विकासन्युज

झण्डै २ दशकपछि नेपालमा बिजुली छ्यालव्याल, माग भन्दा १०० मेगावाट आपूर्ति बढी

काठमाडौं । लामो समयपछि प्रणालीमा माग भन्दा बढी बिजुली आपूर्ति भएको छ । प्रणालीमा अहिले माग भन्दा झण्डै १०० मेगावाट हारहारीमा बिजुली बढी रहेको छ । हाल बिजुलीको माग ११७५ देखि १२०० मेगावाट रहेको छ । तर आपूर्ति भने १३०० मेगावाट रहेको नेपाल विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख विष्णु श्रेष्ठले बताए । उनले लामो समयपछि प्रणालीमा बढी बिजुली आपूर्ति भएको जानकारी दिए । श्रेष्ठका अनुसार विद्युत प्राधिकरणका आयोजनाबाट ४५०, भारतबाट ५०० र निजी उत्पादकबाट ३५० देखि ४०० मेगावाट बिजुली आपूर्ति भइरहेको छ । माग भने बढीमा १२०० मेगावाट पुग्ने गरेको छ । आन्तरिक उत्पादनबाट मात्रै ९०० मेगावाट हारहारीमा बिजुली आपूर्ति हुने गरेको छ । हाल ठुला आयोजना कालिगण्डकी, १४४, मध्यमस्र्याङदी ७०, तल्लोमस्र्याङदी ६९ मेगावाट बिजुली उत्पादन भइरहेको छ । वर्षाद सुरु भएपछि सबै आयोजना पुर्ण क्षमतामा सञ्चालन भइरहेको प्रमुख श्रेष्ठले बताए । यस्तै एक मात्र जलासययुक्त आयोजना कुलेखानीमा पानीको सतह १ हजार ५०५ मिटर रहेको छ । गत वर्षको भन्दा ५ मिटर बढी रहेको उनले सुनाए । उद्योगलाई ३०० मेगावाट व्यवस्था गरेपनि २०० मेगावाट हारहारीमा खपत हुने गरेको छ । बढी बिजुलीको माग हुने साँझमा उद्योग सञ्चालन कम हुने भएकाले त्यसबेला बिजुलीको माग कम भएको उनको भनाई छ । दुई दशकपछि नेपालमा पहिलो पटक बिजुली छ्यालव्याल भएको हो । मुलुक लोडसेडिङमुक्त भएपछि बिजुलीको मागमा पनि कमी आएको छ । विद्युत प्राधिकरणले यो वर्ष बिजुलीको माग १५०० मेगावाट बढी हुने प्रक्षेपण गरेपनि १२०० मेगावाटको हारहारीमा मात्र माग भएको छ । लोडसेडिङ भइरहेको भए यो माग १५०० मेगावाट नाघने थियो ।  

समता माइक्रोफाइनान्सको असार १२ गते बुक क्लोज, हकप्रद सेयर जारी गर्दै

काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी असार १२ गते बुक क्लोज हुने भएको छ । संस्थाको हालै सम्पन्न ६४औँ बैठकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन कम्पनीको कारोबार बन्द गर्ने निर्णय गरेको हो । फाइनान्सले २ बराबर १ को अनुपात अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल संस्थाको चुक्ता पुँजी ३ करोड ७९ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पछि संस्थाको पुँजी ५ करोड ६८ लाख रुपैयाँ पुग्ने छ ।

माउन्टेन हाइड्रोले १२ करोड ५० लाखको आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले अनुमति दिएकाले आईपीओ निष्कासन गर्न माउन्टेनलाई बाटो खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पाँचथरमा २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना सम्पन्न गरेको छ । स्थानीयलाई बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नेछ ।    

महालक्ष्मी विकास बैंकद्धारा मृतकका परिवारलाई ७ लाख रुपैयाँ सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले मृतकका परिवारलाई ७ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले तुलसीपुर शाखामा कार्यरत किसोरकुमार बडुको असामयिक निधन भएकोमा बडुको परिवारलाई सो मात्राको रकम सहयोग गरेको हो । बैंकले गत जेठ ३० गते बैतडी शाखामा आयोजित एक कार्यक्रमबीच शोक सन्तप्त परिवारलाई उक्त रकम प्रदान गरेको हो ।  सोही अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले पनि व्यक्तिगत तर्फबाट २५ हजार रुपैयाँ सहयोग गरेका थिए । उक्त रकमको चेकहरु स्व. बडुका पिता जनकबहादुर बडुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्तान्तरण गरेका हुन् । संस्थाका कर्मचारी बडुको २०७४ साल चैत्र ११ गते मोटरसाइकल दुर्घटना परी असामयिक निधन भएको थियो ।

नेपाल बैंकले एफपीओ निष्कासन गर्न पायो अनुमति, प्रतिकित्ता २८० रुपैयाँ

काठमाडौं । नेपाल बैंकले प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) ल्याउन स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ ल्याउन स्वीकृति दिएको हो । बोर्डले अनुमति दिएपछि एफपीओ निष्कासन गर्न बैंकलाई बाटो खुला भएको छ । बैंकको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर एफपीओ निष्कासन हुनेछ । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ ।८ वटा मर्चेन्टले बैंकले एफपीओको प्रत्याभूति (अण्डरराइटिङ) गर्ने सहमति जनाएका छन् । बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । मर्चेन्ट बैंकरले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँको अण्डरराइटिङ गरेका छन् । सीबीआईएल क्यापिटल लिमिटेड भएको छ । उसले १ अर्ब १५ करोड रुपैयाँको लिन सम्झौता गरेको छ । यस्तै ग्लोबल आईएमई क्यापिटल लिमिटेडले १ अर्ब १३ करोड, एनआईबीएल एस क्यापिटल लिमिटेडले ८९ करोड ९७ लाख रुपैयाँको लिने भएका छन् । यस्तै, सीबीआईएल क्यापिटल लिमिटेडले ४५ करोड, सनराइज क्यापिटल लिमिटेडले ३६ करोड, लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले ४५ करोड सानिमा क्यापिटल लिमिटेडले २७ करोड र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले २३ करोड रुपैयाँको प्रत्याभूति गरेका छन् । एफपीओमा १०० प्रतिशत प्रत्याभूति गर्नुपर्ने व्यवस्था छ । बैंकले पुँजीगत आधार अझ मजवुत बनाउन बैंकले प्रिमियम मूल्यमा बैंकले १ करोड करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । एफपीओबाट ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ प्राप्त हुने छ । १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्तापुँजीमा र बाँकी संचित कोषमा जम्मा हुनेछ । संचित कोषबाट लगानीकर्ताले वर्षेनी लाभांश पाउने छन् । बैंकको चुक्तापुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ । बैंकले ९ महिनामा २ अर्ब ५६ करोड रुपैयाँ खुदनाफा गरेको छ ।    

यूनाईटेड इन्स्योरेन्सको कामु सीईओमा रमेशकुमार भट्टराई

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । असार १ गते बसेको कम्पनीे सञ्चालक समितिको बैठकले इन्स्योरेनसका नायव महाप्रबन्धक भट्टराईलाई कामु सीईओमा नियुक्त गरेको हो । इन्स्योरेन्सको पूर्व सीईओ शेखर बरालको राजिनामा पश्चात कम्पनीले असार ४ गते(भोलि)देखि लागू हुने गरी भट्टराईलाई सो पदमा नियुक्त गरेको हो । साथै, रिक्त हुन आएको उक्त पदमा अर्को व्यवस्था नभएसम्मका लागि नवनियुक्त भट्टराईले कम्पनीको कामु सीईको कार्यभार सम्हाल्ने छन् ।

गणित विनाको विज्ञान शिक्षा र जग विनाको महलको कल्पना एउटै हो – प्रा.डा टंकनाथ धमला

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ बाहिर आएपछि कक्षा ११ र १२ को विज्ञान विषयमा भएको गणित हटाउने तयारीमा पाठ्यक्रम विकास केन्द्र लागिरहेको छ । यस कदमको शिक्षक, विद्यार्थी, अभिभावक लगायतले सवत्र आलोचना गरिरहेका छन् । हाल अध्ययन भैरहेको विज्ञान विषयमा भएको गणित हटाउदा हाम्रो विज्ञान शिक्षा कस्तो हुन्छ ? कक्षा ११ र १२ को विज्ञानको कोर्षमा गणितले कस्तो काम गरिरहेको छ ? गणित विनाको विज्ञान अपूर्ण हुन्छ ? विश्वको अनुभवले के भन्छ ? गणितीय ज्ञानविनाका प्राविधिकहरुले देशलाई के योगदान गर्न सक्छन्र ? गणितिय ज्ञान विनाका विज्ञानका विद्यार्थीहरुले विदेशी विश्वविद्यालयहरुमा अध्ययन गर्न के कठिनाई भोग्नु पर्छ ? प्रस्तुत छ, यसै विषयमा विगत ३ दशकदेखि विश्वका विभिन्न विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरुसंगको सहकार्य गर्दे, गणित विषयको अध्ययन, अनुसन्धानको क्षेत्रमा क्रियाशिल रहि, थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान तथा पुरस्कारहरु प्राप्त गरेका नेपाल गणित समाजका अध्यक्ष प्रा.डा टंकनाथ धमलासँग विकासन्युजका राजाराम न्यौपानेले गरेको कुराकानी । प्रा.डा टंकनाथ धमला, अध्यक्ष, नेपाल गणित समाज विज्ञान विषयमा गणित नहुदा के हुन्छ ? विज्ञान विषयको भाषा नै गणित हो । विना भाषाको सिकाईको कल्पनै गर्न सकिदैन । गणित, विज्ञानको आधार र मेरुदण्ड दुवै हो । विज्ञान गणितबाट सुरु हुने हो । विज्ञानका मोडल र इकोइसनमा गणित नै हुन्छ । विज्ञानको जुनसुकै विषयमा र क्षेत्रमा गणित हुन्छ । विज्ञानबाट गणित हट्यो भने विद्यार्थीले विज्ञान पढ्नै सक्दैनन् । कक्षा ११ र १२ को भौतिकशास्त्र समुहमा अहिले पनि गणित छ । जीवशास्त्र विद्यार्थीले गणित पढन नपाउने बनाउँदै छ । पहिले अनिवार्य विषय कम थिए अहिले बढेको छन् । अनिवार्य विषय धेरै भएपछि विद्यार्थीले ऐच्छिकमा गणित पढने अवस्था नै रहदैन । गणित पढेका पनि भौतिकशास्त्रको कक्षामा हुन्छन्, नपढेका पनि हुन्छन् अनि कसरी विद्यार्थीलाई शिक्षकले पढाउने भन्ने पनि हुन्छ । भौतिकशास्त्र कोर्ष हेर्ने हो भने पनि पहिलो पाठमा नै गणित छ । गणित हटाउने हो भने विद्यार्थी कमजोर हुनेछन् । त्यसैले गणित विनाको विज्ञान हुनै सक्दैन । विज्ञान विषयबाट गणित हटाउँदा जीवविज्ञानका विद्यार्थीहरुलाई उच्च अध्ययनमा के असर पर्छ ? कक्षा ११ र १२ का ऐच्छिकका रुपमा विज्ञानका विषयहरुमा भौतिक विज्ञान, रसायन विज्ञान, गणित तथा जीव विज्ञान आधारभूत विज्ञानका आधार स्तम्भ हुन् । तर यो पाठ्यक्रममा जीवविज्ञानका विद्यार्थीहरुले गणित पढ्न नपाउने गरि तयार गरिएको छ । जीवविज्ञानका विद्यार्थीहरु गणित पढ्नबाट वञ्चित हुँदा भविष्यमा उनीहरु उच्च अध्ययनको अवसरवाट समेत वञ्चित हुने देखिन्छ । जब कि कृषि तथा वन विज्ञान कार्यक्रममा भर्ना हुन आउने विद्यार्थी नै जीव विज्ञान समुहका हुन्छन् । त्यसैगरि पोखरा, काठमाडौं, पुर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल विश्वविद्यालयहरुमा इन्जिनियरि तथा सूचना प्रविधि कार्यक्रमहरुमा प्रवेश पाउन कम्तिमा १०० पूर्णाको गणित उत्तिर्ण गरेको हुन पर्ने प्रस्ट व्यवस्था हुँदाहुँदै पनि यो व्यवस्थाले गर्दा जीव विज्ञान समुहका विद्यार्थीहरुले उक्त विश्वविद्यालयहरुका यि कार्यक्रमहरु अध्ययन गर्न नपाउने भएका छन् । वायोलोजी पढेका विद्यार्थीहरु स्वास्थ्य क्षेत्रमा जान सकेनन् भने अब कता जान्छन ? यसको जिम्मा कसले लिन्छ ? वायोलोजी पढेका धेरै विद्यार्थीहरु मेडिकल क्षेत्रमा जान्छन, त्यो क्षेत्रमा जाने विद्यार्थीलाई चै गणितको ज्ञान कतिको आवश्यक छ ? मेडिकल क्षेत्रमा हुने अनुसन्धानको नतिजा गणितमानै आधारित हुन्छ । आज विश्वका मेडिकल क्षेत्रमा भएका उत्कृष्ट अनुसन्धानहरुमा गणितिय मोडेलहरुको महत्वपूर्ण योगदान छ । कक्षा ११ र १२ मा विज्ञानमा गणित नराखेर अन्य व्यबस्था गर्न सकिदैन ? हामी पनि यो कुरा पनि सुनिरहेका छौँ । कक्षा ११ र १२ को नियमित पाठ्यक्रममा नराखेर अतिरिक्त बिषयको रुपमा पढ्न पाउने व्यबस्था गर्ने भन्ने पनि सुन्दै छौं । यो वेतुकको तर्क हो । जुन विद्यार्थीलाई आवश्यक विषय हो । त्यो अतिरिक्त पढ्न लाउने जुन नहुँदा पनि हुन्छ त्यो चै जबरजस्ति लाध्ने ? यो भन्दा बहुलापन के हुन्छ ? अन्य मुलुकको शिक्षामा गणित विनाको विज्ञान अध्ययन भएका छन् ? विश्वका उत्कृष्ट विश्वविद्यालयहरुमा गणित विनाको विज्ञान अध्ययन भएको छैन । तर, नेपालमा कुन आधारले हटाउन लागेका हुन् । हामीले शिक्षा राम्रो बनाउदै लाने हो कि झन कमजोर बनाउदै लाने हो ? शिक्षालाई राम्रो बनाउने हो भने गणित हटाउँदा कसरी राम्रो हुन्छ ? त्यसको र्तार्किक जवाफ दिनु पर्याे । गणित विनाको विज्ञान शिक्षा र जग विनाको महलको कल्पना एउटै हो । ११, १२ पास भएपछि उच्च शिक्षाको लागि विदेश जाने गरेका छन् । पाढ्यक्रमको यो व्यबस्थाले उनीहरुलाई कस्तो असर गर्छ ? नेपाली विद्यार्थीहरु प्राय विदेशमा मेडिकल, इन्जिनियरि, विज्ञान, व्यवस्थापन आदि विषयहरु पढ्न जाने गरेका छन् । विदेशी विश्वविद्यालयहरुमा यी विषयहरुमा गणितलाई उच्च महत्व दिइन्छ । विदेशी विश्वविद्यालयहरुमा भर्ना पाउनैको लागि जीआरई, जीम्याट, स्याट जस्ता विशिष्टिकृत परिक्षहरुमा राम्रो अंक ल्याउनु पर्छ जसमा गणिलाई उच्च अंकभार दिईएको हुन्छ । अब गणितै पढ्न नपाएका विद्यार्थीहरुले यस्तो परिक्षामा कसरी राम्रो गर्न सक्छन र ? त्यसैले अब हाम्रा विद्यार्थीहरु अन्तराष्ट्रिय प्रतिस्प्रर्धामा कमजोर हुनेछन । यो हाम्रो शिक्षा क्षेत्रमा निम्तिन लागेकको ठूलो डिजास्टर हो । विज्ञान विषय बाहेकका विषयहरुमा गणितको उपयोगीता कतिको छ ? यसमा हामीले जवाफ दिनु भन्दानी सम्बन्धित विषयका विज्ञहरुबाटै यसको उत्तर आउनु राम्रो हुन्छ । तर म अन्तराष्ट्रिय स्तरमा मैले अन्य बिषयका धेरै अनुसन्धानकर्ता संगसंगै काम गरेको छु । उनिहरुको गणितिय ज्ञान धेरै उच्च छ । त्यसैले उनिहरुका अनुसन्धान उच्च स्तरका मानिन्छन । व्यवस्थापन, अर्थशास्त्र, जनसंख्या अध्ययन लगायतका विषयहरुमा गणितिय ज्ञान अति आवश्यक हुन्छ । तपाँईलाई यो पनि जानकारी गराउकी अर्थशास्त्र क्षेत्रका धेरै नोवेल पुरस्कारहरु गणितिय मोडेलहरुको प्रयोग भएका अनुसन्धानहरुका लागि प्रदान गरिएका छन् । तपाँईहरुले पाठ्यक्रम विकास केन्द्र, शिक्षामन्त्री र प्रधानमन्त्रीलाई विज्ञप्ती पनि बुझाउनु भयो । के भन्नु भयो त ? हामीसंग यो प्रारुप तयार गर्ने क्रममा कुनै छलफल भएको छैन । प्रस्तावित मसौदामा प्रायोगिक गणित अनिर्वाय विषयको रुपमा थियो । तर के कारणले पछि हटाउनु भयो थाहा छैन । त्यो कस्तो कोर्ष थियो हामीलाई जानकारी थिएन । तर एउटा अध्ययन र अनुसन्धान तथा विश्वका पाठ्यक्रमहरुलाई हेरेरै ल्याइएको थियो भन्ने लाग्छ । नेपाल गणित समाजले त्यसको स्वागत गरेको थियो । तर के आधारमा त्यो हटाईयो त्यसको जवाफ आएको छैन । त्यो हटेपछि जीवविज्ञान गणित विहिन हुन पुग्यो । हामीले पाठ्क्रम विकास केन्द्रका कार्यकारी निर्देशकलाई सोधेकाछौं । गणित विनाको विज्ञानको कसरी कल्पना गर्नु भयो ? भनेर । उहाँले त्यसको उत्तर दिनु भएन । हामी शिक्षामन्त्री र प्रधानमन्त्रीलाई भेट्ने प्रयासमा छौँ । अन्त्यमा, राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ बाहिर आएको छ, यो प्रारुप अनुसारको पाठ्यक्रमले देश विकासमा कस्तो योगदान गर्ला ? हामी २१औं शताब्दिको पूर्वाधमा छौं । ज्ञान, विज्ञान र प्रविधिको विकास र यसको प्रयोगले मानव जीवनमा ल्याएको सकरात्मक परिवर्तनलाई हामीले आत्मासाथ गरिरहेका छौँ । राष्ट्र निर्माणको यूगिन दायित्व पूरा गर्ने काम शिक्षाको हो । आज विश्वमा विकसित भनिएका देशहरु वास्तवमानै विज्ञान र प्रविधिको उच्चतम विकास तथा प्रयोगले नै यो अवस्थामा पुगेका हुन् । विद्यालय तहको पाठ्यक्रमले नेपालमा विज्ञान र प्रविधिको विकासलाई ध्यान राखेर आफूलाई परिमार्जन र परिस्कार गर्नु पर्ने थियो । ज्ञान, विज्ञान र प्रविधिको विकासका लागि जस्ता विषयहरु छनौट हुनु पर्ने हो, यसो हुन सकेन भन्ने हामीले बुझेका छौं । प्रविधिको यो समयमा विज्ञान तथा प्रविधिको आधार स्तम्भको रुपमा रहेको विषय गणित तथा विज्ञानका विषयहरुलाई उच्च महत्व दिनु पर्नेमा आज विपरीत दिशातिर फर्कन लागेको अनुभव हामीले गरेका छौं । अबको पाठ्यक्रम विज्ञान, प्रविधि मैत्री भएमा मात्र हामी विकासको सहि मार्ग पहिल्याउन सक्छौ । आज विश्वका धेरै देशहरुले पाठ्यक्रमको नविनतम धारणा अन्र्तगतमा जोड दिएका छन् । जसले गर्दा उनिहरु आर्थिक विकास तथा समृद्धिमा फड्को मारिरहेका छन् । यसलाई सकारात्मक शिक्षाको रुपमा हामीले लिनु पर्दछ । अन्यथा २१ औं शताब्दिमा ज्ञान, विज्ञान तथा प्रविधिक जनशक्तिको खाँचो राज्यले गरिरहने तर हामी भने देश तथा विदेशमा विक्न नसक्ने जनशक्ति उत्पादन गरिरहने छौं । यसको बारेमा राज्य संचालकहरुले बेलैमा ध्यान दिन जरुरी छ ।  

सिटिजन्स बैंकको बिराटनगर शाखा स्थानान्तरण

काठमाडौं । आइतबार(आज)देखि सिटिजन्स बैंकको बिराटनगर शाखा स्थानान्तरण भएको छ । बैंकले हाल बिराटनगरमा रहेको कार्यालय भन्दा करिब ५०० मिटरकोे दुरीमा रहेको रंगेली रोडमा रहेको आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरेको हो । बैंकले शाखा स्थानान्तरणका साथै बैंकिंग कारोबार संचालन गरेको छ । उक्त नयाँ भवनको उद्घाटन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले गरेका हुन् । बैंकले हाल आफ्ना ७४ शाखा, ७० वटा एटीएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।