अब भाइबरबाटै आकस्मिक एम्बुलेन्स सेवा पाइने, एनएएसले ल्यायो यस्ताे सुविधा
काठमाडौं । सेवा प्रदायक संस्था नेपाल एम्बुलेन्स सर्भिस(एनएएस)ले आकस्मिक सेवाका लागि भाइबर हट लाइन सुविधा ल्याएको छ । उक्त सुविधाको लागि यस संस्था चौबिसै घण्टा सातै दिन भाइबर हट लाइन ९८०१११५१०२मा जोडिएको छ । अब एम्बुलेन्स सेवा आवश्यक पर्ने हस्पिटलहरु वा बिरामी जो कोहीले भाइबर नम्बर ९८०१११५१०२ मा सिधै सम्पर्क गरेर यो सेवा लिन सक्नेछन् । भाइबरको दक्षिणपूर्वी एशिया क्षेत्रमा व्यापार विस्तार एवं विकास प्रमुख अनुभव नइएरले भने-‘नेपालमा भाइबर हट लाइन जस्तो महत्वपूर्ण सेवा प्रस्तुत गर्न पाएकोमा हामी अत्यन्त हर्षित भएका छौं । हामी सदैव नयाँ र नवीनतम् उपायहरुको माध्यमबाट स्थानीय समुदायहरुलाई साथ दिने प्रयासमा रहँदै आएका छौं ।’ सोही अवसरमा एनएएसको तर्फबाट अमितले भाइबरसँगको साझेदारीबाट भविष्यमा नेपालका नागरिकहरुको सेवामा सहयोग पुग्ने अन्य महत्वपूर्ण सेवाहरु उपलब्ध गराउने बताएका छन् ।
अब टेलिकमको आईएसडी सुविधा ग्राहक आफैले लिन सक्ने, यस्ता छन् प्रक्रिया
काठमाडौं । नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा अब अन्तर्राष्ट्रिय कलका लागि आईएसडी सुविधा सेवाग्राही आफैले लिन सक्ने भएका छन् । यो सेवा आज (असार ०१ गते) देखि नै सञ्चालनमा आएकोे छ । आईएसडी सुविधा शुरुमा लिन जीएसएम मोबाइलका लागि“००००” र सीडीएमए मोबाइलका लागि “१२३४” डिफल्ट पिन नम्बर हुने छ । जीएसएम मोबाइलमा आफ्नो पिन नम्बर प्रयोग गरी आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले #331*PIN# डायल गर्नु पर्नेछ भने सेवा बन्द गर्नको लागि *331*PIN# डायल गर्नु पर्नेछ । साथै, आफ्नो आईएसडी सेवा खुला वा बन्द रहेको जानकारी लिनका लागि *#331# डायल गर्नु पर्नेछ ।सेवाग्राहीले सुरक्षाका लागि डिफल्ड पिन नम्बर परिवर्तन गरी आफ्नो इच्छा अनुसारको पिन नम्बर राख्न सक्ने छन् । यसरी सो पिन नम्बर परिवर्तन गर्नका लागि **03*331*old_PIN*newPIN*newPIN# डायल गर्नु पर्नेछ । साथै सीडीएमए पोष्टपेड मोबाइलमा पिन नम्बर परिवर्तन गर्न *81 डायल गर्नु पर्नेछ । आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले *82 डायल गर्नु पर्नेछ भने सेवा बन्द गर्नको लागि *820 डायल गर्नु पर्नेछ । जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा यो भन्दा पहिले पनि आईएसडी सुविधा लिन सकिने व्यवस्था थियो । तर त्यसका लागि कार्यालयमै सम्पर्क राख्नु पर्थ्यो । अब आफ्नै मोबाइलबाट नम्बर डायल गरी सो सुविधा लिन सक्ने भए पछि सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ ।
जलविद्युत् उत्पादनमा कर्णाली प्रदेश सबैभन्दा कमजोर
काठमाडौं । हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनाका आधारमा हेर्दा कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिएको छ । जलविद्युत्को क्षमता अत्याधिक भए पनि निर्माण सम्पन्न भएको आधारमा हेर्दा कर्णाली प्रदेशमा हालसम्म ३।८ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार उत्पादनका हिसाबले कर्णाली प्रदेश कमजोर देखिएको हो । बैंककाअनुसार उत्पादन भएको विद्युत्का आधारमा प्रदेश नं ४ मा सबैभन्दा बढी ४५९ मेगावाट विद्युत् उत्पादन भएको छ । यस्तै प्रदेश नं ३ मा ३४० मेगावाट, प्रदेश नं १ मा १२३, प्रदेश नं ७ मा ३८.५ र प्रदेश नं ५ मा २१.७ मेगावाट विद्युत् उत्पादन भएको छ । प्रदेश नं २ मा कुनै पनि जलविद्युत् आयोजना सञ्चालन तथा निर्माणाधीन अवस्थामा छैन । निर्माणको चरणमा रहेका चार हजार ६४१ मेगावाट क्षमताका आयोजनामध्ये ५० प्रतिशतभन्दा बढी क्षमताका आयोजना प्रदेश नं ३ मा रहेका छन् । सो प्रदेशमा दुई हजार ३२६ मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा छन् । प्रदेश नं ४ मा एक हजार ४०४ मेगावाट, प्रदेश १ मा ७६५, प्रदेश नं ७ मा ८९, कर्णाली प्रदेशमा करिब ४० मेगावाट र प्रदेश नं ५ मा १६ मेगावाट क्षमताका आयोजना निर्माणका चरणमा छन् । जलविद्युत् उत्पादन क्षमताका आधारमा प्रदेश नं २ सबैभन्दा कमजोर देखिएको छ । नेपालले हालसम्म मान्दैआएको कूल ८३ हजार मेगावाट क्षमतामध्ये प्रदेश नं २ मा २०० मेगावाट मात्र क्षमता रहेको पाइएको छ । विद्यमान संघीय संरचनामा जलविद्युत्तर्फ सबैभन्दा कमजोर अवस्था प्रदेश नं २ को रहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था ९इपान०का अनुसार प्रदेश नं २ मा विद्युत् उत्पादनका लागि वैकल्पिक उपाय र सोच जरुरी छ । कूल जलविद्युत् उत्पादन क्षमताका हिसाबले प्रदेश नं ७ सबैभन्दा धनी देखिएको छ । सो प्रदेशको विद्युत् उत्पादन क्षमता १८ हजार १४९ मेगावाट छ । प्रदेश नं ५ को उत्पादन क्षमता १४ हजार ३० मेगावाट, प्रदेश नं १ मा १२ हजार ९५३ मेगावाट, प्रदेश नं ३ मा १२ हजार ६३६ मेगावाट, प्रदेश नं ४ मा १० हजार २२८ मेगावाट तथा कर्णाली प्रदेश ११ हजार ८०३ मेगावाट विद्युत् उत्पादनको क्षमता राख्दछ । सञ्चालनमा रहेका तथा हाल उत्पादन भइरहेको विद्युत् आयोजनालाई हेर्दा प्रदेश नं ४ अग्रस्थानमा छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न नहुँदासम्म प्रदेश नं ४ अग्रस्थानमा रहने विद्युत् विकास विभागको तथ्यांकले देखाउछ । सो आयोजना सम्पन्न भए प्रदेश नं ३ अग्रस्थानमा पुग्नेछ । हालसम्म एक हजार ८० मेगावाट कूल जडित क्षमता पुगेको छ । चार हजार ६४१ मेगावाट क्षमताका आयोजना निर्माणका चरणमा छन् । सरकारले आगामी तीन वर्षमा तीन हजार मेगावाट, पाँच वर्षमा पाँच हजार तथा दश वर्षमा निजी क्षेत्रसहित १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । रासस
एनआईसी एशिया र सेन्चुरी बैंकले ज्योति रेमिट सेवा सञ्चालन गर्ने
काठमाडौं । ज्योति विकास बैंकले एनआईसी एशिया बैंक र सेन्चुरी बैंकसँग रेमिट सेवा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौता पश्चात एनआईसी एशिया र सेन्चुरी बैंकका सबै शाखाबाट ज्योति रेमिटमार्फत रकम पठाउन र भक्तानी गर्न सकिने छ । ज्योति बिकास बैंक र एनआईसी एशिया बैंकबीच हालै सम्झौता भएको हो । सम्झौतामा ज्योति विकास बैंकको तर्फबाट संचालन विभाग प्रमूख बलदेव थापा र एनआईसी एशिया बैंकको तर्फबाट चिफ मार्केटिङ अफिसर जयन्द्र रावलले हस्ताक्षर गरे । त्यस्तै ज्योति विकास बैंक सेन्चुरी बैंकबीच पनि “ज्योति रेमिट’’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । ज्योति विकास बैंकको तर्फबाट संचालन विभाग प्रमूख बलदेव थापा र सेन्चुरी बैंकको तर्फबाट प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे । यस सम्झौता पश्चात सेन्चुरी बैंकका सम्पुर्ण शाखाबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।
एनएमबी बैंकको एफपीओमा ७७ करोडको आवेदन
काठमाडौं । एनएमबी बैंकको थप निष्कासन (एफपीओ) खुलेको तेस्रो दिन शुक्रबारबारसम्म ७७ करोड रुपैयाँको आवेदन परेको छ ।२८ हजार २१० आवेदकबाट २३ लाख १२ हजार ३१२ कित्ताका लागि आवेदन परेको हो । आइतबारसम्म एफपीओ पुरा बिक्री नभए सोमबारदेखि संस्थागत लगानीकर्तालाई खुला गरिने बिक्री प्रवन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले बताए । संगठित संस्थाले पनि नकिने आधा दजर्न मर्चेन्ट बैंकरले सकार्ने छन् । उनले संस्थागत लगानीकर्तालाई खुला गरेपछि पुरै बिक्री हुने उनले बताए । एफपीओ ढिलोमा असार २८ गते निष्कासन बन्द हुने कोषले जानकारी दिएको छ । बैंकले चुक्तापुँजी बढाउन १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । सर्वसाधारणले न्युनतम १० र अधिकतम ५७ हजार ७० कित्ता एफपीओ खरिदका लागि आवेदन दिन सक्ने छन् । बैंकले प्रिमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्नेछ । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ । बाँकी रहेको रकम जगेडा कोषमा जम्मा हुने छ । बैंकले सो रकम पछि लगानीकर्तालाई लाभांश वितरण गर्न सक्नेछ । बैंकले इक्रा नेपाल लिमिटेडबाट आईपीओको ग्रेडी थ्री प्रमाणपत्र दिएको छ । बैंकको एफपीओमा ६ संस्थाले प्रत्याभूति (अण्डर राइटिङ) गर्ने भएका छन् । लगानी कोषका अतिरित्त ग्लोबल आईएमई क्यापिटल लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् । एनएमबीको एफपीओ प्रतिकित्ता ३७२ रुपैयाँमा कारोबार भएको छ ।
आज रामोस भर्सेस रोनाल्डो र सलाह भर्सेस सुवारेज
काठमाडौं । विश्वकपको दोस्रो दिन एकै क्लबबाट खेल्ने स्पेनका कप्तान सर्जियो रामोस र पोर्चुगलका कप्तान क्रष्टियानो रोनाल्डो एक अर्का विरुद्ध मैदानमा उत्रिदैछन् । नेपाली समय अनुसार ११ ४५ मा शुरु हुने खेलमा उत्कृष्ट स्ट्राइकर रोनाल्डो र उत्कृष्ट डिफेन्डर रामोस प्रतिस्पर्धा हुने भएको हो । खेलको २ दिन अघि स्पेनको प्रशिक्षक जुलियन लोपेटेगुइलाई बर्खास्त गरेपछि रामोसले विश्वकप अघि आफुलाई मलामी जानु परेको जस्तो अनुभव भएको बताएका छन् । प्रशिक्षक बर्खास्तबारे मार्कासँग प्रतिक्रिया दिदैं रामोसले यसबाट आफु दुखि भएको भन्दै विश्वकपको अन्त्य खुशिसाथ गर्न चाहेको बताए । यस्तै बेलुका नेपाली समय अनुसार ५ ४५ बजेबाट शुरु हुने उरुग्वे र इजिप्टको खेलमा लुइज सुवारेज मोहमद सलाह एक अर्का विरुद्ध मैदानमा उत्रिदैछन् । तर इजिप्टका सञ्चार माध्यमले भने सलाह उरुग्वे विरुद्धको खेलमा खेल्न नसक्ने बताएका छन् ।
वरुण हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन
काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
बिजुली चोरीमा संलग्न दुई वडाध्यक्षहरु पक्राउ
काठमाडौ । विद्युत चोरीमा संलग्न दुई वडाध्यक्षहरु पक्राउ परेका छन् । चोरी नियन्त्रणका लागि बिहीबार खटिएको नेपाल विद्युत प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर७का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर५का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको हो । गृह मन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुन, गृह सचिव प्रेमकुमार राई, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल लगायतको बुधबारको बैठकले विद्युत चोरी नियन्त्रणलाई परिणाममूखीरुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । यही आधारमा प्रत्येक जिल्ला प्रशासन कार्यालय र प्राधिकरणका शाखा कार्यालयले समन्वय गरी संयुक्तरुपमा चुहावट नियन्त्रणको कार्यायोजना बनाएर काम सुरु गरिसकेका छन् । सुरक्षाकर्मीसहित खटिएको प्राधिकरण काभ्रे बितरण केन्द्रकोे टोलीले वडाध्यक्ष लम्सालले कुन्ताबेंसीमा हुकिङ गरी कुखुरा फर्ममा विद्युत प्रयोग गरेको फेला पारेपछि पक्राउ गरेको थियो । पक्राउ गरी लम्साललाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको थियो । उनी ४१ हजार २ सय ८७ रुपैयाँ जरिवाना तिरी शुक्रबार रिहा भएका छन् । यसैगरि,राजविराज बितरण केन्द्रको टोलीले तिरहुत गाउँपालिका-५का वडाध्यक्ष रामानन्द चौधरीले हुकिङ गरी घरमा विद्युत प्रयोग गरेको फेला पारेको थियो । टोलीले वडाध्यक्ष सहित हुकिङ गर्ने २१ जनालाई पक्राउ गरेको थियो । वडाध्यक्ष चौधरी १५ हजार जरिवाना तिरी शुक्रबार छुटेका छन् । विद्युत चोरी नियन्त्रण ऐन-२०५८ र नियमावली २०५९मा विद्युत चोरी गरेर प्रयोग गरिएका उपकरणलाई लाग्ने लोडको आधारमा हिसाब गरी एक वर्षको जरिवाना तिराउने व्यवस्था छ । यही व्यवस्थाअनुसार निर्धारण गरिएको जरिवाना तिरी दुवै वडाध्यक्ष छुटेका हुन् । यस अघि वर्दियाको मधुवनी नगरपालिका-२का वडाध्यक्ष पहाडी थारु पनि विद्युत चोरीमा पक्राउ परी जरिवाना तिरेर रिहा भएका थिए । प्राधिकरणका बितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले हेरक क्षेत्रीय कार्यालयले बढी विद्युत चुहावट हुने जिल्लामा नियन्त्रणको अभियान नै चलाउन लागेको जानकारी दिए । ‘विद्युत चोरी नगर्न तथा मिटर जडान गर्न आग्रह गर्दै माईकिङ गर्ने, प्रशासनको सहयोगमा हुकिङ हुने क्षेत्रमा अपरेसन सञ्चालन गर्ने लगायतका काम अभियानकैरुपमा मुलुकभरी सञ्चालन गर्दै छौं’,उनले भने,‘ठूला ग्राहक (थ्रि फेज)को मिटर चेक गरिने छ ।’ प्राधिकरणको प्रणालीमा चैतसम्ममा २०.०६ प्रतिशत विद्युत चुहावट छ । चालू आर्थिक वर्ष ०७४/७५मा प्रणालीमा रहेको चुहावटलाई २०.०६ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ । गत आर्थिक वर्ष ०७३/७४मा चुहावट २२.९ प्रतिशत थियो । तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर तथा बितरण लाइनको सदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।