विकासन्युज

प्रिमियर इन्स्योरेन्सले १३.५२% बोनस र ३६ लाख नगद लाभांश दिने, एफपीओ किन्नेले पनि पाउने

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १३.५२ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ३६ लाख ५९ हजार ७४९ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय सोमबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीले एफपीओ जारी पश्चात कायम भएको पुँजीमा सो मात्राको लाभांश दिने भएको छ । एफपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी ५१ करोड ४४ लाख रुपैयाँ पुग्ने छ । सोही पुँजीमा १३.५२ प्रतिशत बोनस सेयर वितरणा पछि कम्पनीको पुँजी ५८ करोड ४० लाख रुपैयाँ नाघ्ने छ । साथै, हालै इन्स्योरेन्सले जारी गरेको एफपीओ किन्नेले पनि सो मात्राको लाभांश पाउने छन् ।

पाँच कम्पनीको ३ करोड ३७ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, सबैभन्दा बढी हकप्रद सेयर

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एकैदिन ३ करोड ३७ लाख ३३ हजार ८०९ कित्ता सेयर सूचिकृत भएका छन् । मंगलबार मात्रै विभिन्न पाँच कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएका हुन् । सो मध्ये सबैभन्दा बढी बोनस सेयर थपिएका छन् । बजारमा चार कम्पनीको ३ करोड १८ लाख कित्ता बोनस सेयर थपिएका छन् भने एक कम्पनीको १९ लाख २२ हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । टुरिजम डेभलपमेन्ट बैंक, नबिल बैंक, सानिमा बैंक र न्याग्दी ग्रुप पावरको बोनस र एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो । सो मध्ये टुरिजम डेभलपमेन्टको १७ लाख १० हजार ७७५ कित्ता र नबिल बैंकको एक करोड ८५ लाख ७७ हजार १४० कित्ता बोनस थपिएका छन् । त्यस्तै, सानिमा बैंकको एक करोड १० लाख ३६ हजार कित्ता र न्याग्दी ग्रुपको ४ लाख ८६ हजार ८६८ कित्ता बोनस नेप्सेमा सूचिकृत भएका हुन् । त्यसैगरी, एक्सेल डेभलपमेन्ट बैंकको १९ लाख २२ हजार ८१२ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

अधिकांश नगरपालिकाको आफ्नै स्रोत छैन

काठमाडौं । मुलुक संघिय शासन प्रणालीमा अगाडी बढिरहँदा अधिकांश नगरपालिकाको आफ्नै स्रोत नभएको जनाइएको छ । सरोकार निकायहरुका अनुसार हाल ३० प्रतिशत नगरपालिकासँग मात्र आफूलाई धान्ने स्रोत/साधन छ । सहरी विकास मन्त्रालयका प्रवक्ता शम्भु केसीले नगरपालिकाहरुमध्ये ३० प्रतिशसँग मात्रै आफ्नै स्रोत/साधन रहेको बताए । १० प्रतिशतले जनसहभागिताबाट स्रोत जुटाउन सक्ने र बाँकी ६० प्रतिशत नगरपालिकाहरुलाई केन्द्रले हेर्न पर्ने उनको भनाइ छ । उनको अनुसार अहिले ६ महानगरपालिका, ११ उपमहानगरपालिका २१७ नगरपालिका र ७६१ स्थानियतह कायम गरिएको छ । मुलुकभर चार जिल्लाबाहेक सबै जिल्लामा नगरपालीका छ । ‘नेपालमा दुई तीहाई जनसंख्या नगरपालिकामा रहने गरेको पाइएको छ,’ उनले भने ‘५० प्रतिशतभन्दा बढी नगरपालिकाहरु विभिन्न राजमार्गमा अवस्थित छन् ।’ पूर्व सचिव तथा नेपाल इन्स्चिच्युट फर अर्बान एण्ड रिजिनल स्टडीज वोर्डका निर्देशक किशोर थापाले मुलुकमा सहरीकरणको गति र दिशा अझै स्पष्ट हुन नसकेको बताए । ‘अहिलेसम्म औपचरिक रुपमा व्युरोक्रेसी, एकेडेमी स्तरमा मात्र छलफल भइरहेको छ,’ उनले भने ‘आम नागरिकबीच अझै पनि छलफल हुन सकेको छैन ।’ आम नागरिक, पेशाकर्मी लगात सरोकारवलाहरु सबैसँग सहरी रणनीति सम्बन्धमा बहस, छलफल हुन पर्ने उनले जोड दिए । सोमबार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल इन्स्चिच्युट फर अर्बान एन्ड रिजिनल स्टडीजले गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी उच्च स्तरकारका कर्मचारी, स्थानियतहका प्रमुख, नीजि क्षेत्रका प्रतिनिधिहरुले मुलुकमा स्मार्टसिटी लगायतका विभिन्न अबधारणाहरु आएपनि कार्यान्वयन पक्ष चुनौतिपूर्ण रहेको बताएका छन् । यद्यपि मुलुकले गरेको राष्ट्रिय, अन्तर्राष्ट्रिय सहरी विकास सम्बन्धि सम्झौता, प्रतिवद्धता र मापदण्डलाई टेकेर अघि बढ्न पर्ने धारणा उनीहरुले राखे ।

सिमेन्ट र फलामको रडमा मूल्यवृद्धि, मूल्य नघटाए आन्दोलनमा उत्रने चेतावनी

इटहरी । सुनसरी इटहरीका हार्डवेयर व्यापारी एवं व्यवसायीले सिमेन्ट र फलामको रडमा अचाक्ली र अप्राकृतिक रुपमा मूल्यवृद्धि गरेर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम भएकोप्रति आपत्ति जनाउँदै तत्काल मूल्य नघटाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । हार्डवेयर व्यवसायी एवं व्यापारीले सोमबार इटहरीमा पत्रकार सम्मेलन आयोजना गर्दै विगत १३ दिनको अवधिमा सिमेन्ट र फलामको रड उत्पादक उद्योगीले दैनिकजसो सिमेन्ट र फलामे रडको अप्राकृतिक रुपमा मूल्य बढाएर आम उपभोक्तामाथि चरम अन्याय गर्दै आएकाले अब इटहरीमात्र होइन देशभर नै त्यसविरुद्ध आन्दोलन चर्काउने चेतावनीसमेत दिइएको छ । पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ, इटहरीका प्रथम उपाध्यक्ष शैलेश विष्टले सर्वसाधारण नेपाली उपभोक्ताको हित विपरीत यो १३ दिनको अवधिमा कम्तीमा रु १५० देखि २०० सम्म मूल्य बढाएर अचाक्ली ढाड सेक्ने कार्य भई रहेकाले यो विषयमा तत्काल सरकार वा उद्योगीले मूल्य नघटाएको खण्डमा अधिराज्यभर आन्दोलन थालिने पनि व्यवसायी एवं व्यापारीले चेतावनी दिएका छन् । सिमेन्ट र फलामे रडको मूल्य अस्वभाविक रुपमा उठाउने गरिएको र मूल्य बढाउनु पर्ने कुनै कारण नै नरहेको अवस्थामा नेपाली उपभोक्तालाई उठ्नै नसक्ने गरी मूल्य बढाउने कार्य भई रहँदा पनि राज्यको निकायले चासो नराख्नु आपत्तिको विषय भएको पनि व्यवसायी एवं व्यापारीले पत्रकार सम्मेलनमा गुनासो सुनाएका छन् । पत्रकार सम्मेलनमा हार्डवेयर व्यवसायी नेता भोला निरौलाले नेपालमा राज्य विहीनताको अवस्था सिर्जना गरिएको र भारतमा उत्पादन भएका सिमेन्ट र रडको मूल्य अहिले नेपाली बजारमा भारतको बजारको तुलनामा झण्डै शतप्रतिशत मूल्य बढाएर बिक्री वितरण गर्नुपर्ने अवस्था आएको र नेपाली बजार शुन्यको अवस्थामा पुगेको जानकारी दिए । रासस

फर्निचर महासंघको अध्यक्षमा गिरी

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको अध्यक्षमा भुपेन्द्र गिरी निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न भएको तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले गिरीको अध्यक्षतामा १९ सदस्यीय नयाँं कार्य समिति चयन गरेको हो । त्यस्तै महासंघको प्रथम उपाध्यक्षमा सूर्य सुवेदी, द्धितीय उपाध्यक्षमा कृष्णप्रसाद ढकाल, तृतीय उपाध्यक्षमा सुजिल श्रेष्ठ सर्वसम्मतले निर्वाचित भएका छन् । महासचिवमा कविन्द्र जोशी, कोषाध्यक्षमा ओम दाहाल, सचिवमा गोकुल श्रेष्ठ, सहसचिवमा खगेन्द्र केसी समेत सर्वसम्मतले निर्वाचित भएको महासंघले जनाएको छ ।

वार्षिक २८ प्रतिशत खुदनाफा बढाउने लुम्बिनी विकास बैैंकको योजना, ३ वर्षमा ८६ करोड ६८ लाख पुग्ने

काठमाडौं । लुम्बिनी विकास बैैंकले वार्षिक २८ प्रतिशतले खुदनाफा बढाउने लक्ष्य लिएको छ । बैंकले आगामी ३ वर्षमा खुदनाफा बढाएर लगानीकर्तालाई बढी प्रतिफल दिने योजना बनाएको हो । आगामी आर्थिक वर्ष ०७६/०७७ मा खुदनाफा हालको भन्दा ८४ प्रतिशत बढाएर ८६ करोड ६८ लाख रुपैयाँ पुर्याउने बैंकको योजना छ । बैंकले गत आवमा १६ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले चालु आवमा खुदनाफा बढाएर ५२ करोड ५० लाख, आगामी आवमा ६३ करोड ५४ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । लुम्बिनीले हकप्रद सेयर निष्कासनका लागि सार्वजनिक गरेको सुचनामा बैंकले ३ वर्षका वित्तीय विवरण यस्तो प्रक्षेपण गरेको हो ।   नाफामा भएको वृद्धिसंगै बैंकले आउदो ३ वर्षमा प्रतिसेयर आम्दानी (ईपीएस) बढाएर ३४ रुपैयाँ पुर्याउने लक्ष्य तय गरेको छ । गत आवमा २३ रुपैयाँ रहेको ईपीएसलाई आगामी ०७६/०७७ मा बढाएर ३४ रुपैयाँ पुर्याउने भएको हो । सार्वजनिक गरेको वित्तीय विवरणमा बैंकको वर्षेनी ईपीएस बढ्दै जाने देखाएको छ । चालु आवमा बैंकको इीपीए २०, ०७५/०७६ मा २५ रुपैयाँ पुर्याउने लक्ष्य छ । आउदो ३ वर्षमा बैंकले निक्षेप दोब्बर बढाएर ३५ अर्ब ५७ करोड रुपैयाँ पुर्याउने भएको छ । गत आवमा बैंकको निक्षेप परिचालन १७ अर्ब ९२ करोड रुपैयाँ थियो । चालु आवमा निक्षेप बढेर २२ अर्ब ७६ करोड ८१ लाख र आगामी आवमा २८ अर्ब ८६ करोड रुपैयाँ पुग्ने प्रक्षेपण बैंकको छ । ३ वर्षमा चुक्तापुँजी २ अर्ब ५७ करोड रुपैयाँ पुग्ने छ । जगेडा कोषको आकार बढेर ९५ करोड ६७ लाख रुपैयाँ पुग्ने बैंकको अनुमान छ । भिवोर विकास बैंक र लुम्बिनी लिजिङ एन्ड फाइनान्स लिमिटेड एकआपसमा गाभिएर लुम्बिनीका नाममका हालै मात्र कारोबार भएको हो । बैंकले चुक्तापुँजी बढाउन १० बराबर १ अनुपातमा २० करोड ८ लाख रुपैयाँ बराबरको २० लाख ८ हजार कित्ता हकप्रद निष्कासन गर्ने लागेको छ । हकप्रद सेयर बिक्री खुला माघ १० गतेदेखि हुने छ । फागुन १६ गते हकप्रद सेयर निष्कासन बन्द हुनेछ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर २ अर्ब २० करोड ९७ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्तापुँजी २ अर्ब रुपैयाँ छ । राष्ट्रिय स्तरको विकास बैंक हुन साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनु पर्ने छ ।

गाडी बिक्रेताको लुटः एउटै गाडीबाट २ लाख ठगेपछि अघि बढ्यो अरुण र अग्निमाथि छानविन

काठमाडौं । विभिन्न ब्राण्डका गाडी बिक्री गर्दै आएका बिक्रेताहरुले एउटै सवारी साधनमा २ लाख भन्दा बढिसम्म ठगी गरिहेको तथ्य सार्वजनिक भएको छ । सवारी साधन आयात गर्ने आधिकारीक बिक्रेताहरुले नाफा बाहेक नै उपभोक्तासँग २ लाखसम्म अतिरिक्त शुल्क असुलि गरिरहेको तथ्य उजागर भएको हो । नेपालका लागि मारुती कारको आधिकारीक बिक्रेता अरुण इन्टरकन्टिनेन्टल टेडर्सले एउटै सवारी साधनमा बिक्रीमा खरिदकर्ताबाट विभिन्न शिर्षकमा २ लाख रुपैयाँ भन्दाबढी असुली गरेको पाइएको छ । महिन्द्रा स्कोर्पियाको आधिकारीक बिक्रेता अग्नी इन्कपोरेटेडले पनि विभिन्न शिर्षक राखेर ग्राहक अनुचित असुली गरेको सरकारी अधिधारीहरूकाे भनार्इ छ । ग्राहकहरुको उजुरीको आधारमा आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले केही हप्ताअघि गरेको अनुगमन गर्दा गाडी बिक्रेताहरुले व्यापक ठगी गरिरहेको तथ्या फेला परेको हो । विभागले अनुसन्धानका लागि मारुतीको फाइल महानगरिय प्रहरी परिसर ललितपुर र स्कोर्पियाको फाइल महानगरिय प्रहरी परिसर टेकुमा बुझाएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए । कुन कुन शिर्षकमा ठगिए उपभोक्ता ? ती कम्पनीहरुले प्रत्येक प्रत्येक गाडीको बिक्रीमा विज्ञापन गरेवापत, प्रशासनिक खर्च, तलब खर्च जोडेको उनको भनाइ छ । ‘कम्पनीहरुले आफैले बेहोर्न पर्ने विज्ञापन, प्रशासनिक खर्च, तलब खर्च अनावश्यक रुपमा जोडेको छ । त्यसबाहेक अरुण इन्टर कन्टिनेन्टलले गाडी राखेको भाडा, पेट्रोल, मोबिल, एसेसेरिज लगायत विभिन्न शिर्षक तथा उपशिर्षकहरुबाट ग्राहकलाई अतिरिक्त रकमको भार थपेर गाडी बिक्री गर्ने गरेकाे भेटियो,’ उनले भने । विभागको अनुसार मारुती गाडीको बिक्रेता अरुणले ८ सय सीसीको मारुती अल्ट्रो ‘एसटीडी’मा २ लाख रुपैयाँ बढी अतिरिक्त भार ग्राहकलाई थोपारिदिएको छ । उक्त गाडीमा मूल्य अभिवृद्धि कर (भ्याट) भन्सार, विभिन्न कर, बीमा, नाफा जस्ता कम्पनीले लिने सबै रकम कटाएर पनि प्रत्येक गाडीमा विभिन्न शिर्षक उपशिर्षकमा रकम असुल्ने गरेको छ । जसमा विज्ञापन शुल्क ९६ हजार, प्रशासकीय खर्च र तलव ३६ हजार, ब्याज २७ हजार ५ सय, होल्डीङ कस्ट २० हजार रुपैयाँ लिने गरिएको छ । त्यस्तै एसेसरिज ८ हजार ५ सय, पेट्रोल र मोबिलमा ६ हजार ९ सय, गाडी पोलिसीङमा २ हजार ५ सय, हिटर फिटिङको ११ हजार, भेइकलको लागि पेट्रोल डेलिभरको लागि ६ सय रुपैयाँ लिने गरेकोे छ । कम्पनीको अनुसार ती सबै जोडेर मारुती अल्ट्राको बजार मूल्य करिव १५ लाख रुपैयाँ हुन आउछ । ‘ती अतिरिक्त खर्चहरुलाई कटाउने हो भने गाडीको मूल्य डेढ दुई लाख रुपैयाँ घट्न आउन सक्छ,’ विभागका शाखा अधिकृत रमेशकाजी श्रेष्ठले भने । उनका अनुसार त्यसरी नै महिन्द्रा गाडीको आधिकारीक बिक्रेता अग्निको स्कार्पीयाे गाडीमा पनि त्यस्तै कम्पनीले प्रशासनिक खर्च, तलव, विज्ञापन खर्च लगायत रकमहरु गाडी बिक्री गर्ने क्रममा जोडेर ग्राहकबाट लिने गरेको छ । उनले ती दुई कम्पनीहरु अरुण र अग्नि इन्कर्पोरेटेडको फाइल ठगी गरेको आशंकामा प्रशासनमा बुझाएको बताए । पछिल्लो समय अनुगमन गरिएको टोयोटा गाडीको बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटको फाइल विभागमा नै अध्ययन भइरहेको जनाए । महिना दिनयता उजुरीको आधारमा ठूला गाडी बिक्रेता कम्पनीलाई अनुगमन गर्ने क्रम तिब्ररुपमा अघि बढाइएको विभागका निर्देशक श्रेष्ठले जानकारी दिए ।

उद्योगी भन्छन : कच्चापदार्थ, इन्धन भाउ र ढुवानी भाडा बढ्दा सिमेन्ट महंगियो

काठमाडौं । कच्चा पदार्थ, बिजुली, इन्धन र ढुवानी भाडा बढेपछि उत्पादन लागत थप हुदा  सिमेन्टको भाउ बढेको उद्योगीले बताएका छन् । एक महिना अघिदेखि नै भारतबाट आयात हुदै आएको कच्चा पदार्थ क्लिंकर, फलाइ एस र जिप्सनको मूल्यमा भारी वृद्धि भएपछि नेपालमा सिमेन्टको भाउ बढेको पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघले जनाएको छ । महिना दिनभित्र डिजेल प्रतिलिटर ५, बिजुली प्रतियुनिट ५ रुपैयाँ २० पैसाबाट बढाएर ८ रुपैयाँ ४० पैसा, भारतबाट कच्चा पदार्थ ढुवानी गर्दा ३ दिन लाग्दा डिटेन्सन चार्ज २ हजारबाट बढेर ५ हजार भारु पुगेको संघले दावी गरेको छ । यस्तै भारतमै कच्चा पदार्थ क्लिंकरको मूल्य २ हजार ३ सयबाट ३ हजार २ सय भारु, सिमेन्ट बनाउन आवश्यक पर्ने फलाइ एस प्रति टन १ हजार ६ सयबाट बढेर २ हजार ३ सय भारु पुगेको संघको भनाई छ । जिप्समा प्रतिटन १ हजार ५ सय भारु, ढुवानी भाडा १ हजार ८ सयबाट २ हजार ५ सय भारु, भारतका ठुला कारखानामा पेट्रो कोकमा वातावरण प्रदुषणका कारण रोक लगाइएकाले मिनरल कोइला प्रयोग गर्दा क्लिंकरको उत्पादन लागत बढेको संघको भनाई छ । यस्तै नेपालमा ढुवानी भाडा बढ्दा यसको असर उत्पादन लागतमा परेको संघले जानकारी दिएको छ । सिमेन्टको भाउ बढ्नाले भुकम्प पीडितलाई भवन पुनर्निर्माण गर्ने कार्यमा झनै पीडा थपेको छ । केही महिनाअघिदेखि सिमेन्टमा बोराको २० देखि ३० रुपैयाँ गर्दै भाउ निरन्तर बढीरहेको छ । जगदम्बा सिमेन्टका सिनियर सेल्स म्यानेजर रोशन पाठकले भारतमै सिमेन्टको कच्चापदार्थ (क्लिंकर) बढेकोले कम्पनीले सिमेन्टको भाउ बढाउन परेको बताउछन् । मंसिरबाट निरन्तर सिमेन्टको मूल्य २० देखि ३० रुपैयाँको दरले बढीरहेको उनको भनाई छ । अहिले ओपीसी सिमेन्टको कारखाना मूल्य प्रतिबोरा ८५० र पीपीसीको मूल्य ७३० रुपैयाँ रहेको छ । अहिले भारतबाट आउने कच्चापदार्थको मूल्य ५० प्रतिशतसम्म बढेदा यसको असर उद्योगमा परेको पाठकको भनाई छ । युनाइटेड सिमेन्टका प्रमुख ब्राण्ड म्यानेजर सुभाष खतिवडाले माग बढेकोले मूल्य पनि बढ्न गएको बताए । ‘पुसयता सिमेन्टको माग करिब २५ प्रतिशतले बढेको छ,’ उनले भने ‘जसकारण मूल्यमा समेत प्रतिबोरा ३० रुपैयाँ बढेको हो ।’ उनका अनुसार युनाइटेड सिमेन्टको उद्योग मूल्य ८९० रुपैयाँ पुगेको छ । शिवम् सिमेन्टका सेल्स एण्ड मार्के्टिङ प्रमुख केशब अर्यालले पनि पछिल्लो समय सिमेन्ट(ओपीसी) को मूल्य बढेर ९१० रुपैयाँ पुगेको बताए ।