एनआईसी एशिया बैंकको थप दुई शाखा सिन्धुलीमाडी र बेसीशहरमा
काठमाडौं । एनआईसी एशिया बैंकको थप दुई शाखा सिन्धुलीको सिन्धुलीमाडी र लम्जुङ्गको बेसीशहरमा सञ्चालनमा ल्याएको छ । सिन्धुली जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बिनेशकुमार श्रेष्ठबाट सिन्धुली शाखाको र लम्जुङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाबाट बेसीशहर शाखाको औपचारिक रुपमा उद्घाटन सम्पन्न भएको हो । यस २ शाखा कार्यालयहरुको उद्घाटनसँगै हाल यस बैंकले हाल १५६ शाखा कार्यालय, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
सरकारी कोषका ४ खर्ब बढी रकम पूँजीबजारमार्फत परिचालन गरिने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सरकारी कोषमा रहेको झण्डै ४ खर्ब ५ अर्ब रुपैयाँ स्थिर रकमलाई पूँजी बजारमार्फत परिचालन गरी बजार विस्तार गर्ने पहल शुरु गरेको छ । सरकारी स्वामित्वमा रहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको सैनिक कल्याणकारी कोष, नेपाल प्रहरीको कोष, सशस्त्र प्रहरी कोष, सामाजिक सुरक्षा कोषलगायतका कोषको रकम पूँजी बजारमा आकर्षित गराउने पहल गरेको हो । कोषलाई स्थिररुपमा मात्रै राख्दा त्यसले कुनै पनि नाफा नदिएको र लगानीको विस्तारसमेत नभएकाले बजार विस्तारका लागि स्टकले पहल शुरु गरेको हो । स्टकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषका उच्च अधिकारीसँग छलफल गरिसकेको जानकारी दिए । कर्मचारी सञ्चय कोषसँग २ खर्ब ५० अर्ब रुपैयाँ सञ्चित कोष रहेको छ । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ४० अर्ब, नागरिक लगानी कोषसँग चालु आर्थिक वर्षको कात्तिकसम्म ९६ अर्ब ४३ करोड ८३ लाख तथा सामाजिक सुरक्षा कोषमा१४ अर्ब रकम रहेको छ । नेपाल प्रहरीको कल्याणकारी कोषमा २ अर्ब १९ करोड तथा सशस्त्र प्रहरीको कल्याणकारी कोषमा १ अर्ब २७ करोड रुपैयाँ रहेको छ । साउदले सेना र प्रहरीसँग छिट्टै पूँजी बजारमा लगानीका लागि छलफल गर्ने आन्तरिक योजनामा रहेको बताए । “बजार विस्तारसँगै लगानीमा अभिवृद्धि हुने भएकाले स्टकले सरकारी कोषको रकमलाई परिचालन गर्ने नीतिअनुसार छलफल शुरु गरिएको हो । हामी छिट्टै त्यस्ता कोषको रकमलाई पूँजी बजार विस्तारमा परिचालन गर्न लागेका छौँ” उनले भने। नेपालको पूँजी बजार करिब १६ खर्ब रुपैयाँको छ । बजार विस्तार गरी लगानीका थप स्रोतको पहिचान, परिचालनका लागि सरकारी स्थिर कोषको पनि योगदान रहन सक्ने बुझाइमा स्टक रहेको छ । साना लगानीकर्ताले मात्रै बजारको विस्तार हुन नसक्ने र बजारको स्थायित्वसमेत हुन नसक्ने भएकाले सबै प्रकारका स्रोत तथा कोषलाई लगानीका लागि परिचालन गर्न लागिएको स्टकको भनाइ छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सामाजिक सुरक्षा कोषमा रहेको रकम पूँजी बजारमा प्रयोग गर्न सकिन्छ भन्ने ज्ञानको अभावमा पनि परिचालित हुन नसकेको स्टकको बुझाइ छ । “पहिले हामी त्यस्ता निकायसँग छलफल गर्छौं र उनीहरुलाई पूँजी बजारमा जाँदाको फाइदा र लगानी विविधिकरणको विषयमा जानकारी दिन्छौँ । आशा छ उहाँहरु पनि पूँजी बजारमा आउनुहुनेछ” साउदले भने । यस्तै स्टकले ५० करोडभन्दा माथि कारोबार गर्ने निजी क्षेत्रका संस्थालाई समेत साधारण शेयर जारी गर्ने वातावरण बनाउन लागिपरेको छ । सहज र स्वच्छ व्यावसायिक कारोबारका लागि पनि पछिल्लो दिनमा निजी क्षेत्रका व्यापारिक संस्थाले समेत साधारण शेयर जारी गर्ने तत्परता देखाएका छन् । पछिल्लो दिनमा डिस होम नेपाल, शिवम् सिमेन्ट, अर्घाखाँची सिमेन्टलगायतले पनि साधारण शेयर जारी गर्ने तयारी थालेका छन् । वास्तविक क्षेत्रलाई पूँजीबजारमा ल्याइँदै स्टकले अस्पताल, शैक्षिक संस्था, यातायात कम्पनी, व्यावसायिक संस्था, सेवा क्षेत्रलाई पनि पूँजी बजारमा ल्याउन पहल शुरु गरेको छ । यस्तै पछिल्ला दिनमा सिमेन्ट उद्योग, केबलकार, उद्योग तथा सेवा क्षेत्रमा लगानी बढेको छ । लगानीको मात्रा बढ्दै गएका त्यस्ता वास्तविक क्षेत्रलाई पनि पूँजी बजारमा ल्याउन आफूहरुले पहल गरेको साउदको भनाइ छ । “ ५० करोडभन्दा बढीका कारोबार गर्ने निकाय ढिलो चाँडो पूँजी बजारमा आउँछन् । हामी सहजीकरण गरिरहेका छौँ । वास्तविक क्षेत्र छिट्टै शेयर बजारमा प्रवेश गर्छ भन्नेमा हामी विश्वस्त छौँ” उनले भने । बजार विस्तारका लागि विविध स्रोतको परिचालन गर्नु आवश्यक भएको भन्दै स्टकले सानो लगानीले मात्रै आर्थिक समृद्धिको दिशा समात्न नसक्ने हुँदा थप क्षेत्रको खोजी गरिएको जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पूँजी बजारमा सूचीकृत नभएका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई पब्लिक कम्पनीमा ल्याई नागरिकको पहुँचमा पुर्याउने नीतिगत पहल शुरु गरेको छ । पूँजी बजारमा त्यस्ता क्षेत्रको प्रवेशपछि राम्रो मुनाफा आर्जन गरेका निजी क्षेत्रबाट सञ्चालित सेवामूलक क्षेत्र तथा कम्पनीबाट नागरिकले समेत आर्थिक लाभ लिन सक्नेछन् । रासस
धेरै लाभांश पाउने आशमा नेपाल लाइफको सेयरमा लगानीकर्ताकाे भीड ,२ दिनमा बढ्यो १४५ रुपैयाँ
काठमाडौं । लगानीकर्ताले धमाधम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर किन्न थालेका छन् ।नेपाल लाइफले यो साता आकर्षक लाभांश घोषणा गर्ने बजारमा हल्ला चलेपछि लगानीकर्ता सेयर किन्न झुम्मिएका हुन् । आइतबार र सोमबार गरी नेपाल लाइफको सेयर प्रतिकित्ता १४५ रुपैयाँ बढेको छ । सोमबार मात्रै नेपाल लाइफको सेयर ५३ रुपैयाँ बढेको छ । आइतबार ९२ रुपैयाँ बढेको थियो । नेपाल लाइफले बोनस सेयर र नगद गरी न्युनतम ४० देखि ५० प्रतिशतसम्म लाभांश दिने बजार हल्लाका आधारमा लगानीकर्ताले सेयर खरिद गर्न थालेका हुन् । दुबै दिन नेपाल लाइफको सेयर बढी कारोबार भएको छ । सोमबार मात्र नेपाल लाइफको ८ करोड २६ लाख १७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार ५ करोड २७ लाख ६४ हजार रुपैयाँको सेयर किनबेच भएको थियो । बिहीबार नेपाल लाइफको सेयर १ हजार ७३० रुपैयाँमा किनबेच भएको थियो । यस्तै, नेपाल बंगलादेश बैंकको पनि धेरै सेयर कारोबार भएको छ । बैंकको प्रतिकित्ता २७५ रुपैयाँमा २ करोड ७ लाख ७४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । एभरेष्ट बैंकको पनि सेयर किनबेचमा वृद्धि भएको छ । सोमबार एभरेष्टको सेयर १७ रुपैयाँ बढेर ८९२ रुपैयाँ पुगेको छ । सोमबार एभरेष्टको १ करोड ७० लाख ८० हजार रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार यस बैंकको सेयर प्रतिकित्ता ८७५ रुपैयाँमा १ करोड ९५ लाख ४७ हजार रुपैयाँको कारोबार भएको थियो । नेपाल बंगलादेश बैंक र एभरेष्टको सेयर सस्तो भएको र आगामी दिनमा बढ्ने अनुमानका आधारमा लगानीकर्ताले खरिद गरेका हुन् ।
नेप्से १२ अंकले उकालो, होटल बाहेक सबै समूह हरिया
काठमाडौं । सोमबारको नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । सो दिन परिसूचक १२ अंकले उकालो लागेर १४४३.८० अंकमा पुगेको छ । दोहोरो अंकले बढेको बजारमा ४६ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कुल १५७ कम्पनीका ८ लाख ५५ हजार कित्ता सेयर किनबेच भएका थिए । सोमबार होटल समूह बाहेक अन्य बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १२२ अंकले उकालो लागेको छ । त्यस्तै, अन्य समूह र बैंकिङ समूहको परिसूचक क्रमशः १२ र ९ अंकले उकालो लागेका छन् । होटल समूह भने १७ अंकले ओरालो लागेको छ । सो दिन मल्टि प्रपोज फाइनान्सका लगानीकर्ताले ९.०६ प्रतिशत कमाएका छन् । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७३ रुपैयाँ रहेको छ ।
९४ करोड ३ लाखको हकप्रद सेयर आउँदै, एकैदिन तीन कम्पनीले पाए बोर्डको अनुमति
काठमाडौं । विभिन्न ३ कम्पनीले ९४ करोड ३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, फष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र कामना सेवा विकास बैंकलाई ९४ लाख ३ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति दिएको हो । चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद निष्कासन गर्न लागेका हुन् । एसियन लाइफलाई ५० प्रतिशत(अर्थात २ः१ को अनुपातमा) हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले ४० करोड २७ लाख रुपैयाँ बराबरको ४० लाख २७ हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो । इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । त्यस्तै, फष्ट माइक्रोफाइनान्सले पनि ५० प्रतिशत अर्थात २२ करोड ८१ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । संस्थाले २२ लाख ८१ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । संस्थाको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ । कामना सेवा विकास बैंकले चुक्तापुँजी वृद्धि गर्न १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले एनएमबी क्यापिटल मार्फत ३० करोड ९४ लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न बोर्डको अनुमति पाएको छ । यस्तै सिनर्जी फाइनान्स लिमिटेडले चुक्तापुँजी बढाउन ११ करोड ८६ लाख रुपैयाँ बराबरको ११ लाख ८६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको छ । चालु आर्थिक वर्ष सुरु भएयता २९ कम्पनीले १७ अर्ब १३ करोड रुपैयाँ बराबरका हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएका छन् । यी सबै कम्पनीले आफ्नो चुक्ता पुँजी वृद्धि गर्नको लागि हकप्रद सेयर जारी गर्ने प्रक्रिया अघि बढाएका हुन् ।
कामना सेवा विकास बैंकको माघ ३ गते बुक क्लोज, हकप्रद सेयर जारी गर्दै
काठमाडौं । कामना सेवा विकास बैंकको आगामी माघ ३ गते बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिनका लागि सेयर नामसारी तथा दाखिल खारेज बन्द गर्न लागेको हो । यस बैंकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ८२ करोड रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको पुँजी २ अर्ब नाघ्ने छ ।
जेसीबीका तीन नयाँ एस्काभेटर नेपाली बजारमा, इन्धनको खपत कम गर्ने
काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपहरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले विभिन्न क्षमताका तीन नयाँ एस्काभेटर सार्वजनिक गरेको छ । एमएडब्लु अर्थमुभर्सले ३ टनको जेसीबी ३० प्लस, ३० टनको जेसीबी ३०५ एलसी र ३८ टनको जेसीबी ३८० एस्काभेटर पहिलो पटक नेपाल भित्र्याएको हो । नयाँ प्रडक्ट लाइन-अपसँगै, जेसीबीले आफूलाई पूर्ण निर्माण उपकरण साझेदारका रुपमा स्थापित गरेको छ । नेपालको तीन वटै तहका निर्वाचनसम्पन्न भएसँगै भौतिक पूर्वाधार निर्माणले गति पाउन थालेको परिप्रेक्षमा एस्काभेटरका नयाँ मोडेलहरु नेपाल ल्याइएका हुन् । ‘लामो समयदेखि रोकिएको विकास निर्माणको कार्य अब सुचारु भएको छ । विभिन्न प्रकारका निर्माणका लागि आवश्यक फरक फरक क्षमताको माग भएका कारण हामीले नयाँ एस्काभेटरहरु नेपाली बजारमा ल्याएका हौं ।’ राजधानीमा आयोजित जेसीबी कन्क्वेष्ट इभेन्टमा एमएडब्लु अर्थमुभर्स प्रालिका सेल्स एन्ड मार्केटिङ हेड दिपकराज गिरीले भने, ‘अब हामीसँग एस्काभेटरको कम्प्लिट रेन्ज उपलब्ध छ ।’ नेपाली बजारमा जेसीबीको जेएस ८१, जेएस १४०, जेएस२०५, जेसीबी २२० एलसी एक्स्ट्रा पहिलेदेखि नै उपलब्ध छन् । नयाँ उत्पादनसँगै अब जेसीबीसँग फरक फरक प्रकृतिका कामका लागि ३, ८, १४, २०, २२, ३० र ३८ टनका गरी सात प्रकारका एस्काभेटर उपलब्ध हुनेछन् । ‘परियोजनाको आकार ठूलो हुन थालेपछि निर्माण व्यवसायीहरुको नजरमा ठूला क्षमताका मेसिनहरु पर्न थालेका छन् । यस्ता मेसिनले उत्पादकत्वलाई बढाउनुका साथै इन्धनको खपतलाई समेत घटाउँछ । यी दुवै जेसीबीका मेसिनहरुको विशेषता नै हुन्,’ गिरीले अगाडि थपे । एमएडब्लु अर्थमुभर्सले केही समयअघि मात्र २० प्रतिशत डाउन पेमेन्ट अफर ल्याएको थियो जुन नेपालमै पहिलो पटक थियो । एनसीसी बैंक लिमिटेडसँगको सहकार्यमा सुरु भएको यो योजनामा एमएडब्लुले मात्र २० प्रतिशत डाउनपेमेन्टमा ग्राहकलाई जेसीबी ब्रान्डका कुनै पनि मेसिन उपलब्ध गराउँदै आएको छ । नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । ब्याकहो र एस्काभेटरबाहेक नेपाली बजारमा जेसीबीका रोलर, कम्प्याक्टर, ह्विल लोडर, लोडअल, रोबोट र जेनसेट उपलब्ध छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बलियो छ । देशभर १२ स्थानमा ‘थ्रि एस’ सुविधासहितको शाखा, चार वटा आधिकारिक विक्री केन्द्र (एआरओ) र एक सय ६६ जना सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा सदा तत्पर छन् । जेसीबीले विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बन्न सफल भएको हो ।
बर्जरको वेदरकोट एन्टि डस्ट पेन्ट अब बजारमा
काठमाडौं । नेपालमा रङ्ग उत्पादन गर्ने कम्पनीहरु मध्ये एक ठूलो रङ्ग उत्पादक बर्जरले नेपालमा वेदरकोट एन्टि डस्ट पेन्टको उत्पादन एवं बिक्री वितरण शुरु गरेको छ । नेपालमा द्रुततर गतिमाअघि बढिरहेका निर्माण कार्यहरु, सवारी साधनहरुले पारिरहेको प्रदुषण, सडकमा र यत्रतत्र उडिरहेको धुलो नेपालको हरेक क्षेत्रमा एक जल्दोबल्दो समस्या बनिरहेको छ । यसप्रकारले हावामा उडिरहेको धुलो बाहिरी भित्ताहरुमा टाँसिएर ती भित्ताहरुलाई पुरानो र फाहोर बनाइदिन्छ, साथै यसरी जमेर बसेका धुलोले रङ्ग र बाहिरी भित्ताहरुको आयु घटाउँछ । बर्जर पेन्ट्स नेपालले पहिलो पटक डस्ट गार्ड टेक्नोलोजीसहितको एन्टि डस्ट पेन्ट प्रस्तुत गरेको छ । वेदरकोट एन्टि डस्ट पेन्टले तपाईंको घरको बाहिरी भित्ताहरुमाधुलो टिक्न दिँदैन र धुलोबाट छुट्कारा दिलाउँछ जस्ले गर्दा घर हरेक दिन नयाँ र चम्किलो देखिन्छ । कार्यक्रममा कम्पनीका प्रतिनिधिले भने ̎हामी सदैव हाम्रो गुणस्तर, इनोभेसन र ग्राहकको सन्तुष्टिका लागि कटिबद्ध रहने गर्दछौं । हामीले औद्योगीक क्षेत्रमाउच्चदरको वृद्धिका साथ अभूतपूर्व सफलता हात पार्नुको एक कारण यही नै हो । एक कम्पनीको रुपमा हामी अझ बढी अत्याधुनिक इनोभेटिव उत्पादनहरुको विकास गर्ने चुनौतीहरुलाई पार गर्न प्रतिबद्ध छौं । हामी नेपालमा बर्जर वेदरकोट एन्टि डस्ट जस्तो उत्पादन प्रस्तुत गर्न पाएकोमा खुसी भएका छौँ । रमसस