विकासन्युज

बोनस वितरणपछि बाँकी रकम कल्याणकारी कोषमा जम्मा गर्न निर्देशन

काठमाडौं । राष्ट्रियस्तरको कल्याणकारी कोषको सचिवालयले बोनस वितरणपछि बाँकी रहने रकम समयमै कोषमा जम्मा गर्न उद्योग तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएकाे छ ।  युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत राष्ट्रियस्तरको कल्याणकारी कोषको सचिवालयले बोनस ऐन, २०३० बमोजिम बोनस वितरण गरेपछि निजी उद्योग तथा प्रतिष्ठानले बाँकी रहने ३० प्रतिशत रकम राष्ट्रियस्तरको कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने जनाएको हो । त्यस्तै, बोनस वितरणपछि सरकारी प्रतिष्ठानले बाँकी रहने ८० प्रतिशत रकमसमेत राष्ट्रियस्तरको कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सम्बन्धित उद्योग तथा प्रतिष्ठानले उक्त रकम समयमै नेपाल राष्ट्र बैंकमा रहेको कोषको खातामा जम्मा गर्नुपर्नेछ।  रकम जम्मा गरेपछि त्यसको जानकारी राष्ट्रियस्तरको कल्याणकारी कोषको सचिवालयमा गराउनसमेत सम्बन्धित उद्योग तथा प्रतिष्ठानलाई अनुरोध गरिएको छ ।

६२.५० प्रतिशत लाभांश बाँड्ने इक्रा नेपालको घोषणा

काठमाडौं । रेटिङ कम्पनी इक्रा नेपालले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको करसहित ६२.५० प्रतिशतका दरले ४ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २२ गते काठमाडौंमा १४औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा दिउँसो २ बजे सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

निजी वनका जग्गाधनीले पनि कार्बन लाभ पाउने, के-के छन् मापदण्ड ?

काठमाडौं । नेपाल सरकारले लिफ कोलिसनअन्तर्गत सञ्चालन गरेको कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रममा सहभागी हुन निजी वनका जग्गाधनीलाई कार्बन अधिकार दाबी गर्न आह्वान गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा निजी जग्गामा वन लगाएका वा हुर्काएका जग्गाधनीलाई कार्बन अधिकार दाबी गरी सम्झौता गर्न आह्वान गरेको हो । केन्द्रका अनुसार सन् २०११ पछि बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा कम्तीमा ०.५ हेक्टर अर्थात् १० रोपनी १५ कट्ठा क्षेत्रमा एकल वा सामूहिक रूपमा निजी जग्गामा वन लगाएको वा हुर्काएको हुनुपर्नेछ । त्यस्तो वनमा कम्तीमा १० प्रतिशत छत्र घनत्व कायम भएको र पाँच मिटर उचाइसम्मका रुखबिरुवा हुर्किएको हुनुपर्नेछ । वन क्षेत्र संरक्षण गर्दै निजी वन दर्ता गरेका जग्गाधनीले समेत प्रचलित कानुनबमोजिम कार्बन अधिकार दाबी गर्न सक्ने केन्द्रले जनाएको छ । साथै, नेपाल सरकारको कृषि, वन तथा पर्यावरण मन्त्रालयबाट अग्रिम स्वीकृति लिई कसैसँग सम्झौता गरेको भए त्यसको प्रमाण पेस गरी कार्बन अधिकार दाबी गर्न सकिनेछ । कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रमअन्तर्गत सन् २०२२ देखि २०२६ सम्मको क्रेडिटिङ अवधिका लागि निजी वनका जग्गाधनीसँग सम्झौता गरी कार्बन अधिकार दाबी र लाभ प्रदान गर्ने प्रक्रिया अघि बढाइने केन्द्रले जनाएको छ । इच्छुक जग्गाधनीले ४५ दिनभित्र आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्नेछ । निवेदन रेड कार्यान्वयन केन्द्रको इमेल, सूचना अधिकारीको ह्वाट्सएप नम्बर वा निजी वन रहेको जिल्लाको डिभिजन वन कार्यालयमा प्रत्यक्ष रूपमा पेस गर्न सकिनेछ । सम्बन्धित डिभिजन वन कार्यालयको इमेलमार्फत समेत निवेदन पठाउन सकिने व्यवस्था गरिएको छ । निवेदनका साथ जग्गाधनी प्रमाणपुर्जा, गत आर्थिक वर्षमा मालपोत तिरेको रसिद, निजी हकभोगको जग्गाको फिल्डबुक, क्याडस्ट्रल नक्सा वा ट्रेस नक्सा तथा जिपिएस लोकेसन पेस गर्नुपर्नेछ । प्राप्त निवेदनको समीक्षा गरी कार्बन बिक्री अधिकार तथा लाभ प्रदान गर्ने निर्णय लाभ बाँडफाँट योजनाबमोजिम गरिने केन्द्रले जनाएको छ । निवेदन पेस नगर्ने वनधनीको हकमा भने निजको जग्गामा रहेको निजी वन स्वतः उत्सर्जन न्यूनीकरण कार्यक्रममा समावेश गरी त्यसबाट सिर्जित कार्बन बिक्रीका लागि निजी वनधनीले नेपाल सरकारलाई सहमति दिएको मानिनेछ । केन्द्रका अनुसार ०.५ हेक्टरभन्दा कम क्षेत्रफलमा फैलिएको, १० प्रतिशतभन्दा कम छत्र घनत्व भएको वा पाँच मिटरभन्दा कम उचाइका रुखबिरुवा रहेको क्षेत्र प्राविधिक रूपमा वनको परिभाषामा नपर्ने भएकाले त्यस्ता क्षेत्र कार्यक्रममा समावेश गरिने छैन ।

मुक्तिनाथ म्युचुअल फण्ड-२ बिक्री खुला, १ करोड इकाई खरिद गर्न मिल्ने

काठमाडौं । मुक्तिनाथ क्यापिटलले आज असोज १ गतेदेखि मुक्तिनाथ म्युचुअल फण्ड(२ को इकाई निष्काशन तथा बिक्री खुला गरेको छ । मुक्तिनाथ विकास बैंक कोष प्रवर्द्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालित यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई बिक्री खुला गरेको हो । कम्पनीले कुल १ अर्ब रुपैयाँ बराबरको इकाई निष्काशन गरेको हो । कुल इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्द्धक मुक्तिनाथ विकास बैंक र २ प्रतिशत अर्थात् २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।  कम्पनीको उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले इकाई खरिदका लागि छिटोमा असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म मागअनुसार पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असोज १५ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ । इकाई खरिदका लागि धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा ‘मेरो शेयर’मार्फत आवेदन दिन सकिनेछ । यस योजनाको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

पृथ्वी राजमार्ग पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा

पृथ्वी राजमार्ग असोज १ देखि पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आउने काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण भएसँगै असोज १ गते बिहीबार बिहान ६ बजेदेखि राजमार्ग पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै सम्बन्धित निकायहरूको निरन्तर प्रयासपछि कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएकाले पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जनाएको हो । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा सडक भासिएपछि राजमार्गको आवागमन अवरुद्ध भएको थियो । सडक आवागमन सुचारु गर्न तथा अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सहयोग गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सम्बन्धित सडक आयोजना तथा कार्यालय, निर्माण व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सवारी चालक, यात्रु तथा अन्य सरोकारवालालाई जिल्ला प्रशासन कार्यालय धादिङले धन्यवाद तथा आभार व्यक्त गरेको छ । कार्यालयले पृथ्वी राजमार्गका विभिन्न स्थानमा अझै पनि सडक भासिने, पहिरो जाने तथा ढुंगा-माटो खस्ने लगायतका जोखिम कायम रहेकाले सवारी चालक र यात्रुलाई विशेष सावधानी अपनाएर यात्रा गर्न आग्रह गरेको छ । विशेषगरी वर्षा भइरहेको समयमा सडकमा पहिरो, ढुंगा वा अन्य अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न तथा सुरक्षाकर्मी र सडक व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ। सडकको अवस्था हेरेर मात्र यात्रा गर्न र यातायात सञ्चालनसम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट जारी हुने सूचनालाई आधार मान्नसमेत प्रशासनले आग्रह गरेको छ ।

कृषि विकास बैंकको इन्टरनेट बैंकिङ सेवा बन्द हुने

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले असोज १५ गतेदेखि हाल सञ्चालनमा रहेको इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने भएको छ । बैंकले डिजिटल बैंकिङ सेवालाई थप सुरक्षित, सरल, सहज तथा प्रभावकारी बनाउने उद्देश्यले व्यक्तिगत ग्राहकका लागि हालको इन्टरनेट बैंकिङ सेवाको विकल्पमा ‘एडिबिएल स्मार्ट बैंकिङ’को वेब संस्करणमार्फत सेवा उपलब्ध गराउने जनाएको छ । त्यस्तै, संस्थागत तथा कर्पोरेट ग्राहकले हाल प्राप्त गर्दै आएको इन्टरनेट बैंकिङ सेवाका सुविधा ‘एडिबिएल कर्पोरेट पे’मार्फत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले ग्राहकको बदलिँदो आवश्यकता र प्रविधिसँगै अगाडि बढ्ने आफ्नो प्रतिबद्धता निरन्तर कायम रहेको जनाएको छ । सेवा परिवर्तनका क्रममा ग्राहकलाई पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गर्दै उपयुक्त वैकल्पिक सेवा प्रयोग गर्न आग्रह गरेको छ ।

अर्थमन्त्री वाग्ले आज भारत जाँदै, निर्मला सीतारमणसँग भेटवार्ता गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको हो । अर्थमन्त्री वाग्ले बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन्। विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जनाएको छ । बिहीबार साँझ ५ बजे उनले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, शुक्रबार अर्थमन्त्री डा. वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्नेछन् । सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । शुक्रबार नै अर्थमन्त्री डा. वाग्ले भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । शनिबार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाका प्रतिनिधिसँगको सम्मेलनमा अर्थमन्त्री वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् । शनिबार दिउँसो दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । अर्थमन्त्री वाग्ले शनिबार साँझ नेपाल फर्कने कार्यक्रम रहेको छ ।

आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै, यस्तो छ धार्मिक विश्वास

काठमाडौं । कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआराधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा तथा अन्य सामग्रीबाट बनाइएको विश्वकर्माको मूर्ति बागमतीको मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर विसर्जन गर्ने गरिन्छ । आजका दिन कालिगढले प्रयोगमा ल्याउने औजारको पूजाआराधना गरेमा ती लामो समयसम्म टिक्ने, कामका क्रममा नबिग्रने र राम्रो काम गर्न सकिने गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी उनलाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मान्दै त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको हाे । प्राचीन भारतवर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रको ग्रन्थ उनले नै रचना गरेको विश्वास छ । यही सम्झनामा नेपालका कालिगढले भव्य रूपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इन्जिन जडान भएका यन्त्र तथा सवारीसाधनमा समेत पूजाआराधना गरिन्छ । वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रूपमा मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तुविद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्ये एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः अवस्थामा रहेको स्थापत्यवेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसले गर्दा पछिल्लो समय वास्तुविद्याको महत्व बढ्दै गएको छ ।