सुजुकीको नयाँ वर्षे अफर अन्तर्गत ४ लाखसम्मको नगद छुटका साथै १ लाख बोनस
काठमाडौं । सुजुकीको चार पाङ्ग्रे सवारी साधनको नेपालको लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सी.जी. मोटोकर्पले नयाँ वर्ष २०१८ योजना अन्तर्गत “दिस् ऐर गिफ्ट योर सेल्फ अ सुजुकी” अफर ल्याएको छ । यस अफर अन्तर्गत उपभोक्ताले ४ लाख ५ हजार रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म सटही बोनस, १ लाख रुपैयाँसम्म अतिरिक्त स्क्रयाच कुपन, रोड ट्याक्स र रजिष्ट्रेशन निःशुल्क उपलब्ध गराउने रहेका छन् । सुजुकी ब्राण्डका चार पांग्रे अन्तर्गत देशकै सर्वाधिक कार रेञ्जहरु उपलब्ध रहेका छन् । कम्पनीद्वारा नेपाली बजारमा उपलब्ध गरिएका सर्वाधिक लोकप्रिय कार रेञ्जहरुमा अल्टो ८००, केटेन, वागनआर, सेलेरियो, स्विफ्ट, ईग्निस, डिजायर, बलेनो, ब्रेजा, एसक्रस, सियाज, ओम्नीकार्गो, ओम्नीभ्यान र ईको लगायत रहेका छन् । यो सुविधा २०१६, २०१७ तथा २०१८ कामोडलहरुमा छुट्टाछुट्टै प्रदान गरिएको छ ।
चिलिमे, नेशनल र सानिमा हाइड्रोपावरको नक्कली सेयर कारोबारी कारवाहीमा, तीन वटा ब्रोकर कम्पनीलाई साढे २२ लाख जरिवाना
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लि., नेशनल हाइड्रोपावर कम्पनी लि. तथा सानिमा माई हाइड्रोपावर कम्पनी लि. को नक्कली शेयर कारोबार गर्नेहरु विरुद्ध धितोपत्र बोर्डले मुद्दा चलाएको छ । साथै तीन वटा ब्रोकर कम्पनीहरुलाई नक्कली कारोबारमा सघाएको ठहरसहित २२ लाख ५० जहार जरिवाना तिराउने निर्णय गरेको छ । तीन कम्पनीको नक्कली कारोबारबारे बोर्डबाट कानुनी रुपमा छानविन गरि सोको प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौको स्वीकृतिमा नेपाल धितोपत्र बोर्डले गोविन्द घिमिरे विरुद्ध काठमाण्डौ जिल्ला अदालतमा गत असार २३ गते मुद्दा दायर गरेको थियो । साथै पुस २१ गते धितोपत्र बोर्डको निर्णयले विभिन्न धितोपत्र व्यवसायी दलाल कम्पनी, दलाल कम्पनीका सम्बन्धित कार्यकारी प्रमुखहरुलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा धितोपत्र सम्बन्धी ऐन अनुसार कारवाही गरिएको धितोपत्र बोर्डले जनाएको छ । चिलिमे हाइड्रोपावर कम्पनीको नक्कली शेयर खरीद बिक्री भएको गरेकाे भन्दै बाेर्डले धिताेपत्र दलाल अग्रवाल सेक्युरिटिज प्रा.लि.लाई रु. दस लाख जरिवाना तोकिएको जनाएको छ । त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनी लि.को नक्कली शेयर कारोबारमा धितोपत्र दलाल व्यवसायी श्रीहरि सेक्युरिटिज प्रा.लि.लाई दश लाख रुपैयाँ जतिवाना तोकिएको छ । साथै सिप्रवी सेक्यूरिटिज प्रा.लि.तथा सोका सम्बन्धित कार्यकारी प्रमुख पनि कारवाहीमा परेका छन् । नक्कली काराेबारकाे शुरुवाती जानकारी पार्ई यस घटनालाई उजागर गरी बजारमा हुने थप क्षतिलाई न्यूनिकरण गर्न सहयोग गरेको अवस्था समेतलाई दृष्टिगत गरी धितोपत्र व्यवसायी नियमावली, २०६४ ग्राहकको पूर्ण विवरण सहितको अभिलेख राख्न ध्यान नपुर्याएकोले उनलार्इ पनि पचास हजार जरिवाना गराइएकाे छ । कानुनी अाधार शेयर कारोबारको शिलशिलामा कुनै व्यक्ति वा संस्थासंग व्यवसायिक सम्बन्ध कायम गर्दा ब्राेकर कम्पनीले त्यस्तो ग्राहकको स्पष्ट पहिचान खुल्ने कागजात तथा विवरण लिई सोको अभिलेख राख्नुपर्नेमा नराखेको भन्दै उनीहरुमाथि कारवाही गरिएको हो । सम्पत्ति शुद्धीकरण निवारण ऐन, सो अन्र्तगत जारी भएका नियम, निर्देशन, आदेश, परिपत्र तथा सम्बद्ध अन्य कानुन बमोजिम तोकिएका काम नगरेको भन्दै बोर्डले उनीहरुमाथि कारवाही गरेको हो । कारोबार गर्ने संस्थालाई तोकिएको कार्यहरु गर्ने गराउनु पर्ने तथा कानूनी दस्तावेजमा उल्लेख भए बमोजिम ग्राहकको पहिचान यकिन गर्नु गराउनु पर्नेमा सो नगर्नु तथा ग्राहकको पहिचानको अभिलेख दुरुस्त राख्ने, राख्न लगाउने व्यवस्था बमोजिमको कार्य नगरेको साथै सरल वा बृहद ग्राहक पहिचान, प्रविधिको दुरुपयोगमा नियन्त्रण, अनुगमन सम्बन्धको समाप्ति लगायतका सम्बन्धित अन्य विषयमा आन्तरिक नीति तथा कार्यविधि बनाई लागू गर्नुपर्नेमा सो नगरेकोले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ को बर्खिलाप कार्य भएबाट सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनको दफा ७ फ को उपदफा (१) ले खण्ड (ख) को उल्लंघन गरेकोले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ (दोस्रो संशोधन सहित) को दफा ७फ. को खण्ड(ख) बमोजिम कारवाही गरिएको बोर्डले जनाएको छ । बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को नियम २९ को उपनियम (१) मा रहेको धितोपत्र दलालले ग्राहकको लागि कारोबार गर्नु अघि व्यक्ति वा संस्थागत ग्राहकको क्रमशः अनुसूची–१२ र अनुसूची–१३ बमोजिमको ढाँचामा पूर्ण विवरण सहितको अभिलेख राख्नुपर्नेछ भन्ने व्यवस्था बमोजिम ग्राहकको पूर्ण विवरण सहितको अभिलेख नराखी उक्त व्यवस्थाहरुको पालना नगरेकोले धितोपत्र दलाल कम्पनी श्रीहरि सेक्युरिटिज प्रा. लि. र अग्रवाल सेक्यूरिटिज प्रा.लि. लाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम प्रत्येक कम्पनीलाई पचास हजार रुपैयाँका दरले जरिवाना गरिएको छ । त्यस्तै, धितोपत्र सम्बन्धी सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम कसैले जानीजानी वा बदनीयत साथ यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने हिसाब किताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात सो राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने समयमा पेश नगरेमा, नराखेमा वा नबनाएमा वा तयार नगरेमा वा झुट्टा विवरण वा कागजात बनाएमा वा राखेमा, तयार गरेमा त्यस्तो गर्नेलाइ बोर्डले पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ भन्ने व्यवस्था रहेकोले श्रीहरि सेक्युरिटिज तथा अग्रवाल सेक्यूरिटिजका सम्बन्धित कार्यकारी प्रमुखलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम प्रत्येकलाई पचास हजार रपैयाँ जरिवाना गरिएको छ ।
जगदम्बा सिमेन्टद्धारा “प्राविधिक गोष्ठी” सम्पन्न
काठमाडौं । जगदम्बा सिमेन्टले हालै “प्राविधिक गोष्ठी” कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले इन्जिनियरसँग जगदम्बा सिमेन्ट ककसमा सुरक्षित र दिगो निर्माण, पुननिर्माण सामग्रीको छनोट र प्रयोग लगायत ब्लेनडेड सिमेन्टको उच्चतम प्रयोग तथा उपभोग लगायत उपभोक्ता मैत्री सेवाका विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको हो । जसमा ३० जनाभन्दा बढीप्राविधिक ब्यक्तिहरुको उपस्थिती थियो । उपस्थित हुनेहरुमा नगरपालिका योजना प्रमुख देखी लिएर भुकम्प प्रतिरोधी निर्माण गर्ने सुपर्भिजन गर्ने प्राविधिक, जगदम्बा सिमेन्टका आयोजना प्रमुख र वरिष्ठ ईन्जिनियरहरुको समेत उपस्थिति रहेको थियो । यस कार्यक्रममा जगदम्बा सिमेन्टमा कार्यरत आयोजना प्रमुख सुनिल पौडेल र इन्जिनियर रमनहरी भुर्तेलले विविध प्राविधिक प्रस्तुति दिएका थिए । साथै ब्राण्ड प्रवन्धक जगन्नाथ दहालले ब्लेनडेड सिमेन्टको प्रयोगले एकातर्फ देशमा रहेको श्रोत(चुनढुङ्गा) को न्यूनतमप्रयोग गरी अधिकतम लाभ लिन सकिने र अर्कोतर्फ उपभोक्तालाई पनि व्ययभार कम पर्न जाने बताएका छन् । साथै, जति संरचनालाई आवश्यक हुन्छ त्यती मात्र निर्माण सामग्रीको प्रयोगले देशको आर्थिक संमृद्धी हुने प्रवन्धक दहालले बताएका छन् ।
माछापुच्छ्रे बैंकको सुर्खेतमा थप २ शाखा संचालनमा, रियल टाइममा नै खाता खोल्न मिल्ने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सुर्खेतमा २ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले हालै भेरीगंगा नगरपालिका वडा नं-११, रामघाट र बिरेन्द्र नगरनगरपालिका वडा नं-२, भुरेलीगरी २ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा उक्त स्थानहरुमा २ शाखा रहित बैंकिङ्ग सेवा सुचारु गरेको हो । यो सहित बैंकको हालसम्म ११शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ । यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द्रहरु स्थापना गर्ने, १४ जिल्लामा विपन्नवर्ग कर्जाहरु प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्दै आएको छ । बैंकले आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ११ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ७७ स्थानबाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।
हिमालयन जनरल इन्स्योरेन्सको सञ्चालकमा दशरथलाल श्रेष्ठ नियुक्त
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा दशरथलाल श्रेष्ठ नियुक्त भएका छन् । पुस १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । श्रेष्ठले आगामी चार वर्षसम्म कम्पनीको स्वतन्त्र सञ्चालकको कार्यभार सम्हाल्नेछन् ।
यस्तो छ अदालतमा डा. केसीको बयान
काठमाडौं । सर्वोच्च अदालतले आफ्नो अवहेलना मुद्दामा वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीसँग मंगलबार बयान लिएको छ । अवहेलना मुद्दामा पक्राउ गरी मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश दिइएपछि उनलाई उपस्थित गराइएको हो । बयान सकिएपछि न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशमा सुनुवाइ हुनेछ । प्राडा केसीका पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता सुरेन्द्र भण्डारी र लेखनाथ न्यौपानेले बहस गर्दैछन् । बयानका क्रममा प्रा डा केसीले अदालतमा सञ्चारमाध्यममा आफूले दिएका अभिव्यक्तिका आधारमा अदालतको अवहेलना भन्न नमिल्ने जिकिर गरेका छन्। प्रा डा केसीले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीनमा प्रा डा शशि शर्मालाई पुनःबहाली गराउने अदालतको आइतबारको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी अनशन शुरु गरेका थिए । उनलाई सोमबार साँझ अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । रासस
एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १०%ले घट्यो, लगानीकर्ताले एकैदिन २४३ रुपैयाँ गुमाए
काठमाडौं । चुक्ता पुँजी बढाउन ६ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नपाउने भएपछि एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य घटेको छ । मंगलबार एभरेष्टका लगानीकर्ताले प्रतिकित्ता २४३ रुपैयाँ गुमाएका छन् । एभरेष्टको सेयर मूल्य १० प्रतिशत घटेको छ । सोमबार एभरेष्टको सेयर मूल्य २ हजार ४३३ रुपैयाँ थियो । मंगलबार घटेर २ हजार १९० रुपैयाँ भएको छ । लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएपछि एभरेष्टको सेयर मूल्य एकै दिन १० प्रतिशत घटेको हो । एकै दिनमा १० प्रतिशत भन्दा बढी सेयर मूल्य घट्न पाउदैन् । संस्थापक सेयर कारोबार(खरिद बिक्री) गर्ने सम्बन्धमा समितिको निर्देशन २०६६ अनुसार संस्थापक र साधारण सेयरको संरचना ५१ः४९ बनाउनुपर्ने भएपछि लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका हुन् । हाल सबै साधारण सेयरधनी रहेका एभरेष्ट इन्स्योरेन्सले गत असार २३ गतेको १८ औँ, १९ औँ, २० औँ, २१ औँ तथा २२ औँ वार्षिक साधारणसभा गरी २० प्रतिशत बोनस सेयर र ६ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । संस्थापक सेयरलाई साधारण बनाउने व्यवस्था भएपनि हालसम्म साधारण सेयरलाई संस्थापक बनाउने व्यवस्था छैन् । कम्पनीमा नयाँ लगानीकर्तालाई संस्थापक सेयरधनीका रुपमा प्रवेश गराउनै पर्ने बाध्यात्मक अवस्था सृजना भएपछि कम्पनीका लगानीकर्ताले पूर्व घोषित ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका हुन् । धितोपत्र बोर्ड पनि भदौ २३ गते नै आवेदन दिएको कम्पनीको हकप्रद सेयर निष्काशन सम्बन्धी प्रस्तावलाई अझै स्वीकृत दिएको छैन् । कम्पनीले साधारण सभाको निर्णय अनुसार भदौ २३ गते ७२ करोड ९० लाख मूल्यको हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।
बजारमा ५० करोडको सेयर कारोबार
काठमाडौं । मंगलबार सेयर बजारमा कुल ५० करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सो दिन १५८ कम्पनीको ९ लाख १५ हजार कित्ता सेयर किनबेच भएका छन् । सो मध्ये नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८७९ रुपैयाँ रहेको छ । त्यस्तै, सानिमा माई हाइड्रोपावर कम्पनीको पनि ५ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगबलार कारोबारमा आएका उत्पादनमूलक समूह बाहेक बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ६० अंकले उकालो लागेको छ । उत्पादनमूलक समूह भने सामान्य ३ अंकले अाेरालाे लागेकाे छ । समग्रमा मंगलबारको नेप्से परिसूचक १२.२७ अंकले बढेर १४५६.०७ अंकमा पुगेको छ ।