मापदण्ड नभएको डेरीलाई कारबाही शुरु, ५० हजार जरिवानादेखि ५ वर्षसम्म कैद सजाय
काठमाडौं । मापदण्ड अनुरुप दूध उत्पादन नगरेका डेरी उद्योगहरुलाई सरकारले प्रचलित खाद्य ऐन अनुसार कानूनी कारवाहीको प्रक्रिया अगाडी बढाएको छ । सोमबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालको नेतृत्वमा राजधानीमा गरिएको अनुगमनमा २५ दूध प्रशोधन उद्योगका ४२ ब्राण्डका दूधका नमुना संकलन गरी केन्द्रीय खाद्य प्रयोगशाला परीक्षण गरिएको थियो । परिक्षणको क्रममा १७ नमूनामा चिल्लो वस्तु(फ्याट)मा कमि, ९ नमूनामा चिल्लो बाहेकको ठोस वस्तु (एसएनएफ) मा कमि र ४० नमूनामा सोडा(न्युट्रलाइजर) पाइएको छ । विभागको अनुसार दूधमा फ्याट नभए पोषण तत्व प्राप्त हुदैन । सोडा(न्युट्रलाइजर) ले मानव सरीरले क्षति गर्छ । विभागले बालाजुस्थित आधुनिक डेरी, काभ्रेको एलिसाज/गल्फु विनायक डेरी, बालकोटको अनमोल, काभ्रेकै अर्पण/जय श्री कृष्ण डेरी लगायत रहेका छन् । मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले विस्तृत रुपमा अझै ती दूधहरुको नमूनामा सूक्ष्मजैविक परीक्षणको समय लाग्ने भएकोले हाल परीक्षण भइरहेको बताए । ‘मापदण्ड अनुसार सञ्चालन नगरेको दूध उद्योगलाई कारबाहिको प्रक्रिया अघि बढाएका छौं,’ उनले भने ‘साथै अध्ययन तथा परिक्षण समेत अघि बढाएका छौं ।’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्थीले उद्योगले गरेको दोष अनुसार हालको खाद्य ऐन अनुसार बढीमा १० हजार रुपैयाँ जरिवाना साथै एक वर्षसम्मको जेल तोकेको बताए । ‘यद्यपि अहिले उक्त खाद्य ऐन शंसोधन परिमार्जन भइसकेको छ,’ उनले भने ‘परिमार्जित ऐन भदौ १ गतेदेखि लागु हुनेछ ।’ सो कानूनमा ५० हजार रुपैयाँ जरिवाना र ५ वर्षसम्मको कैद सजाय तोकेको छ ।’ सोमबार मन्त्री खनालको टोलिले काठमाडौंको बालाजु क्षेत्रका दूग्ध विकास संस्थान, आधुनिक डेरी, पुष्प डेरी र सामुहिक कृषक डेरी गरी जम्मा ४ दूग्ध प्रशोधनमा निरिक्षण अनुगमन गरेको थियो । जसमा आधुनिक डेरीका ३ र पुष्प डेरीको १ गरी ४ गोदाममा सिलबन्दी गरिएको छ । उक्त अनुगमनमा दूध बनाउन प्रयोग गरिएको पाउडरको म्याद नखुलेको, स्तरीय गोदाममा भण्डारण नगरिएको, उत्पादन प्रणााली अवैज्ञानिक भएको तथा सरसफाइमा पर्याप्त ध्यान नदिएको लगायत कमजोरी फेला पारिएको थियो । शंकास्पद धुलो दूधको प्रयोगशाला परीषणको लागि नमूना संकलन गरीएको थियो । त्यस्तै मन्त्रालयका प्रवक्ता कार्कीले दूध प्रशोधन उद्योगबाट उत्पादित दूधको स्वच्छता एव गुणस्तरलाई सरकारले जोड दिएको बताए । उक्त क्षेत्रको दीर्घकालिन सुधारको लागि दूध उत्पादन, संकलन, चिस्यान, ढुवानी, प्रशोधन र विक्री वितरण असल उत्पादन अभ्यास (गुड म्यानुफ्याक्चरीङ प्राक्टीस(जीएमपी)का सिद्धान्तका अधारमा नयाँ कार्यविधि, मापदण्ड निर्माण कार्य अगाडी बढाएको जानकारी दिए । ‘साथै आम उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी दुग्ध उद्योग लगायत अन्य खाद्यवस्तुको स्वच्छता र गुणस्तर कायम राख्नका लागि अनुगमन कार्यलाई अभियानको रुपमा सञ्चालन गरिनेछ ।’
माछापुच्छ्रे बैंकको एकैसाथ थप ४ शाखा सञ्चालनमा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकैसाथ थप ४ शाखा कार्यालयको सुरुवात गरेको छ । बैंकले हालै विस्तार गरेकाे सप्तरी, भोजपुुर, दार्चुुला र धनुुषा शाखाबाट कारोबार शुरु गरेको हो । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले वाणिज्य बैंकको उपस्थिति नरहेका ४ गाउँपालिका र नगरपालिकाहरुमा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो । यस बैकले २०७४ साल चैत्र मसान्तसम्म ६८ अर्ब निक्षेप परिचालन गरी ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, बैंकले सोही अबधिमा ८१ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । हाल बैंकले ८१ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवाबाट सम्पुर्ण बैंकिङ्ग सेवा दिँदै आएको छ । साथै, बंैकको ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।
ज्योति र लुम्बिनीबीच रेमिटेन्स सम्झौता, रेमिट सेवा आदान प्रदान गर्ने
काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडबीच रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा लुम्बिनी विकास बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात ज्योतिको रेमिट सेवा लुम्बिनी विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र लुम्बिनी विकास बैंकको रेमिटेन्स सेवा ज्योति विकास बैंकको सम्पुर्ण शाखाबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
बिजुली उत्पादकको मागः उर्जा क्षेत्रमा बैंकको लगानी २०० प्रतिशत बढाईयोस, ९ प्रतिशत ब्याजमा ऋण
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(ईपान)ले बैंक तथा वित्तिय संस्थाहरुले उर्जा क्षेत्रमा गर्ने लगानी २०० प्रतिशतले वृद्धि हुनुपर्ने माग गरेको छ । बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ईपानले बैंक तथा वित्तिय संस्थाहरुले अहिले गरिरहेको लगानीमा २०० प्रतिशत वृद्धि गर्नुपर्ने माग गरेको हो ।ईपानका अध्यक्ष शैलेन्द्र गुरागाइँले ३ बर्षमा ३ हजार मेगावाट, पाँच बर्षमा ५ हजार र १० बर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्य पुरा गर्न बैंकहरुको लगानी २०० प्रतिशतले बढाउनुपर्ने बताए । चालु आर्थिक बर्षको १० महिनामा बैंक तथा वित्तिय संस्थाहरुले ७३ अर्ब ९५ करोड लगानी गरेका छन् । जुन बाणिज्य बैंकले उर्जा क्षेत्रमा गर्नुपर्ने ५ प्रतिशत लगानीको जम्मा ३.३ प्रतिशत मात्रै हुन आउँछ । ईपानले कर्जा लगानीका लागि सम्झौता गरेर ऋण रकम प्रवाह गरिसकेपछि मात्रै १५ प्रतिशत भित्र गणना गरिने व्यवस्था आवश्यक हु्ने रहेको धारणा पनि राखेको छ । निजी उर्जा उत्पादकहरुले नयाँ मौद्रिक नीतिले ९ प्रतिशत भित्रै कर्जा उपलब्ध गराउने व्यवस्था गर्न पनि माग गरे । ‘हामी बैंकको सावाँ तथा ऋण भुक्तानी गर्नै नसक्ने अवस्थामा पुगिसकेका छौं, त्यसैले निर्माण अवधीभरका लागि ९ प्रतिशतमा ऋण पाउने व्यवस्था चाहियो’, ईपानका अध्यक्ष गुरागाइँले भने । पुन कर्जाको सहुलियतलाई बढाएर दिर्घकालिन बनाउनुपर्ने, उर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउन ७ दिनभित्रै अनुमति प्रक्रिया पुरा गर्नुपर्ने लगायतका माग पनि उनीहरुले अघि सारेको छन् ।
सिटिजन्स बैंकद्धारा चितवनको आश्रमलाई ३ लाखको आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चितवनमा रहेको नव सेवा आश्रमलाई ३ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ । बिहीबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेलाई उक्त रुपैयाँको चेक बैंकका हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले मानिसमा उद्यमशिलताको विकाश हुनु आवश्यक रहेको साथै अध्यात्मले मानिसलाई जीवनयापन गर्न सजिलो बनाउने जानकारी गराएका छन् । हालसम्म आश्रमले विभिन्न उमेर समुहका असमर्थ असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका १४७ जनाको उद्धार गरी आश्रममा ल्याई औषधीउपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आई रहेको छ । साथै हाल ५४ जनाले उक्त आश्रममा सेवा लिई राखेको र ६४ जनालाई उपचार पश्चात परिवारमा पुर्नमिलन गराइएको आश्रमकी अध्यक्षले जानकारी गराएकी छिन् । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बताएको छ ।
एनएमबी बैंकको एफपीओमा ४६ करोड ७० लाखको आवेदन
काठमाडौं । एनएमबी बैंकको थप निष्कासन (एफपीओ) खुलेको दोस्रो दिन बिहीबार ४६ करोड ७० लाख रुपैयाँको आवेदन परेको छ । १४ लाख २ हजार ४०२ कित्ताका लागि आवेदन परेको हो । बुधबारको भन्दा बिहीबार दोब्बर आवेदन परेको बिक्री प्रवन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले बताए । बिहीबारदेखि निष्कासन भएको एफपीओ ४ कार्य दिनभित्र पनि बिक्री हुन नसक्ने अवस्था आएमा संगठित संस्थाले पनि आवेदन दिने पाउने व्यवस्था गरिएको बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । संगठित संस्थाले पनि नकिने आधा दजर्न मर्चेन्ट बैंकरले सकार्ने छन् । एफपीओ ढिलोमा असार २८ गते निष्कासन बन्द हुने कोषले जानकारी दिएको छ । बैंकले चुक्तापुँजी बढाउन १ सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । सर्वसाधारणले न्युनतम १० र अधिकतम ५७ हजार ७० कित्ता एफपीओ खरिदका लागि आवेदन दिन सक्ने छन् । बैंकले प्रिमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्नेछ । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ । बाँकी रहेको रकम जगेडा कोषमा जम्मा हुने छ । बैंकले सो रकम पछि लगानीकर्तालाई लाभांश वितरण गर्न सक्नेछ । बैंकले इक्रा नेपाल लिमिटेडबाट आईपीओको ग्रेडी थ्री प्रमाणपत्र दिएको छ । बैंकको एफपीओमा ६ संस्थाले प्रत्याभूति (अण्डरराइटिङ) गर्ने भएका छन् । लगानी कोषका अतिरित्त ग्लोबल आईएमई क्यापिटल लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् । एनएमबीको एफपीओ प्रतिकित्ता ३७२ रुपैयाँमा कारोबार भएको छ ।
सामसङको नयाँ एयर प्युरिफायर बजारमा, प्रदुषित हावालाई ९९ प्रतिशसम्म स्वच्छ पार्ने
काठमाडौं । सामसङले हालै नयाँ एएक्स३००० एयर प्युरिफायर नेपाली बजारमा ल्याएको छ । उक्त एयर प्युरिफायरले शीघ्र रुपमा कोठाको हावालाई स्वच्छ बनाउदछ । यसमा भएको पिएम २.५ फिल्टरले हावामा भएका हानिकारक कीटाणू एवं पदार्थहरुलाई सहजै हटाई कोठामा स्वच्छ वातावरण सिर्जना गराउने कम्पनीले जनाएको छ । एएक्स३००० सामसङ प्युरिफायर कोठाको जस्तोसुकै प्रदुषित हावालाई स्वच्छ पारी प्रभावकारी रुपमा कार्य गर्दछ । ३२७ मिटर क्युव प्रतिघण्टाको दरमा ३९ स्क्वायर मिटरको कोठामा हावा स्वच्छ पार्न सक्ने क्षमता यसमा रहेको कम्पनीले जनाएको छ । यसमा भएको ट्रिपल प्रिमियम फिल्टरले ९९ प्रतिशसम्म प्रदुषण रहित पार्न सक्दछ । यसमा आउट अद्वितीय फिल्टरहरु जस्तैः प्रि फिल्टर, डियोडराइजेशन फिल्टर र फिएम २.५ फिल्टर रहको छ । नेपाली बजारमा उपलब्ध यस एयर प्युरिफायरको मूल्य २२ हजार ४९० रुपैयाँ रहेको छ । विभिन्न कलरको साथ यसमा डिजिटल डिस्प्ले रहेको छ । यसमा भएको डिस्प्लेले प्रदुषण घटेको जानकारी तुरुन्तै प्रदान गर्दछ । यसको सेन्सरले पि.एम २.५ को तहलाई न्यूमेरिक म्येजरमेन्टको माध्यमले प्रस्तुत गर्दछ ।
ट्रम्प र किम जोङ उनको भेटलाई नेकपाको स्वागत
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उनबीचको भेट वार्तालाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले स्वागत गरेको छ । नेकपाको विदेश विभाग प्रमुख माधव कुमार नेपालले एक विज्ञप्ति निकालेर दुई देशका प्रमुखहरुबीचको वार्तालाई स्वागत गरेका हुन् । दुईबीचको वार्ताले कोरियाली प्रायदिपमा दिगो शान्तिको स्थापना हुने अपेक्षा समेत नेकपाले व्यक्त गरेको छ । नेकपाले दुई कोरियाबीच अब दिर्घकालिन शान्ति स्थापनाका लागि समेत मार्ग प्रशस्त भएको नेकपाले ठहर गरेको छ ।