विकासन्युज

उत्पादनमुलक उद्योगलाई २० प्रतिशत कर छुट दिन माग

  काठमाडौं । निजी क्षेत्रले २० प्रतिशत आयकर छुट उपलब्ध गराउन सरकारसंग माग गरेको छ । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले अर्थसचिव शंकरप्रसाद अधिकारी र राजस्व सचिव शिशीर ढुंगानासँग सोमबार भेटी औद्योगिक व्यवसाय ऐनमा भएको व्यवस्थाअनुसार उत्पादनमूलक उद्योगका लागि दिएको आयकर सुविधा उपलब्ध गराउन माग गरेको हो । परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले दुवै सचिवसँगको संयुक्त भेटमा ०७३ मंसिरदेखि कार्यान्वयनमा आइसकेको औद्योगिक व्यवसाय ऐनको दफा २२ को उपदफा (१) को खण्ड (क) मा उत्पादनमूलक उद्योगबाट आर्जित आयमा लाग्ने करको २० प्रतिशतले छुट पाउने स्पष्ट व्यवस्था गरेकोले यसलाई कार्यन्वयनमा ल्याउन माग गरेको परिसंघले जनाएको छ । उत्पादनमूलक उद्योगले उक्त सुविधा उपभोग गर्न ई फाईलिङ अनुसार नसक्ने भएकाले सो सम्वन्धि निर्णय नहुन्जेलसम्म म्यानूअल फाईल पेश गर्न पाउने व्यवस्थाका मिलाउन परिसंघले अनुरोध गरेको छ । राजश्व कार्यालयले म्यानुअल फाइल समेत लिने व्यवस्था गरी आन्तरिक राजश्व विभागबाट उक्त कार्यालयलाई निर्देशन दिन परिसंघले माग गरेको छ ।

प्रा.डा. गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चको आदेश

काठमाडौ । सर्वोच्च अदालतले प्रा.डा. गोविन्द केसीलाई पक्राउ गर्न सोमबार नेपाल प्रहरीलाई आदेश दिएको छ ।डा. केसीलाई मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्चले प्रहरीलाई भनेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाको मुद्दामा केसीलाई उपस्थित गराउन प्रहरीलाई आदेश दिएको हो । यसअघि सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौडेलले दिएको अध्ययन प्रतिवेदनका आधारमा मुद्दा तयार भएको हो । केसीले प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट भएको दावी गर्दै उनको राजीनामाको माग राखेर सोमबार दिउँसो ४ बजेदेखि अनसन सुरु गरेका छन् । उनले १४ औं अनसन सुरु गरेका छन् ।

सिद्धार्थ बैंकको नयाँ शाखा भोजपूरको आमचोकमा

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो नयाँ शाखा भोजपूरको आमचोकमा सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप सोमबार उक्त गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ । यस शाखाबाट नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको नीति निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ । त्यस्तै यस शाखाबाट बैंकका अन्य शाखाहरुबाट जस्तै आम जनतारुले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायतका सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । यस शाखाबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, कर्जा कारोबार जस्ता सेवामार्फत स्थानीय स्तरमा आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ । बैंकले निकट भविष्यमा नै बैंकको पुहँच नपुगेका अन्य थप १४ वटा गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्दैछ । यो शाखा सहित बैंकले हाल देशभर ३ एक्स्टेन्सन् काउन्टर, ८२ वटा शाखा, १०५ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी पीओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को मंसिर मसान्तसम्म बैंकले कुल निक्षेप ८२ अर्ब १५ करोड रुपैयाँ र कर्जा लगानी ७३ अर्ब ८० करोड रुपैयाँ गरेको छ ।

सितलहर प्रभावित तराईका २२ जिल्लामा २ करोड २२ लाख राहत वितरण गर्ने

काठमाडौं । सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैया बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले उक्त निर्णय गरेको हो । गृह मन्त्रालयले तराईका २२ जिल्लामा एउटा जिल्लामा १० लाख रुपैयाको कम्मल, दाउरा लगायतका न्यानो सामाग्री वितरण गर्ने निर्णय गरेको हो । गृहले आजै सरकारको मौजदातमा रहेका कम्मल लगायतका समाग्रीहरु पनि तत्काल तराईका २२ जिल्लामा पठाउने तयारी गरेको छ । ‘प्रधानमन्त्रीको निर्देशमन तराईमा २२ जिल्लामा तत्काल २ करोड २२ लाख रुपैया बराबरको राहत वितरण गर्ने निर्णय भएको छ’ गृह सचिव मोहोनकृष्ण सापकोटाले भने, ‘राहत वितरणको कार्य आजैदेखि सुरु हुन्छ, केन्द्रबाट कम्मल लगायतका सामाग्री जाने क्रम सुरु भैसकेको छ ।’ गृहले जिल्लास्थित स्थानीय विपत व्यवस्थापन समितिको सिफारीसमा उक्त राहत वितरण गर्ने निर्देशन समेत गरेको छ । गृहले तत्काल केन्द्रीय दैविप्रकोप उद्दार कोषबाट उक्त रकम वितरण गर्ने भएको हो । गृह मन्त्रालयले काठमाडौंकास्थित मानवीय सहायता कक्ष र शशस्त्र प्रहरीको मौजदातमा रहेका न्यायानो कपडा वितरण पनि आजैबाट सुरु भएको जनाएको छ । ‘मौजदातमा रहेका न्यायानो कपडाहरु आजैदेखि जिल्ला जान सुरु भएको छ’ गृह सचिव सापकोटाले भने, ‘शशस्त्र प्रहरीको ट्रकबाट ढुवानी सुरु भैसकेको छ ।’ गृहले तराईमा स्कुल लगायतका सार्वजनिक भवनमा बालबालिका र बुढापाकालाई न्यायानोमा राख्न अस्थायी सेल्टर पनि खडा गर्ने सम्वन्धीत जिल्लालाई निर्देशन गरेको छ ।

एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका छन् । संस्थापक सेयर कारोबार(खरिद बिक्री) गर्ने सम्बन्धमा समितिको निर्देशन २०६६ अनुसार संस्थापक र साधारण सेयरको संरचना ५१ः४९ बनाउनुपर्ने भएपछि लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका हुन् । हाल सबै साधारण सेयरधनी रहेका एभरेष्ट इन्स्योरेन्सले गत असार २३ गतेको १८ औँ, १९ औँ, २० औँ, २१ औँ तथा २२ औँ वार्षिक साधारणसभा गरी २० प्रतिशत बोनस सेयर र ६ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । संस्थापक सेयरलाई साधारण बनाउने व्यवस्था भएपनि हालसम्म साधारण सेयरलाई संस्थापक बनाउने व्यवस्था छैन् । कम्पनीमा नयाँ लगानीकर्तालाई संस्थापक सेयरधनीका रुपमा प्रवेश गराउनै पर्ने बाध्यात्मक अवस्था सृजना भएपछि कम्पनीका लगानीकर्ताले पूर्व घोषित ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका हुन् । धितोपत्र बोर्ड पनि भदौ २३ गते नै आवेदन दिएको कम्पनीको हकप्रद सेयर निष्काशन सम्बन्धी प्रस्तावलाई अझै स्वीकृत दिएको छैन् । ‘साधारण सेयरलाई संस्थापक बनाउने नियम छैन, ५१ः४९ प्रतिशतको सेयर संरचना बनाउनै पर्छ, त्यसो गर्दा नयाँ लगानी कर्ता भित्रिनेछन र पुराना लगानी कर्ताले अहिले घोषणा भएको ६ सय प्रतिशत हकप्रद सेयर पाउने छैनन्’, बीमा समिति स्राेतले भन्यो । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले पनि एभरेष्ट इन्स्योरेन्सको हकप्रद सेयर निष्काशनका बारेमा केहि प्रश्न सोधेर पठाईएको बताए । ‘एभरेष्ट इन्स्योरेन्सको सेयर संरचना सम्बन्धी केहि समस्या देखिएका छन्, त्यसैले हकप्रद निष्काशनको प्रक्रिया रोकिएको हुन सक्छ’, बोर्डका प्रवक्ता गिरीले भने । कम्पनीले साधारण सभाको निर्णय अनुसार भदौ २३ गते ७२ करोड ९० लाख मूल्यको हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

३ दिने हाइड्रो एक्स्पो सम्पन्न, ६० हजार बढीद्धारा अवलोकन

काठमाडौं । शुक्रबारदेखि ३ दिनसम्म चलेको ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ सम्पन्न भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा सम्पन्न एक्स्पोको ६० हजार बढीले अवलोकन गरेका छन् । ‘हामीले अपेक्षा गरे अनुसारको नतिजा एक्स्पोले दिएको छ । उत्साहजन सहभागिताका साथै विदेशी कम्पनीहरुले नेपालको जलविद्युत विकासमा देखाएको चासोले आगामी दिनमा उर्जा क्षेत्रमा धेरै सुधार आउनेमा हामी आशावादी छौं ।’ आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले भने । एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंकतथा वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल थिए । जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको थियो । एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो । ‘एक्स्पो भव्य रुपमा सफल भयो । निकट भविष्यमा नै यस्ता एक्स्पो आयोजना गर्न एक्स्पोमा सहभागि स्वदेशी तथा विदेशी कम्पनीहरुले हौसला दिनु भएको छ । यसबाट हामी आगामी दिनमा उर्जाको विकासमा ठुलो फड्को मार्न सक्छौं भन्ने देखिएको छ ।’ एक्स्पोको अर्को आयोजक संस्था एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा लिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले भने । यसैगरी, हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रोपावर सम्बन्धी नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाबिच प्रतिस्पर्धा समेत गराइएको छ । प्रतियोगितामा साउथ वेष्टर्न विजनेश कलेज प्रथा भएको छ भने काठमाडौं विश्वविद्यालयले दोस्रो र तेस्रो स्थान हासिल गरेको छ । कलेजहरुबाट समुहमा प्रतिष्पर्धा गराइएको थियो । प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ पचपन्न पैसा तथा द्वितीय र तृतीय हुनेलाई क्रमश २२ हजार २२२ रुपैयाँ २२ पैसा र ११ हजार १११ रुपैयाँ ११ पैसा नगद पुरस्कार प्रदान गरिएको छ । एक्सपोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, उर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन्स, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सले एक्स्पोलाई सहयोग गरेका थिए । नेपाल टनेलिंग एसोसिएशन, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपालभारत उद्योग बाणिज्य संध, नेपाल युरोपियन चेम्वर अफ कर्मश एवं स्वदेशी तथा विदेशी कम्पनीहरुको पनि एक्स्पोलाई सहयोग गरेका थिए एक्स्पोको प्लाटिनियम प्रायोजक इटलीको सिएमसी दी रभेन्ना कम्पनीले गरेको थियो । अफिसियल पार्टनरको रुपमा होटल अन्नपूर्ण, नेपाल सिपिंग एण्ड एयर लजिस्टिक प्राली र एनएमबि बैंक लिमिटेड रहेका थिए ।

बजारमा पैसा फालाफाल, ४ वटा बैंकले बुझाए ३ अर्ब ९० करोड

काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता भएका ४ वटा वाणिज्य बैंकबाट २ अर्ब रुपैयाँ उठाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै राष्ट्र बैंकले आज सोमबार २ अर्ब रुपैयाँ बजारबाट उठाउनका लागि प्रतिस्पर्धा आब्हान गर्दा ४ वटा बैंकले ३ अर्ब ९० करोड रुपैयाँ दिने प्रस्ताव गरेका थिए । मागेको २ अर्ब रुपैयाँ मात्र तरलता प्रशोचन भएको केन्द्रीय बैंकले जनाएको छ । आज पनि ५१ अर्ब रुपैयाँ हारहारीमा अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले ३ प्रतितशत ब्याज दिने गरी १४ दिनका लागि २ अर्ब रुपैयाँ प्रशोचन गरेको हो । २ अर्ब रुपैयाँ माघ ८ गते फिर्ता हुने छ । अघिल्लो साता लगानीयोग्य पुँजी नभएको भन्दै बैंक तथा वित्तीय संस्थाले हारगुहार गरेपछि राष्ट्र बैंकले ४ पटक गरेर २७ अर्ब ६३ करोड रुपैयाँ बजारमा पठाएको थियो । आइतबार बैंकहरुले ब्याजदर करिडोरको सीमा नाघेर ३ प्रतिशत भन्दा तल ब्याजदर प्रस्ताव गरेपछि केन्द्रीय बैंकले आजदेखि बजारबाट पैसा तान्न लागेको हो ।

डेढ वर्षभित्र भृकुटीमण्डपमा रक्तसञ्चार भवन बन्ने, २१ करोड ७४ लाखको लागत

काठमाडौं । आगामी १८ महिनाभित्र नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसञ्चार भवन भृकुटीमण्डपमा निर्माणका लागि निर्माण व्यवसायी लामा कन्स्ट्रक्सन प्रा. लि. र नेरेसोबीच आइतबार दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । सो सम्झौता पत्रमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा र लामा कन्स्ट्रक्सनका निर्देशक पिताम्बर वडुले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापा लगायत अन्य पदाधिकारी र उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो । २१ करोड ७४ लाखको लागतमा पुरानो भवन भएकै स्थान काठमाडौंको भृकुटीमण्डपमा बन्ने सो भवनको निर्माण कार्य डेढ वर्षभित्र सम्पन्न गरिनेछ । भृकुटीमण्डपको केन्द्रीय रक्तसञ्चार सेवा भवनमा भूकम्पबाट क्षति पुगेपछि सोही ठाउँमा नयाँ भवन निर्माण गर्न लागिएको हो । नेपाल रेडक्रसको भूकम्प पुर्ननिर्माण कार्यक्रमअन्तर्गत थाइ रेडक्रसको आर्थिक सहयोगमा सो भवन निर्माण हुँदैछ । हाल सोसाइटीको केन्द्रीय रक्तसञ्चार सेवा ललितपुरको बालकुमारीबाट सञ्चालन भइरहेको छ ।