सिटिजन्स बैंक र ओम हस्पिटलबीच सम्झौता, अस्पतालको सेवा शुल्कमा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । अस्पतालमा आयोजित उक्त समारोहमा बैंककातर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेल र अस्पतालका तर्फबाट म्यानेजिङ्ग डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्ड लिने खातावालाहरुले ओम हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । बैंकले हाल ७४ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सम्पूर्ण बैंकिङ्गसेवाहरु प्रदान गर्दै आएको छ ।
सकियो राष्ट्रिय आर्थिक गणना, ९ लाख व्यवसायीक प्रतिष्ठान करकाे दायरामा
काठमाडौं । राष्ट्रिय आर्थिक गणना सम्पन्न भएको छ । तथ्यांक विभागले जेठ १ गतेदेखि आरम्भ गरेको गणना बिहिबार सम्पन्न भएको हो । ४ हजार ५०० गणकहरुले ७७ वटै जिल्लाहरुमा पुगेर व्यवसायीक प्रतिष्ठानहरुको गणना गरेका थिए । तथ्यांक विभागका निर्देशक अनिल शर्माका अनुसार आगामी १५ दिनभित्र कति व्यवसायीक प्रतिष्ठानहरुको गणना भयो भन्ने प्रारम्भिक आँकडा आउनेछ । विभागले करिब ९ लाख व्यवसायीक प्रतिष्ठानहरु गणना भएको पूर्वानुमान गरेको छ । निर्देशक शर्माले साउन महिनाको पहिलो हप्ता प्रारम्भिक आँकडा आउने बताए । ‘१५ दिनभित्र फारमहरुको संकलन सकिन्छ, त्यसपछि तथ्यांक दर्ता सुरुहुन्छ, साउन पहिलो हप्ता प्रारम्भिक प्रतिवेदन तयार पार्ने योजना छ’, निर्देशक शर्माले भने । प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ का लागि सररकाले ४० करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो । सोमध्ये करिब ३८ करोड रूपैयाँ खर्च हुने पुर्वानुमान गरिएको पनि शर्माले जानकारी दिए । गणनाका लागि जापान सहयोग नियोग(जाईका)ले प्राबिधिक सहयोग उपलब्ध गराएको हो । आर्थिक गणनाले नेपालको अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउने छ भने अनौपचारिक अर्थतन्त्रलाई प्रणालीभित्र ल्याउन सहयोग गर्नेछ । ‘अनौपचारिक अर्थतन्त्रको आकार पत्ता लाग्छ, त्यसलाई कसरी प्रणाली भित्र ल्याउने भन्ने योजना बनाउन सरकारलाई सहयोग पुग्छ’, शर्माले भने । उनले जीडीपीको वास्तविक आकार पत्ता लगाउन पनि यसको भूमिका रहने बताए । सरकारले पहिलो पटक सबै खाले व्यवसायीक प्रतिष्ठानहरुको गणना गरेको हो । जसबाट नेपालमा कति वटा व्यवसायीक प्रतिष्ठान सञ्चालनमा छन् ? अर्थतन्त्रको आकार कत्रो छ ? कति व्यवसायीक प्रतिष्ठानहरु सरकारी निकायमा दर्ता भएका छन् ? कतिले नियमित कर तिरिरहेका छन् ? कति नागरिकले रोजगारी पाएका छन् ? कस्ता प्रतिष्ठानले कति आम्दानी गरेका छन र कर्मचारीलाई कति तलब दिईरहेका छन् ? कति रोजगारी सृजना गरेका छन् ? स्वदेशी कामदार र विदेशी कामदार कति छन् ? लगायतका प्रश्नहरुको जवाफ उपलब्ध गराउनेछ ।
सस्तोमा घरकर्जा चाहियो? जानुस् सिभिल बैंक, १२.२६ प्रतिशत मै ऋण पाइन्छ
काठमाडौं । तपाई घर किन्ने वा नयाँ बनाउने सोचमा हुनुहुन्छ ? बैंकको महंगो ब्याजका कारण घर बनाउन र किन्न सक्नु भएको छैन ? तपाइ सस्तो कर्जा खोजिरहनु भएको छ ? अब चिन्ता नलिनुस सिभिल बैंकले परल मूल्य अर्थात आधार ब्याजदर मै आवास कर्जा दिने भएको छ । बैंकले सिमित अवधिका लागि १२.२६ प्रतिशत मैं आवास कर्जा दिन लागेको हो । गत बैंशाखसम्म बैंकको आधार ब्याजदर १२.२६ प्रतिशत छ । यही दरमा घर बनाउन र किन्नलाई बैंकले कर्जा दिने भएको हो । बैंकले योजना तपाइको साथ हाम्रो तपाइको खुसी हाम्रो खुसी भन्ने नाराका साथ आवास कर्जा ल्याएको हो । यो योजना सीमित अवधिका लागि भएको बैंकले जनाएको छ । यो योजनामा सहभागी हुन शुक्रबारदेखि सुरु हुने प्रोपर्टी एक्सपोको स्टल नम्बर सी १९ वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
नाडेप लघुवित्तको आईपीओ असार १० देखि, २४०० कित्तासम्म आवेदन दिन पाइने
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) असार १० गतेदेखि निष्कासन गर्ने भएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । न्युनतम २० कित्ता र अधिकतम २ हजार ४०० कित्तासम्म भर्न पाइने बिक्री प्रवन्ध नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । आईपीओ निष्कासन बन्द छिटोमा असार १३ र ढिलोमा साउन ७ गतेसम्म तोकिएको नविल इन्भेष्टमेन्टले जनाएको छ । कुल निष्कासन मध्ये ५ प्रतिशत अर्थात २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । यस्तै २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता सामूहिक लगानी कोष (म्युचअल फण्ड) लाई र बाँकी ४ करोड ३२ लाख रुपैयाँ बराबरको ४ लाख ३२ हजार कित्ता सर्वसाधारणलाई छुट्टाइएको हो । आईपीओ निष्कासनपछि संस्थाको चुक्तापँुजी बढेर १६ करोड रुपैयाँ पुग्ने छ । ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । संस्थाको केन्द्रीय कार्यलय धादिङको गजुरीमा छ ।
चौधरी फाउण्डेसनद्वारा विद्यालयलाई १० लाखको शुद्ध खानेपानी प्रणाली हस्तान्तरण
काठमाडौं । चौधरी फाउण्डेसनले चितवन महानगरपालिका वडा नम्बर २८, मेघौलीस्थित राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयका लागि समेत शुद्ध खानेपानी सेवा उपलब्ध गराएको छ । अन्तर्राष्ट्रिय प्रविधीको ‘वाटर फिल्ट्रेसन सिस्टम’ जडान गरि उक्त विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था मिलाइएको हो । चौधरी फाउण्डेसनका अध्यक्ष एवं सांसद विनोद चौधरीले विहीबार विद्यालयमा आयोजित एक समारोहकाबीच ‘वाटर फिल्ट्रेसन सिस्टम’को उद्घाटन गरेका थिए । उक्त अवसरमा बोल्दै उनले समाजसेवा आफ्नो कार्यसूचिको पहिलो नम्बरमा रहेको उल्लेख गर्दै साना साना बालबालिकाहरूका लागि शुद्ध खानेपानीको व्यवस्था मिलाउन पाउदा खुसी लागेको जनाए । चौधरी फाउण्डेसनले शिक्षा र बालबालिकालाई प्रत्यक्ष लाभ हुने क्षेत्रमा आफुलाई संलग्न गराउदै आएको उनको भनाइ छ । ‘देशको उज्यालो भविष्यको आधार तयार गर्न शिक्षा र बालबालिकामा नै पर्याप्त लगानी गर्नु जरूरी छ,’ उनले भने ‘जसबाट भोलीको नेपाल अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सम्भव हुनेछ ।’ फाउण्डेसनका अनुसार करिब १० लाख रूपैयाँ लागतमा उक्त खानेपानी सिस्टम जडान गरिएको हो । जसबाट २४ सै घण्टा शुद्ध खानेपानीको व्यवस्था मिलाइएको छ । यस खानेपानी प्राणालीवाट स्थानीय वासिन्दा पनि लाभान्वित हुने विश्वास गरिएको छ । यसैगरि जीर्ण अवस्थामा रहेको स्कूललाई फाउण्डेसनले रंगरोगन गरेको छ । यसअघि उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोलाबितरण गरीएको थियो । खानेपानी प्रणाली जडान कार्यमा प्लानेट वाटर फाउण्डेशनसँग सहकार्य गरिएको हो ।
कुमारी बैंकद्धारा शैक्षिक सामग्री वितरण
काठमाडौं । कुमारी बैंकले कमलपोखरीस्थित कमल आधारभूत माध्यामिक सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ । आधारभूत तथा गुणस्तरीय शिक्षामा टेवा पुर्याउने उद्देश्यका साथ बैंकले उक्त विषयगत पुस्तक तथा शैक्षिकसामग्री वितरण गरेको हो । गुणस्तरीय शिक्षामा टेवा पुर्याएर बौद्धिक बिकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरीले विद्यालयका प्रधानाध्यापक मनबहादुर खड्कालाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको जानकारी दिएको छ । आगामी दिनमा समेत यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।
खुद्रा व्यापारीलाई अनिवार्य मूल्य सूची राख्न विभागको निर्देशन, अटेर गरे कारबाही हुने
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुको मूल्य अनिवार्यरुपमा सूचीबद्ध गरी बिक्रीस्थलमा राख्न खुद्रा व्यवसायीलाई निर्देशन दिएको छ । बजारमा वस्तुको मूल्यमा एकरुपता कायम राख्न विभागका महानिर्देशक योगेन्द्र गौचनले बजेट जारी भएपछि व्यवसायीले विभिन्न वस्तुमा आफूखुसी मूल्य वृद्धि तथा वस्तुको कृत्रिम अभाव गरेको उजुरी आएको जानकारी गराएका छन् । ‘व्यापारीले मूल्य सूचीका साथै बिल बीजक जारी गर्नुपर्छ, उनले भने ‘अनुगमनका क्रममा त्यसो नगरेको पाइए कारवाही गछौँ ।’ नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठले बजारमा अनधिकृतरुपमा मूल्य बढाउने कालो बजारी तथा कर, अन्तःशुल्क छल्ने व्यापारीलाई आफ्नो संस्थाले कुनै पनि हालतमा संरक्षण नगर्ने प्रष्ट पार्दै विभागको निर्देशनलाई कार्यान्वयन गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधि देवेन्द्र श्रेष्ठले बजेटमा करका दरका नीतिगत परिवर्तन भएको भए पनि त्यसले अति आवश्यक दैनिक उपभोग्य वस्तुमा खासै असर नपर्ने बताए । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले केही आयातित वस्तुमा केही अन्तःशुल्क वृद्धि भएका कारण कुनै वस्तुको सामान्य मूल्य वृद्धि भएको बताउँदै अस्वाभाविक मूल्य वृद्धि गर्ने व्यापारीलाई कारवाही गर्नुपर्ने विचार व्यक्त गरे । अखिल नेपाल महिला संघकी प्रतिनिधि ज्योति गिरीले गलत कार्य गर्ने व्यापारीलाई कारवाही गर्न नसकिएका कारण एउटै वस्तुलाई पसलैपिच्छे फरक फरक मूल्य लिने गरिएकामा चिन्ता व्यक्त गरिन् । रासस
साउदी अरेवियामाथि आयोजक रसियाको गोलको वर्षा, ५ गोल अन्तरले साउदी पराजित
काठमाडौं । विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक रसियाले भारी गोल अन्तरले साउदी अरेवियालाई पराजित गरेको छ । बिहिबार राति सम्पन्न खेलमा रुसले साउदी अरेबियालाई ५–० गोल अन्तरले पराजित गरेको हो । सूरुवातदेखी नै एसियाली राष्ट्र साउदीलाई दबाबमा राखेको रुसले पहिलो हाफमै २–० को अग्रता लिएको थियो । बैकल्पिक खेलाडी चम्किएको खेलमा रुसले साउदीबिरुद्ध सहज जित निकालेको हो । खेलको १२ औ मिनेटमा रुसले युरी गाजिन्स्किको गोलबाट अग्रता लिएको थियो । ४३ औ मिनेटमा बैकल्पिक खेलाडी डेनिस चेरसेवले अग्रतालाई दोब्बर पारे । खेलको ७२ औ मिनेटमा अर्तेम डेजुुबाले तेस्रो गोल गरे । खेलको अतिरिक्त समयमा ब्यक्तिगत दोस्रो गोल गर्दै चेरसेवले घरेलु टोलीलाई ४–० को अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा एलेक्जेन्डर ग्लोभिनले उत्कृष्ट फ्रिकिक गोल गर्दै रुसलाई फराकिलो अन्तरको जित दिलाए । समुह एको पहिलो खेलमा जित हात पार्दै रुसले महत्वपुर्ण ३ अंक जोड्न सफल भएको छ ।