आयोजक रसियाको तेस्रो गोल, साउदी अरेविया दवावमा
काठमाडौं । विश्वकप फुटबलको उद्घाटन खेलको अहिले साउदी अरब र आयोजक रुसबीच प्रतिस्पर्धा भईरहेको छ । दोस्रो हाफको खेल जारी रहदाँ रुसले ३–० को अग्रता लिएको छ । खेलको ७२ औ मिनेटमा रुसका अर्तेम डेजुुबाले तेस्रो गोल गरेका छन् । उनको यो गोलले रसियाले जित्ने संभावना बढाएको छ । यद्यपी खेल जारी छ । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेको डेजुबाले घरेलु टोलीका लागि तेस्रो गोल गरे । घरेलु टोली रुसले खेलको १२ औ मिनेटमा युरी गाजिन्स्किको गोलबाट अग्रता लिएको थियो । ४३ औ मिनेटमा डेनिस चेरसेवले घरेलु टोलीको अग्रतालाई दोब्बर पारेका थिए । विश्वकपको उद्घाटन खेलमा घरेलु टोली हाबी बनेको छ । एकपछि अर्को मुभ बनाउदै उसले साउदी अरबलाई दबाबमा राखेको छ ।
विश्वकप अन्तर्गतको पहिलो खेल सुरु, आयोजक रसिया २ गोलले अगाडी
काठमाडौं ।विश्वकप अन्र्तगत पहिलो उद्घाटन खेलमा आयोजक रसियाले सउदी अरेवियालाई २ गोलले पछि पारेको छ । खेल सुरु भएको १२ औ मिनेटमा रसियाका युरी गाजिन्स्किले हेडमार्फत उत्कृष्ट गोल गरेका थिए । यस्तै ४३ मिनेटमा डेनिस चेरसेवले अर्को गोल गरेका छन् । सन् २०१८ को विश्वकपमा पहिलो गोलकर्ता युरी गाजिन्स्क् िभएका छन् । पहिलो हाफ भरी रसियाले सउदी अरेवियालाई दवावमा राखेको छ । जिन्स्किले हेडमार्फत उत्कृष्ट गोल गरेका छन् । दुवै निकै आक्रामक खेल खेलिरहेका छन् । रुससँग युरोपियन फुटबल लिगमा अभ्यस्त खेलाडीहरु छन् । तुलनात्मक रुपमा साउदी अरेबियाभन्दा रुस निकै बलियो देखिएको छ । उद्घाटन खेल जित्ने टोलीको दोस्रो चरण पुग्ने सम्भावना बलियो हुनेछ ।समूह ए मा रुस र साउदीसँगै उरुग्वे, इजिप्ट जस्ता बलिया टोलीहरु रहेका छन् । विश्वकपको दोस्रो चरण प्रवेशको लागि पनि दुवैलाई यो खेल निकै महत्वपूर्ण छ । दुवैको लक्ष्य ३ अंक जोड्ने हुनेछ ।समूह ए मा रहेको दुवै टोली उद्घाटन खेल जित्दै बलियो उपस्थिति बनाउन चाहन्छ ।
पर्याप्त पूर्वाधारदेखि आर्थिक एकिकरणकाे अभावमा दक्षिण एशिया अगाडी बढ्न सकेन–भवानी राणा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाले दक्षिण एशिया एक महत्वपूर्ण बजार हुँदा हुँदै पनि विभिन्न कारणले आर्थिक रुपमा सशक्त ढङ्गबाट अगाडी बढ्न नसकेको बताइन् । उनले १३ औं चीन–दक्षिण एशिया व्यवसाय फोरम (सीएसएबीएफ) को बैठकलाई चीनको यूनान प्रान्तको कुनमिङमा बिहीबार संबोधन गर्दै पर्याप्त पूर्वाधार, आपसी सम्पर्क विस्तार तथा आर्थिक एकिकरणको अभावका कारण अर्थिक विकासको क्षेत्रमा पछाडी पर्न गएको स्पष्ट पारिन् । ‘अर्को महत्वपूर्ण पक्ष भनेको यस क्षेत्रका राष्ट्रहरूले अवलम्वन गरेका आर्थिक नीतिहरू एकअर्काबीच सामन्जस्यता हुन सकेको छैन,’ उनले भनिन् ‘प्रचुर सम्भाव्यतालाई यथार्थतामा रुपान्तरण गर्न र सिंगो सार्क क्षेत्रलाई आर्थिक रुपमा सम्पन्न बनाउन संयुक्त सहकार्य अबको आवश्यकता हो ।’ वलियो यूवा जनशक्ति र पर्याप्त स्रोतहरुको अधिकतम प्रयोगमार्फत जनताको जीवनस्तर सुधार गर्नु पर्ने उनको भनाइ छ । सिंगो सार्क राष्ट्र तथा चीन समेत एकजुट भई औद्योगिक विकासमा सहयोग र सहकार्यका माध्यमबाट अगाडी बढ्नु पर्ने उनको जोड छ । त्यस्तै उनले बीआरआई अभियान दक्षिण एशिया तथा चीन बीचको सम्बन्ध सेतुको रुपमा रहेको बताइन् । बीआरआई अभियान दक्षिण एशिया तथा चीनबीचको विकासको लागि कोशेढुंगा सावित हुने उनको विश्वास छ । चीन तथा दक्षिण एशियाली राष्ट्रहरूसँग दक्षिण पूर्वी एशिया, मध्य एशिया, यूरोप, अफ्रिका र बाँकी भूभागबीच सम्पर्क स्थापित गरी यी देशका अर्थतन्त्रलाई जोड्ने शताव्दीकै महत्वपूर्ण आधार हुने अध्यक्ष राणाको विश्वास छ । ‘नेपालको मुख्य प्राथमिकतानै बाह्य मुलुकसँग प्रभावकारी सम्पर्क स्थापना गर्नु हो,’ उनले भनिन् ‘भौतिक रुपमा मात्र नभइ पछिल्लो पटक उच्च गतिमा अगाडी बढीरहेको सूचनाको राजमार्गमार्फत समेत नेपाललाई समाहित गर्न आवश्यक छ ।’ आर्थिक रुपान्तरणमा बीआरआई महत्वपूर्ण माध्यम हुन सक्ने उनको भनाइ छ । ‘यस महत्वपूर्ण समारोहमा म चिनिया लगानीकर्ताहरुलाई चीन तथा बीआरआईसँग जोडिएका देशहरूमा खपत हुन सक्ने वस्तुहरू उत्पादन गर्ने गरि नेपालमा लगानी गर्न आग्रह गर्दछु,’ उनले थपिन् ‘त्यसो हुन सकेमा नेपाललाई औद्योगिक क्षेत्रमा चाहेको लगानीमार्फत वाह्य देशसँगको सम्पर्क विस्तारमा सहयोग पुग्नेछ ।’ उनको अनुसार आजको भूमण्डलीकरणको यूगमा राष्ट्रहरु बीचको प्रतिस्पर्धा भन्दा पनि आपसी सहकार्य एक महत्वपूर्ण विषयको रुपमा विश्व अर्थतन्त्रमा देखा परिरहेको छ । आर्थिक गतिविधिको विस्तारबाट अधिकतम फाइदा उठाउन हामी बीचको आपसी सम्बन्ध अझ बढी घनीभूत र आपसी सांस्कृतिक तथा जनस्तरको सम्बन्ध तीव्र हुनैपर्दछ । आपसी लाभका लागि अर्को महत्वपूर्ण उपाय भनेको राष्ट्रहरु बीच भोलीका कर्णधार यूवाहरुलाई एकत्रित गरी कार्यक्रम आदान प्रदान, शिक्षा स्वास्थ्य, विज्ञान र प्रविधि, सांस्कृतिक र पर्यटन जस्ता क्षेत्रमा सहकार्य गरी चीन तथा दक्षिण एशियालाई जोड्न सकिने बलियो सम्भावना रहेको उनको भनाइ छ । बैठकमा महासंघको प्रतिनिधिमण्डलका सदस्यहरु, महासंघको कार्यकारिणी समितिका सदस्यहरू गुणनिधि तिवारी, शंकर बोगटी, किशोर आचार्य र प्रवलजंग पाण्डे, महासंघको व्यापार मेला समितिका सहसभापति सविन श्रेष्ठ, लगायत उद्यमी व्यवसायीहरूको वैठकमा सहभागिता थियो । सोही अवसरमा कुनमिङमा चाइना आयात निर्यात व्यापार तथा दक्षिण एशियाली व्यापार मेला समेत आयोजना भएको छ । उक्त मेलामा नेपालबाट १०० वटा स्टलहरुमार्फत नेपाली वस्तुहरूको प्रदर्शनी गरिएको छ ।
विद्यार्थीलाई ऋण दिनका लागि कार्यविधि बनाउन माग
काठमाडौ । दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको धितोमा ऋण प्रदान गर्न कार्यविधि बनाउन सरकारसँग माग गरेका छन् । क्रान्तिकारीको कार्यालय बागबजारमा आज बसेको दुई संगठनको बैठकले विद्यार्थीलाई बजेटमार्फत सरकारले शैक्षिक प्रमाणपत्र राखेर ऋण दिने योजनाको स्वागत गर्दै कार्यविधि बनाई ऋण प्रदान गर्न अर्थ मन्त्रालयसँग माग गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए। बैठकले विद्यार्थीलाई बजेटमार्फत ऋणमा व्यवस्था गरिएको ५ प्रतिशत व्याजको विद्यमान प्रावधान खारेज गरी विनाव्याज शैक्षिक ऋण उपलब्ध गराउन माग गरेको छ । बैठकले सरकार र नेपाल आयल निगमलाई हालै गरिएको पेट्रोलियम पदार्थको मुल्यवृद्धि अविलम्ब फिर्ता गर्न तथा पेट्रोलियम पदार्थमा तोकिएको करको दर घटाउन र निगमको अनावश्यक फजुल खर्च र चुहावट रोक्न समेत माग गरेको छ । विगतमा रातो र नीलो गरी दुई खालका सिलिन्डर बनाई रातो सिलिन्डरलाई सहुलियतपूर्ण दरमा वितरण गर्ने विद्यार्थी संगठनसँगको सम्झौता कार्यान्वयन गर्नुपर्ने समेत माग बैठकले गरेका छ । शिक्षामा छुट्याइएको बजेट अपर्याप्त रहेकाले २० प्रतिशत बजेट छुट्याउन पुनरवलोकन हुनुपर्ने, ‘संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका–२०७२’ कार्यान्वयन गर्न र बढाइएको शुल्क फिर्ता गर्न विद्यार्थी संगठन र शिक्षा मन्त्रालयबीच भएको सहमति कार्यान्वयन गर्नुपर्ने, मुलुकलाई अनावश्यक आर्थिक भार पर्ने गरी भूतपूर्व विशिष्ट श्रेणीका पदाधिकारीलाई सुविधा दिन अघि बढाइएको प्रक्रिया रोक्नुपर्ने, समयमा काम सम्पन्न नगर्ने ठेकेदार तथा महँगी, कृत्रिम अभाव र कालोबजारी गर्ने व्यापारीलाई कारवाही गर्नुपर्ने माग पनि गरिएको छ । बैठकले कानुन संकायअन्तर्गत नेपाल ल क्याम्पसमा देखिएको भर्ना समस्या समाधान गर्न अघिल्लो शैक्षिकसत्रकै संख्या बराबरका विद्यार्थीको भर्ना सुनिश्चित हुने गरी भर्ना प्रक्रिया अगाडि बढाउन समेत माग गरेको छ । बैठकमा अनेरास्ववियुका अध्यक्ष नवीना लामा, महासचिव ऐन महर, क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङलगायतको सहभागिता थियो । रासस
बीमा समितिमा वेहालः अध्यक्ष हाजिरी मात्रै गर्ने, कार्की घर जाँदै, रेग्मी जगेडामा
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति लथालिंग भएको छ । अाफू विरूद्ध सर्वाेच्चमा उजुरी परेपछि समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले महत्वपूर्ण फाइलमा सहि गर्न छाेडेका छन् । निमित्त कार्यकारी निर्देशक श्रीमान कार्की असार १ गतेदेखि अनिवार्य अवकास पाएर घर जाँदैछन् । समितिमा एक मात्र कार्यकारी निर्देशक पद छ, उक्त पद रिक्त रहेको चार बर्ष बितिसकेको छ । त्यसबीचमा कार्कीलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिईएको थियो । निर्देशक कमल रेग्मीलाई आन्तरिक खटपटका कारण जगेडामा राखिएको लामो समय भैसकेको छ । उनी कार्यालय पुगेर हाजिरी गर्छन र दिनभर अध्ययन गरेर साँझ निवास फर्कन्छन् । समितिका अध्यक्ष चापागाइँ बीमाको विज्ञ नभएकाे भन्दै अधिवक्ता डिल्लीप्रसाद न्यौपानेले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए । तत्काल काम नगर्न अन्तरिम आदेश माग्दै दायर गरिएको मुद्दामा सर्वाेच्चले त्यस्तो आदेश दिएकाे छैन तर सर्वाेच्चले बीमा समितिको अध्यक्ष बन्ने योग्यताको प्रमाण पेश पत्र काटेकाे स्राेतले बतायाे । जेठ २२ गते सर्वाेच्च अदालतका न्यायधिक आनन्दमोहन भट्टराईको एकल इजलासले अध्यक्ष बन्ने योग्यताको प्रमाण पत्र पेश गर्न भनेपछि चापागाइँले महत्वपूर्ण विषयका फाइल छुन छाेडेकाे स्राेतले बतायाे । १८ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी, एउटा पुनर्बीमा कम्पनी गरि ३९ वटा कम्पनीको नियमन गर्ने निकायको उच्च नेतृत्व तितरवितर हुँदा यस क्षेत्र नराम्ररी प्रभावित हुने देखिएकाे छ ।
४० मेगावाटको रघुगंगा आयोजनामा ठेकेदार परिचालन
बाबियाचौर, म्याग्दी । ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजनाको काममा ठेकेदार परिचालन भएको छ ।नेपाल विद्युत् प्राधिकरणको शत्प्रतिशत लगानी रहेको रघुगंगा निर्माणका लागि ६ महिना अगाडी ठेक्का सम्झौता भएको थियो । भारतीय कम्पनी जेपी एशोसिएट्सले कार्यक्षेत्रमा प्रारम्भिक चरणको नक्साङ्कनको काम शुरु गरेको कम्पनीका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले बताए । ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकले जेठ १० गते ठेक्का सम्झौताको स्वीकृति दिएको हो । कम्पनीले डिजाइन र व्यवस्थापनको काम शुरु गरेको छ भने बाँध, सुरुङ र विद्युत्गृहको काम एकसाथ अघि बढाउने कार्ययोजना बनाएको छ । आगामी ३९ महिनामा आयोजनाबाट विद्युत् उत्पादन गर्ने सम्झौतामा उल्लेख छ । आयोजना निर्माणको चरणमा प्रवेश गरेपछि स्थानीय बासिन्दाले लगानीको अवसर पाउनेछन् । यसअघि छनोट भएको भारतको आइभिआरसिएल प्रोजेक्ट लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट आयोजना निर्माण गर्न लागिएको हो । आयोजना नदीको बहावमा आधारित छ । यसको सम्भाव्यता अध्ययन सन् १९९८ मा भई सन् २००८ मा अद्यावधिक गरेको हो । आयोजनाका लागि आवश्यक २८२ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । आयोजना म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले, झीँ र दग्नाममा पर्छ । झीँ र दग्नामको सीमामा बाँध रहेको आयोजनाको विद्युत्गृह पिप्लेको तिल्केनीचौरमा रहने बताइएको छ । रासस
राष्ट्रिय वाणिज्य बैंकको १२औं साधारणसभा सम्पन्न
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको बिहीबार सम्पन्न उक्त सभाले आ.व. २०७३/०७४ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभामा बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले राष्ट्रिय वाणिज्य बैंक विश्वासनीय भएको र आगामी दिनमा थप सृदृढ बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । बैंकको हाल ६९ जिल्लामा १९२ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । चालु आवको तेस्रो त्रैमाससम्म बैंकले १ खर्व ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिमा बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।
सनराइज बैंकको शाखा ओखलढुङ्गाकोे मोलुङ्गमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले बिहिबार ओखलढुङ्गाकोे मोलुङ्गमा आफ्नो ८७औं शाखा बिस्तार गरेको छ । मोलुङ्ग शाखाकोे उद्घाटन संघीय प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार, मोलुङ्ग गाउँपालिकाका अध्यक्ष मणिराज राई र बैंकका सहायक महाप्रबन्धक सर्बेन्द्र मिश्रले संयुक्त रुपमा गरेका छन् । बैंकले ग्रामीण क्षेत्रका ग्राहकहरुलाई सहज रूपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले ओखलढुङ्गाकोे मोलुङ्गमा शाखा विस्तार गरेको हो ।