यसरी तयार हुँदैछ सातै प्रदेशमा एक हजार विगाह जमिनमा औद्योगिक क्षेत्र
काठमाडौं । ‘राजनीतिक आन्दोलनको चरण सकिएर समृद्धिको चरणमा प्रवेश गरेका छौं, त्यसको पहिलो अस्त्र भनेकै औद्योगीकरण हो’, यो भनाई हो औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्द किशोर बस्नेतको । उनी यतिबेला सात वटै प्रदेशमा न्युनतम १ हजार विगाह जमिन ओगट्ने औद्योगीक क्षेत्र निर्माणमा जुटेका छन् । त्यसका लागि उनीसँग ४९ करोड रुपैंयाँ बजेट छ । सोही बजेट खर्चेर उनले यसै बर्षभित्र सबै प्रदेशमा निर्माण हुने औद्योगीक क्षेत्रको डिपिआर निर्माण सक्ने लक्ष्य राखेका छन् । ‘अहिले जग्गा प्राप्ति र डीपीआर निर्माण एकै पटक अघि बढेको छ, कुनै प्रदेशमा जग्गा प्राप्ती भैरहेको छ भने अधिकांशमा डीपीआर निर्माणको काम अघि बढिसकेको छ’, बस्नेतले सुनाए । कहाँ कहाँ कति भयो काम ? अध्यक्ष बस्नेतका अनुसार प्रदेश नम्बर ७ का लागि कञ्चनपुरको दैजीमा १९८.७१ हेक्टरमा डिपिआर र वातावरणीय प्रभाव मूल्यांकनका लागि ४७ लाख १५ हजारको ठेक्का लागेको छ । त्यस्तै, कैलालीको लम्कीमा ७४४.८२ हेक्टर जमिनमा निर्माण हुने औद्योगीक क्षेत्रको डीपीआर र वातावरणीय प्रभाव अध्ययनका लागि ६० लाख ५७ हजार ५ सय रुपैंयाँको ठेक्का लागेको हो । प्रदेश नम्बर ६ को सुर्खेतमा पनि ६७७ हेक्टर जमिनमा सम्भाव्यता अध्ययनका लागि ३२ लाख ४० हजारमा ठेक्का लागेको छ । ५ नम्बर प्रदेशको रुपन्देहीको मोतिपुरमा ५५०.४९ हेक्टर जमिनको वातावरणीय प्रभाव मूल्यांकनका लागि २५ लाख ९० हजारको ठेक्का लागिसकेको छ । त्यस्तै, बाँकेका नौवस्तामा २२८.८६ हेक्टर जमिनमा पनि वातावरणीय प्रभाव मूल्यांकनका लागि २३ लाख ४० हजारको ठेक्का लागेको छ । दाङकै लक्ष्मीपुरमा पनि ३७१ हेक्टर जमिनमा सम्भाव्यता अध्ययनका लागि १७ लाख ९० हजारको ठेक्का लागेको छ । नन्द किशोर बस्नेत, अध्यक्ष-औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेड प्रदेश नम्बर ४ को गोरखास्थित चंगेलीफाँटमा १७. २८ हेक्टरमा सम्भाव्यता अध्ययनका लागि ८ लाख ९७ हजार ५ सय रुपैंयाँमा कम्पनी छनौट भएको छ । प्रदेश नम्बर ३ का लागि मकवानपुरको मयुरधापमा १३७.८६ हेक्टर जमिनको वातावरणीय प्रभाव मूल्यांकनका लागि १८ लाख ९७ हजार ५ सय रुपैंयाँको ठेक्का लागेको छ । त्यस बाहेक चितवनको शक्तिखोरमा ११७८.६७ हेक्टरमा औद्योगीक क्षेत्रको डीपीआर र वातावरणीय प्रभाव मूल्याकनका लागि ५१ लाख २२ हजार ५ सय रुपैंयाँको ठेक्का लागेको हो । प्रदेश नम्बर २ का लागि सर्लाही जिल्लाको मुर्तियामा २०३१.३३ हेक्टर जमिनमा निर्माण हुने औद्योगीक क्षेत्रको डीपीआर र वातावरणीय प्रभाव मूल्यांकनका लागि ६८ लाख २५ हजारको ठेक्का लागेका हो । त्यस्तै १ नम्बर प्रदेशका लागि भने झापाको दमकमा १ हजार १ सय विगाह जमिन प्राप्तिको चरणमा पुगेको छ । सो औद्योगीक क्षेत्रको पुर्वाधार निर्माणमा चीनले सहयोग गर्ने सम्बन्धी सम्झौता पत्रमै हस्ताक्षर समेत भैसकेको छ । बस्नेतले आगामी ५० बर्षसम्म नेपालमा उद्योग कहाँ खोल्ने भन्ने समस्या नै नहुने दावी समेत गरिरहेका छन् । ‘अहिले उद्योग खोल्ने उपयुक्त ठाउँको ठुलो अभाव छ तर अबको ५० बर्षसम्म उद्योग कहाँ खोल्ने भनेर धाउनुपर्ने बाध्यताको अन्त्य हुँदैछ, लगानी गर्न आउने उद्योगी व्यवसायीलाई हामी पुर्वाधारसहितको जमिन उपलब्ध गराउँछौं’, बस्नेतले भने । उनले सात प्रदेशमा निर्माण हुने औद्योगीक क्षेत्रमा १० लाख नेपालीले रोजगारी पाउने समेत दावी समेत गरे । ‘एउटा ओद्योगीक क्षेत्र सञ्चालनमा आउँदा हजारौंले प्रत्यक्ष र लाखौंले अप्रत्यक्ष रोजगारीको अवसर पाउनेछन्, नेपाली युवाले रोजीरोटीका लागि विदेशिनु नपरोस भन्ने उदेश्यले काम गरिरहेका छौं’, बस्नेतले भने । निजी क्षेत्रले आफैं जमिन खोज्ने र पुर्वाधार बनाएर उद्योग सञ्चालन गर्ने काम कठिन बन्दै गएकाले सरकारले नै औद्योगीक पुर्वाधार बनाउने सोँच बनाएको हो । ‘औद्योगीक क्षेत्र भन्दा बाहिर उद्योग सञ्चालन गर्ने हामी उद्योगीहरुले २५ देखि ३० प्रतिशत आफ्नो उर्जा स्थानीय बासिन्दासँगको किचलो मिलाउनै खर्च गर्नु पर्छ, त्यसैले नेपालमा औद्योगीक विकास चुनौतीपुर्ण बनिरहेको छ’, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले भने । उनले ठुला औद्योगीक पुर्वाधार, वत्ति, पानी, सुरक्षा लगायतको ग्यारेण्टी सरकारले गरिदिनुपर्नेमा जोड दिए । हाल बालाजु, पाटन, हेटौँडा, पोखरा, धरान, बुटवल र नेपालगञ्जमा ५ हजार १ सय ६२ रोपनी क्षेत्रफलमा सात वटा औद्योगीक क्षेत्र सञ्चालनमा रहेका छन् । सरकारले सञ्चालन तथा व्यवस्थापन गरिरहेका यी औद्योगीक क्षेत्रमा १२ हजार ५ सय ५ जनाले प्रत्यक्ष रोजगारी पाईरहेको देखिन्छ । ती क्षेत्रमा ५१ वटा नयाँ उद्योग धमाधम निर्माणको चरणमा रहेका छन् । हाल सञ्चालनमा रहेका औद्योगीक क्षेत्रबाट व्यापारीक कम्पनीलाई भने हटाउने तयारी बस्नेतले अघि बढाईरहेका छन् । बिभिन्न औद्योगीक क्षेत्रमा अटोमोबाइल लगायतका व्यापारिक कम्पनीका शोरुमहरु सञ्चालनमा रहेका छन् । त्यस्ता शोरुमलाई हटाएर उद्योग धन्दा मात्रै राख्नुपर्ने माग समेत उठ्दै आएको थियो ।
दुई पहाडी जिल्लाका सदरमुकाम सडक सञ्जालमा जोडियो
तेह्रथुम । तेह्रथुमको माझीटार–पोक्लाबाङ कृषि सडकको बाटो खोलेसँगै कोशी र मेची अञ्चलका दुई जिल्ला तेह्रथुम र पाँचथरका सदरमुकाम सडक सञ्जालमा जोडिएका छन् । सडकको बाटो खोलेपछि कोशी पहाडी जिल्ला तेह्रथुमको सदरमुकाम म्याङ्लुङ र मेची पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिम सडक सञ्जालमा जोडिएका हुन् । यही साताबाट व्यवसायीले म्याङ्लुङदेखि फिदिमसम्म सिधा यातायात सेवासमेत सञ्चालन गरेका छन् । म्याङलुदेखि फिदिमसम्म र फिदिमदेखि म्याङलुङसम्म दैनिक एक/एक वटा ट्याक्सी सञ्चालन भइरहेका छन् । कच्ची सडकबाटै भए पनि सवारी सञ्चालन हुन थालेपछि म्याङ्लुङबाट धनकुटा, सुनसरी, मोरङ र झापा हुँदै इलाम उक्लिएर फिदिमसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । एकफन्को मारेर फिदिम पुग्नुपर्ने अवस्थामा ट्याक्सी सञ्चालन हुन थालेपछि यस क्षेत्रका यात्रुलाई सुविधा मिलेको छ । लामो समयपछि दुई जिल्ला सदरमुकामलाई यातायात सञ्जालले जोडेपछि दुवै जिल्लावासीलाई सहज भएको छ । सवारी साधन सञ्चालन नहुँदा म्याङ्लुङ र फिदिम आवतजावत गर्दा पाँच जिल्ला हुँदै महँगो भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यता थियो भने कम्तीमा पनि दुई दिनको यात्रा तय गर्नु पर्दथ्यो । म्याङ्लुङ बसपार्कबाट फेदापको पोक्लाबाङ हुँदै थोक्लुङ–माझीटार सडकखण्डबाट पाँच घण्टामा फिदिम पुगिने ट्याक्सी चालक कुमार लिम्बूले बताए । “सडक कच्ची भए पनि चाँडै पुगिन्छ, यात्रु पनि पर्याप्त छन्”– चालक लिम्बूले भने । प्रादेशिक राजधानी माग गर्दै धनकुटा बन्दसमेत हुन थालेपछि अहिले तेह्रथुमबाट पाँचथर, इलाम, झापा हुँदै मोरङ आउनेसमेत यही सडकलाई वैकल्पिक मार्गकारुपमा प्रयोग गर्न थालेका छन् । तेह्रथुमबाट ताप्लेजुङ र इलाम जाने यो सडक भएर सार्वजनिक सवारीबाटै एकै दिनमा पुग्न सक्छन् । “यो बाटो भएर ताप्लेजुङ, इलाम जाने पनि धेरै छन्, भाडा पनि सस्तो पर्छ, अहिले त यात्रुको पनि खाँचो छैन”– व्यवसायी सन्तोष निङलेकुले भने । अहिले सडकको बाटो खोलेसँगै सवारी सञ्चालन भएपछि वर्षा लागेपछि यो सडक सञ्चालन हुने सम्भावना देखिँदैन । सो सडक खण्डको कोयाखोलामा पुल छैन भने सडकलाई समेत स्तरोन्नतिको खाँचो छ । रासस
एनआईसी एसिया ग्रोथ फन्डले लगानीकर्तालाई वार्षिक १६ प्रतिशत प्रतिफल दिने, माघ २ गतेदेखि बिक्री खुला
काठमाडौं । एनआईसी एसिया बैंकले निष्कासन गर्न लागेको एनआईसी एसिया ग्रोथ फण्डले लगानीकर्तालाई वार्षिक १६.१३ प्रतिशत प्रतिफल दिने भएको छ । ग्रोथ फण्डको निष्कासन आउदो माघ २ गतेदेखि हुदैछ । प्रति इकाई मूल्य १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई निष्कासन हुन लागेको फण्डले प्रत्यक वर्ष १६ प्रतिशत लगानीकतालाई लाभांश दिने जानकारी दिएको छ । उसले सार्वजनिक गरेको लगानी आब्हानपत्रमा ७ वर्ष अवधिको योजनाले पहिलो वर्ष १५.७५, दोस्रो वर्ष १६.१४ र त्यसपछिका वर्षमा १६.१३ प्रतिशत लाभांश दिने प्रतिवद्धता जनाएको छ । ग्रोथ फण्डले सुरुको वर्षमा १० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । त्यसपछिका वर्षमा ११ करोड, १२ करोड, १३ करोड १४ करोड र छैठौ वर्षमा १५ करोड रुपैयाँ नगद लाभांश बाड्ने एनआईसीले जनाएको छ । उक्त लाभांश दिन ग्रोथ फण्डले पहिलो वर्ष १८ करोड ७५ लाख रुपैयाँ आम्दानी गर्नेछ । त्यसपछिको बढ्दै गएर अन्तिम वर्षमा आम्दानी बढेर २५ करोड ३८ लाख ८३ हजार रुपैयाँ पुग्नेछ । ग्रोथ फण्डले पहिलो वर्ष १५ करोड ५६ लाख ८४ हजार रुपैयाँ नाफा गर्ने छ । त्यसपछि लगातार नाफा बढाउने प्रक्षेपण गरेको छ । लगानीकर्ताले ग्रोथ फण्डका लागि न्युनतम १ सय र अधिकतम २० लाख ईकाइसम्मलाई आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । एनआईसी एसिया बैंकको म्युचल फण्ड अन्र्तगत सञ्चालन हुने ग्रोथ फण्डको कोष प्रवन्धकमा बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेको छ । ग्रोथ फण्डको निष्कासन छिटो बन्द हुने मिति माघ ८ र ढिलोमा माघ २१ गतेसम्म हुने छ । ग्रोथ फण्ड कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत अर्थात १ करोड ५० लाख कोष प्रवद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी ८ करोड ५० लाख कित्ता बिक्रीका लागि खुला गरिएको छ । न्युनतम बिक्री हुनुपर्ने इकाइ ५ करोड रहेको छ । आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट इकाई खरिद गर्न पाइने व्यवस्था गरिएको छ । योजनाका इकाइ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार हुने छ । खुदनाफा वितरण र संचित नाफा पुनः लगानी गर्ने योजना रहेको बैंकले जनाएको छ ।
मनाङमा माइनस १८ डिग्री
मनाङ । देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १८ डिग्री तापक्रम पुगेको छ । रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् । खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ । अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । बाह्रै महिना चिसो हुने मनाङ जिल्लामा जाडोको समयमा प्रायः बासिन्दा जाडो छल्न अन्यत्र ठाउँमा जाने गर्दछन् । यो समयमा गाउँ घरमा घर कुर्ने चौँरी हेर्ने र हिउँ फाल्ने बासिन्दा मात्र बस्ने गर्दछन् । जाडो छल्नका लागि यहाँका बासिन्दा काठमाडाै, पोखरा, चितवनलगायत भारतको बुद्धगया जाने गर्दछन् । गाउँघरको सबै कामकाज सकेर व्यापारिक प्रयोजनका लागि धुपी जुम्भु पाँचऔँलेलगायतका जडीबुटी लिएर जाने गर्दछन् । मंसिरको अन्तिम साताबाट मनाङ सुनसान हुने भएकाले अक्सर गरेर माथिल्लो मनाङका विद्यालय वर्षैपिच्छे जाडोको मौसममा तीन महिना बन्द हुने गरेको जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले बताए । रासस
कन्काई विकास बैंकको साधारणसभा माघ १६ मा, बोनस सेयर वितरण गर्ने
काठमाडौं । कन्काई विकास बैंकको ११ औं साधारणसभा माघ १६ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । बैं कको चुक्तापुँजी वृद्धि गरी ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव सभाले अनुमोदन गर्नेछ । सञ्चालक समितिको संख्या घटाई ७ जना मात्र हुन व्यवस्था सभामा पेश हुनेछ । बैंकलाई अन्य संस्थामा गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धित काम अघि बढाउनका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको बैंकले जानकारी दिएको छ ।
अधिक तरलता भएपछि राष्ट्र बैंकले आज २ अर्ब बजारबाट उठाउदै
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै नेपाल राष्ट्र बैंकले आज सोमबार २ अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ ।केन्द्रीय बैंकले दुई साताका लागि निक्षेप संकल वित्तीय औजारमार्फत बोलकबोलबाट पैसा उठाउन लागेको हो । न्युनतम ब्याजदर ३ प्रतिशत तोकिएको छ । बजारमा तरलताको अवस्था सहज बन्दै गएको अनुमानका आधारमा सोमबार परीक्षणका लागि निक्षेप संकलन गर्न लागेको हो । यो रकम माघ ८ गते फिर्ता हुने छ । राष्ट्र बैंकले सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत बजारमा पैसा पठाएपछि आइतबारसम्म तरलता बढेर ५१ अर्ब रुपैयाँ पुगेको छ । तरलता नभएर लगानी गर्न नपाएपछि राष्ट्र बैंकले ४ पटक गरेर २७ अर्ब ६३ करोड रुपैयाँ बजारमा पठाएको थियो । आइतबार बैंकहरुले ब्याजदर करिडोरको सीमा नाघेर ३ प्रतिशत भन्दा तल ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंकले आज बजारबाट पैसा तान्न लागेको हो । आइतबार १० अर्ब रुपैयाँ बजारमा पठाउने राष्ट्र बैंकले तयारी गरेपनि ६ अर्ब ५३ करोड २७ लाख रुपैयाँ माग भएको थियो । अधिकाँश बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत भन्दा कम दर प्रस्ताव गरेपछि २ अर्ब ६३ करोड २७ लाख रुपैयाँ मात्र बजारमा पठाएको हो । राष्ट्र बैंकले गत वर्ष पनि यस्तै समस्या आएपछि सिधै विकास ऋण खरिद उपकरणमार्फत ८ अर्ब ७५ करोड रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो । बजारमा लगानीयोग्य पुँजीको अभाव भएको बैंकहरुले बताइरहदा राष्ट्र बैंकले रिपो जारी गर्न पाएको छैन् ।अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा तल झरेको छ । यस कारण राष्ट्र बैंकले रिपो निष्कासन गर्न नपाएको हो । अन्तर बैंक ब्याजदर ५ प्रतिशतबाट माथि गएपछि केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाएर हस्तक्षेप गर्छ । अन्तर बैंक ब्याजदर नबढेकाले बजारमा अधिक तरलता रहेको राष्ट्र बैंकको भनाई छ । सरकारले खर्च गर्न नसक्दा ढुकुटीमा ३ खर्ब २८ अर्ब रुपैयाँ वचतमा छ । यो महिना सरकारले कुल राजश्व लक्ष्यको ४० प्रतिशत उठाउदै छ । अर्बौ रुपैयाँ करको रुपमा ढुकुटीमा थपिदै छ ।
नेपाल लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंकमा लगानीकर्ता झुम्मिए, यस्तो छ कारण
काठमाडौं । सेयर बजार सामान्य अंकले बढेसँगै लगानीकर्ताकाे आकर्षण दुई कम्पनीमा भएको छ । लगानीकर्ता झुम्मिएपछि आइतबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट बैंकको सेयर कारोबार बढी भएको छ । नेपाल लाइफले गत आर्थिक वर्षमा गरेको नाफाबाट दिने लाभांश घोषणा गर्ने समय नजिकिदै गएपछि सेयर किनबेच बढेको छ । नेपाल लाइफले न्युनतम ४५ देखि ६० प्रतिशतसम्म लाभांश दिने आशमा लगानीकर्ता झुम्मिएका हुन् । आइतबार नेपाल लाइफको प्रतिकित्ता १ हजार ८२२ रुपैयाँमा ५ करोड २७ लाख ६४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल लाइफको २९ हजार ५१५ कित्ता सेयर किनबेच भएको छ । आइतबार नेपाल लाइफको सेयर प्रतिकित्ता ९२ रुपैयाँ बढेको छ । गत बिहीबार नेपाल लाइफको सेयर १ हजार ७३० रुपैयाँमा किनबेच भएको थियो । यस्तै एभरेष्ट बैंकको सेयर किनबेच बढेको छ । आइतबार एभरेष्टको सेयर प्रतिकित्ता ८७५ रुपैयाँमा १ करोड ९५ लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ । एभरेष्टको २२ हजार ३५२ रुपैयाँको सेयर किनबेच भएको छ । एभरेष्टको सेयर सस्तो भएको र आगामी दिनमा भाउ बढ्ने अनुमानका आधारमा लगानीकर्ताले सेयर खरिद गरेका हुन् । नेपाल लाइफ र एभरेष्ट बैंकको वित्तीय अवस्था मजवुत रहेको छ । जीवन बीमा व्यवसायमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । यस्तै बैंकिङ क्षेत्रमा एभरेष्टको अवस्था पनि बलियो नै छ । दुबै संस्थाको वित्तीय अवस्था र लगानीकर्तालाई दिने प्रतिफल पनि उच्च छ । यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकको पनि प्रतिकित्ता १ हजार ५८ रुपैयाँमा १ करोड ४६ लाख ३७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नागवेली लघुवित्त विकास बैंकको संस्थापक सेयर किनबेच भएको छ । नागवेलीको संस्थापक सेयर प्रतिकित्ता १ हजार ३ सय रुपैयाँमा १ करोड ३० लाख कित्ता कारोबार भएको छ ।
सेयर बजारमा ८ अंकको वृद्धि, बीमा समूह १६५ अंकले उक्लियो
काठमाडौं । आइतबारको सेयर बजारमा करिब ८ अंकको वृद्धि भएको छ । सो दिन नेप्से परिसूचक ७.९७ अंकले बढेर १४३१.८० अंकमा पुगेको छ । बजार नेप्से परिसूचकमा सुधार भएतापनि कारोबार रकममा भने गिरावट आएको छ । आइतबारको बजारमा कुल १५७ कम्पनीको जम्मा ३६ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा बढी मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३४२ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३१ रुपैयाँ बढी हो । त्यस्तै, बीमा समूहको परिसूचक १६५ अंकले उकालो लागेको छ । त्यस्तै, माइक्रोफाइनान्सको २०, होटलको १४ र उत्पादनमूलकको १० अंकले परिसूचक बढेका छन् । बजारमा फाइनान्स र अन्य समूहको परिसूचक भने क्रमशः १.१४ र ०.५७ अंकले ओरालो लागेका छन् । उता ट्रेडिङ समूह भने स्थिर छ ।