँगको सहकार्यले ऊर्जा विकासमा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे । विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले उत्पादनतर्फ प्रगति भए पनि प्रसारण र वितरणमा अझै प्राकृतिक एकाधिकार कायम रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई प्रसारण पूर्वाधार निर्माणमा ल्याउन नियामक तहबाट आवश्यक संरचना बनाइरहेको जानकारी दिए । सो समारोहमा राष्ट्रिय ग्रीड प्रसारण कम्पनी लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत ई. सागर श्रेष्ठ र पाँच जलविद्युत् प्रवर्द्धक कम्पनीका प्रतिनिधिहरूबीच ग्रीड जडान सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा ६०७ मेगावाट क्षमताका पाँच आयोजना – कालिकोटको ४४० मेगावाटको तिला-१, बझाङका ७२ मेगावाटको मालुमेला सेतीनदी पिकिङ्ग, ५४ मेगावाटको महाकाली सेती अर्धजलाशय, ताप्लेजुङको ३१.९२ मेगावाटको अपर मेवा खोला ‘ए’ र गोरखाको ९.१४३ मेगावाटको सुपर दरौँदी आयोजना समावेश छन् । आरपिजिसिएलले यी आयोजनाबाट उत्पादित बिजुलीलाई समयमै राष्ट्रिय ग्रिडमा जोड्ने योजना अनुरूप विभिन्न प्रसारण लाइन र सबस्टेसन निर्माण गर्नेछ । उदाहरणका लागि, तिला आयोजना ४०० केभीको डबल सर्किट कर्णाली करिडोर प्रसारण लाइनमार्फत कालिकोटको फुकोट सबस्टेसनमा, मालुमेला र महाकाली सेती आयोजना ४०० केभी पश्चिम सेती करिडोरमार्फत बझाङको चैनपुर सबस्टेसनमा, अपर मेवा खोला ‘ए’ आयोजना १३२ केभी मेवा–ढुङ्गेसाँघु लाइनमार्फत मेवा सबस्टेसनमा र सुपर दरौँदी आयोजना १३२ केभी लाइनमार्फत केराबारी सबस्टेसनमा जडान गरिनेछ । कार्यक्रममा बोल्दै आरपिजिसिएलका सीइओ श्रेष्ठले कम्पनीले विभिन्न ११ वटा उच्च भोल्टेजका प्रसारण लाइन निर्माण अघि बढाएको र यसै वर्षभित्र २ वटा लाइन सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिए । उनका अनुसार, सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन, प्रसारण, खपत तथा निर्यात गर्ने लक्ष्य लिएको छ, जसका लागि १६ हजार सर्किट किलोमिटर प्रसारण लाइन र ४० हजार एमभिए क्षमताका सबस्टेसन निर्माण आवश्यक छ । प्रवर्द्धक कम्पनीका तर्फबाट बोल्दै एससी पावर कम्पनीका प्रमुख इमान सिंह गुरुङले विगतमा ‘झोलामा खोला बोकेका दलाल’ भनेर आलोचना भए पनि निजी क्षेत्रकै कारण जलविद्युत् उत्पादनमा नेपालले फड्को मारेको बताए । 'सरकारलाई कर, नागरिकलाई रोजगारी र समग्र आर्थिक सामाजिक विकासमा निजी ऊर्जा उद्यमीको योगदान अमूल्य छ,' उनले भने । कार्यक्रममा उपस्थित अन्य अधिकारीहरूले पनि समयमै ऊर्जा परियोजना कार्यान्वयन, लगानीमैत्री नीति निर्माण र संरचनागत सुधारमार्फत मात्र नेपालको ऊर्जा क्षेत्रमा दिगो विकास सम्भव हुने धारणा राखेका थिए ।