विकासन्युज

४८ मेगावाट बिजुली र ५१ हेक्टरमा सिंचाई पुर्याउने भेरी बबई डाइभर्सनको काम ६ महिनामा सकिने

दाङ । प्रदेश नं ६ अन्तर्गत सुर्खेतको हात्तीखाेलामा निर्माण शुरु भएको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम ४० प्रतिशत सम्पन्न भएको छ ।चाइना ओभरसियस इन्जिनियरिङ ग्रुरुपले निर्माण गरिरहेको आयोजनाको साढे ५ किलोमिटर लामो सुरुङको काम सम्पन्न भएको आयोजनाका जनसम्पर्क अधिकारी गणेश श्रेष्ठले जानकारी दिए। नेपालमा पहिलो पटक टीबीएम मेशिनले सुरुङ मार्ग निर्माण गरिँदै आएको छ । नेपालमै पहिलो र नयाँ प्रविधिबाट निर्माण शुरु भएको सुरुङ मार्गमा प्रत्येक दिन ३० मिटर सुरुङ खन्ने काम भइरहेको श्रेष्ठले बताए। टनेलिङ प्रविधिबाट सुरुङ निर्माण भइरहेको छ । अमेरिकाबाट ल्याइएको सो मेशिनको प्रयोगले सुरुङ निर्माण गरिँदैछ । १२ किलोमिटर लामो सो सुरुङ सुर्खेतको भेरी गंगा नगरपालिकाको चिम्लेस्थित भेरी नदीसम्म निर्माण हुनेछ । “यही गतिमा काम भए अबको ६ महिनामै सुरुङ मार्ग निर्माण सम्पन्न हुन्छ,” जनसम्पर्क अधिकारी श्रेष्ठले भने । ४८ मेगावाट विद्युत् उत्पादन तथा बाँके– बर्दियाको ५१ हजार जमीनमा सिँचाइ गर्ने उद्देश्यले २०७१ माघदेखि सो आयोजना शुरु भएको थियो । १० अर्ब ५६ करोड रुपैयाँ भन्दा बढीको लगानीमा शुरु भएको उक्त आयोजना २०७५ फागुनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । हाल सुरुङ मार्ग निर्माणमा ८० चीनियाँ प्राविधिक र ५५० स्थानीयवासी संलग्न छन् । एउटा कामदारले मासिक २५ हजारदेखि ५० हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका छन् । नेपालमै नौलो प्रविधिबाट सुरुङ निर्माण भइरहेकाले दैनिक अवलोन गर्न आउनेको संख्या बढ्दै गएको छ । रासस

ओली असार ५ गते चीन जाँदै, नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी असार ५ गतेदेखि हुने चीनको औपचारिक भ्रमणका अधिकांश कार्यसूची निर्धारण भएका छन् । प्रधानमन्त्री ओलीबाट दुई वर्षअघि भएको चीन भ्रमणका बेला गरिएका द्विपक्षीय सन्धि सम्झौताको कार्यान्वयनमा केन्द्रित रहने यो भ्रमण नेपालको परिवर्तित राजनीतिक सामाजिक सन्दर्भमा समृद्धितर्फको यात्रालाई सफल बनाउन भौतिक पूर्वाधार निर्माणका केही परियोजनाहरुमा चिनियाँ सहयोग प्राप्त हुने प्रायः पक्का भएको छ । प्रधानमन्त्रीबाट भ्रमणका क्रममा चीनका उच्च राजनीतिक नेतृत्वसँग हुने राजनीतिक परामर्श र दुई देशका प्रधानमन्त्री नेतृत्वमा हुने प्रतिनिधिमण्डलस्तरीय वार्ताले पारस्परिक सम्बन्धलाई नयाँ उचाइ दिने विश्वास गरिएको छ । प्रधानमन्त्रीको भ्रमणका बेला चीनको स्वशासित क्षेत्र ९तिब्बत० का राजमार्ग खाद्यान्न ढुवानीका निम्ति आठ वटा सीमा नाका खोल्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुनाका साथै केरुङ–काठमाडौँ रेल मार्ग निर्माण, दुई देशका परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानीमा ‘नेपाल–चीन मैत्री पुल’ निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ । त्यसैगरी नेपालको उत्पादन क्षमता अभिवृद्धि सम्बन्धमा नेपाल र चीनका अर्थ मन्त्रालयबीच सहकार्य, ऊर्जा सहायता तथा सीमापार प्रसारण लाइन निर्माण, कृषिमा साझेदारी र सात वटै प्रदेशमा विपद् व्यवस्थापन तथा उद्धार केन्द्र निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । भइँचालोपछिको नेपालको पुनः निर्माणका लागि चीन सरकारले उपलब्ध गराउने १६ अर्ब चिनियाँ युआन एक हजार मेघावाट क्षमताको मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजना, समुद्री बन्दरगाह र सुक्खा बन्दरगाहको प्रयोग, सहज एवं सर्वसुलभ सूचना तथा सञ्चार प्रवाहका निम्ति अप्टिकल फाइबर बिछ्याउनेलगायत नेपालको राष्ट्रिय हित र स्वार्थका परियोजनामा पारस्परिक सहयोगको सम्झौता हुनेछ । तिब्बतबाट खाद्यान्न ढुवानी गर्ने तथा नेपालबाट तिब्बततर्फ मालसामान निर्यात गर्ने प्रयोजनका निम्ति बझाङको उरिपासमा दुई, रसुवागढी, दार्चुलाको तिंकरमा दुई, ताप्लेजुङको तिप्लापासमा दुईवटा र हुम्लाको हिल्सामा एक व्यापार नाका खुल्नेछन् । परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो मंगोलिया भ्रमण, अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं राष्ट्रिय कूटनीतिक क्षेत्रमा भएका पछिल्ला विकासक्रम एवं समसामयिक स्थिति तथा प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिँदै भन्नुभयो, “व्यापार तथा पारवहनका साथै स्वतन्त्र व्यापार क्षेत्रका विषयमा भने द्विपक्षीय छलफल जारी छ निकट भविष्यमा नै निष्कर्षमा पुगिनेछ ।” चीनका राष्ट्रपतिले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ ९बिआरआई०’ अन्तर्गतका परियोजना, तिनको निर्माण तथा लगानीको ढाँचाबारे पनि बृहत् रुपमा दुवै मुलुकबीच छलफल भइरहेको जानकारी दिँदै मन्त्री ज्ञवालीले नेपालको राष्ट्रिय आवश्यकताका परियोजना नै बिआरआईअन्तर्गत निर्माण गरिने बताए।

आइसिटी अवार्डमा असार १ देखि अनलाइन रजिस्ट्रेसन शुरु, कसरी गर्ने आवेदन ?

काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा ‘आइसिटी अवार्ड २०१८’ हुने भएको छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले आगामी भदौ १ गते तेस्रो संस्करणको आइसिटी अवार्ड हुन लागेको जानकारी दिएको हो । अवार्डमा आइसिटी क्षेत्रका विभिन्न ७ विधा समेटएको छ । यसअन्तर्गत बेस्ट स्टार्टअप आइसिटी अवार्ड, बेस्ट प्रडक्ट आइसिटी अवार्ड, आइसिटी पायोनियर अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्डसहित नयाँ विधाका रुपमा डिजिटल गभर्नेन्स अवार्ड, आइसिटी आन्ट्रप्रेनियर अवार्ड र आइसिटी मिडिया अवार्ड समावेश गरिएको जानकारी आयोजकले दिएको छ । स्टार्टअप कम्पनी अवार्ड ३ वर्षभित्रका आइटी कम्पनीले प्रतिस्पर्धा गर्ने अवार्ड हो भने आइसिटी प्रडक्ट अवार्डमा एक वर्षभित्रका आइटी प्रडक्टहरुको प्रतिस्पर्धा गराइनेछ । यसैगरी पायोनियर अवार्डमा १५ वर्षभन्दा बढी समय आइटी क्षेत्रमा योगदान दिने प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिन्छ । त्यस्तै आइसिटी डायस्पोरा अवार्ड विदेशमा रहेर पनि नेपालको प्रविधि क्षेत्रमा योगदान दिने व्यक्तिलाई घोषणा गरिनेछ । यस संस्करणमा थपिएको आइसिटी आन्ट्रप्रेनियर अवार्डअन्तर्गत कम्तीमा ५ वर्षदेखि कम्पनीको संस्थापक भएर काम गरिरहेका एक उद्यमीलाई सम्मान दिइने छ । आइसिटी अवार्डअन्तर्गत डिजिटल गभर्नेन्स अवार्ड सूचना प्रविधिको सदुपयोग र व्यवस्थापन गर्दै सर्वसाधारणलाई छिटोछरितो सेवा दिने सरकारी निकाय वा संस्थालाई प्रदान गरिन्छ । आइसिटी मिडिया अवार्डमा कम्तीमा ३ वर्ष यस विधामा पत्रकारिता गरिरहेका पत्रकारहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् । अवार्डमा सहभागी हुन केही विधामा आफैंले तथा केही विधामा अरुले नोमिनेशन गर्नुपर्ने हुन्छ । अनलाइन रजिस्ट्रेसन असार १ गतेदेखि खुला हुनेछ । असार १६ गतेसम्म खुला रहने अनलाइन रजिस्ट्रेसनमा जोकोहीले निश्चित मापदण्ड पुरा गरी नोमिनेसन दर्ता गर्न सक्नेछन् । अनलाइन रजिस्ट्रेसनका लागि आधिकारिक वेबसाइट www.ictaward.org तथा अार्इसीटी अवार्ड नामक एन्ड्रोइड मोबाइल एप्लिकेसन प्रयोग गर्नुपर्ने छ । आइसिटेक मिडिया प्रालिका अध्यक्ष राजन लम्सालले यस संस्करणको अवार्डलाई भव्य र विश्वसनीय बनाउने प्रयासमा रहेको बताए । ‘यस वर्षको संस्करणमा ३ विधा थप गर्दै प्रविधिको क्षेत्रका सबै व्यक्ति तथा संस्थालाई समेट्ने प्रयास गरिएको छ,’ उनले भने । त्यस्तै प्राप्त आवेदनहरुलाइ वेबसाइटमा सार्वजनिक गरिएको छनोट प्रक्रियाअन्तर्गत विभिन्न चरणका मिटिङ, अन्तर्वार्ता तथा अनलाइन भोटिङ सञ्चालन गरिने निर्णायक मण्डलका संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए । कसरी गर्ने अनलाइन आवेदन ? अनलाइन आवेदनका लागि वेबसाइट www.ictaward.org लगइन गरी त्यहाँ प्रस्तुत गरिएका क्याटेगोरिजबारे अध्ययन गर्दै नोमिनेसन वा आवेदन दिने क्याटेगोरिजको लग इन मेनुमा क्लिक गरेपश्चात् आवेदन फर्म आउनेछ । उक्त फर्ममा उल्लिखित मापदण्ड तथा क्राइटएरियाअनुसार विस्तृत विवरण अनलाइनमार्फत बुझाउनुपर्नेछ । पहिलो पटक मोबाइल एप्लिकेसनबाटै अनलाइन आवेदन पनि बुझाउन सकिनेछ । यसका लागि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले अार्इसीटी अवार्ड सर्च गरी एप्लिकेसन डाउनलोड गरी आवेदन दिने विधामा क्लिक गरी अनलाइन फर्म बुझाउन सकिनेछ । असार १ देखि १६ गतेसम्म अनलाइन आवेदन खुला हुनेछ । अवार्डबारे सेलेक्सन प्रसेस तथा क्यालेन्डरसँगै सम्पुर्ण जानकारीहरु वेबसाइटमा उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।

सिद्धार्थ बैंकको कम्पनी सचिवमा लक्ष्मण घिमिरे

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको कम्पनी सचिवमा लक्ष्मण घिमिरे नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले घिमिरेलाई जेठ ३१ गते(आज)देखि लागू हुने गरी उक्त पदमा नियुक्त गरेको हो । कम्पनीको २९३औं संचालक समितिको बैठक जेठ ३० गते बसेको थियो ।

सरकारी जागिरमा आरक्षण एक पटक मात्रै, निजी स्कुल पढ्नेले नपाउने

काठमाडौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एक व्यक्तिले एक पटक मात्र आरक्षण प्रयोग गर्न पाउने व्यवस्था ल्याएका छन् । ‘संघीय निजामति ऐन २०७५’ मा एक व्यक्तिले जिवनमा एक पटक मात्र आरक्षणको सुविधा उपयाेग गर्न पाउने व्यवस्था  गरिएको हो । ऐनको दफा १५ देखि २५ सम्म आरइक्षणको व्यवस्था सम्बन्धी गरिएको छ । ऐनको दफा १५ मा आरक्षणको सुविधा एक व्यक्तिले एक पटक मात्र पाउनेछ भनि उल्लेख गरिएको छ । त्यस्तै दफा १६ मा एउटै व्यक्ति एक भन्दा बढी समुहबाट आरक्षणको सुविधा लिन पाउने रहेछ भने निजले त्यस्ता समुहहरु मध्येबाट रोजेको कुनै एउटा समूहबाट आरक्षण सुविधा लिन सक्नेछ भनि उल्लेख गरिएको छ । यसअघिको निजामति ऐन २०४९ मा आरक्षणको सुविधा जतिपटक पनि उपयोग गर्न पाउने व्यवस्था रहेको थियो । नयाँ ऐनमा मन्त्रालयले आदीवासी जनजाति, मधेसी, दलित, विपन्न खस आर्य, थारु, अपाङ्गता भएको व्यक्ति, पिछडिएको क्षेत्र, र मुस्लिमलाई आरक्षण सुविधा दिइएको छ । प्नस्तावित एेन अनुसार कुल विज्ञापनको ४५ प्रतिशतलाई शत प्रतिशत मानी ५० प्रतिशत महिला र बाँकी ५० प्रतिशत पुन शत प्रतिशत मानी आरक्षण कोटा छुट्याइएको छ । यस ऐनमा मुस्लिमलाई समेत ३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । यसैगरी महिला आरक्षणलाई निम्नानुसार विभाजन गरिएको छ । निजामति कर्मचारी ऐन संशोधित २०४९ मा ३३ प्रतिशत रहेको महिला आरक्षणलाई ५० प्रतिशत बनाइएको छ । दफा १७ अनुसार आरक्षण सुविधा स्वदेशी सरकारी, सामूदायिक वा प्रचलित कानूनमा तोकिए बमोजिमको ‘क’ ‘ख’ श्रेणी बाहेकको संस्थागत विद्यालयबाट आधारभूत, माध्यमिक तथा उच्च माध्यमिक शिक्षा पूरा गरेको उम्मेदवारले मात्र प्राप्त गर्नेछ भनि उल्लेख गरिएको छ । महंङगा निजी विद्यालयमा अध्ययन गरेका व्यक्तिले अब आरक्षणको सुविधा लिन पाउने छैनन् । हाल मन्त्रालयले संघिय निजामति सेवा ऐन, २०७५ बिधेयकको मस्यौदा कानुन मन्त्रालय पुर्याएको छ ।  

सन नेपाल लाइफको बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट, ६० करोडको सेयर निष्कासन गर्ने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । उक्त नियुक्ती सम्बन्धी सम्झौतामा सन नेपाल लाइफका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(सीईओ) राजकुमार अर्याल र नेपाल एसबीआई मर्चेन्ट बैकिङका(सीईओ) रमेश घिमिरेले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात इन्स्योरेन्सको सेयर हस्तान्तरण तथा धितोपत्रसँग सम्बन्धित सम्पूर्ण काम बिक्री प्रबन्धक एसबीआई मर्चेन्टले गर्ने भएको छ । कम्पनीले आगामी आर्थिक वर्षसम्म २ अर्ब पुँजी पुर्याउनको लागि एसबीआई मर्चेन्टसँग सम्झौता गरेको इन्स्योरेन्सका कामु सीईओ अर्यालले बताएका छन् ।  कार्यक्रममा एसबीआई मर्चेन्टका सीईओ घिमिरेले बिहीबार सम्झौता भएअनुसार इन्स्योरेन्सको ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन प्रमुखको रुपमा निष्कासन गर्ने बताएका छन् । हाल कम्पनीको चुक्ता पुँजी १ करोड ४० लाख रुपैयाँ रहेको छ । बीमा समितिले ताके बमोजिम पुँजी पुर्याउनको लागि कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरिरहेको छ । साे मात्राकाे सेयर निष्कासन पश्चात कम्पनीको पुँजी २ अर्ब रुपैयाँ नाघ्ने छ । इन्स्योरेन्सले हालसम्म ७ लाख बढी बीमालेख बिक्री गरिसकेको छ । हालसम्म २० शाखा स्थापना गरिसकेको इन्स्योरेन्सले चालु आवमा थप १५ वटा शाखा विस्तार गरि कुल ३५ वटा पुर्याउने कम्पनीको लक्ष्य छ । साथै, सोही आवको असोजसम्म ८६ वटा उपशाखा पुर्याउने तयारी गरिरहेको कम्पनीले जनाएको छ ।

अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा खत्री

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कुमार बहादुर खत्री नियुक्त भएका छन् । सेवा सञ्चालनको तयारी गरिरहेको कम्पनी सञ्चालक समिति बैठकले खत्रीलाई आगामी ४ बर्षका लागि सीईओ नियुक्त गरेको हो । खत्रीले आफ्नो कार्यभार सम्हालिसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका खत्री लुम्बिनी जनरल इन्स्योरेन्सको सहायक महाप्रबन्धकको जागिर छाडेर अजोडको सीईओ बनेका हुन् । अजोडमा भाटभटेनी समूह, हाथवे इन्भेष्टमेन्ट, सेञ्चुरी कमर्सियल बैंक, कालु गुरुङ, लक्ष्मी समूह लगायतको लगानी छ ।

आइएमई जनरल इन्स्योरेन्स र बयोधा हस्पिटलबीच क्यासलेस सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बयोधा हस्पिटल प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापा र बयोधा हस्पिटलका महाप्रबन्धक राजीभ चौधरीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म बयोधा हस्पिटबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापाले बयोधा हस्पिटलले कम्पनीसँगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमालेखमा तोकिएको सिमासम्म क्यासलेस हस्पिटललाइजेशन सुविधा प्रदान गर्ने सम्झौता भएको बताएका छन् । साथै, सोही अवसरमा बयोधा हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्ससंग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन आग्रह गरेका छन् । त्यस्तै, अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने छन् ।